प्रिय दलित मित्रहरू ! तपाईहरू वैज्ञानिक र इन्जिनियरिङ विधाको पायोनियर हो,आउनुहोस् समाजको नयाँ डिजाइन गरौं

ब्राह्मण,क्षेत्रीलगायत कथित उच्च जातका भनिनेहरू हिराको वीर्य र सुनको पाठेघरका उत्पादन होईनन्, अन्यभन्दा जन्मसिद्द फरक बुझ्नु र बुझाउनु दुवै गलत छन् । सबैको सृष्टिद्वार एकै हो । कोही पनि मुखबाट जन्मेका होइनन् । सबै मान्छे,पृथ्वी, जल, तेज, वायु र आकाशका परिणति हुन् । तब ठुलो र सानो जात किन र कसरी ? कुनै कोखको जन्म त्यसै मर्यादित अनि कुनै कोखको बास उसै अपहेलित ?
म जनै लगाउनेमा पर्छु l मैले जनै लाए नि हुन्छ l किलामा झुण्ड्याए पनि l जन्म संयोग म तागाधारी वर्गमा परे l म मन्दिर जान्छु, टीका लगाउछु , टुपी पनि पाल्छु l धार्मिक अनुष्ठानहरू गर्छु । मेरो धार्मिक स्वतन्त्रता जीवन शैली हो l मेरो मन मस्तिष्कमा हिन्दु धर्म छ l मैले धर्म जन्मदै धारण गरेको हुँ l धर्मको मनोविज्ञानबाट म हत्तपत्त बाहिर निस्कन सक्दिन l मेरो शरीरको प्रत्येक रौँ चिरामा मेरो सामाजिक धर्म र संस्कृति छ l नेपालमा रहने सबै धर्म संस्कृति र सम्प्रदायमा जन्मने मान्छेको मेरो जस्तै आफ्नै छुट्टै विशेषता र जीवन शैली छ l
बुद्द धर्मको आफ्नो शैली र शील छ भने किराँत, मुश्लिम, जैन,बोन,क्रिश्चियनलगायत यावत धर्म र संस्कृति हामी अवलम्बन गर्छौ ती सबैको आ-आफ्नो विशेषता छ,आचरण,व्यवहार,मान्यता र दर्शन छन् l मैले जनै लगाएकै कारण, टुपी पालेकै कारण, मन्दिर ढोगेकै कारण म तपाईभन्दा उपल्लो र माथिल्लो जातको मान्छे आफूलाई किमार्थ सम्झन्न l विगतमा के थियो त्यता नजाउँ जनै उत्कृष्टताको प्रमाणपत्र हो भनेर भर्खरै जनै लगाएको मेरो छोरोलाई थाहा छैन l सम्भवत मैले पनि जनै लगाएर म ठूलो जातको भएको उपल्लो श्रेणीको हो कहिल्यै सोचिन l
आउनुहोस् मन्दिरसँगै पसेर भक्तिको दियो बालौं l मलाई थाहा छैन मैले जनै किन लाएँ,तर मैले लगाएको जनै विभेदको परिचायक म बनाउन चाहन्न र जनै लगाउन रहर हुने जसले लगाए पनि हुन्छ भन्ने मेरो मान्यता छ l हिन्दु धर्मको विराट दर्शन र सभ्यता भित्र रहेको, हिन्दु धर्म अवलम्बन गरेर त्यही धर्ममा आस्था र विश्वास राख्नेलाई पनि नीच भन्ने एउटा गलत परम्परा र व्यवहार रहेको कमसल प्रथा र अमानवीय पक्ष हो l जुन खारेज गर्न चाहन्छु, तसर्थ म जनै फालेर होइन लाएर नै तपाईसँग एकाकार हुन चाहन्छु l मैले जनै फालेर तपाईसँग आए भने जनै उच्चताको प्रतीक नै रहेको निस्कर्ष निस्कन्छ, त्यसैले म जनै लाएर नै समता,मर्यादा र स्वाभिमानको लागि तपाईसँग छु l
