'मेरी आमाको पर्खाइको खाप' - इँगिहोपो कोँइच सुनुवार

'मेरी आमाको पर्खाइको खाप'
मेरो आँगन
कैयौं सपनाहरू बटुल्ने आशामा
मेरी आमाको
बुबालाई पर्खिरहने आँखाहरूमा
छोराको पर्खाइ खापेर
रुझाउँदै–रुझाउँदै छोडेको पनि
दशौं हिउँद सकिसकेछ ।
बटुल्दै सँगाल्ने सपनाहरू
सकिने त कहाँ हो कहाँ ?
उसैगरी खापिन्छन्
जसरी,
मेरी आमाका पर्खाइहरू
खापिएको थियो
बुबापछिको म झैं ।
भारी मन लिएर
बुबाको पर्खाइमा
पर्खिरहने मानेभञ्ज्याङमा
उसैगरी पर्खिदै होलिन्
मलाई पनि
बिँडीको केही सर्कोसँगै – मेरी आमा ।
अब त,
त्यही आँगनमा उभिएर
लिएको पानीफोटो पनि
नचिनिने गरी धुलिसक्यो होला ।
मेरो मुहारको आकृतिमा
मेरी आमाले नदेखेका रेखाहरू
चालै नपाई चुपचाप–चुपचाप बसिसक्यो होला ।
डाँडाघरे माइला
वर्षैपिच्छे घर फिर्दा
मेरी आमाको मन
कत्ति पिर्दो होला ।
हरेक मंसिरमा
काइला–माइलाहरूले
बाजा बजाइ –बजाइ
दुलही भित्राउँदा
मौन आँगन हेरेर
कत्ति रुदि होलिन् – मेरी आमा ।
यो सबै
थाहा हुँदाहुँदै
किन पाइलाहररू घरतिर लम्किदैन ?
बल्ल थाहा हुँदैछ
बुबा नफिर्नुको कारणहरू ।
– पर्खिनेको सम्झनामा निदाउनु ।
– सम्झना बोकेर बिर्सनु ।
– उसैगरी नबिर्सि सम्झनु ।।
– इँगिहोपो कोँइच सुनुवार
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्
साथी ! तिमीले नचाहँदैमा के नै फरक पर्छ र ! देशले त साँच्चै यहाँ ठूलै परिवर्तन चाहेको छ ।
सम्हाल्नै सकिन मैले सम्हाली देऊ सीसाझै टुक्रिएर चाहना छरिएका छन् ।l