बीपी स्मृतिका सन्दर्भमा - सञ्जीव कार्की

राजनीतिका माध्यमबाट जीवनको विजयेच्छा ( जिगीषा ) चाहने बीपी कोइराला साहित्य र कलाका माध्यमबाट जिजीविषा चाहन्थे l जसको पुष्टि उनका अडान राजनीतिक आन्दोलन प्रजातान्त्रिक समाजवादप्रतिको निष्ठा र साहित्य साधनले गरिसकेको छ l विश्वेश्वरप्रसाद कोइराला ( १९७१ भाद्र २४ ) यो धर्तीमा आएको पनि १११० वर्ष पुगिसकेको छ l आफ्नो ६८ वर्षको आयु बाँचेर २०३९ श्रावण ६ गते यो धराबाट बिदा लिएका बीपी बारे अनगिन्ती लेखिए l उनको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो राजनीतिको यात्रा बारे गहन अध्ययन अनुसन्धान भएका छन् / भैरहेका छन् l बीपी कोइरालाको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान् हरूले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताहरूले शोध सामग्री तयार गरेको रेकर्ड पाइएको छ l
झट्ट हेर्दा अब उनको बारेमा लेख्नुपर्ने धेरै छैनन् जस्तो लाग्छ तथापि अझै धेरै रहस्य चिन्तन र मननको विषय बीपीको समग्र व्यक्तित्वमा रहेको देखिन्छ l उनका बारे मान्छेको आकर्षण र सम्मोहनले ज्यादा देखाउँछ l उनको जादुयी व्यक्तित्व बारे नलट्ठीने राजनीतिज्ञ नेपालमा छैनन् l
बीपी कोइराला कम्यूनिष्ट पार्टीसँग चर्को मतभेद राख्थे, जबकी कांग्रेस र कम्युनिष्ट मिलेर पंचायत विरुद्द लडौ भन्ने पुष्पलालको अनुरोधलाई बीपीले उपेक्षा गरेका थिए l तथापि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले बीपीको उच्च प्रशंशा गर्दै २०४८ साल तिर एक अन्तर्वार्तामा ‘मलाई मन पर्ने राजनेता बीपी कोइराला हुन् l उनी जस्तो रचनात्मक सोच र शैलीको राजनेता दक्षिण एशियामा मैले देखेको छैन l’ भन्दै अभिव्यक्ति दिएका थिए l
सुन्दरीजल स्थिति बीपी बन्दी गृहमा पुगेर २०६५ मा प्रचण्डले बीपीले प्रयोग गर्ने सामान छोएर भावुक भएर उनको प्रशंसा गरेका थिए l बीपी बाँचेका भए नेकपा एमाले बनिसक्थे भनेर ओलीले अवमूल्यन गरेको पनि २०७४ को चुनावताका हो l अझ अर्को घतलाग्दो कुरा बीपीलाई फाँसीमा लड़किनबाट जोगाउन उनको मुद्दा फैसला गर्ने पंचायतकालीन न्यायाधीश कम्युनिष्ट समर्थक रहेको प्रमाणित भएको छ l बीपी केन्द्रमा हुनु र उनका विरोधी समेतमा उनको आकर्षण देखिनुको कारण उनको बौद्दिक, साहित्यिक, दार्शनिक र सैद्दान्तिक क्षमता उदाहरणीय भएर नै हो l
बीपी विशेष समयले जन्माएका विशेष उपलब्धि र विशेष सम्पदा हुन् तसर्थ उनको राजनीतिक यात्रा मन नपराउनेहरू साहित्यिक यात्राको फिदा छन् l साहित्यमा उनलाई अराजक भन्नेहरू राजनीतिमा उनलाई दुरदर्शी राजनीतिज्ञको उपाधि दिन्छन् l उनको व्यक्तित्वको अनेक पाटा र सन्दर्भहरू छन् l यसर्थ उनको व्यक्तित्वलाई कतै न कतैबाट मन पराउने सचेत जमात उल्लेख्य भएको कुरा उनका बारे हुने गरेका र भएका शोध सामग्रीले स्पष्ट पार्दछ l नेपाली राजनीतिमा बीपी यतिबेला साझा नाम जस्तै भएको छ l हरेक पार्टीले बीपी दृष्टान्त दिन्छन् l