कुनै पनि विषयमा असल र खराब पक्ष हुन्छन् l खराव पक्ष झिकेर असल पक्षलाई आत्मसात गर्नुपर्छ l कुनै किताबको केही च्याप्टर खराब हुँदा पुरै किताब पोल्ने मूर्खता गर्नु हुँदैन l अत: हिन्दू धर्मको सवालमा पनि तहगत संरचना बनाएको छ,जुन नितान्त अवैज्ञानिक र असमान छ l एकै हावाले सास फेरेर एकै धर्तीमा बसेर एकै पानीले प्राण रक्षा गर्ने, एकै संविधान र नीति नियममा बस्नुपर्ने,हामी कसरी तलमाथि हुन सम्भव छ ? जैविक , शारीरिक र आनुवांशिक सबै प्रक्रिया एकै हो l छुत , अछुत कृतिम र मानव निर्मित अल्पचेतनाको तत्कालीन प्रबन्ध हो l २१औ शताब्दी सुहाउदो छैन l यो कृतिम असमानता मानवअधिकार र समान अस्तित्व बोक्ने मान्छेको हकमा न्यायोचित हुदैन l हामी भित्रको अविवेकी चेतना हटाउन अत्यावश्यक छ l आजको युगमा मानवाधिकार विरोधी, असहिष्णु र अन्धविश्वास पालेर बस्ने मन सचेत वर्गलाई कम्तिमा छैन l
मेरो जन्म संयोग र वर्गकै आधारमा तपाई मलाई घृणा नगर्नुस l जन्म न मेरो बुताको कुरा हो न निवेदनको ? यो फगत संयोग हो l संयोगले को कसको कोखमा बस्न आइपुग्यौ त्यो हाम्रो जैविक ल्याकतको कुरा हो हाम्रो चेतनाको पक्ष होइन l त्यसैले जन्म संयोगमा हामी विस्मात नगरौं बरू गर्वको विषय बनाऔँ l
हामी किन र कसरी विभिन्न धर्म संस्कृतिमा विभाजित भयौ र आफ्ना पूर्वजले धारण गरेको धर्म बोकेर हिंडयौ आज त्यो हाम्रो विवादको विषय होइन, हामीले धारण गरेको धर्म र कर्मले मानवीय मूल्य ग्रहण गर्नुपर्छ l निन्दनीय कुरा त्याग्नुपर्छ l इतिहास मानव हिंडेर आएको बाटो हो l समीक्षा गर्नुपर्छ तर त्यसैमा अल्झेर वर्तमानलाई खल्लो बनाउनु हुन्न सबैको लागि प्रिय, स्वीकार्य र प्रार्थनीय बनाउनु पर्छ वर्तमान l
म आफू जस्तै अर्को मानवलाई समान सम्झन्छु कि जन्म संयोग र वर्गको आधारमा तुच्छ ? मेरो जन्म संयोगलाई तपाई घृणा गर्नु हुन्छ कि,मेरो आचरण र नालायक व्यवहारलाई ? गलत संस्कार त्याज्य हुन्छ l हामीले अन्धकार यूगको चेतना बोकेर हिड्ने कि नयाँ यूगको सामयिक चेतनामा आफूलाई परिमार्जित गरेर लैजाने ? मैले लगाएको जनैले च्यातिएको हाम्रो सामाजिक सद्भाव सिउने धागो बन्छ कि विभाजनको रेखा कोर्छ ? मेरो जनैको धागोले दमाई मित्रको सियोमा छिरेर भड्केको सामाजिक सद्भाव सिलाओस, समाज सिउने धागो बनोस् l विगतमा यो धागोले समाज च्यात्ने र समाज छुट्टयाउने दुष्कर्म भएको भए,समाज सिलाउने सुत्र बनाउन चाहन्छु l दमाई जातिबाट सिर्जित पोशाक लगाएर आजको मान्छे लाज ढाक्ने स्थीतिमा पुगेको हो l यसर्थ मान्छेको लाज ढाकिदिने यो समुदाय पूज्य र वन्दनीय छ l
