न्यायाधीशको सम्पत्ति छानबिन र पारदर्शिताः शुद्ध न्यायिक प्रणालीका लागि आवश्यक सुधारको बाटो-अधिवक्ता यज्ञमणि न्यौपाने
लोकतान्त्रिक शासन प्रणालीमा न्यायपालिका विधिको शासनको अन्तिम रक्षक हो । जनताको विश्वासमा अडिएको न्यायपालिका स्वतन्त्र मात्र नभई पारदर्शी र उत्तरदायी पनि हुनुपर्छ।न्यायाधीशहरूको नैतिकता र शुद्धता नै न्यायपालिकाको मर्यादा हो । तर नेपालमा न्यायाधीशहरूको सम्पत्ति विवरण गोप्य राख्ने कानुनी व्यवस्था नै न्यायिक निष्ठाको अवधारणासँग प्रतिकूल दिशामा गएको छ । जब न्याय दिने निकाय नै गोप्यताको पर्दा पछाडि लुक्छ, त्यहाँ न्यायको नैतिक बल कमजोर हुन्छ र जनविश्वासमा दरार आउँछ ।
विश्वका विकसित र लोकतान्त्रिक मुलुकहरूले न्यायिक पारदर्शिता र सम्पत्ति शुद्धिकरणलाई न्यायिक स्वतन्त्रताको अभिन्न अङ्गका रूपमा स्वीकार गरेका छन् । अमेरिकामा “Judicial Conduct and Disability Act, 1980” अन्तर्गत संघीय न्यायाधीशहरूले वार्षिक रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ र सो विवरण “Judicial Conference” तथा “Department of Justice” सँग दर्ता हुन्छ । भारतमा सर्वोच्च र उच्च अदालतका न्यायाधीशहरूले “In-House Procedure” अन्तर्गत आफ्ना सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रथालाई संस्थागत रूपमा कायम राखेका छन् । ब्रिटेनमा “Judicial Conduct Investigations Office (JCIO)” नामक स्वतन्त्र निकायले न्यायाधीशहरूको आचरण र आर्थिक पारदर्शिताको छानबिन गर्छ भने फ्रान्समा “High Authority for the Transparency of Public Life” मार्फत न्यायाधीश, मन्त्री र सांसद सबैको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था छ । यी उदाहरणहरूले स्पष्ट देखाउँछन् कि न्यायिक स्वतन्त्रता गोपनीयताको आडमा होइन, पारदर्शिताको जगमा टिक्छ ।
नेपालको सन्दर्भमा संविधानको धारा १२८(४) अनुसार न्यायाधीशहरू आचारसंहितामा बाँधिने व्यवस्था भए पनि, न्याय परिषद् ऐन, २०४७ र न्याय परिषद् नियमावली, २०७४ अन्तर्गत न्यायाधीशहरूको सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था गरिएको छ । सो विवरण सार्वजनिक गर्न वा सर्वसाधारणले हेर्न कानुनी अधिकार छैन । यसले न्यायपालिकालाई पारदर्शिता र उत्तरदायित्वको परिक्षणबाट अलग बनाएको छ । जब न्यायाधीशहरूको सम्पत्ति वृद्धिको स्रोत सार्वजनिक हुँदैन, तब न्यायिक निर्णयको निष्पक्षतामाथि जनताले प्रश्न गर्न स्वतः आधार पाउँछन् । यस्तो गोप्यता संविधानको धारा २(१) अन्तर्गत जनसार्वभौमिकताको सिद्धान्त र विधिको शासनको मूल भावना विपरीत छ । सार्वजनिक पदमा बसेका राष्ट्रपतिदेखि मन्त्री र सांसदसम्मले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने अवस्था हुँदा न्यायाधीशहरू मात्र अपवाद हुनु नैतिक रूपमा असंगत र संस्थागत पारदर्शिताको दृष्टिले बेठिक छ ।
जेन्जी विद्रोहले न्यायपालिकामाथि र अदालतमाथिको विश्वास पनि आम नागरिकमा नरहेको दृष्टान्त महसुस भयो। अब नेपालले न्यायिक निष्ठा र जनविश्वास पुनःस्थापित गर्न ठोस कदम चाल्न आवश्यक छ । पहिलो, न्यायाधीशहरूको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान स्पष्ट गर्नुपर्छ। दोस्रो, न्याय परिषद्लाई स्वतन्त्र “Judicial Accountability Commission” मा रूपान्तरण गरी सम्पत्ति विवरण संकलन, परीक्षण र प्रकाशन गर्ने जिम्मेवारी दिनुपर्छ। तेस्रो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई न्यायिक कार्यमा होइन तर न्यायाधीशहरूको व्यक्तिगत आर्थिक आचरण र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्ने अधिकार कानुनी रूपमा सुनिश्चित गर्नुपर्छ । चौथो, नागरिक र मिडियालाई सम्पत्ति विवरणमा पहुँच दिलाउने गरी “Public Asset Disclosure Portal” स्थापना गर्न सकिन्छ, जसले जनविश्वास बढाउनेछ।
न्यायपालिका स्वतन्त्र हुनुपर्छ, तर उत्तरदायित्वविहीन हुन पाउँदैन ।
न्यायाधीशको सम्पत्ति गोप्य राख्ने कानुनी प्रावधानले न्यायिक संस्थाको नैतिक मर्यादा घटाउँछ र न्यायालयमाथिको जनविश्वासमा प्रत्यक्ष असर पार्छ। पारदर्शिता न्यायिक गरिमाको अपमान होइन, बरु त्यसको शक्ति हो । जनताको करबाट तलब पाउने र सार्वजनिक सम्पत्तिबाट सुविधा उपभोग गर्ने न्यायाधीशहरू पनि त्यसै जनताप्रति उत्तरदायी हुनुपर्छ । अब समय आएको छ । नेपालमा न्यायाधीशहरूको सम्पत्ति गोप्य राख्ने होइन, सार्वजनिक गर्ने कानुनी प्रणाली निर्माण अनिवार्य गर्नैपर्छ । किनभने जहाँ पारदर्शिता हुन्छ, त्यहीँ न्यायको विश्वसनीयता टिक्छ ।
स्मरणीय यो आर्टिकल लेखक न्यौपानेको फेसबुक पेजबाट साभार गरिएको हो l ( लेखको विशेषधिकार लेखकमा निहित) भनेर लेखकले नै उल्लेख गरेका छन् l- सम्पादक
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...