राजनीतिज्ञहरू भन्छन् : बीपीको व्यक्तित्वबाट राजा महेन्द्र प्रभावित थिए l उनी बीपीलाई सम्मान पनि गर्थे तर एउटा राजाको अघिल्तिर बीपी प्रजा मात्रै हुन् भन्ने इगोको कारण महेन्द्रले बीपीलाई बन्दी बनाएर अहम्को तुष्टि लिए l नेपाल भित्र मात्रै होइन दक्षिण एशियामा नै बीपीको लोकप्रियताप्रति नेताहरू भयभित थिए l जसको कारण २०१७ को राजनीतिक कुलाई परोक्ष प्रत्यक्ष अन्तर्राष्ट्रिय वैधानिकता मिलेको थियो l इन्दिरा गान्धी समेत बीपीको राजनीतिक लोकप्रियताले आफूलाई हीनताबोध गर्थिन् भन्ने अध्येताहरूको निस्कर्ष छ l नेहरूसँग पनि राष्ट्रियता बारे बीपीको मनोमालिन्य भएको विषय नेपाल भारतको इतिहासका जानकार सबैको दिल दिमागमा भएकै कुरा हो l
बीपीको शिक्षा यात्रा
बीपीको घर बिराटनगर मै प्रारम्भिक शिक्षा लिए पनि कक्षा तीन पढन उनी बनारस गएको र अंग्रेजबाट संचालित शिक्षा बहिष्कार गरिँदा उनी बनारसमा ठठेरी बजारमा रहेको गान्धीद्वारा संचालित आश्रम विद्यालयमा केही समय अध्ययन गरेर १९८५ सालमा हरिश्चन्द्र स्कुलमा ८ कक्षामा भर्ना भई वि.सं.१९८७ मा प्रवेशिका उत्तीर्ण गरेका थिए l
प्रवेशिकापछि काशी हिन्दु विश्वविद्यालयमा भर्ना भएर त्यहींबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा १९८९ मा इन्टरमिडिएट पास गरे l त्यसपछि कलकत्ता गएर वि.सं. १९९३ मा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातक पास भए l त्यहीं एम.ए. पढदा पढ्दै उनी राजनीतिमा सक्रिय भएर आफ्नो स्नातकोत्तरको पढाई पूरा गर्न पाएनन् l
औपचारिक अध्ययन रोकिए पनि स्वअध्ययन बीपीको यथेष्ट थियो l बीपीले केही समय दार्जिलिङमा वकालत गरेको पनि उनको जीवनीमा उल्लेख छ l
राजनीतिमा बीपी
भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा बीपी कोइरालको सन् १०३० मा भारतीय समाजवादी पार्टीको सदस्य र सक्रिय कार्यकर्ताको रूपमा पहिलोपहिलो पटक जेल परेका थिए l दोस्रोपटक सन् १९४२ मा जेल परेका बीपी भारतीय स्वतन्त्रता संग्रामको प्रभावले नेपालमा राणा शासन अन्त्यकोलागि नेपाली कांग्रेस २००३ कार्तिक १२, १३ मा कलकत्तामा नेपालीहरूको सम्मेलन गरेर नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी जेलमा रहेका टंकप्रसाद आचार्य सभापति र कार्यवाहक सभापति बीपी बन्दै पूर्णकालीन राजनीतिमा होमिएर नेपालमा प्रजातन्त्र स्थापनार्थ काम शुरु गर्छन l
२००४ मा विराटनगर जुट मिल कारखानाको हड्तालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको नेतृत्व बीपीले गरेका थिए l उनी त्यहींबाट नेपालमा पहिलोपल्ट पक्राऊ पर्छन् र बन्दीको रूपमा काठमाडौँ ल्याइन्छन् l २००६ चैत्र २७ गते विभिन्न नामबाट राजनीति गरिरहेका अरू संगठन र नेपाली राष्ट्रिय कांग्रेस बीच एकता हुन्छ र त्यहाँ पार्टी एकता र जान क्रान्तिको लागि बीपीले पार्टीको केन्द्रीय नेता मात्रै रहेर नेतृत्वको दावी छोड्छन् र विधिवतरूपमा नेपाली कांग्रेसको जन्म हुन्छ l