दमाई समुदाय आदीम संचारकर्मी र समाज रूपान्तरणको संवाहक हो l नौमती र पन्चे बाजाका साधक जसले आज सारा नेपालको सांगीतिक प्रतिनिधित्व गर्छ l त्यो जीवन्त संस्कृति जोगाउने समुदाय हो l जसप्रति म गर्व गर्छु l विभेदी विगतप्रति माफी माग्दै सुसभ्य समाज निर्माणमा योगदान दिन तयार छु / लागिरहेको छु l
प्रिय कामी मित्र,
तपाई वैज्ञानिक आविष्कारक र सिल्पी हो । प्राविधिक ज्ञान भएको इन्जिनियर हो l तपाई समाज र देशको नयाँ डिजाइनर हो l आउनुहोस् मिलेर देशको नयाँ डिजाइन गरौ l
विकृति र विसंगति विरुद्ध निरन्तर शब्दका घनले हिर्काउछु तसर्थ म पनि कामी हुँ । हर सिर्जनात्मक क्षमता र सिर्जनशील हात हुनेहरू कामी हुन । मेरो घरको चुलोको ओदानदेखि भण्डारको देवतासम्ममा कामीको सिप र पसिना छ । मन्दिरको गजुर पनि कामीकै सिर्जनशील हातको करामत हो । मेरो हातको औंठीदेखि मेरी आमाको फुली बुलाकी सबै सबैको निर्माता कामी हो । मेरो सालनाल गाडनेदेखि मेरो चिहान खन्ने, दाउरा चिर्ने हतियार कामीकै उत्पादन हो । रेल बनाउने कामी,तेल पेल्ने कोल बनाउने कामी, अन्नबाली उत्पादन गर्ने साधन बनाउने कामी । कामी वैज्ञानिक हो । आविष्कारक हो । कामीको श्रम,सीप र पसिनाले नभिजेको कुनै अश्त्र र ठाँउ छैन तर कामी अछुत कसरी ? अछुत हाम्रो मानसिकता हो । अछुत धार्मिक र सांस्कृतिक मान्यताको असामाजिक पर्खाल भत्काएर सामाजिक समभावको मैदान निर्माण गर्नु प्रत्येक चेनाशील मानवको कर्तव्य हो l
मान्छे छुत र अछुत बनाउने हाम्रो परम्पराको खारेजी जरुरी छ । दिमागको फोहोर सफा गर्नु पर्ने छ । तसर्थ म तयार छु समाज तयार बन्नुपर्छ l समाजको सफाई गर्ने कर्म तुच्छ कसरी हुन्छ अत म पनि सामाजिक फोहोर बढार्न चाहन्छु म सफाई कर्मी पोडे हुँ ,च्यामे र डोम हुँ l कर्म अभिशाप हैन बरदान र गर्व हुनुपर्छ l कथित छुत बिदेशमा सफाई कर्मी हुँदा अछुत नहुने तर नेपालमा सफाई कर्म गर्ने अछुत कसरी हुन्छ ? सफाई कर्म वातावरणीय दृष्टिले पनि अमूल्य छ l
