समी,बर,पिपल (भिआइपी ) रुखहरूको महत्त्व बुझौं

प्राणदायी वर,पिपल,समीप्रति मान्छेका कर्तव्य प्राय आजकल विकास निर्माण र विशेषत: सडक निर्माणको क्रममा बीभत्स ढङ्गले काटिदै गरेका भव्य समी,बर,पिपलको रुखहरूको दुर्दशा देख्न पाइन्छ l यस्ता दृश्य यति कारुणिक र हृदयविदारक हुन्छन् जसले हरकोहीको मन कटक्क दुख्छ l कुरूप मानवताको अनुहार उदाङ्गो देखिने अनेक चित्र सार्वजनिक भएका छन् l
विकासको नाममा दुई दशकदेखि हामी जे गरिरहेका छौ यसले भीषण बर्बादी र भोलिको कारुणिक अवस्थाको सङ्केत गरेको छ l हाम्रा प्राकृतिक सम्पदा वैभव संस्कृति,विज्ञान,वातावरण,धर्म र प्रकृतिको बेजोड संगमलाई निर्ममतापूर्वक मासिरहेका छौं जसले गर्दा भोलिको प्राकृतिक र मानवीय विपत्तिको छनक दिएको छ l हाम्रो मूर्खताले भावी सन्ततिको प्राकृतिक सुखलाई बज्र हानिरहेको छ l
हुर्कन मुश्किल पर्ने र ठूलो बन्न सयौं वर्ष लाग्ने बहुउपयोगी, औषधिजन्य गुण भएको धार्मिक आस्था र विश्वास अनि प्राकृतिक महत्वसँग जोडिएको बर, पिपल,समी लगायत वनस्पति नासेर हामी के गर्दै छौ ? कस्तो विकासको मोडेल भित्र्याउदै छौ ? बहूउपयोगी वनस्पति हाम्रो अस्तित्व, भविष्य र पर्यावरणसँग जोडिएको वृक्ष संसारभर खोजी खोजी रोप्ने हुर्काउने र संरक्षण गरिन्छ l
भारतको कलकत्तामा जगदीश चन्द्र वोस बोटानिकल गार्डेनमा ‘द ग्रेट वानयान ट्री’ जसको संरक्षणमा १३ जना कर्मचारी खटिएका छन् l जुन विश्वको सबैभन्दा ठूलो बरको रुखले परिचित र गिनिज बुकमा नाम भएको बताइन्छ l यो रुख १४ हजार वर्ग मिटरमा फैलिएको २४ मि. अग्लो र तीन हजार भन्दा धेरै लहराले जमिनमा पुगेर त्यहाँबाट नयाँ हाँगा पलाएर फेरि रुखको रुपमा फैलिएको छ जसलाई हिंड्ने रुखको उपमा पनि दिइन्छ यो रुखको ऐतिहासिक महत्व जीवित राख्न १९८७मा हुलाक टिकट समेत प्रकाशन भएको छ l
रुखको संरक्षण र महत्वलाई ध्यान दिने छिमेकी राष्ट्र नजिक भएर हामी चै बर पिपल र समीलाई अमानवीय ढंगले क्षति पुर्याई रहेका छौ l बर,पिपल र समी लामो आयु हुने र विशालकाय रुख हुन् जुन विश्वको सबै भागमा १६०० मिटरको हावापानीसम्म पाइन्छ l नेपालका थुप्रै जिल्लाहरूमा २५० वर्ष सम्मको बर पिपलको रुख भएको मानिन्छ l तर आज सडक विस्तार र निर्माणको नाममा जसरी यस्ता रुखको तीव्र विनास भएको छ त्यो देखेर मानव हृदय कसरी यति पाषण बन्यो विषय सोचनीय र गम्भीर छ l प्रकृतिमाथि निर्मम दमन गरेर हामीले हाम्रा सन्ततिको भोलिलाई जोखिममा पारिरहेका छौं l
नेपाली हिन्दु पराम्परमा भगवान विष्णुको अवतार मानेर पूजा गरिने बर पिपल र समीलाई त्रिदेवको रुपमा लिइन्छ l बर पिपल र समीको विवाह गरिदिने सांस्कृतिक चलनको कारण पनि जहाँ बर त्यहाँ समी या पिपल हुनु अनिवार्य मानिन्छ l यो अनिवार्यतामा यी वनस्पतिको संख्या बृद्दिको कारण निहित छ l तराइमा हरेक जेठ औंशीमा ‘बटसावित्रीको’ पूजा गर्ने चलन छ l पूर्वीय धर्म संस्कृतिमा पवित्र रुखको संज्ञा पाएको बर पिपल र समीको आज जुन तवरले विनाश भैरहेको छ यसले पश्चाताप सिवाय केही दिदैन l कुनै पनि वृक्ष काट्नु पर्दा क्षमा पूजा गरेर काटिने संस्कार र परम्परामा हुर्केका हामी यतिबेला रुख काट्नलाई बहादुरी,आधुनिकता र विकाससँग जोडेर प्रदर्शन गर्दैछौ ? रुखले मानिसलाई धेरै प्रकारको सहयोग गर्दै आएको छ औसधि, फर्निचर घर निर्माण,प्राणवायू उत्पादन, इन्धन, बुढेसकालमा सहारा लौरो, घामपानीबाट संरक्षण,सुन्दर प्राकृतिक दृश्य, हरियाली, जलवायु परिवर्तनमा नियन्त्रण, र पर्यावरणीय स्वच्छता र प्राणीहरूको संरक्षण इत्यादि l
