'झोले'को पब्लिक सङ्कथन- सञ्जीव कार्की

‘म झोले हुँ’ भन्ने भनाई केवल व्यक्तिगत परिचय नभई एक गहिरो राजनीतिक, सामाजिक र मनोवैज्ञानिक र दार्शनिक सन्देश बोकेको सन्दर्भ हो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समर्थक र कार्यकर्ता माझ "म झोले हुँ" भन्दै दिएको भाषण उनका कट्टर समर्थकहरूको गर्व र राजनीतिक निष्ठामा रूपान्तरित हुँदैछ l
यो एउटा न्यारेटिभ हो जसले आलोचनाविहीन, प्रश्नहीन, भावनात्मक र मस्तिष्क नियन्त्रण गर्ने उपकरणको भाष्य निर्माण गर्दैछ l
‘झोले’ भन्ने शब्द सुन्दा हामीलाई सडकका नारा चिच्याउने, दल-नेता गुणगान गाउने, आँखामा पट्टी बाँधेर समर्थन जनाउने र आलोचनालाई अपराध ठान्ने एकखाले चरित्रको सम्झना आउँछ । झोले हुनु भनेको एक सोचको प्रणाली स्थापना गर्नु हो l विवेकलाई राजनीतिक धितो र बन्दकीको विषय बनाउनु हो l झोलेपनमा आफूले विश्वास गरेको र आफ्नो विश्वासमा मात्र सत्य, निष्ठा, देशप्रेम, उत्तरदायित्व र विचार रहेको विश्वास हुन्छ l आफू इतर र आफू बाहेक अन्यमा दुर्गुण नै दुर्गुण देख्ने चश्मा हुन्छ l जुन चश्मा मस्तिष्क नियन्त्रण विधिमार्फत् लगाउन दिइन्छ र साउनमा आँखा फुटेको गोरुको दर्जामा झोलेहरूलाई पुर्याइन्छ l
'झोले' एक माइन्डसेट, संरचनात्मक रूपमा मस्तिष्क नियन्त्रणको एउटा चतुर तर खतरनाक औजार पनि हो । यसले बुद्धि र विवेक बन्धक राखेको मान्छे निर्माण गर्छ l झोलेहरूले नेताको कुनै पनि निर्णयलाई तर्क वा तथ्यको परिक्षण नगरी सही ठान्छ । प्राय:नेताहरू ‘मैले भनेको ठीक, अरूले भनेको गलत’ भन्ने एकतर्फी प्रवृत्तिमा रमाउँछन्, झोले अनुयायीहरू त्यही सत्ताको भाषालाई आफ्नो अन्तिम सत्य ठान्छन् । आलोचना गरे दुश्मन ठान्ने, प्रश्न उठाए गद्दार भन्ने प्रवृत्ति उनीहरूमा व्याप्त हुन्छ । जसले सत्ताको अन्ध समर्थन, र विचारविहीन अनुयायीपनलाई संस्थागत गर्दछ l नेताको बोलीअनुसार कार्यकर्ताको लय बन्छ । सत्ता र नेताको भाषा नै सत्य हो भन्ने विश्वासमा बाँधिनु हो झोले हुनु । यही विश्वासको राजनीति मार्फत मस्तिष्क नियन्त्रणको दीर्घकालीन योजना अघि जान्छ । यस लेखमा झोलेलाई वैचारिक गुलामी र चेतनाको नियन्त्रणको प्रक्रिया भनेर बुझ्नेछौं ।
झोले मनोविज्ञान निर्माण
