देशको संकट समाधान : प्रधानमन्त्री सुशीला कार्कीको सुशील नेतृत्व आवश्यक
अहिले देश अत्यन्तै गम्भीर राजनीतिक संक्रमण र संकटमा अग्रगमन वा यथास्थिति वा पश्चगमन जस्ता प्रश्नको निर्णायक मोडमा उभिएको छ । मुलुकमा सदियौँदेखि जरा गाडेर रहेका असमानता, अन्याय, भ्रष्टाचार, विभेद र पितृसत्तात्मक सोच चिन्तनको जाललाई भत्काउँने उदेश्यले जेन–जी आन्दोलन विकास र समृद्धि सहितको नयाँ नेपालको संकल्प गर्दै नेतृत्वलाई मार्गनिर्देशन गर्न ऐतिहासिक दायित्वसमेत आम नागरिक र नयाँ नेतृत्वलाई हस्तान्तरण गरेको छ । २०८२ भदौ २३–२४ गते भएको यस आन्दोलनमा ७२ भन्दा बढी निर्दोष नागरिकले आफ्नो अमूल्य जीवन गुमाउनु पर्यो, सयौँ घाइते भए, सम्पत्ति नष्ट भयो, तर यो बलिदान व्यर्थ जान हुदैन र जानदिइनेछैन । आन्दोलनले पुराना र थोत्रा गलेका नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको केपी ओली नेतृत्वको सरकारलाई राजिनामा दिन बाध्य मात्रै हैन देशमा नयाँ राजनीतिक अध्यायको सुरुवात गराएको छ l
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ । तर मुलुकको संकट केवल सरकार बदल्ने र नेतृत्व फेर्नेमा मात्र सिमित हुनुहुँदैन । देशको आवश्यकता र आन्दोलनको माग मुल कुरा हुन ,वर्तमान देशको परिस्थिति र समस्याको समाधानको विषय प्रमुख हुन यसका निमित्त अन्तरिम सरकारले गर्नुपर्ने केही आधारभूत कदमहरू राख्न चाहान्छु ।
१. जेन–जी आन्दोलनमा निर्दोष नेपालीको हत्या गर्ने हत्याराहरूमाथि तत्काल कारबाही हुनुपर्छ ।
२. आन्दोलनकै क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूमाथि निष्पक्ष छानबिन र कानूनी प्रक्रिया अगाडि बढाउनुपर्छ ।
३. विघटित संसदलाई पुनर्जीवित गर्ने भ्रष्ट र पुराना दलहरूको प्रयासलाई रोक्दै जनताको म्यान्डेटलाई सम्मान र पुर्ण कार्यनयन गर्नुपर्छ ।
४. सबैप्रकारका भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति तत्काल लागू हुनुपर्छ ।
५. तोकिएको आम निर्वाचनमार्फत समानुपातिक समावेशी सिद्धान्तमा आधारित इमानदार, जनमुखी र नयाँ पुस्ताको नेतृत्व चयनको ढोका खोलिनुपर्छ ।
६. सदियौंदेखि जकडिएर रहेको जातीय, धार्मिक र लैंगिक विभेदको पूर्ण अन्त्य गरिनुपर्छ ।
७. विदेशमा रहेका नेपाली नागरिकलाई समेत भोटाधिकार सुनिश्चित गर्नुपर्छ ।
सम्माननिय राष्ट्रपतिद्वारा जेन-जी आन्दोलन लाई अत्यन्तै सहज सरल र संवेदनशीलता अपनाएर संबिधानको रक्षा गर्दै सरकारविहीन अवस्थामा मुलुक गम्भीर दुर्घटना बाट रोक्नुभो अत्यन्तै सम्मान योग्य छ यदी राष्ट्रपतिले त्यो संयमता अपनाउनु भएको थिएन भने मुलुक अझै दुर्घटनामा पर्न सक्थ्यो । तर, संवैधानिक जिम्मेवारी वहन गर्दै सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले खेलेको भूमिकाले मुलुकलाई अस्थिरता र पछाडि फर्किने अवस्थाबाट बचाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकता जस्ता ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्न उहाँको योगदानप्रति हामी आम नागरिक र राजनीतिक दल सबैले आभार प्रकट गरेर अब देशलाई असल मार्गमा लैजानु पर्छ । विश्वका राजनीतिक घटनाक्रमलाई नियाल्दा कुनैपनि विद्रोह वा आन्दोलन पश्चात नयाँ सरकार गठन हुनु स्वाभाविक प्रक्रिया हो कति मुलुक पश्चगमनतिर पुगेका छ्न ।