समष्टिमा रुखहरूका राजा समी,बर, पिपल हरेक हिसाबले भिआइपी रुखहरू हुन् l रुख बोट बिरुवाले अक्सिजन फाल्ने गर्छ l अक्सिजन आपूर्तिमा यी तीन रुखको भूमिका धेरै रहन्छ l वैज्ञानिकहरूका अनुसार पिपल एक मात्र त्यस्तो वृक्ष हो जसले २४ घण्टा नै अक्सिजन छोड्छ l त्यसैले पिपलको समिप जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ भन्ने वैज्ञानिकातामा आधारित भएर पिपलको पूजालाई धार्मिक आस्थासँग नजिक राखिन्छ l यिनको संरक्षणमा हाम्रो भविष्य सुनिश्चित छ यिनको विनाशमा हाम्रो भविष्य जोखिम तसर्थ रुख जीवन हो l यात्रामा थकित रहेको बेला बरपीपल र समीको चौतारा भएको ठाउँमा पल्टेर त्यसको सिर्सिरे हावामा आफूलाई थकान रहित बनाउनुको मजा यो पङ्क्तिकार जस्तै धेरैले लिएका होलान् ?
हाम्रा पूर्खाले धार्मिक आस्था र स्वर्गको आशा र लोभ देखेर, देखाएर जसरी रुख बनस्पतिको महत्व बुझे बर,पिपल, समीलगायत रुख रोप्दा पुण्य पाइने र धर्म मिल्ने कुरा गरे यो विज्ञानलाई चुनौती नभएर विज्ञानको समर्थन गर्ने भावी पुस्तालाई बचाइ राख्ने उपाय रहेछ l प्राकृतिक र पर्यावरणीय निरन्तरताको दीर्घकालीन सोच रहेछ l अहिलेको पुस्ताले रुख रोप्न भन्दा विनासमा रमाएको छ l सडक स्तर उन्नति र सडक ट्रयाक खोल्ने नाममा देशका प्राय सार्वजनिक स्थलका चौतारी, बिसौनी मासिएको छ l बर पिपल काटिएको छ त्यसले हाम्रो सभ्यता संस्कृति र प्रकृतिमा एकैपटक धावा बोलेको छ l
काठमाडौँलगायत देशका प्राय जसो सहरमा रहेका रुख काटिएका छन् l सडक विस्तारको चपेटामा परेर उजाड भएको काठमाडौँ बल्ल अलिअलि नयाँ नयाँ विरुवा हुर्कौउँदै छ l देशका सबै सहरको हालत यही छ तर गाउँमा काटिएका रुखको सट्टा अर्को वृक्ष रोप्ने संस्कार संस्कृति र दृष्टिकोण बिकसित हुन् सकेको छैन l अक्सिनको महत्व कति हुँदोरहेछ त्यो कोरोना कहरमा अक्सिजन नपाएर प्राण त्याग्नु परेका र अक्सिजन ढिलो हुँदा कष्ट बेहोरेर बाँचेर घर फर्केका मान्छेलाई हेरेर मान्छेले बुझ्नु पर्ने हो l
जलवायु समस्या जसरी देखिंदै गएको छ त्यसले आगामी प्राकृतिक पर्यावरणीय असरको प्रतिबिम्ब देखाउँछ l शयौ वर्ष लागेर हुर्केर सोभा दिएका शितल छहारी दिएका चर्को घामपानी, हावाहुरीबाट बचाउने जोखिम आपद विपदमा संरक्षणको छाता ओढाउने औसधि जन्य गुण भएको वनस्पति वृक्ष संरक्षण बारे आज सोच्न र नयाँ नयाँ विरुवा हुर्काउन सकिएन भने हामीले अर्को पुस्तालाई घात गरेर त्यो पुस्ताको श्राप र धिक्कार आफ्नो भागमा पार्छौ l
अचेल बाँदरले खुब दुख दिएको र बालीनाली सखाप पारेको सुन्न र पढ्न पाइन्छ त्यसको अप्रत्यक्ष कारण बर, पिप, समीको विनास पनि हो l जताततै बर पिपल र समी हुँदा यसको फल खाएर बाँदर अलमलिने गर्थ्यो तर त्यो अवस्था नभएकोले बाँदर सिधै बालीनालीमा पुग्छ l यसर्थ यस्ता फल दिने रुख बाटो घाटो र चौतारोमा मात्र नभएर बन जङ्गल सर्वत्र हुनु आवश्यक छ l पवित्र रुखको आडमा बसेर गलत इन्साफ गर्दैन मान्छेले भन्ने तर्क र विश्वासको कारण सार्वजनिक चौतारो र पाटीमा जहाँ बर पिपल हुन्छ त्यसमा बसेर झैँ झगडा मिलाउने र न्याय निसाफ दिने चलन थियो l
