निष्ठाका धरोहर, स्व.भीमबहादुर तामाङ स्मृति दिवस - श्रीबाबु कार्की 'उदास'
एघारौं स्मृति दिवस - २०८०
निष्ठाका धरोहर - स्व.भीमबहादुर तामाङ ।
इतिहासलाई प्रभावित गर्ने युगीन व्यक्तित्वहरू सधैं जन्मँदैनन् । विश्वका जुनसुकै मुलुकमा पनि युगलाई प्रभावित गर्ने वा आफ्नो देशलाई नवीनतम् चेतनाले उद्देलित एवम् प्रेरित गर्ने व्यक्तिहरू कमै हुन्छन् । तिनै व्यक्तिहरूमध्ये एक हुन् - स्व.भीमबहादुर तामाङ ।
बि सं १९९० साल असार ७ गते भारतको खर्साङमा जन्मनु भएका भीमबहादुर तामाङको पुर्खेउली थलो भने दोलखाको झुले हो । भारतको दार्जिलिङबाट औपचारिक शिक्षा पुरा गरेर युवा उमेरमा तामाङ पुर्खेउली थातथलो झुलेमा फर्किनु भएको थियो ।
झुलेमा आएपछि उहाँले शिक्षाको उज्यालो फैलाउन समर्पित रहनुभयो ।हालको अमर मा.वि मा शिक्षण गर्नु भयो l झुलेमै रहेको हालको जनप्रभात मावि स्थापना गर्न पनि उहाँको भूमिका र अग्रणी नेतृत्व रह्यो l शिक्षाको विकास बिना अन्य विकास अपुरो र अधुरो रहेको ठान्ने तामाङको पहलमा अनेक सङ्घसंस्था र दाताबाट दोलखा जिल्लाका प्राय स्कुलले नयाँ भवन, विज्ञानको सामग्री, पुस्तकालयको लागि पुस्तक र स्वयं सेवक शिक्षक सम्म प्राप्त गरेका थिए l सधैँ पढन र नयाँ नयाँ किताबको बारेमा जानकारी दिने र पढन हौस्याउने तामाङ साहित्यमा गहिरो अभिरुचि राख्न्ने व्यक्ति हुनुहुन्थ्यो l कांग्रेस नेता,सांसद र मन्त्री भएर चिनिनु अघि उहाँ मास्टर भीमबहादुरको नामले परिचित हुनुहुन्थ्यो l
बि.सं. २०१४ सालमा नेपाली काङ्ग्रेसका महामन्त्री श्री पद्मशङ्कर अधिकारीको हातबाट नेपाली काङ्ग्रेसको सदस्यता लिनु भएका तामाङले त्यसयता निरन्तर नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहनुभयो ।
राजनीति निष्ठाका एक अविरल योद्धा स्व.भीमबहादुर तामाङले राजनीतिबाट कमाउनेभन्दा धेरै गुमाए । राजनीतिकै कारण, उहाँले परिवारको मोहबाट अलग्गिनु पर्यो ।
विभिन्न राजनीतिक घटनामा सक्रिय उहाँ नेपाली काङ्ग्रेसका नेता बीपी कोइरालासँगै लामो समय भारत निर्वासनमा बस्नुपरेको थियोे ।
बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई शीर्षस्थानमा राखेर राजनीतिमा होमिएका तामाङले जीवनको उत्तरार्धमा काङ्ग्रेस नेता सुशील कोइराला र शेरबहादुर देउवासँग (१२ औं महाधिवेशनमा ) पार्टी सभापतिका लागि चुनावमा होमिनु भयो। आफ्नो उमेदवारीलाई "काङ्ग्रेस सुदृढीकरणका लागि संकेतिक लडाइँ" भन्ने भीमबहादुर तामाङले उक्त उमेदवारीबाट जम्माजम्मी ७८ मत मात्रै पोल्टाेमा थाप्नु पर्यो । राजनीतिमा विजय र पराजयलाई सामान्य रूपमा लिने तामाङ पराजयबाट कहिल्यै अताल्लिनु भएन ।