नेपालमा पनि जेन–जी आन्दोलनकै जगमा सम्मानिय रास्ट्रपति ज्युले अभिभावकत्वको अधिकार सहित संबैधानिक नयाँ सरकार बनेको हो । आन्दोलनको मागअनुसारै प्रधानमन्त्री नियुक्ति भएको र उहाँको सिफारिसमा संसद विघटन भयो । यसले जनताले सडकमा देखाएको शक्ति र बलिदानलाई संस्थागत गरेको छ । यसलाई राजनीति दलहरूले ससम्मान स्वुकार गरेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ । पुराना दलहरूको आपत्ति र जनताको म्यान्डेट भ्रष्टाचारमा लिप्त राजनीतिक दल र तिनका मतियारहरूले राजनीति र देशको नेतृत्वको क्रमभंगता गरेर नयाँ नेतृत्व देशमा आउनु लाई संसद विघटनको बहानामा विरोध गर्नु अस्वाभाविक होइन । किनकि संसद जीवित रहेमा उनीहरूले भ्रष्टाचार निरन्तर दिएर अकुत सम्पत्ति थुपारेर देशलाइ रित्याउथे त्यही कारण , आन्दोलनबाट प्राप्त जनम्यान्डेट संसद विघटन र नयाँ जनादेशलाई उनको अस्वीकार्य हो । अब कि गर कि मर भनेझैं भएको छ तिनलाई , जनताको बलिदानबाट आएको परिवर्तनको अपमान गर्न कसैलाई अनुमति दिन सकिन्न म तिनीहरु पार्टी र तिनका नेतालाई भन्दछु अब फेरि तिनै विगतका गल्ती दोहोर्याउने चेस्ठा नगरेस फेरि जेन-जी समू हले अर्को आन्दोलन गर्नुपर्यो निकै संकट आउनेछ त्यो समय तपाईं र तपाईंको पार्टी नरहन सक्छ । पहिलो महिला प्रधानमन्त्री र आशा देशलाई जेन–जी आन्दोलनले ऐतिहासिक उपलब्धिसहित नेपालमा महिला पहिलो प्रधानमन्त्री दिलाएको छ l नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छौ । पूर्वप्रधानन्यायाधीशको रुपमा सुशासन, न्याय र भ्रष्टाचारविरुद्ध अडान राख्ने सुशीला कार्कीलाई नेतृत्वमा देख्नु यो मुलुकका लागि गौरवको विषय हो । उहाँले न्यायालयदेखि राज्यको उच्च पदसम्मको प्रत्यक्ष अनुभव बोकेकी छिन् । यही घडीमा प्रधानमन्त्री सुशीलाले उहाँको सुशील नेतृत्व मुलुकलाई संकट समाधान र समृद्धितर्फ अघि बढाउने शक्ति बन्नेछ भन्ने विश्वास गर्न सकिन्छ । मेरो व्यक्तिगत अनुभव र संकल्प म विगत ३५ वर्षदेखि सामाजिक, धार्मिक र जातीय उत्पीडनविरुद्ध अर्ध–भूगर्भ संघर्षदेखि लिएर बिद्रोहीदलको नेतृत्व गर्दै सरकार संग शान्तिवार्ताको संयोजन गर्दै शान्तिपूर्ण राजनीति अवतरण अनुभव लिएको छु । त्यसपछि विकास प्रेमी पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि मधेस आन्दोलनका नेता उपेन्द्र यादव, जनजाति आन्दोलनका अग्रज अशोक कुमार राईसम्म सँग मिलेर काम गरेको अनुभव छ ।