नेपाली कांग्रेसले २००७ सालमा प्रजातन्त्रकोलागि संघर्ष अघि बढायो, पार्टी अध्यक्ष घोषित कमान्डर भए पनि क्रान्तिको नेतृत्व बीपी कोइरालाबाट भएको थियो र क्रान्तिको लगाम बीपीले आफ्नो हातमा राखेका कारण बीपीको निर्णय र आदेश कार्यन्वयन हुन्थ्यो भन्ने इतिहासका अध्येताहरूको भनाइ छ l २००७ फाल्गुन ७ मा नेपालमा प्रजातन्त्र आयो राणा शासन ढल्यो l नेपाली जनताले प्रजातन्त्र पाए त्यसको नेतृत्वकर्ताको हिसाबले बीपीको योगदान उल्लेखनीय छ l प्रजातन्त्र प्राप्तिपछि राणा कांग्रेस संयुक्त सरकारको गृहमन्त्री भएर बीपीले केही समय काम गरे l
राजनीतिबाट प्रजातन्त्रको चाहना राख्ने कोइराला कानुनी राज र सामाजिक न्यायमा विश्वास गर्थे l २०१६ जेठ १३ गते नेपाली कांग्रेसले दुई तिहाइ बहुमतसहित आफना पार्टीका संसदीय दलका नेता बीपी कोइरालालाई नेपालको २२ औ र पहिलो जननिर्वाचित प्रधानमन्त्रीको जिम्मेवारी दियो l १८ महिना मात्रै सरकार चलाउन पाएका बीपीले भूमिसुधार र विर्ता उन्मुलनमा काम गर्दै थिए l जसको जोत उसको पोत भन्ने कांग्रेसले अबलम्बन गरेको नीति लागू हुँदै थियो तर राजाले लामोसमय काम गर्न दिएनन् l
उल्लेख्य पक्ष बीपीको मन्त्रीमण्डल समावेशी र प्रतिनिधित्वको सवालमा अब्बल थियो l झन् तत्कालीन विश्व परिस्थितिमा नेपाली नारी र तिनको मर्यादामाथि उठाउन नारीको सहअस्तित्व स्वीकार गर्दै बीपीले २०१५ सालको चुनावमा निर्वाचन क्षेत्र नम्बर ६६ डोटी,डडेलधुराबाट द्वारिकादेवी चन्द ठकुरानी उठाएर चुनाव मात्रै जिताएनन स्वास्थ्य र स्वायत्त प्रबन्ध उपमन्त्री बनाएर विश्वभर हलचल मच्चाउन सफल भएका थिए जबकि सन् १९७१ मा मात्रै स्विजरल्यान्डमा महिलालाई मताधिकार प्रयोग गर्न दिइयो । जुन नेपालको पहिलो संसदीय चुनाव २०१५ भन्दा १२ वर्ष पछिको घटना हो । बीपी कति उदार र दूरदर्शी राजनीतिज्ञ थिए उनले महिला दलित जनजातिलाई दिएको प्राथमिकता र लिएको नीतिले बताउँछ l
बीपीको त्यो उद्दात्त भावना र प्रयोगले निरन्तरता पाएको भए आज नेपाली नारीको ३३ प्रतिशतको भाग ५० प्रतिशत भन्दामाथि पुग्ने निश्चित थियो l नेपाली राजनीतिमा बीपी उसै मानक बनेका थिएनन् भन्ने दृष्टान्त उल्लेखित प्रसङ्गबाट छर्लंग हुन्छ l १५ वर्षभित्र आफ्नो झैँ प्रत्येक नेपालीको आर्थिक हैसियत र सामाजिक हैसियत पुर्याउने बीपीको ध्येय आजका राजनीतिज्ञ स्वयं नेपाली कांग्रेसकोलागि समेत आश्चर्यले जिब्रो टोक्नुपर्ने विषय बनेको छ l
नेता र सर्वसाधारणको जीवन स्तरमा आर्थिक विषमताको भयंकर ठूलो खाडल छ, व्यवस्था बदलेपछि अवस्था पनि बदल्नुपर्ने बीपीको समाजवादी नीति थियो l त्यसैले सबै नेपालीको शिक्षा,स्वास्थ्य र आर्थिक हैसियत बीपी आफ्नो जत्तिकै बनाउन चाहन्थे l राष्ट्रियता, प्रजातन्त्र, समाजवाद बीपीका मन्त्र र प्रयोग थिए l दुर्भाग्य राजा महेन्द्रलाई आफै सरकार चलाउने भुत चढ्यो l जनताले चुनेको सरकार चलिरहेको बेला २०१७ पुष १ गते बीपीको सरकार अपदस्त गरेर उनीलगायत अरू महत्वपूर्ण नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, दिवान सिंह राई, भद्रकाली मिश्रहरूलाई ८ वर्षसम्म सुन्दरीजलमा बन्दी बनाएर राखे l २०२५ कार्तिक १४ गते रिहा भएका बीपी त्यसपछि ८ वर्ष नै भारत निर्वासनमा बसे l