बर पिपल र समी जस्ता रुख काट्दा पाप लाग्ने विश्वासको कारण पनि यस्ता रुखहरू लामो आयू लिएर बाँचेका थिए l त्यो विश्वास पनि धर्मरिएको कारण आज बन विनाश तीव्र गतिमा भैरहेको छ l आयुर्वेद विज्ञहरू यी रुखको औसधिजन्य गुणलाई पनि यसको महत्व र मान्छेको जीवन र स्वास्थ्यको अभिन्न अङ्गको रुपमा विश्लेषण गर्छन l धार्मिकरूपमा यी रुखका पातलाई बेलपपात्ताको एकीकृत नाममा चिनाइन्छ अर्को उलेख्य पक्ष के हो भने बर,पिपल समी र बेल जुन ठाउँमा भेटिन्छ त्यो पुण्यभूमि हो l बर पिपल समी र वेलको रुख भएको स्थानमा चौतारी र पोखरी धारा निर्माण गर्ने पाटी पौवा समेत बनाउने हाम्रो सभ्यताले यी सबै कुराको संयोजनमा सौन्दर्य पनि थपेको हुन्थ्यो l यी चारको संगम अत्यन्त कम ठाउमा मात्र पाइन्छ l
यी रुखबाट प्राप्त हुने फल, वियाँ,बोक्रा, पात, चोप र जरा औषधीय गुणले भरिपूर्ण बहुउपयोगी चिज हुन् l जडिबुटीय महत्व पनि वृक्षका अर्का विशेषता हुन् l हाम्रा यी अमुल्य रुखहरू धार्मिक सांस्कृतिक, सौन्दर्य, वैज्ञानिक, पर्यावरणीय र ऐतिहासिक धरोहर हुन् l जीवनसँगको प्रत्यक्ष सरोकार प्राण वायु प्रदान गर्ने वृक्ष हुर्काउनु बढाउनु संरक्षण गर्नु वातावरणविद्को मात्रै कर्तव्य होइन l पृथ्वी साझा घर हो, पृथ्वीको जलवायु, भूक्षय र समग्र प्राकृतिक असन्तुलन यसका स्वास्थ्यका खरावी हुन् l
मान्छेको स्वास्थ्य प्रकृति र पृथ्वीसँग अन्योन्यास्रित हुन्छ अत: वातावरणीय विनाश निम्त्याउनु कसैको पनि हितमा छैन पृथ्वीका ८ अरब मान्छेको स्वास्थ्य बन जंगल रुख विरुवा हुन् l यिनकाप्रति सबैको कर्तव्य हुन्छ l रुख रोप्ने चलनलाई एउटा कर्तव्यको रुपमा विकास गरिनु पर्छ जुन कर्तव्य आफ्नो र पृथ्वीको भविष्यको लागि हुन्छ l त्यसमा पनि धार्मिक,वैज्ञानिक,सांस्कृतिक र औसधिजन्य गुणले भरिपूर्ण बट वृक्ष बर,पिपल, समी ( स्वामी ) आदिलाई रोप्ने हुर्काउने गरेर वातारणीय, शुद्द्ता जैविक, स्वच्छता र सन्तुलनमा सबैले योगदान गर्ने परम्परा बसाल्नु पर्छ l
केही वर्ष यता मान्छेमा आएको जागरुकता रुखको महत्व र यसले दिने प्रत्यक्ष परोक्ष फाइदालाई ध्यानमा राखेर धर्म संस्कृति वातावरण र विज्ञानलाई एकैठाउँमा जोड्दै बर,पिपल, चौतारी पोखरी संरक्षणको शुरुवात विभिन्न जिल्ला जिल्लाबाट भएको छ l बर,पिपल ऐन २०७५ जारी भएर स्वीकृत भएको सुखद स्थिति पनि समय सचेतताको प्रमाण बनेर आएको छ l हाम्रा पूर्वजले विरासतमा छोडेका कतिपय धर्म संस्कृति,परम्परा, विज्ञान, वातावरण, स्वास्थ्य, शिक्षा, नैतिकता र जीवन शैलीसँग घनिभूत तवरले गाँसिएका छन् l अग्रजको त्यो नाशो, त्यो सांस्कृतिक र वैज्ञानिक धरोहर भावी पुस्तालाई पनि हस्तान्तरण गर्नु आजका मान्छेको पनि गहन कर्तव्य हुनजान्छ l विकास मान्छेको लागि हो l विकास विनासको प्रतीक बनाइनु गलत छ l प्राकृतिक सौन्दर्य मासेर कृतिम सौन्दर्यको लालच राख्दा भावी पुस्तालाई हामीले दिने नासो केही बाँकी नरहन सक्छ l पुराना बर पिपल समी लगायतका रुखसँग इतिहास पनि रहेको हुन्छ l बस् इतिहास खोतल्न जान्नु पर्छ l
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...