राजनीतिको अलवा साहित्य, कला र दर्शनमा गहिरो अभिरुचि रहेका तामाङ पूर्वीय साहित्य र पश्चिमी साहित्य, कला र दर्शनको ज्ञाता समेत हुनुहुन्थ्यो । बीपीको साहित्यिक कृतिहरूको पहिलो पाठक समेत रहनु भएका तामाङ गान्धीवादी चरीत्र अनुशरण गर्ने थोरै काङ्ग्रेस नेताहरुमध्ये एक हुनुहुन्थ्यो ।
त्याग, समर्पण, निष्ठा र सरल अनि सादगी जीवनका लागि कहिँकतै नचुकेका तामाङको जीवन अचम्म लाग्दो तरिकाले बित्यो ।
पाँच दशक राजनीतिबाट खारिएका स्व.भीमबहादुर तामाङले देश जातीय नाराले रंगिएको बेलामा समेत जनताको आवाजलाई नम्र भाषामा 'द्वन्द्व मेटिने, पहिचान भेटिने' मध्यमार्गी नारा दिनुभयो ।
राजनीतिक आस्थाका केन्द्रीय व्यक्तित्वका रूपमा स्थापित स्व.भीमबहादुर तामाङ दुई पटक सांसद बन्नु भयो भने बि.सं . २०५१ सालको चुनाव जितेपछि शेरबहादुर देउवाको मन्त्रीमण्डलमा कानुनमन्त्री बन्नभयो । नेपाल सरकारले तामाङलाई मरणाेपरान्त महाउज्ज्वल राष्ट्रदीप ( प्रथम श्रेणी ) बाट विभुषित गर्यो । कानुनमन्त्री हुँदासम्म टेलीभिजन जोडन नसकेका तामाङको पछिल्लो समय काठमाडौंको नयाँबानेश्वरमा कानुन व्यवसायी तथा नेता राधेश्याम अधिकारीले सद्भावपूर्ण उपलब्ध गराएको सामान्य कोठामै बित्यो । पाँच दशक लामो निष्ठाको राजनीतिक यात्रामा रहेका तामाङसँग जीवनभरको सम्पत्ति भनेकै निर्दाग चरीत्र, पारदर्शिता, शान्त स्वभाव र दृढ आत्मबिश्वास नै थियोे ।
उहाँको कोठामा सुत्ने सामान्य खाट, बस्नको लागि काठको बेन्च र त्यसमाथि गाउँघरमै बुनिएका खोस्टाको सुकुल बिछ्याइएको हुन्थ्यो ।
आज हामीसँग भीमबहादुर तामाङको भौतिक शरीर त छैन । उहाँको भौतिक शरीर हामी माझ नभएको पनि आज एघार वर्ष बित्यो । बि. सं २०६९ साल मंसिर १६ गते भीमबहादुर तामाङले निष्ठाको अविरल राजनीतिक यात्राबाट मात्रै बिदा लिनु भएन, उहाँको दिव्य शरीर समेत चिताग्नीमा खरानी बन्यो । उहाँको निधनबाट हामीले एक निष्ठावान राजनीतिज्ञ मात्रै गुमाएनौ सरल र सादगी जीवनका एक प्रेरणादायी अभिभावक पनि गुमायौं । स्व. भीमबहादुर तामाङले सल्काएको निष्ठाको दियो निभ्न नदिने हो भने कांग्रेस पार्टीले कहिल्यै सङ्कट बेहोर्नु पर्दैन l भीमबहादुरको पथ हिंड्ने सङ्कल्प गर्दा अभावलाई भावले जित्ने सामर्थ्य प्राप्त हुन्छ l
एउटा मान्छेक रूपमा भीमबहादुर तामाङसँग पनि कमजोरी थिए तर नेपाली राजनीतिमा र समाजवादी जीवन शैली, आचरण ,बेदाग चरित्र आदर्शभावको लागि भीम दाइ नाम जत्तिकै अग्ला भीमकाय नै हुनुहुन्थ्यो । उदाहरणीय नेताको रूपमा बाहरूका गुरु, हाम्रा बा गुरु भीमबहादुर अत्यन्तै आदरणीय र चिरस्मरणीय हुनुहुन्छ l
लेखक - श्रीबाबु कार्की 'उदास'- केन्द्रीय उपमहासचिव नेपाली लेखक सङ्घ
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...