तिजको लिङ्गनिरपेक्ष माहात्म्य - डा. बिष्णु जोशी
डा. विष्णु जोशी -
सखिभिः हरिता इति हरितालिका । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक कथानुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । त्यसैले हरेक वर्ष हरितालिका तिज पर्व भाद्र महिना शुक्ल पक्षको तृतीयाको दिन मनाइन्छ l
मुख्य रूपले विवाहित महिलाहरूद्वारा निराहार एवं निर्जला भई भगवान शिव, माता गौरीको पूजा-आराधनाको साथ मनाइने यस पर्वलाई अविवाहित महिला तथा पुरुषहरूको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छl यस सनातन धार्मिक अनुष्ठान सँगै कालान्तरमा रात्रि जाग्राम गरी नाचगानको साथ मनाइने सांस्कृतिक पाटो पनि जोडियोl विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, दर खाने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पिर मर्का व्यक्त गर्ने अवसर तिजले नै जुटाउँछ। चेलीबेटी सार्वजनिक स्थलमा भेटघाट गरी दुखसुख बाँड्ने सामाजिक पाटो पनि आज तिजको अभिन्न अङ्ग बनेको छ। समानता र व्यक्तिगत स्वतन्त्रता पनि आधुनिक समाजको अभिन्न अङ्ग भएका हुनाले धर्म मान्नेले आस्थाका साथ मनाउँछन् नमान्नेले पनि सांस्कृतिक चाडको रूपमा मान्छन् l
समाजसँगै संस्कृतिका परिकल्पनाहरू पनि बद्लिन थाल्छन् । जुन तिजमा पनि देखिन्छ । हामीले अहिलेसम्म तिजलाई एउटा संस्कृति-परम्पराका रुपमा हेर्यौ । तर अब तिज धर्म-परम्परा मात्रै रहेन । यो संस्कृतिका रूपमा स्थापित भइसक्यो। हिजो हामीले हरितालिकाका रूपमा जसरी यसलाई व्याख्या गर्थ्यौँ आज तिज त्यो रुपमा मात्र छैन । हिजो गरिएका तिजका परिभाषाहरू आज मिल्दैनन् ।
खानेकुरा, पहिरनलगायत हिजो गाइने गीत र आज गाइने गीतमा समानता छैन । 'तिजको रहर आयो बरी लै' सँगै सबल महिला अब "कमाउने नि हो, रमाउने नि हो" को गीतमा नाचगान गर्छन् त केही प्रगतिशील महिला "नो व्रत प्लिज, नो खुट्टाको पानी" भनेर महिला विभेद विरुद्ध गाउँदै छन् ! यी पाटाहरू आजको समाज अनुसार विकसित भइसकेका छन् । पर्व कसरी मनाउने भन्ने कुरा समाजको चेतना परिवर्तन हुँदै छ।
आमाले व्रत बस्दै गर्दा छोरी/बहिनिलाई वाइन पिएर रमाइलो गर्ने वातावरण पनि बनेको छ! केही "दाजुभाइ" भट्टीमा बसेर, नाचगानको भिडियो हेर्दै "दिदी-बहिनीले" वाइन पिएर नाच्दा धर्म मासियो भनेर फेसबुकमा स्ट्याटस लेखेर धर्म रक्षाको ठेक्का लिँदै छन् !