जुत्ता सिलाउने सार्की कसरी अछूत हुन्छ जसको सीप, श्रमले यात्रा सहज हुन्छ l पाउलाई कस्ट नदिने पाउपोसको निर्माता कसरी अछूत हुन मिल्छ ? सार्कीले सिलाई दिएको जुत्ता लगाएर, टल्काएर इज्जत बढ्छ भन्ने मानसिकता राख्नेले आफ्नो इज्जत राखिदिने हात र श्रम अनि सिपपको अपहेलना गर्न मिल्छ ? त्यस्तै गीत संगीतका साधक बादीहरु कसरी अछुत हुन सक्छन ? जसको मंगल धुनले हाम्रो मंगल हुन्छ l जसको गानाबजानामा संसार झुल्छ ,आल्हादित हुन्छ तब ऊ कसरी अछुत ? अछुत मनस्थिति हो, त्यो भत्काउँन म सदैव यत्नशील छु l शिल्पी,श्रम र साधक अनि श्रमिक जबसम्म आत्मसम्मान पूर्वक पेशा व्यवसाय जम्न सक्तैन,जबसम्म दलितले पालेको पशुको दुध समाजमा निर्वाध चल्दैन l सार्कीको होटेल भनेर गर्व साथ खाना खाने स्थल बन्दैन तबसम्म यो जात व्यवस्था विरुद्द निरन्तर घन बजार्नु पर्छ l छिनो चलाउनु पर्छ l मार्तल हिर्काउनु पर्छ l
आज जुत्ता बनाउने गैरदलित ठुलो उद्धमी भयो जुत्ता कारखानाको मालिक भयो, कपडा सिलाउने त्यस्तै गैरदलित देशको प्रख्यात टेलेरिंग हाउसको मालिक बन्यो, स्टिल आइरन फलाम र सुनको काम गर्ने ब्राम्हण नछोइने जात बनेन, सफाई अफिस खोलेर बस्ने क्षत्री समाजको सफल व्यवसायी र ठुलो रोजगार दाता बन्यो तर परम्परागत सिप र साधना भएकाहररूलाई आफ्नो पुर्ख्यौली पेशा गर्न हेय र सानो काम भन्ने बुझियो, बुझाइयो ? परम्परागत पेशाको आधुनिकीकरण,बजारीकरण र ब्यापारीकरण गर्न सोचिएन फलत पुर्ख्यौली पेशाबाट समेत विमुख बनाइए र् दलितलाई बेरोजगार र वेचैन बनाउन भूमिका खेलियो l
परम्परागत पेशा छोड्नुअघि वैकल्पिक पेशाको ग्यारेन्टी गरिएन जुन अत्यन्त दुखद र अदुरदर्शी कार्य हुन् पुग्यो l अधिकार भनेर अन्य कुरामा बहकिन लगाइयो तर उसको आफ्नो पेशा र व्यवसायको आधुनिकीकरण, उत्थान र औधोगीकरण गरिएन बरू यो पेशाको कारण नै दलित भएको भनियो र परम्परागत पेशा त्याग्ने घृणा गर्ने र हामीले गर्ने काम यो होइन यस्तो कामले अछुत बनिन्छ भन्ने गलत धारणा र प्रवृति भित्र्याइयो l अछुत अविवेकी मस्तिष्क हो l विवेकले मान्छेलाई छुट र अछुतको दर्ज्यानी चिन्ह दिंदैन l
प्रिय दलित मित्रहरू,
