घटस्थापनाको विधिविधान

काठमाडौँ, असोज, २८
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्पक राखिन्छ ।
यसपछि कर्मपात्रादि निर्माण गरी प्रायश्चित्त गोदान एवं प्रतिज्ञासङ्कल्पपूर्वक शास्त्रीय विधि अनुसार दीप, कलश एवं गणेशजीको षोडशोपचारले पूजा हुन्छ । यसरी दीप, कलश एवं गणेशजीको पूजा गरिसकेपछि घटस्थापनाको कार्य आरम्भ हुन्छ ।
पूजास्थनको ईशानकोणमा (पूर्व र उत्तर दिशाको बीचस्थानमा) माटोको सुन्दर वेदी बनाउनुपर्छ (जहाँ कलश एवं जमराराख्न मिलोस्) । यसरी घडा राख्ने स्थानमा अष्टदल कमलको रेखी हाली टपरीमा धान राखी धानमाथि विशेष प्रकारले सिँगारिएको घडा (कलश) विधिपूर्वक स्थापना गर्नुपर्दछ ।
कलश माटो वा तामाको उत्तम मानिन्छ । कलशमा पञ्चपल्लव (पिपल, डुम्री, पाखरी, आँप र वरका पात), दुवो, सप्तमृत्तिका (सातठाँउको माटो- घोडा बसेको स्थान, हात्ती बसेको स्थान, पञ्चरत्न (सुन, हिरा, मोती, पद्मराग र नीलम), सार्वौषधी कुट, वेसार, जटामसी, चुत्रो, मुरा, श्रीखण्ड, शिलाजित, बोझो, चाँपो र मोथो), सप्तमृत्तिका (धमिरो लागेको ठाँउको, नदीको संगम भएका ठाँउको, दहमा जमेको, राज दरबारका ढोकाको र गोठको माटो) राखी वस्त्र वेष्टित गरेर सजाइन्छ । त्यसपछि वरुणादि सम्पूर्ण देवी देवताको आह्वान गरी विशेष मन्त्रले स्थापना गरिन्छ । सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आवाहन पूजन पनि हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा (कलशको) वरिपरि जमराका निम्ति छरिन्छ ।
यसरी कलशस्थापना गर्ने र जौ छर्ने पनि विशेष मन्त्र रहेका छन् :
कलशस्थापना मन्त्र- ॐ आजिग्घ्रकलशम्मह्यात्वाव्विशन्त्विन्दवः । पुनरूज्जानिवत्र्तस्वसानःसहस्रन्धुक्क्ष्वोरुधाराः पयस्वतीः पुनम्माव्विशतावयिः ।
जमराका निम्ति जौ राप्ने मन्त्र – ॐ औषधय समवदन्तसोमेनसहराज्ञा ।
यस्म्मैकृणोतिब्ब्रहणस्त राजन्न्पारयामसि ।
यसरी स्थापना गरिएका जौमा विशेष मन्त्रद्वारा साँझको समयमा पानी छर्किनु पर्दछ । उक्त छल छर्किन मन्त्र निम्नानुसार छ – ॐ यव त्वं यवरूपोऽसि यज्ञार्थे निर्मितो विधेः । देवानां तृप्तिकृद्यस्मात्तस्मात्त्वं वरदो भव ।। जमराका निम्ति जौ एवं माटो वा वालुकोको प्रकृतिअनुसार पानीको मात्र मिलाउन सकियो भने जमरा राम्रा उम्रने गर्दछन् ।
आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ l
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...