यी यात्राले मलाई एउटा कुरा सिकायो l यो देशलाई सुन्दर, समृद्ध र न्यायपूर्ण बनाउन सकिन्छ । यहि हिम्मत राखेर अब उत्पीडित समुदायको नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गरेर असल, इमानदार र पारदर्शी नेतृत्व दिने समय आएको छ । यही संकल्पसहित म संयुक्त नागरिक पार्टीमार्फत देशलाई नेतृत्व गर्ने दृढ प्रतिज्ञा गरेको छु । देशको नयाँ अध्याय सुरु भएको छ, हामी संयुक्त नागरिक पार्टीले यस ऐतिहासिक क्षणमा पटकपटक भनेका छौ र निरन्तर भनिरहनेछौं जेनजी आन्दोलनका उपलब्धि र हाम्रा मागहरू स्पष्ट राखेका छौ । १. जेन–जी आन्दोलनमा राज्य शक्तिको दुरुपयोग गरी निर्दोष ७२ भन्दा बढी नागरिकको हत्या गर्ने हत्यारामाथि तत्काल कारबाही होस् ।
२. आन्दोलनकै क्रममा व्यक्तित वा राज्यको सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूमाथि छानबिन गरी कानूनी कारबाही गरियोस् ।
३. विघटित संसदलाई पुनर्जीवित गर्ने प्रयासलाई राजनीति दलको षडयन्त्र अस्वीकार गर्दै भ्रष्ट दलका नेतृत्वलाई कानूनी कठघरामा उभ्याइयोस् ।
४. सम्पूर्ण भ्रष्टाचारी र तिनका संरक्षकहरूमाथि शून्य सहनशीलताको नीति अपनाई कडा सजायको व्यवस्था होस् ।
५. आम निर्वाचनमार्फत असल, इमानदार, जनमुखी र नयाँ पुस्ताको नेतृत्व चयनको बाटो खोलियोस् ।
देशमालाई अग्रगामी बाटोको तय : देशका आम सचेत नागरिक हामी सबैले एउटा ऐतिहासिक अवसर पाएका छौं, त्यो हो पुराना हठी र नवसामन्ती नेतृत्वको युग समाप्त गरेर असल, पारदर्शी, जनसेवामा समर्पित नयाँ पुस्ताको नेतृत्व निर्माण गर्ने । यही नेतृत्वले मुलुकको पुनर्निर्माण, सुशासन, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय, समानुपातिक समावेशिता र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई संस्थागत गर्नेछ । शहीदहरूको बलिदानप्रति सच्चा श्रद्धाञ्जली त्यतिबेला हुनेछ जब हामी नयाँ नेपाल निर्माणको सपना साकार पार्छौं । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, अग्रगामी दलहरू, सचेत नागरिक समाज र आम युवाहरूलाई म र मेरो नेतृत्व रहेको संयुक्त नागरिक पार्टी आह्वान गर्दछौं कि,आगामी आम निर्वाचनलाई राष्ट्र पुनर्निर्माणको अग्रगामी आन्दोलन र अवसरका रूपमा लिनुपर्दछ । यस कठिन घडीमा सम्माननिय प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सुशील नेतृत्व बाट मुलुकलाई स्थायी शान्ति, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन ऐतिहासिक जिम्मेवारी आएको छ यसलाई पुर्ण रूपमा उदाहरण र सफलता मिलोस भन्ने दृढ विश्वास गर्दै साथ सहयोग र समर्थन रहनेमा हामीको सबै प्रतिबद्धता छ र रहनुपर्छ भन्ने कुरा ध्यानाकर्षण गराउदछु ।
स्मरणीय : लेखक दलमर्दन कामी संयुक्त नागरिक पार्टीका अध्यक्ष हुनुहुन्छ l
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...