जसको कारण रोजगारी गुम्यो l पेशा त्याग्ने वातावरण भन्दा पेसालाई उत्थान गर्ने , संरक्षण गर्ने र व्यावसायिक बनाउने आधुनिक तालिम दिएर दलित सामुदायको हितको कुरा गरिनुपर्थ्यो l पेशा छोडेपछि विभेद कम हुन्छ भन्ने जुन मानसिकता विकास गरियो त्यो अत्यन्त घातक आत्मघाती बन्यो l आर्थिक सशक्तीकरणले जात विभेदमा कमि ल्याउछ l आर्थिक असमानता पनि जात र विभेदबारे अध्ययन गर्दा अर्को छुटाउन नहुने पाटो हो l तसर्थ आर्थिक सवलीकरण सिप र क्षमताको अभिबृद्दि, सम्मान र मर्यादा आजको पहिलो आवश्यकता र जात व्यबस्थाको अन्त्यको प्रस्थानविन्दु हो l हामीले भावनात्मक कुरा गरेर कतिपय अवस्थामा भड्काउने काम गर्यौ पेशालाई दुत्कार गर्यौ l
वर्तमानमा अवस्था फेरिएको छ, परम्परागत पेशालाई आधुनिकीकरण गर्न सकियो भने मनग्य आय आर्जन गर्न सकिन्छ l अब बाली घरे बनेर वर्ष भारी न्यून बेतनमा काम गर्ने जमाना छैन l पुर्ख्यौली पेशालाई उद्योग धन्दामा रूपान्तरण गर्न सकिन्छ l सिप र श्रम जस्ता मूल्यवान चिजको अवहेलना र अवमूल्यन गर्ने समय छैन l श्रम सिप गरेर पेशा गर्नेहरु छुत र घुष कमिसन, ब्ल्याक मेलिंग गरेर, विचौलिया बनेर बिना श्रम शक्ति र सत्ताकोको आडमा पैसा कमाउनेहरु अछुत हुन् l देशको नियम कानुन विधि र पद्दति मिच्ने र शोषण दमन गर्नेहरु चै अछुत हुन l अमानव हुन् l असभ्य हुन् l सफाई कर्म गर्ने समुदाय सभ्य मानव हो l वातावारणीय सफाईको दुत हो l
अछुत त्यसलाई भनौ जसले नियम मिचेको छ, भ्रष्टचार, व्याभिचार ,अनाचार र दुराचार गर्छ l समाजका नैतिक पेशा र व्यवसाय अपहेलित र घृणित उच र नीच हुनुहुदैन l अब परम्परागत छुत र अछुतको परिभाषा र क्षेत्र बदलेर समाज र देश हितको प्रतिकूल काम गर्ने,गैर कानुनी काम गर्ने चै अछुत हुन् l
प्रिय दमाई मित्र,
सियो लिएर आउनुस,कैची बोकेर आउनुस, च्यात्ने च्यातौ ,जोड्ने जोडौ, फाल्ने फालौं l नमिलेको मिलाऔं,च्यातिएको सिलाऔ l तपाईको सियोमा मेरो जनैको धागो दिन तयार छु l मिलेर समाज सिउनु पर्छ l सँगै जिउनु पर्छ l नमिलेका समाजका विसंगति उधार्नु पर्छ l विगतमा मेरा अग्रजले गरेको कमजोरी मेटन चाहन्छु l सबै अटने सद्भावनाको चौतारी भेटन चाहन्छु l मैले प्रायश्चित गर्ने ठाउँमा म सहजतापूर्वक क्षमा याचना गर्न सक्छु l सबै मिलौ l हाम्रो सामाजिक सदभाव खल्बलिएको छ त्यसलाई मिलेर समाधान गरौं l
तपाईंले सिएको मोजा र टोपी अनि कमिजले शिर ,शरीर र पाउ ढाक्ने म छुत अनि तपाईं अछुत कसरी ? म मान्दिन यो कुरा । अलय भत्काऊ । लय निर्मितिको लागि लागौ l मानवीय सदभावको डोरी बेरौ । प्रकृतिले हामीलाई विभेद गर्दैन भने मान्छे हामी किन विभेदी हुने ?
