सुवास नेम्वाङको अन्तिम भाषण : कतै नोस्टाल्जिक, कतै भावुक, कतै गौरवान्वित

संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष तथा संसदमा एमाले उपनेता सुवासचन्द्र नेम्वाङले भदौ २३ गते धरानमा गरेको भाषण नै उनको जीवनको अन्तिम भाषण बन्यो । जुन भाषणमा नेम्वाङ कतै भावुक, कतै नोस्टाल्जिक त कतै गौरवान्वित भएको पाइन्छ l राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला नेम्वाङले युवाहरूलाई सम्बोधन गरेका थिए ।
धरानमा मन्तव्य दिइरहँदा कोसी नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले कार्यक्रमस्थल बाहिर प्रदर्शनसमेत गरेका थिए । केहीअघि ओलीसँगै नेम्वाङमाथि पनि ढुङ्गा मुढा भएको थियो l सुवास नेम्वाङको राजनीतिक जीवनको अन्तिम भाषणले उठाएका केही गम्भीर सवाल र विषय अध्येताहरूको लागि, राजनीति गर्नेहरूका लागि, संसदीय इतिहास र संविधानसभा बारे बुझ्नका लागि पाठ्यसामाग्री हुन सक्छ l कतिपय विषय र प्रसङ्ग बारे नेम्वाङ्गले सङ्केत मात्र गरेका छन् जुन नेपालको राजनीति र राजनीतिमा रहेको अतिवाद, नेपालको नाम र झण्डा समेत फेर्ने कुरा उल्लेख भएको कारण यो भाषण विशेष महत्व र ऐतिहासिक छ भन्ने लागेर akabarey.com ले प्रस्तुत गरेको छ l
कोशी नामकरणको विरुद्धमा आन्दोलन गरिरहेका पहिचानवादीहरूप्रति लक्षित गर्दे नेम्वाङले ढुंगामुढा गरेरमात्रै पहिचान प्राप्त नहुने बताएका थिए । उनले भनेका थिए हामीले ढुंगामुढा प्रहार गरेर ‘कस्तो खालको पहिचान खोजेको हो ?’
अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका नेम्वाङले एमाले पहिचानवादी पार्टी भएको बताएका थिए । उनले एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको स्मरण गरे ।
नेम्वाङले भनेका थिए,‘महागुरू फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किरातीहरूको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरू हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ?’
नेम्वाङले पहिचानको ढुङ्गा खतरनाक भएको बताए । उनले भनेका थिए, ‘पहिचानका लागि हानिएको ढुङ्गा ताप्लेजुङको लिम्बू डीएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने, कस्तो खालको ढुङ्गा हो ?’ उनले ढुङ्गा प्रहार गर्ने प्रवृत्ति कसैको हितमा नहुने बताए ।
कोशी सरकार गठनको सन्दर्भ कोट्याउँदै उनले भनेका थिए, ‘सभामुख संसदको रेफ्री भएको भन्दै फुटबलको रेफ्रीले गोल गरे के हुन्छ ? तर, साथीहरुले रेफ्रीलाई गोल हान्न लगाए । रेफ्रीलाई गोल गर्नु हुँदैन भन्यौ तर दोस्रो पटक पनि सभाअध्यक्ष गरेका व्यक्तिलाई मत हाल्न लाउनु भयो । तर, उहाँहरुले मान्नु भएन युवाहरू सम्झनुस् यो देश कसरी चलिरहेको छ । साथीहरूले कसरी चलाइरहनु भएको छ ।’
उनले लोकतन्त्रको मूल्यमान्यतालाई बलियो बनाएर जानु नै देश र जनताको हितमा हुने बताएका थिए । उनले धरानमा भनेका थिए, ‘तराई मधेशदेखि हिमालसम्मका सबै जाति, धर्म, भाषा, संस्कृतिका जनता एक ठाउँमा उभिएकै कारण नेपाल सधैँ स्वतन्त्र मुलुक भनेर चिनिँदै आएको छ ।’
‘हामी सबैले भन्छौं, यो देश हेर्नोस् त, हाम्रो छिमेकी भारत दास बन्यो । तर, नेपाल हामी कहिल्यै पनि दासतामा परेनौं । स्वतन्त्र रह्यौं । र अहिले भर्खरै हामीले ८ वर्ष अगाडि संविधान बनायौं । जनताले जनताका लागि । राष्ट्रिय झण्डा पास गर्यौं । कुनै बेलामा यसका बारेमा तपाईहरूसँग बसेर छुट्टै छलफल गरौंला’, उनको भनाइ थियो । आजै (भदौ २३ गते) पुग्नु परेकाले सबै कार्यक्रम हेर्न नपाएको बताए । उनले आफूलाई हतार भएको बताएका थिए ।
‘संसद कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद चलाउनका लागि काठमाडौं पुग्नुपर्छ । हामी जिम्मेवार प्रतिपक्षी भइनौं भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् त प्रतिपक्षीले संसद चल्नै दिएन । यसैले पनि मैले त्यहाँ पुग्नैपर्ने छ । मलाई धेरै हतारो छ’, नेम्वाङले बोलेका थिए ।
उनले संसदीय समितिहरू बनेको प्रसंग निकाल्दै संसद कसरी चलिरहेको छ भन्नेबारेमा सवै स्पष्ट भएको बताएका थिए । संसद चलेपछि कतिवटा विधेयक पास गर्यो ? संसदमा बिधेयक कसले ल्याँउछ ? सरकारले होइन ? सरकारले कतिवटा विधेयक दियो ? उनले भनेका थिए, सरकारले विजनेस नदिएपछि कसरी संसद चल्छ ?