बीपी जिम्वेवार र जबाफदेही थिए भन्ने कुराको उदाहरण आफूलाई आठवटा मृत्युदण्डको फैसला हुने सङ्गीन अपराधको मुद्दाको बयानमा यसरी निर्धक्क दिएको जबाफ र कार्यकर्ताप्रतिको विश्वासमा व्यक्त भएको पाइन्छ : ‘एउटा निरङ्कुश तानाशाही व्यवस्था फ्याँक्नकालागि जुनसुकै साधन अपनाइए पनि सबै जायज हुन्छ l जहाँसम्म मेरो निजी मामला हो म राजतन्त्रको खिलाफ छैन l तर निरङ्कुश राजतन्त्रको म घोर विरोधी हुँ l मलाई जुन-जुन मुद्दा या घटनामा संश्लिष्ट गरिएको छ, तिनको जिम्मेवारी मेरो हो l म सरकारद्वारा उल्लिखित विध्वंसात्मक, हिंसात्मक, राजतन्त्रलाई अपदस्त गर्ने, पंचायत व्यवस्थालाई उल्ट्याउने कार्यमा स्वयं सामेल भएको छैन,तर वक्तव्य, भाषण या विचारधारा मार्फत मैले त्यस्ता कार्यमा संलग्न हुनेहरूलाई अवश्य प्रेरणा दिएको छु l उनीहरूको प्रेरणास्रोत हुनुको नाताले आफूलाई अवश्य दोषी मान्छु l अब सरकारले आफ्नो मनमा जे आउँछ त्यो गरोस् l म त्यसकालागि तयार छु l’ (विशेष अदालतमा बीपीको बयान २०३४ बैशाख १७, जेठ ४ ) l
बीपीले निरङ्कुश राजतन्त्रको जहिल्यै बर्खिलापमा आफूलाई उभ्याए भने संवैधानिक राजतन्त्रलाई प्रतिकूल अवस्थामा पनि छाँद हालिरहे l बीपीले तत्कालीन राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको आँकलन गरेर नै नेपालमा संवैधानिक राजतन्त्रको मोह नछाडेको, राजतन्त्र अपरिहार्य सम्झेको बुझ्न आज पनि कतिपय सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरूको बाणी र राजतन्त्रको अन्त्य कतै हतारमा गरियो कि भन्ने धेरै विशिष्ट राजनीतिज्ञको विचारले व्यक्त गर्दछ l
प्रचण्ड, ओली,बाबुराम, वैद्य विप्लव र बिजुक्छे सम्मले वैधानिक सेरोमोनियल,आलंकारिक,सांस्कृतिक या त्यस्तै गणतन्त्रमा समेत अट्ने राजतन्त्रको परोक्ष स्वीकार गरेका छन् l राजतन्त्रको शक्तिलाई मानेका छन् l कांग्रेस भित्र झन् बग्रेल्ती राजावादीहरू छन् l राजतन्त्रको नेपालमा सान्दर्भिकता सँधै छ भनेर नै बीपीले २०३३ साल पौष १६ मा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै राजासँग राष्ट्रियताको मामलामा मेरो गर्धन जोडिएको छ,भन्ने वक्तव्य सहित नेपाल आए l
सिक्किम १९७५ मा भारतको पन्जामा जब पुग्यो तब नेपालको राष्ट्रियतामाथि पनि खतरा रहेको निस्कर्ष निकाल्दै बीपी स्वदेश फिर्ता भए l निर्वासन त्यागे l आफ्नै माटोमा मर्न चाहन्छु भने l बीपीको यो कदमको आलोचना र प्रशंसा उत्तिकै भएको छ l बीपीको राष्ट्रिय मेलमिलाप दिवस प्रत्येक पुष १६ मा कांग्रेसले विशेष औपचारिकता प्रदान गरेर मनाउने गरेको छ l तैपनि काङ्ग्रेस बीपी मार्गमा छैन l हुनत अहिलेको गठबन्धन बीपीको मेलमिलाप नीति अनुकुल नै राष्ट्र बचाउन र प्रजातन्त्र जोगाउन भएको कांग्रेसजनको तर्क सुनिएको छ l जबकि कम्युनिष्टसँग मिलेर सत्ताको लागि राजनीति बीपीको अभीष्ट किमार्थ थिएन l