रूकुम नरसंहार जस्ता अमानवीय घाउलाई अब दोहोरिन नदिन राज्यलाई खबरदारी गरौ l मसँगै बसेर कसम खान्छु त्यस्तो घटना दोहोरिन दिन्न l तपाई सबैले घर घरबाट प्रण गर्नुस् l मेची,कोसी, कर्णाली र गण्डकीमा अब मानिसको आलो रगत बग्नु हुन्न, जसरी भेरीमा बग्यो l नदीहरू मानवीय सभ्यता बोकेर बगुन् नकि अछुत भनिएका मानिसको रगतले रक्ताम्य बनेर कहिल्यै नबगून l
आदरणीय दलित मित्रहरू,
छुवाछुत हटाउन गरिएका केही प्रयास र प्रयत्न हेरौं :
अमानवीय कानुन र प्रवन्ध फेर्न त्यो चेत पलाउन त्यसलाई कानुनमा नै निषेध गर्न ११० वर्ष प्रतीक्षा गर्नु पर्यो l २००७ को जनक्रान्ति वरपर जातीय विभेद र छुवाछुत हटाउने समाज जागृतिको लागि १९९७ मा भगत सर्वजित विश्वकर्माले ‘विश्व सर्वजन सङ्घ’ स्थापना गरेका थिए l तत्कालीन क्रान्तिकारी कांग्रेसका केही नेताहरु र कम्युनिस्ट पार्टीले समाज जागरण गर्न सहभोज जस्ता कार्य गरेका थिए l
छुवाछुतलाई अन्त्य गर्न विभिन्न कालखण्डमा ऐन कानुनहरू निर्माण भएको पाईन्छ । २०२० सालमा जारी भएको मुलुकी ऐनमा जातीय भेदभाव र छुवाछुत गर्ने विरुद्द कानुन बन्यो l २०४६ सालको परिवर्तन पछि निर्माण भएको नेपालको संविधान २०४७ ले पुनः जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय बनाउने व्यवस्था गर्यो । २०५८ श्रावण ३२ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले छुवाछुतलाई व्यवहारमा नै अन्त्य गर्ने घोषणा गरे l २०६० मा प्रधानमन्त्री सूर्यबहादुर थापाले पनि जातीय भेदभाव र छुवाछुत सम्बन्धी मुद्दालाई सरकारवादी बनाउने निर्णय गराए l
प्रधानमन्त्री प्रचण्डले २०६५ माघ १२ गते गाविस स्तरसम्म नै छुवाछुत हेर्ने निगरानी केन्द्रको स्थापना गर्ने र छुवाछुत अपराध हेर्ने छुट्टै इजलास स्थापनाको घोषणा गरे l त्यसैगरी छुवाछुतलाई दण्डनीय अपराध मानेर ऐन जारी भएपछि प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय छुवाछुत उन्मुलन समिति गठन हुने व्यवस्था गरे l २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरजातीय विवाहलाई प्रोत्साहन स्वरुप रु १,००,००० रकम दिने निर्णय गरे । २०६२/६३ पश्चात् स्थापना भएको गणतन्त्र नेपालको व्यवस्थापिका संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो । २०६८ मा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को निर्माण गर्यो । बाबुराम भट्टराईले पनि आफ्नो पालामा उच्चस्तरीय छुवाछुत उन्मुलन समिति गठन गरे । २०७२ संविधानको प्रस्तावनामै विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने लेखिएको छ । मौलिक हकमै भेदभाव र छुवाछुत बारे उल्लेख छ l धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा ४० मा दलितको हक, धारा ४२ मा सामाजिक न्यायको हक, धारा २५५ मा राष्ट्रिय दलित आयोगलाई संवैधानिक मान्यता छ । केपी शर्मा ओलीले पनि पहिलो पटक प्रधानमन्त्री हुदाँ उच्चस्तरीय जातीय भेदभाव तथा छुवाछूत उन्मुलन समिति गठन गर्ने २०७३/०७४ को बजेट मै व्यवस्था गरी भेदभाव र छुवाछुतको उन्मुलन गर्ने प्रतिवद्दता जाहेर गरे l