कार्यक्रममा नेम्वाङले इलाम क्याम्पसमा स्ववियू सभापति भएको प्रसंगदेखि त्रिचन्द्र कलेजमा आइएस्सी पास गरेको स्मरण गरेका थिए । उनले आफू अखिलको नेतृत्वमा हुँदा झापा सुनसरी धनकुटा हुँदै इलाम पुगेको सम्झदै झापामा भएको हत्या काण्डको प्रसङ्ग पनि सुनाएका थिए । उनले भनेका थिए प्रहरीले झापा हत्याकाण्ड भएको सुखानीमा आफूहरूलाई पक्राउ गरेर प्रहरीले २ घण्टा रोकेको सम्झना सुनाए ।
धरानप्रति ठूलो विश्वास रहेको बताए । यो बीचमा अगाडि बढ्यौं कि पछाडि गयौ भन्ने कुरा छलफल गर्नुपर्ने सुनाए । धरान भन्नेवित्तिकै एक प्रकारको जोश आउने गरेको सम्झना पनि सुनाए । नेम्वाङले तराई मधेशदेखि हिमालसम्मका विविध जाति, विविध भाषा, धर्म र संस्कृति भएकाहरूलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउन उनको आग्रह थियो l
नेम्वाङले विगतको पनि स्मरण यसरी गरेका थिए l संविधान बनाउँदाको कष्टलाई उल्लेख गरेका थिए l
चन्द्रमा र सूर्य अंकित झण्डा । त्यतिबेला छलफल चलेको मलाई सम्झना छ, यो तीनकुने झण्डा भएन यसलाई फेर्नुपर्छ । यो चन्द्रमा र सूर्य भएन । चन्द्रवंशी र सूर्यवंशी कुनै राजाको यसमा त पसिना गन्हाउँछ ! संविधानसभामा छलफल चलेको थियो । कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने । धुमधाम छलफल चलेको थियो, कसले उठायो, उठायो । तर, धुमधाम छलफल भइसके पछाडि मैले नै प्रस्ताव राखें- जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ- तबसम्म नेपालको अस्तित्वलाई कसैले केही गर्न सक्दैन । यो भनेर यसलाई पास गरौं न । राष्ट्रिय झण्डा पास भयो । अहिले हामी राष्ट्रिय झण्डा बोकेर हिँडिरहेका छौं ।
नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसका बारेमा तपाईहरुसँग बसेर सल्लाह गरौंला । छलफल गरौंला । मैले यति भनेर राख्न खोजेको कुरा के हो त भन्दा हाम्रा छिमेकका त्यति ठूलो देश दास तर नेपाल कहिल्यै, कसैको दास बनेन । सदा सर्वदा स्वतन्त्र रह्यो । यसको एउटै कारण हो, तराई मधेसदेखि हिमालसम्मका सबै जाति, भाषा, कर्म संस्कृतिका जनता एक ठाउँमा, एकजुट भएर उभिएका छन् । त्यसैले नेपालले कसैको पनि दास बन्नुपरेन l
सुवास नेम्वाङले इतिहासदेखि वर्तमानसम्म कसैको दास बन्नु नपरेकोमा गर्व गरेका थिए l
सम्बोधनका संसदीय समितिको प्रसङ्ग समेत निकालेका थिए । ‘संसद् चलेपछि कति वटा विधेयक पास गर्यो ? संसद्मा विधेयक कसले ल्याउँछ ? सरकारले होइन ? सरकारले कति वटा विधेयक दियो ? उनले भनेका थिए, सरकारले बिजनेस नदिएपछि कसरी संसद् चल्छ ?’, नेम्वाङमा चिन्ता देखिन्थ्यो । साथै उनले आफ्नै नेतृत्वमा जारी भएको संविधानको पटक पटक स्मरण गरेका थिए । कार्यक्रममा निकट रहेको असोज ३ अर्थात् संविधान दिवसको स्मरण गरेको उनले भनेका थिए– असोज ३ निकट आएकाले मैले यो कुरा भन्नैपर्छ ।
के भनेका थिए असोज ३ बारे नेम्वाङले ?
