स्वास्थ्यकर्मी माथिको आक्रमणप्रति डाक्टर केसीको विरोध र सरकारलाई खबरदारी

काठमाडौँ, असोज, १२
डाक्टर गोविन्द केसीले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र समग्र स्वास्थ्य सेवामा भएको भद्रगोल स्थितिप्रति चिन्ता जाहेर गरेका छन् l स्वास्थ्यकर्मीको मनोवल गिराउने घटना र हातपातप्रति विरोधप्रकट गर्दै स्वास्थ्य प्रणाली चुस्त दुरुस्त र भय रहित वातावरणको नभएमा झन् ठुलो समस्या निम्तिने तर्फ सरकारलाई सचेत गराउँदै चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीमा विश्वास गुमाउँदै गएको उल्लेख गरेका छन् l
विभिन्न मागहरू राखेर यही भदौ २९ गतेबाट सत्याग्रह सुरू गर्न लागेकोमा सरकारका तर्फबाट तीन महिनामा मागहरू पूरा गर्ने प्रतिबद्धता आएपछि तीन महिनाका लागि सत्याग्रह पछि सारेको स्मरण गराउँदै समयमा ती मागहरू पुरा नभएमा सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुने जानकारी पनि दिएका छन् l डाक्टर केसीद्वारा जारी प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :
हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छौं । साथै सबै विद्यार्थीहरुले योग्यताका आधारमा चिकित्सक र स्वास्थ्यकर्मी बन्न न्यायोचित अवसर पाउनु पर्ने तथा स्वास्थ्य सेवा सुलभ र विकेन्द्रीकृत हुनुपर्ने माग पनि हाम्रो रहँदै आएको छ ।
पछिल्ले समय देशका विभिन्न ठाउँहरुमा चिकित्सकहरूमाथि भइरहेका हातपात र आक्रमणका घटनाहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्ता घटनाले न्युनतम सुविधामा दिनरात खटेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोबल गिर्नुका साथै देशको सिंगो स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त हुने अवस्था सिर्जना भएको छ ।
कुनै पनि देशमा राम्रो स्वास्थ्यका लागि डाक्टर–बिरामी सम्बन्ध बलियो हुनु अनिवार्य हुन्छ । त्यसका लागि देशमा पर्याप्त पूर्वाधार र जनशक्तिसहितका सार्वजनिक अस्पतालहरू हुनुपर्छ । नेपालमा एकातिर सरकारी संस्थामै निःशुल्क उपचार छैन, निजी अस्पतालहरुको शुल्क अचाक्ली महंगो छ भने अर्कातिर चिकित्सक र स्वास्थ्यकर्मीहरू श्रम शोषणको शिकार बनेका छन् ।
सरकारले नै एकतिर समय सुहाउँदो तलब र सुविधा व्यवस्था गर्न सकेको छैन भने अर्कोतिर उपचारका लागि चाहिने भौतिक पूर्वाधारको ठुलो अभाव छ । त्यस्तो प्रतिकुल अवस्थाका बाबजुद निरन्तर बिरामीको सेवामा खट्ने डाक्टर र स्वास्थ्यकर्मीहरू माथि यस्ता घटना हुँदा सरकारले समेत गम्भीर रूपमा लिने र आवश्यक कारवाही गर्ने गरेको छैन । यसबीच नेपाल सरकार र नेपाल चिकित्सक संघबीच बारम्बार विभिन्न सहमति भए पनि सरकारले तिनलार्य कार्यान्वयन गर्ने गरेको छैन । त्यस्तै चिकित्सक संघले समेत कुनै घटना भएपछि तात्नेबाहेक यस्ता समस्याको दीर्घकालीन समाधानका लागि दलीय स्वार्थबाट माथि उठेर काम गर्न सकेको छैन । फलस्वरुप देशभरका चिकित्सक र स्वास्थ्यकर्मीले प्रणालीमा विश्वास गुमाइरहेका छन् ।
यो अवस्थामा तत्काल त्यस्ता घटना रोक्न तथा तिनमा संलग्न हुनेहरुलाई हदैसम्मको कारवाही गर्न, आवश्यक परे नयाँ कानुनी व्यवस्था गर्नसमेत हामी नेपाल सरकारसित जोडदार माग गर्दर्छौं । दीर्घकालमा चिकित्सक–बिरामी सम्बन्ध सुधार्न तथा स्वास्थ्य सेवाको गुणस्तर बढाउनका लागि देशभर सार्वजनिक स्वास्थ्य संस्थाहरुको क्षमता बढाउन, स्तारोन्नति गर्न, केन्द्रीय अस्पतालदेखि स्वास्थ्यचौकीसम्म आवश्यक भौतिक पूर्वाधार पुर्याउन तथा ती संस्थामा उपचार निःशुल्क बनाउन र सुचीकृत सबै निःशुल्क औषधिहरू सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । त्यसो नभएर देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरू ले अहिले झैं प्रणालीमा विश्वास गुमाउँदै जाने हो भने आउन सक्ने विकराल अवस्थाका लागि नेपाल सरकार जिम्मेवार हुनेछ ।
हामीले विभिन्न मागहरु राखेर यही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारका तर्फबाट तीन महिनामा मागहरू पूरा गर्ने प्रतिबद्धता आएपछि तीन महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । समयमा ती मागहरू पुरा नभएमा सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुने जानकारी पनि गराउछौ ।
डा गोविन्द केसी २०८० असोज १२
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।