बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

रासस-घोराही (दाङ), १ भदौः पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्नेे गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो । गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउनुहुन्छ । करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आउनुभएका डाइवर पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताउनुहुन्छ ।
सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उहाँले भन्नुभयो, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारङ्गी बिक्नै छाडिसकेको छ । बनाउने काममात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्र भएको छ ।” डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारङ्गी बजाउन छाड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ । पहिलेजस्तै सबैले गीत गाउने र सारङ्गी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारङ्गी बजाउन जान्ने सीमित मानिसमात्र छन् । गाउँमा सारङ्गी बजाउने मानिस नहुँदा बिक्री पनि हुन छाडेको उहाँले बताउनुभयो । गाउँमा सारङ्गी बजाउने कोही भए पो बनाएका सारङ्गी बिक्थे । अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन् । बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन । पहिले महिनामा सात–आठवटा सारङ्गी बिक्री हुने गरे पनि अहिले दुई–तीन जतिमात्र बिक्री हुने गरेको बताउनुहुन्छ । त्यसैगरी, सारङ्गी बनाउने कलामात्र सङ्कटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ । सारङ्गी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको उहाँ बताउनुहुन्छ ।
जिल्लामै सारङ्गी बनाउने आफूमात्र भएको भन्दै उहाँले भन्नुभयो, “आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।” सामुदायिक वनका कारण जङ्गलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारङ्गी बनाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार साना आकारका सारङ्गी रु चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् भने ठूला र आकर्षक डिजाइनका सारङ्गी रु नौदेखि १० हजारसम्ममा बिक्री हुने गरेको डाइवर बताउनुहुन्छ । सारङ्गीको महत्व र संरक्षण घट्दै जाँदा सारङ्गी बजाएरै जीविका चलाउनेलाई चिन्ता लाग्न थालेको छ । सारङ्गी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सृजना हुने गन्धर्व समुदायका मानिस बताउँछन् ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...