'झोले' शब्द सामान्यतया राजनीतिक कार्यकर्ताहरू वा नेताको पछि लाग्नेहरूलाई जनाउने शब्दको रूपमा चिनिएको छ । तर जब यसलाई आफ्ना नेताको अनुसरण गर्दै ‘गर्वका साथ म पनि झोले’ हुँ भन्न थालिन्छ, तब यसले एउटा सांस्कृतिक स्वीकृति, मनोविज्ञान र आत्मपहिचान निर्मितिमा सहयोग गर्दछ l ओलीको ‘म झोले हुँ’ भनेको विषय केवल आत्मपरिचय थिएन, बरु उनले यस्तो भनाइमार्फत आलोचनात्मक चेतनालाई निषेध गर्ने अभियान चलाएका हुन् । कार्यकर्ताको आलोचनात्मक सोचलाई भुत्तो बनाएर जब सार्वजनिक संजालका भित्ता एमाले कार्यकर्ताले रंगाए त्यसले कार्यकर्ता केवल दास रैती र गलत सोच र प्रवृतिबाट साशित हुन तयार रहेको संकथन निर्माण गर्यो l मस्तिष्क नियन्त्रण कुनै सुई घोप्ने काम होइन । यो लामो समयसम्म सञ्चार, पुनरावृत्ति, डर, आशा र पहिचानको प्रयोग गरेर गरिन्छ । यी सबै प्रविधिले एकप्रकारको वैचारिक उन्माद र आलोचना प्रतिरोधी मानस तयार पार्छ जसलाई झोले भनिन्छ । ओलीको शैलीमा वाकपटुता, व्यंग्य, मिथ्या राष्ट्रवाद, इतिहासको पुनर्लेखन, भ्रमको खेतीजस्ता प्रविधि छन् । यसले मानिसको चेतना कब्जा गर्छ। उनीहरू “नेताले भनेको त सत्यै हो” भन्ने सोचमा पुग्छन् । टेलिभिजन, फेसबुक, युट्युबस्ता माध्यमबाट एकपक्षीय सन्देशहरू निरन्तर बर्साइन्छ । यस्ता सन्देशहरू झोले अनुयायीका लागि अन्तिम सत्य हुन्छन् l झोलेहरू आलोचना सहन सक्दैनन् । आफूले समर्थन गरेको नेताको विचार कार्यशैली र प्रवृत्तिको विरोध गरेमा ‘तिमी फलाना भक्त हौ’ ‘तिमी भारतको एजेन्ट हौ’,’तिमी दलाल हौ’ तिमी अमेरिकी भतुवा हौ l चाइनिज एजेन्ट हौ जस्ता आरोप लगाइन्छ । यसले बहसको ठाउँ बन्द गर्छ, जनतामाझ तर्कको लोकतन्त्र समाप्त हुन जान्छ । विचारविनिमय होइन, चिच्याहट र घृणा फैलिन्छ । यही त हो मस्तिष्क नियन्त्रण र झोलेपना l प्रायः अन्ध समर्थन, नीतिविहीन पक्षधरता, र आलोचना असहिष्णुताबाट परिचालित हुन्छ झोले मस्तिष्क । जब व्यक्तिको आत्म-चिन्तन क्षमतामा आघात पुग्छ र उनीहरू सोंच्न बन्द गर्छन्, तब उनीहरू सजिलै अरूले बनाएको कथामा फस्छन् यही हो झोले सङ्कोकथन परिभाषा र पहिचान । आफ्ना नेताको जतिसुकै कमजोरी भए पनिं आलोचना नगर्ने र केवल प्रशंसा गर्ने कार्यकर्ताको निर्माण । दलको/नेताको कमजोरीलाई ‘रणनीति’ भनेर व्याख्या गर्ने आदत । नेताको कथनलाई धर्मग्रन्थ सरह लिने प्रवृत्ति । विचारभन्दा अगाडि भक्ति राख्ने मानसिकता । सांस्कृतिक ब्रेनवासिङ -परम्परा, धर्म वा राष्ट्रको नाममा सिर्जित भावनात्मक कथा । राजनीतिक धर्मान्धता –दल वा नेतालाई अवतारसरह हेर्ने दृष्टिकोण । वैकल्पिक दृष्टिकोणको दमन - अरू विचारलाई देशद्रोह वा दुश्मनीका रूपमा खार्न खोज्ने सोच।
भावनात्मक अपिल