बीपी कोइराला २००४ कार्तिक १२,१३ नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा ३३ वर्षको उमेरमा पार्टीको कार्यबाहक सभापति बनेका थिए भने,नेपाली कांग्रेसको स्थापनापछि तीन पटकका अधिवेशनहरू २००९ ,२०१२ र २०१४ देखि मृत्युपर्यन्त नेपाली कांग्रेसको सभापति बनेर कांग्रेस र देशको नेतृत्व गरे l सशस्त्र क्रान्तिको नेतृत्वदेखि भोक हडताल, भद्र अवज्ञा आन्दोलन हुँदै जनमत संग्रहसम्म अनेक स्वरूपका आन्दोलनमा बीपी सक्रिय बने l दुखको महासागर मै डुबे तर संघर्षको मैदान छोडेर नाजायज सम्झौता र सिद्दान्तको पथबाट विचलित बनेनन् l सुखको बाटो हिड्न चाहेर, सिद्धान्तको राजनीति त्यागेको भए बीपीसँग थुप्रै अवसर र सहज निकासका बाटाहरू थिए l धेरै प्रलोभन प्राप्त थियो तर दुरूह मार्ग रोजे आत्मसमर्पण गरेनन् l त्यसैले बीपी,सम्मानित र श्रद्देय पात्र बनेका हुन् सर्वस्वीकार्य छन् l
बीपीले राजाले गराएको जनमत सङ्ग्रह २०३७ मा धाँदली हुँदा र पंचायतको निर्दलले विजय प्राप्त गर्दा सहजै स्वीकार गरेर आफ्नो प्रजातान्त्रिक छविलाई झन् उज्यालो पारे l उनको कथन थियो ‘खेलमा सहभागी भएपछि निर्णय मान्नु खेलाडीको धर्म हो l झेली गर्नेहरूले सँधै जित्दैनन् l पंचायतले कम्तिमा एउटा प्रजातान्त्रिक अभ्यासलाई मान्यता दियो l’ अब देश प्रजातन्त्रको लिकमा छिटै प्रवेश गर्नेछ l
बीपी उदागारको करि १० वर्षपछि देश बहुदलीय प्रजातन्त्र अवलम्बन गर्न बाध्य भयो भने राजा वीरेन्द्र संवैधानिक राजा बन्न राजी भए l २०४७ सालमा नयाँ संविधान बन्यो र राजा संविधान भित्र बसे l यद्दपि यही संविधान नाघेर राजा ज्ञानेन्द्रले संवैधानिक कु सत्र साल भाग दुई मन्चन गरे जसको परिणाम नेपालको राजतन्त्र नै विदावारी हुन् पुग्यो l नेपाल संघीय गणतान्त्रिक मुलुकमा रूपान्तरित भयो l संवैधानिक राजतन्त्रका हिमायती बीपी कोइराला गणतान्त्रिक पद्दतिमा पनि स्मरणीय छन् l
साहित्यमा विश्वेश्वरप्रसाद
राजनीतिमा बीपी भनेर परिचित कोइराला साहित्यमा विश्वेश्वरप्रसादका नामले सुविख्यात छन् l यो तथ्य आधुनिक अनुसन्धान दाता र विद्यार्थीले जान्नु आवश्यक छ l तसर्थ यहाँ उनको साहित्यिक प्रसंगमा उनलाई विश्वेश्वरप्रसाद नै लेख्ने प्रयत्न गरेको छु l भारतमा नै विश्वेश्वरको अध्ययन,बाल्यकाल र युवाकाल बितेको कारण उनी भारतीय स्रष्टाहरूका निकट थिए l
आफूलाई साहित्यमा रुचि जगाउने व्यक्तिको रूपमा विश्वेश्वरका मित्र शान्तिप्रिय द्विदीको नाम लिएका छन् l द्वेदीले कोइरालालाई भारतीय मूर्धन्य साहित्यकारहरूको जमघटमा लगेर परिचय गराउँथे त्यस भेटघाटमा जयशंकर प्रसाद, मैथालिशरण गुप्ता, मुन्सी अजमेरी, विनोद शङ्कर व्यास जस्ता प्रख्यात भारतीय साहित्यिक हस्ती सहभागी बन्थे l यिनीहरूको प्रभाव र संगतले विश्वेश्वरमा साहित्यको रुचि र उत्प्रेरणा बढ्यो l जसको कारण उनी पनि हिन्दीमा आफ्ना रचना लेख्न थाले l