अब संविधान दिवस हाम्रो ढोकामा आइपुगेको छ । यो अवसरमा म यति कुरा कोट्याउन चाहन्छु । हामीले राम्रो संविधान बनायौँ । तपाईँहरूको आशीर्वादले, तपाईँहरूको शुभकामनाले, तपाईँहरूको मायाले दुवै पटक संविधान सभाको अध्यक्षता गर्ने, ३१ वटै राजनीतिक दलले सर्वसम्मतिले मलाई संविधान सभा अध्यक्ष बनाए । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख हामीले बनायौ र जारी गर्यौँ ।
हामीले ढुक्कसँग, विनम्रतासँग, कुनै अहम् नराखीकन जनताको बीचमा यो कुरा भन्न सक्नुपर्छ–जनताले जनताका लागि बनाएको संविधान हो । त्यो संविधान पहिलो पटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौँ । समावेशी संविधानसभाबाट शून्यबाट माथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताका लागि हामीले संविधान बनायौँ ।
नेपालको यो संविधान हाम्रो नेतृत्व, पहल र प्रयासमा जनताले बनाएको संविधान हो । तराई मधेसदेखि हिमालसम्मका जाती, भाषा, धर्म, संस्कृतिका जनतालाई देखाएर भन्नुस्–यो लिम्बुले बनाएको संविधान, राईले बनाएको संविधान, यो ब्राह्मणले बनाएको संविधान,यो क्षेत्रीले बनाएको, दलितले बनाएको,महिलाले बनाएको, तराई मधेसदेखि हिमालसम्मका सबै जाती भाषा, धर्म संस्कृतिका जनताले बनाएको संविधान ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता,समावेशिता फेरि म दोहोर्उँछु–पहिलो पटक नेपालको इतिहासमा समावेशी संविधान । अनि संविधान समावेशी बनाउने पार्टीलाई, संविधान समावेशी बनाउने पहिलो पटक नेपालको इतिहासमा त्यो पार्टीलाई तँ समावेशी भइनस् कोही मित्रले भन्छ भने तपाई हामीले त्यसलाई कसरी लिनुपर्छ होला ?
ढुक्कै भएर अगाडि बढ्नुस् कमरेडहरू, युवा मित्रहरू । यो देशको इतिहासमा मात्रै होइन, विश्वकै इतिहासमा यतिको समावेशी संविधान बनेको छैन । व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा, सम्बन्धित कानुन कहीँ कतै कमीकमजोरी भएका होलान् । ती कमीकमजोरी हामी सच्चाउँछौ र अगाडि बढ्छौ भनेर अघि बढ्दा समावेशी संविधान बनाउने पार्टीलाई, त्यसका नेतालाई यो चाही समावेशी भएन भनेर कसैले चुनौती दिँदैमा हामीले निधार खुम्च्याउनुपर्ने हो र ? हामी त हाँसेर, ढुक्क भएर भन्नुपर्छ हामीले यति काम गरेका छौ लौ भन– म त भन्ने गर्छु न भुतो न भविष्य !
पहिचानको दुनियाँमा, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौ त्यति अरू कसैले पनि गर्नुभएको छैन । कसैलाई मैले हेपेको होइन, हामीले मौका पायौँ, गरेर देखायौँ । भन्नुस् धर्मनिरपेक्षता कसले घोषणा गर्यो ? धर्मनिरपेक्षता हामीले घोषणा गर्यौ । जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो, यहाँहरूको आशीर्वाद र शुभकामनाले ।
त्यो पुनर्स्थापित प्रतिनिधिसभाको मै सभामुख थिएँ । निर्विवाद र सर्वसम्मतिले म सभामुख थिएँ । त्यहाँबाट घोषणा भयो । कोही कोही साथीभाइहरूले सुवासले खुसुक्कै धर्मनिरपेक्षता छिराइदियो पनि भने । म त्यतातिर जान चाहन्नँ ।
त्यस्ता केही साथीहरू हिजो अस्ति चुनावमा पनि पुगेका थिए । यो ताल त दक्षिणपट्टीबाट पनि केही साथीहरू आउनुभयो रे ! यो धर्मनिरपेक्षता घुसाउने सुवासलाई हराउनुपर्छ भनेर । मलाई थाहा छैन म अलिक बिर्सने मान्छे । को साथीहरू हुन् ? के हुन् कसो हुन् ? कुनै दिन समय लिएर अलिक व्यापक रूपमा भनौला यसबारेमा । म कहिले रिस नउठ्ने मान्छे । त्यसैले रिसाइनँ ।
तर अलिअलि रिस उठ्यो होला जम्मै कुरा सुनाएर के भने त भन्दा यी साथीहरू जसले ममाथि यस्तो आरोप लगाइरहेका छन् यिनीहरू । म त कम्युनिस्ट परेँ । एमालेको इमानदार कार्यकर्ता । मलाई त स्वर्ग नर्कमा विश्वास छैन । तर यी साथीहरू त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरू चाही सोझै नर्क जान्छन् भन्दिएँ मैले । त्यति रिसाएको त भएन नि हैन ?
akabarey.com परीक्षण प्रसारणमा छ l
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...