‘म झोले हुँ’ भन्ने वाक्यांशमार्फत निम्न किसिमको मानसिक नियन्त्रण देखिन्छ: व्यक्तिको व्यक्तिगत पहिचान पार्टीसँगै विलीन हुन्छ l ‘म ओली हुँ’ l नेताको निर्णय मेरो निर्णय, नेताले गल्ती गर्दैनन्, गल्ती नै गरे पनि तिमी र तिम्रा नेताको जति होइन भन्ने अवस्था । तथ्य र तर्कभन्दा भावनाको राजनीति प्रधान मान्ने तरिकाको विकास l केपी ओलीको प्रत्येक भनाइ वा निर्णयलाई ‘क्रान्तिकारी’ वा ‘देशभक्तिपूर्ण’ भनेर व्याख्या गरिन्छ, चाहे त्यो संविधानविपरीत किन नहोस् । झोले शब्दलाई आफैंमा प्रतिरोधहीनताको प्रतीक बनाइएको छ । एमाले/ओली नेतृत्वले ‘झोलेपन’ लाई एक किसिमको गर्व र निष्ठाको प्रमाण बनाएको छ । यो सङ्कथले दलभित्र कुनै प्रकारको असहमति या विमति उठ्न नदिने असहिष्णु वातावरण तयार गर्छ । जसरी भक्तिकालीन साहित्यमा भगवानप्रति समर्पण सर्वोपरि हुन्थ्यो, त्यसैगरी आजकल पार्टीका नेताहरू र भक्तहरूका लागि नेताहरूको बोली अकाट्य शुद्ध, सटिक र सिद्ध लाग्छ ।
कसरी बन्छ झोले सङ्कथन ?
'झोले' मानसिकता सत्ताको लागि एक सफ्ट कन्ट्रोल माइन्डसेट हो । जब तपाईं प्रश्न गर्न छोड्नुहुन्छ र नारा लगाउन थाल्नुहुन्छ, तपाईं स्वतः सत्ता अनुकूलको प्राणी बन्नुहुन्छ । सत्ताको चरित्र र विशेषता आलोचना प्रश्न र समीक्षा सुन्नु होइन प्रसंशा र भक्तिगान सुन्नु हो l
शिक्षा प्रणालीमा आलोचनात्मक सोचको अभाव, मिडिया र सामाजिक सञ्जालमा भावना-केन्द्रित प्रचार,पुरस्कार/दण्ड प्रणाली जसले फरक आवाजहरूलाई किनारा लगाउँछ l झोले प्रवृत्तिले समाजमा विवेकहीन समर्थन को लहर सिर्जना गर्छ, जहाँ सत्य र असत्यको भेद झन् अस्पष्ट हुँदै जान्छ । ‘म झोले हुँ’ भन्ने सङ्कथन मानिसलाई लोकतान्त्रिक संवादभन्दा भक्ति र निष्ठामा बाँधिदिन्छ। यसले:विवेकशील आलोचनालाई विस्थापित गर्छ । नेताको निरंकुशताको वैधता बनाउँछ । जनताको चेतनालाई भावनामा विलीन गराउँछ ।
झोलेको संरचनात्मक सत्ता उपयोग
झोलेहरू सत्ता संरचनामा मात्र नभइ प्रत्येक आन्दोलनमा, हरेक पक्ष र संगठनमा हुन्छन् । दमनलाई समर्थनको नाम दिने रणनीति: जहाँ विरोध दबाइन्छ र समर्थनलाई वीरता ठानिन्छ । सामूहिक चेतनाको नियन्त्रण: झोले मानसिकता भएकाले समाज स्वतन्त्र विचारभन्दा पनि अन्धश्रद्धामा दङ्ग पर्छ । झोलेपनले वैचारिक अधीनता र सोचको आत्मसमर्पण हो, जसले नागरिक चेतनालाई संकीर्ण बनाउँछ, आलोचनाको ठाउँ बन्द गरिदिन्छ, र सत्ताको अनैतिकताको रक्षामा उत्रन्छ । झोले” केवल शब्द होइन, यो एक चेतनाको औपनिवेशिकता हो । यसले व्यक्ति स्वतन्त्र रूपमा सोच्न, देख्न, निर्णय गर्न सक्ने क्षमतामाथि प्रहार गर्छ । ओलीको वाणीमा रमाउने, बर्बर सत्तालाई गीता ठान्ने, अन्यायलाई राष्ट्रवाद भन्न सिकाउने यो प्रवृत्ति केवल एमालेको समस्यामा सीमित छैन l यो समग्र नेपाली राजनीतिक चेतनाको अपहरण हो । यसबाट मुक्त हुन सकेनौँ भने हामीले केवल नेताहरू फेर्नेछौँ, तर झोले संस्कार यथावत रहनेछ ।