विश्वेश्वरप्रसादले लेखेको ‘वहा’ नामको लघुकथा ‘हंस’ नामक प्रेम चन्दद्वारा सम्पादित पत्रिकामा १९८७ मा प्रकाशित भएको थियो l साहित्य रचनाको शिलशिलामा कोइरालाका कथा, निबन्ध र विविध रचना हिन्दीमा छापिन थाले l हिन्दी साहित्यमा टैगोर,प्रेमचन्द आदिका अलावा हिन्दीका अनूदित गोर्की, टल्सटय, मोपसा,चेखव, आदिका कथा उपन्यास र साहित्यका अनेक विधा विश्वेश्वर पढन लागे र साहित्यका अनुरागी बन्न थाले l
हिन्दी साहित्यमा उनको प्रवेश रुचि र लगाव देखेर कवि धरणीधर कोइराला, सूर्य विक्रम ज्ञवाली लगायतले विश्वेश्वरलाई नेपाली भाषामा लेख्न पनि उत्प्रेरित गर्न थाले र नेपालीमा ‘शारदा’ पत्रिकामा १९९२ मा ‘चन्द्रवदन’ कथा प्रकाशित गरेर कोइराला नेपाली साहित्यको आँगन टेक्न आइपुगे l फलस्वरूप नेपाली साहित्यका विराट प्रतिभाको रूपमा आज विश्वेश्वर पढिन्छ, पढाइन्छ l नेपाली साहित्यमा कथा सङ्ग्रह दोषी चस्मा (२००६), र श्वेत भैरवी (२०३९) प्रकाशित छन् l पात्रमा मानसिक द्वन्द सिर्जना र विकास गरेर कथालाई कलात्मक प्रस्तुति दिने कोइराला सिग्मन्ड फ्रायडको मनोविज्ञान नेपाली साहित्यमा भित्र्याएर नवीन शिल्प र शैलीद्वारा कथालाई उदघाटन गर्ने व्यक्तिमा पर्दछन् l
विश्वेश्वरका कथाहरूमा यौन मनोविज्ञान,बाल मनोविज्ञान, चेतन मनोविज्ञानको प्रकटीकरण भएको पाइन्छ l नेपाली साहित्यमा केन्द्र भन्जन गर्ने साहित्यकारको रूपमा पछिल्लो समयमा उनलाई चिनाउने साहित्यिक अध्येयताहरू पनि छन् l जातजाति बीच रक्त मिश्रणको सम्बन्ध पनि उनका साहित्यिक कृतिमा अभिव्यन्जित यथार्थ देखिन्छ l
विश्वेश्वरले आफ्नो राजनीतिको अत्यन्त प्रतिकूल अवस्थामा सुन्दरीजलमा ८ वर्ष राजबन्दी बस्दा पनि नेपाली साहित्यको श्रीवृद्दिमा आफूलाई तल्लीन गराए l उनका प्रकाशित उपन्यासहरू तीन घुम्ती, ( २०२५ ).नरेन्द्र दाइ, ( २०२७ ), सुम्निमा, (२०२७)मोदीआइन,( २०३६) हिटलर र यहुदी,( २०४०), बाबु,आमा र छोरा, ( २०४५ ) हुन् l उनका एक दर्जन कविता र केही निबन्ध पनि प्रकाशित भएको पाइन्छ l
विश्वेश्वरका उपन्यासलाई विषयगत वर्गीकरण गर्दै प्रा.डा. हरिप्रसाद शर्माले बीपीका उपन्यासमा लेखेका छन् : उनका उपन्यास सामाजिक, सांस्कृतिक र पौराणिक तीन प्रकारका रहेका छन् l सामाजिक उपन्यासमा तीन घुम्तीलाई नारी समस्या केन्द्रित अनि नरेन्द्र दाइ र बाबु,आमा र छोरालाई मानवनियति भनेर उल्लेख गरेका छन् l सांस्कृतिक उपन्यास भनेर सुम्निमाको नाम लेख्दै समन्यवयवादी सांस्कृतिक विचार भनेर अर्थ्याएका छन् l त्यसै गरी पौराणिक गीता दर्शनमा आधारित उपन्यासमा मोदीआइनलाई चित्रित गर्दै राष्ट्रिय सन्दर्भमा जोडेका छन् अनि अन्तरराष्ट्रिय सन्दर्भमा हिटलर र यहुदीलाई चिनाएको पाइन्छ l
‘आफ्नो कथा’ (आत्मजीवनी) आत्मवृतान्त जेल जर्नल ( २०५५ ) फेरि सुन्दरी जल जेलको दिन पंजी आदि पाइएका छन् l बीपीका भाषण र अन्तर्वार्ताहरू पनि किताबको रूपमा विभिन्न व्यक्तिले संकल गरेर प्रकाशन गरेको पाइन्छ l बीपीका रचनाहरू अंग्रेजी,हिन्दी, मैथली जस्ता अन्य भाषामा समेत प्रकाशित छन् l कलालाई सुरक्षा होइन स्वतन्त्रता चाहिन्छ भन्ने विश्वेश्वर ‘साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्थे l’ बीपीलाई राजनीतिमा भन्दा साहित्यमा सफल मान्नेको जमात पनि धेरै छ l