यसरी समय समयमा प्रधानमन्त्रीको तहबाट थुप्रै घोषणा र कार्यक्रम बने तर नेपालमा जातीय छुवाछुत र विभेद कम भएको छैन l हालै प्रचण्ड सरकारले सबै जिल्लाका प्रहरी कार्यालयमा दलित सेल स्थापना, १९६७ देखि संसारभर २१ मार्चलाई अन्तर्राष्ट्रिय भेदभाव उन्मुलन दिवसको रूपमा मनाउन थालिएको ५७ वर्ष भयो l नेपालको कानुनमा भेदभाव दण्डनीय मानिएको ६० वर्ष भैसक्यो l नयाँ संविधान बनेको १० वर्ष नपुग्दै जातीय हिंसा र विभेदको कारण तीन दर्जन भन्दा बढी दलितको ज्यान गै सकेको छ भने कति अप्रत्यक्ष कारण र असरले मारिएका छन l आत्महत्या गर्न बाध्य छन l अपमान,ताडना र कष्टका बादलमुनि रहन अभिशप्त बन्छन् l भेदभाव बिनाको समाज निर्माण गर्न राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लाई आत्मसात हामीले पनि गर्यौ l सबै प्रकारका जातीय विभेद उन्मुलनको महासन्धि १९६९का पक्ष राष्ट्र पनि बन्यौ तर मनुस्मृतिकालीन विभेद र छुवाछुत कायमै छ l
नियम कानुन लेख्दैमा अधिकार प्राप्त हुदैन त्यसको लागि राज्य तयार रहनुपर्छ l समस्या राज्यले आत्मसात गर्नुपर्छ राज्य संचालकहरूले सबैभन्दा ठूलो मानवीय समस्या र आफ्नो सभ्यता र संस्कृतिको कालो धब्बा भनेर स्वीकार गर्दै यसको अन्त्य आफ्नो अभिष्ट खुलाएर तदनुकुल कार्यन्वयन गर्नुपर्छ l कारखाना नै खराब भएपछि उत्पादन असल निस्कदैन अत उत्पादित वस्तुमा भन्दा खोट कारखाना हो l म्यानिफ्याक्चरिंग डिफेक्टको दोष उत्पादित वस्तु होइन संरचना हो, कारखाना हो l नागरिक खराब हुनुको मूल दोष र जिम्वेवारी राज्यको हो,राज्यले संस्थागत गरेको अलिखित सामाजिक संरचना भत्काउनु पर्छ l मान्छेको मन मस्तिष्कमा रहेको छुवाछुत गर्ने धार्मिक,सामाजिक,सांस्कृतिक र मनोवैज्ञानिक चेत भत्काउनु आवश्यक हुन्छ l कतिपय धार्मिक उक्ति गलत संस्कार , मनोविज्ञान र मनोवृतिले समाजमा मान्छेले छुवाछुत जस्तोजघन्य अपराध गर्छ l छुवाछुतको कारण मान्छे मरिन्छ त्यो गलत प्रथा र मनोवैज्ञानिक समस्या भरी दिने राज्यको कारखाना दोषी हो l
विगतका सबै कमजोरी कानुनका कमजोरी यावत कुराको खोज गरेर नयाँ र समतामुलक समाज निर्माण गर्न आरन बनाउनेको इतिहास, ढिकी,जाँतो, घट्ट र सियो बनाउनेको इतिहास पढन पढाउन, इतिहास हराएका र दबाइएकाहरूको इतिहासको उत्खनन् गर्न हामी मिलेर काम गरौ l मलाई पनि अन्यायी समाजको उत्पीडक समुदायको बनेर बस्ने मन छैन l म आजसम्म मैले प्राप्त गरेको जति ज्ञानको सौन्दर्य छ त्यसले तपाईहरूको समर्पण,शिल्प,श्रम र पसिनाको अभिनन्दन गर्दछु l यो देशको असली निर्माता तपाईहरू हो l जातीय छुवाछुत र भेदभाव दण्डनीय अपराध हुन् l
आदरणीय विद्वान्, बौद्दिक र प्राज्ञिकज्यूहरू,