परम्परागत चलनसँग केही नकारात्मक पाटा पनि जोडिएका छन्। तिजका नाममा फजुल खर्च, अस्वस्थ प्रतिष्प्रर्धाले समाजमा विभेद, असमानता र परनिर्भरता बढेको छ। परिवारमा एकतामा विचलन जस्ता घटनाहरू बढेका छन् ।
सामाजिक सद्भाव कायम गर्न समेत चाडपर्वको महत्त्व हुन्छ । समयको परिवर्तन सँगै यस पर्व मनाउने तौर तरिका तथा सोचाइमा समेत परिवर्तन हुँदै छ। अहिले तीज पर्वलाई महिला अधिकार र महिला स्वतन्त्रताको रूपमा लिने प्रचलन बढ्दै गएको छ । सहरीकरण र ठुलो सङ्ख्यामा नेपाली युवा प्रवासमा हुनुका कारण विभिन्न पेसा, व्यवसाय, धर्म, संस्कृतिका मान्ने सबै सँग भेटघाट परिचय नहुन पनि सक्दछ । तिज पर्वको समयमा आ–आफ्नो टोल छिमेकका महिलाहरू एकबद्ध भई पालो–पालो एक अर्काको घरमा दर खाने, नाचगान गर्ने प्रचलनले गर्दा महिलाहरू तथा घर-घरको नाता सम्बन्ध प्रगाढ हुँदै छ ।
कोहीसँगै व्रत बसेर सामूहिक अनुष्ठान गर्छन् त कोहीसँगै नाचेर टिकटक बनाउँछन् ! यस प्रकारका सामूहिक क्रियाकलापले महिलाहरूले स्वतन्त्रता र अधिकारको अनुभूति गर्ने गरेका छन् । यो पर्व राष्ट्रिय स्वरूप मात्र नभई विदेशी भूमिमा समेत स्थापित हुन पुगेको छ । गीत-सङ्गीतसँग अति निकट सम्बन्ध रहेको तिज पर्वले विदेशी पर्यटकहरूको मन जित्न सक्ने सम्भावना पनि बढेको छ ।
अब तिजले महिलाहरूलाई मात्रै जोडिरहेको छैन । पुरुषहरूले समेत मिलेर दर खानुपर्छ भन्ने भन्ने मान्यता स्थापित हुँदै छ। विशेष गरी सहर र प्रवासमा भएका साना परिवारले नारी-पुरुष दुवै मिलेर मनाउन थालेका छन् । हिजो चेली र माइतीलाई मात्रै जोड्ने यो पर्वले आज समाजका विविधता अँगालेको छ । यदि संस्कृति समयानुकूल आजको आवश्यकता र आजको समाजसँग जोडियो भने मात्र कालान्तरमा त्यसको अस्तित्व रहन्छ ।
तिज पर्वलाई अन्याय र अत्याचारको विरुद्ध र महिला तथा अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक वर्गको अधिकारको रूपमा पनि मनाउन सकिन्छ ।
जुनसुकै बहानामा, जुनसुकै पुरुषबाट, जुनसुकै महिला या अल्पसङ्ख्यक माथि भएका, भई रहेका र हुन सक्ने शारीरिक, मानसिक, यौनिक र आर्थिक हिंसाको विरोध गर्न सकियो, अन्याय र अत्याचारको विरुद्धमा लड्न सकियो, पिडकलाई सजाय दिलाउन सकियो र पीडितलाई न्याय तथा संरक्षण गर्न सकियो भने मात्रै तिज लगायतका महत्त्वपूर्ण पर्वहरू हर्षोल्लासका साथ मनाउने वातावरण बने मात्र नारी पुरुष एक रथको दुई पाङ्ग्रा भएको कथन चरितार्थ हुनेछ।
आज केही दिदी बहिनीले चली आएको प्रथामा अल्लि परिष्कृत गरी नाचगान गरेर तिज मनाउँदा संस्कार विरुद्ध भएको र यसले सामाजिक विकृति निम्त्याउने भन्दै छुद्र टिप्पणी गर्ने पुरुष प्रधान सोचले ग्रस्त भालेवादीहरू भोलि लैङ्गिक र यौनिक अल्प सङ्ख्यक समलिङ्गीले समेत यो चाड मनाउँछु भन्दा के भन्ने होलान् ?
तिजका आराध्य भगवान शिवले स्वयम् परापूर्व कालमा अर्धनारीश्वर रूप धारण गरेका थिए भने आज हरितालिका अब हरिले बनाएको तालिका अनुसार मात्रै चल्नु भएन हरिमायालाई पनि साथ-साथै लाने बेला आयो ! सबै वर्ग र जातिले मनाउने यो चाड समावेशी बनोस् ! विद्यादेवी देखि बिओन्से सबैले मनाउन सक्ने होस् ! जयन्ते देखी जोसेफ सबै मिली नाचुन् बिच्च-बिच्चमा !
तिज कसरी मनाइनु पर्छ भन्ने सङ्कीर्ण व्याख्या भालेवादी सोचले निर्धारण नगरोस् ! सबैलाई हरितालिका तिजको शुभकामना !
उदगमथलो बझाङ रहेका डाक्टर जोशी हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन् l बहुआयामिक डा. जोशीका लेख,रचना, संस्मरण आगामी दिनमा akabaraey.com ले पनि प्रशारण गरिरहने छ l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'