साहित्यका बहुल विधामा विश्वेश्वरप्रसाद देखिए l तथापि कथा र विशेषगरी उपन्यास उनको मूल विधागत चिनारी हो विश्वेश्वरप्रसादका साहित्यमा राजनीति देखिदैन तर व्यन्जना र लक्षणामा सन्दर्भपरक अध्ययन विश्लेषण गर्दा राजनीति पनि देख्न सकिन्छ l विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासको विचार पक्षमा विद्यावारिधि गर्नु भएका प्रा.डा. भूपति ढकाल भन्नुहुन्छ : ‘बीपीको राजनीतिक प्रभाव साहित्यमा सोझो आँखाले नदेखिनु उहाँको विशिष्ट साहित्यिक क्षमता हो l’ शायद सामान्य मान्छेको आँखाले कोइरालाका साहित्यमा राजनीति सजिलै देख्ने थिए भने उनको साहित्यको मूल्याङ्कन आजको रूपमा नरहन पनि सक्थ्यो l विश्वेश्वरप्रसादले साहित्यमा पार्टी राजनीतिलाई नछिराएर विशुद्द साहित्यको राजनीति गरे त्यसैले उनी साहित्यमा सर्वग्राह्य र सर्वप्रिय छन् l साहित्यमा प्रगतिशील र कतिपय अवस्थामा प्रगतिवादी कित्तामा विश्वेश्वरप्रसाद भेटिन्छन् l यद्दपि साहित्यमा वादको कित्ताकाट गरिँदा कोइरालाई प्रगतिवादी साहित्यकार कहींकतै भनेको पाइन्न l
बीपीका कमजोरी
बीपीका बारे लेख्दै रमेशनाथ पाण्डे भन्छन : ‘मन नपरेपछि अथवा रिस उठेपछि बीपी आफूभन्दा कनिष्ठलाई पनि तपाई भनेर सम्बोधन गर्ने अनि ज्यादै प्रसन्न भएको बेलामा एकैपल्ट दुई खुट्किला भर्यांग चढने गर्नुहुन्थ्यो l’ शायद यसलाई पनि कमजोरी भन्न सकिन्छ l महान मान्छेहरू आफ्नो कमजोरी र सफलता छिटो देखाउँदैनन् l रिस र खुसी शीघ्रातिशीघ्र प्रकट हुनु प्रख्यात मान्छेका कमजोरी नै हो l
कम्युनिष्टहरूसँग मिलेर आन्दोलन गर्न नचाहनु नै देशमा पंचायत लामो समय रह्यो जबकि कांग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गर्दा बहुदलीय व्यवस्था २०४६ मा स्थापना मात्रै भएन २०६४ मा कांग्रेस जनयुद्द गरिरहेको माओवादी र अन्य सात दल मिल्दा देशबाट राजतन्त्र विस्थापन हुन सम्भव भयो l राजाले जतिसुकै खेदो खन्दा पनि राजतन्त्रको काँध हाल्न नछोड्नु कोइरालाको राजनीतिक कमजोरी मान्न सकिन्छ l
राजावादीहरू भन्छन बीपी बनेको नै प्रतिकूलताका बाबजुद पनि राजसंस्थाको समर्थन गर्ने देशभक्त नीतिले बीपी राजनीतिक रूपमा यसरी बाँचेका हुन् l आफ्नै दाइ मातृकाप्रसाद कोइरालासँगको राजनीतिक द्वन्दले बीपीलाई कम्जोर बनायो र राजालाई बलियो बन्न सघायो l त्यसैले राजाले राजनीतिक कु गर्न सके l नेपाली साहित्यमा पनि अश्लीलता भित्र्याएको उनी माथि दोषारोपण पाइन्छ l आफ्ना प्रजातान्त्रिक योद्दाहरू भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापाहरू मारिँदा पनि राजासँग नरम नीति अवलम्बन गरेर सहिदको अवमूल्यन गरेको आरोप पनि बीपीमाथि तत्कालीन कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले आफूद्वारा रचित 'लुटिएका दुई थुंगा फूल' मार्फत गरेका छन् l स्मरणीय : कम्युनिष्ट नेता मैनालीले 'लुटिएका दुई थुंगा फूल' पंचायतद्वारा २०३५ माघ २५ गते मारिएका कांग्रेस नेताहरू सहिद भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापाको स्मृतिमा लेखेका हुन् l