मेरो घर परिवारले जान अन्जानमा गरेको जातीय छुवछुत र दुर्व्यहारको नैतिक र कानुनी दायित्व मेरो हो । म सजायको भागिदार बन्न मन्जुर छु । यस्तै मन्जुरी हर व्यक्तिले, हर गाउँको गाउँले प्रमुखले अनि हर जिल्लाको जिल्ला प्रमुखले सांसदले, मुख्य मन्त्रीले,मन्त्रीले एवं रीतले प्रधानमन्त्री र राष्ट्रपति सम्मले यो जिम्मेवारी र कर्तव्यबोध गर्ने हो भने जातीय विभेद न्यून भएर निर्मुल हुने वातावरण बन्छ । हरेक पार्टीले आफ्ना कार्यकर्ताकै सपथ गराउँदा, कर्मचारी, शिक्षक,प्रहरी, आर्मी, निजामती, सरकारी गैर सरकारी सबैको सेवा प्रवेश गर्दा ‘म छुवाछुत गर्दिन घरपरिवारलाई छुवाछुत गर्न दिन्न’ भन्ने वाक्य सहित सेवा प्रवेशको सुरूवात गर्नु पर्छ l जातीय छुवाछुत र विभेदकलाई सरकारी सेवा सुविधाबाट वन्चित गरिदिने नीति पनि कतिपय सवालमा अख्तियार गर्नु वान्छनीय देखिन्छ l
विगतमा मेरा अग्रजबाट भएका जान अन्जानका सबै जातीय भेदभाव विरुद्दका दुर्भाग्यपूर्ण कार्य र नियति, नीति र नेतृत्वप्रति दुख प्रकट गर्दै क्षमा याचना गर्दछु ।
आजको दलित समुदाय जात व्यवस्था सुरू हुनुभन्दा अघि नै आफ्नो पुर्ख्यौली ज्ञान,सिप परम्परा र मौलिक पहिचानले आफ्नो शिल्पकला विकसित गरेको समुदाय हो l यो समुदायले कुनै आधुनिक तालिमकेन्द्र धाएर, विश्वविद्यालयको कक्षा कोठामा पसेर र औपचारिक ल्याबमा परीक्षण गरेर आफ्नो सीपलाई तिखारेको होइन l दलित समुदायले प्रकृति र जीवनसँगको निरन्तर सानिध्य र पौठेजोरी खेलेर, साधना गरेर,मेहनतको पसिना बगाएर स्वआर्जन गरेको ज्ञानको संगृहित निर्मिति हो l जुन ज्ञान गौरव गर्न लायक छ l
मानवताभन्दा ठुलो जात,सिद्दान्त,धर्म,व्यवहार र ज्ञान छैन l तसर्थ सबैको सम्मान,मर्यादा.स्वतन्त्रता र समताको हक नै आजको महान दर्शन हो हामी सबै मिलेर यही दर्शन र विचारको पक्षमा लेखौ,बोलौ l गलत मानसिकताको शल्यक्रिया गरौं ,अनुसन्धान गरौ l समाजमा विभेदको मूलोच्छेदन गरौं l
आदरणीय दलित मित्रहरू, तपाईहरू माननीय,सम्माननीय,वन्दनीय हुनुहन्छ जसको सिप,श्रम,पसिना, मेहनत र जीवनले समाज धानेको छ l कृषि चलेको छ l उद्योग चलेको छ l आङ् ढाकिएको छ l अब हामी आरनको इतिहास पढाउँछौ, ढिकी,जाँतो,घट्ट,कोल र सियो धागोकको इतिहास लेखाउँछौ र त्यसका निर्माताको सम्मान गर्छौ l विषे नगर्ची र पृथ्वीनारायण शाहलाई देश निर्माताको समकक्षता प्रदान गर्छौ l आरनमा खलाँती फुकिरहेको र कलमा लुगा सिउँदै गरेको, पानी घट्टमा ठेकी कुद्दै गरेको, बाजा बजाइरहेको,जुत्ता सिलाई रहेको,गिटि कुटी रहेको, हलो जोतिरहेको,भारी बोकिरहेको, घर लिपिरहेको,सफाई गरिरहेको व्यक्तिप्रति श्रद्दा प्रकट गर्ने भाष्य निर्माण गर्छौ l हाम्रो सभ्यताको इतिहास लेख्ने मान्छेको रूपमा दलित समुदायको योगदानको कदर गर्ने पाठ्यपुस्तक बनाएर शिक्षालयहरूमा पढ़ाउँछौ l दलित ज्ञान,चेतना, सिप, कलाको अध्ययन, शोध र अनुसन्धानको लागि विश्वविद्यालयहरू अग्रसर बनाउनेछौं l
सञ्जीव कार्की
akabarey.com परीक्षण प्रसारणमा छ l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”