छाउ बार्न त्रिपालमा बास:७ वर्षीया बालिकासहित दुईको मृत्यु, एक जना गम्भीर घाइते

भाद्र १३, २०८२,अछाम:अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका-८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि सुर्खेत पठाइएको डीएसपी खनालले बताए ।
'प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । दुई जना महिला महिनावारी भएको र छोरीलाई पनि साथमा लगेर बारीमा त्रिपाल टाँगेर बसेका रहेछन्,' प्रहरी प्रमुख खनालले भने, 'गाउँमा छाउगोठ छैन । तर त्रिपाल टाँगेर बस्ने रहेछन् । महिनावारीको समयमा यसरी त्रिपालमा बस्न बाध्य बनाइएको भए कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।'
गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा त्रिपालमुनि सुतेका तीन जनालाई माथिबाट आएको ढुंगा लागेको प्रहरीको भनाइ छ । अछाममा छाउगोठ भत्काइए महिनावारी हुँदा महिलाहरू त्रिपालमुनि र ओडारमा बस्न थालेका छन् । २०६३ यता अछाममा मात्रै छाउगोठ र त्रिपाल टाँगेर बसेका १९ जना महिला तथा किशोरीको ज्यान गइसकेको छ ।
प्रहरी भन्छ : दुई जना महिला महिनावारी भएको र छोरीलाई पनि साथमा लगेर बारीमा त्रिपाल टाँगेर बसेका रहेछन् ।
स्मरणीय : प्रस्तुत सामग्री akabarey.comले पत्रपत्रिका स्तम्भको लागि कान्तिपुर दैनिकबाट मेनुका ढुङ्गानाको रिपोर्ट र फोटो साभार गरेको हो l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...