बीपीमा पनि निश्चय नै कमजोरी थिए l उनलाई यौनको मामलामा पनि अलि बढी उदार भनेर आलोचना गरिएको पाइन्छ कताकता l यदि कमजोरी नभएका भए बीपी मान्छेको स्वभावगत गुणभन्दा पृथक अर्कै जातका प्राणी हुन्थे l मान्छे कमजोरी सहित नै असल र महान हुन्छन् l बीपी असल मान्छे थिए l
निस्कर्ष :
राजनीतिका बीपी हुन् या साहित्यका विश्वेश्वरप्रसाद कोइराला नेपालका एक रत्न साहित्य साधक र राजनीतिका शिखर पुरुष हुन् l उनले नेपाली साहित्य र राजनीतिमा गरेको योगदान पुस्तौ पुस्ता नेपालीले स्मरण गर्ने छन् l राजनीतिमा सुधार र परिवर्तन गर्न उनले सामाजिक,भौतिक र आर्थिक रूपले समाजलाई हेरे भने फ्रायडवादी दृष्टि बोकेर साहित्य मार्फत मान्छेको मन मन भित्र पुग्ने चेष्टा गरे l बीपी विशेष समयले जन्माएका विशेष उपलब्धि र विशेष सम्पदा हुन् l साहित्यमा उनका जति किताब छापिए त्यति राजनीतिक दर्शनमा उनी स्वयंद्वारा लिखित पुस्तक छैनन् l बीपी आफैले पनि राजनीतिक दर्शनभन्दा धेरै साहित्यिक दर्शन लेख्न मन पराए l
बीपी कोइरालामा बडो विश्वास थियो, ‘नेपाल ...बाँच्छ l ..यो विदेशीहररूले जस्तोसुकै टाउको फोरे पनि | जस्तोसुकै हत्याकाण्डको एउटा लहर जो यहाँ ल्याउँछन्, ल्याउँछन्, ल्याउँछन्, तर हाम्रो देश रहन्छ, रहन्छ, रहन्छ र त्यसका दुईटा आधार छन् | एउटा आधार हामीहरूको भित्र तराईवासी हुन्, नेवार हुन् वा पर्वते हुन्, एउटा कता-कता लुकेको राष्ट्रिय भावना छ | ... अर्को त्यसको साथ-साथ हामीहरूमा प्रजातन्त्रको पनि एउटा बडो ठुलो विश्वास छ |’ कत्रो द्रष्टा, देशको चरित्रबोध र यसको भविष्यप्रतिको कत्रो विश्वास !
साहित्यमा उनलाई अराजक भन्नेहरू राजनीतिमा उनलाई दुरदर्शी राजनीतिज्ञको उपाधि दिन्छन् l उनको व्यक्तित्वको अनेक पाटा र सन्दर्भहरू छन् l यसर्थ उनको व्यक्तित्वलाई कतै न कतैबाट मन पराउने सचेत जमात उल्लेख्य भएको कुरा उनका बारे हुने गरेका र भएका शोध सामग्रीले स्पष्ट पार्दछ l ‘निश्चित उदेश्य प्राप्तिको लागि गरिने प्रतिबद्दता नै सार्थक मान्छे बन्ने संकल्प सम्झने’ कोइराला सार्थक मान्छेका रूपमा नेपाली राजनीति र साहित्यमा युगौ बाँच्ने छन् l बीपी नेपाली माटो अर्थात् भुइँमा जरा भएका नेता थिए र साहित्यका विलक्षण प्रतिभा, अनेक आयामबाट बीपीलाई उत्खनन् गर्न सकिन्छ l राजनीतिका बीपी र साहित्यका विश्वेश्वरप्रसाद कोइरालाको आज स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन !
स्मरणीय : प्रस्तुत सामग्री यस अघि पनि बीपी स्मृति दिवसको अवसरमा प्रकाशित भएको छ l
हाम्रो पार्टीको आधार नै विश्वास, आशा र प्रेममा आधारित हो । यही मूल्य मान्यतामा आधारित भएर हामी राष्ट...
'झोले' एक माइन्डसेट, संरचनात्मक रूपमा मस्तिष्क नियन्त्रणको एउटा चतुर तर खतरनाक औजार पनि हो ।
हामी कमजोरीमा क्षमा माग्ने विषयलाई हीनताबोध र लघुताभासको विषय मान्दैनौ l कमजोरीमा क्षमा मागेर सच्चिए...