झोले हुनुको सामाजिक मूल्य
'झोले' हुनुको अर्थ मूल्यहीन हुनु हो तथापि यसले समाजलाई दिग्भ्रमित गरेर केही सामाजिक मूल्य बनाउन खोजेको हुन्छ l 'झोले' हुनुले तात्कालिक रूपमा व्यक्तिलाई ‘समर्पित’, ‘देशभक्त’, ‘ठूलो विचारको अनुयायी’ देखाउन सक्छ । तर दीर्घकालीन रूपमा यस्ता व्यक्तिहरू लोकतान्त्रिक संस्कृतिका बाधक बन्छन् । उनीहरूले सत्यको खोजी होइन, शक्तिको सेवा गर्छन् । जनताप्रति जवाफदेहि होइन, नेताप्रति अन्धसमर्पण गर्छन् । झोले सङ्कोकथनको मूलमा नेता-मसीहा निर्माण प्रक्रिया छ ।
सत्तामा पुगेका नेताहरूले आफ्ना कार्यकर्ता–अनुयायीहरूलाई केवल नीतिमा आधारित नागरिक होइन, भावनात्मक भक्त बनाउन चाहन्छन् ।
केपी शर्मा ओलीले राष्ट्रवादको मुखुण्डो लगाएर, इतिहास पुनर्लेखन गरेर, चीन–भारत कार्ड खेल्दै आफ्ना समर्थकहरूलाई एउटै मनोवैज्ञानिक घेरामा बाँध्न सफल भए । ओलीको भाषणहरूमा तथ्यको ठाउँ ठट्टा, नीति बहसको ठाउँ ‘गफ’ र आलोचनाको ठाउँ ‘व्यङ्ग्य’ हुन्छ । यस्ता भाषिक संरचनाले तर्कको ठाउँ कब्जा गर्छ र कार्यकर्तालाई ‘हास्य’-घृणा’ ‘राष्ट्रवाद’को भावनात्मक संयोजनमा बाँध्छ।
झोले संङ्कथन लोकतन्त्रमा पार्ने असर
झोले सङ्कथन कुनै पार्टी र केवल एमालेको विषय मात्र होइन । यो प्रवृत्ति अन्ततः लोकतन्त्रको मूल्य नष्ट गर्ने खतरा हो । जब नेताहरू 'हामी बाहेक अरू देशद्रोही' भन्न थाल्छन्, तब बहुलवाद मर्छ। जब आलोचना गालीका रूपमा बुझिन्छ, तब संवादको ठाउँ बन्द हुन्छ ।
झोले मानसिकता भएका समाजमा सत्य होइन, सत्ताको भाषा बोलिन्छ। प्रश्न होइन, आदेश चल्छ। विचार होइन, प्रचार चल्छ। यस्तो अवस्थामा शक्तिलाई चुनौती दिने नागरिक बाँच्दैन, केवल झोलेहरू बाँच्छन् ।
झोले सङ्कथनको उपचार विधि
राजनीतिक शिक्षा: विद्यालय र समाजमा आलोचनात्मक चिन्तनको अभ्यास । वैकल्पिक सूचनाको खोजी र विश्लेषण गर्ने अभ्यास,स्वतन्त्र मिडिया: प्रचारमुखी मिडियाभन्दा अनुसन्धानमुखी पत्रकारिताको प्रवर्द्धन । सञ्चार साक्षरता: सामाजिक सञ्जालमा फैलाइने अफवाह र प्रचारको वैज्ञानिक परीक्षण । नेतापूजक प्रवृत्तिको बहिष्कार: नेता होइन, नीति र नैतिकतामाथि विश्वास गर्ने संस्कृति । आलोचनात्मक सोचको अभ्यास:हामीले बुझ्नुपर्छ, सत्ताको भाषालाई प्रतिप्रश्न गर्न नजान्ने समाज कदापि स्वतन्त्र रहन सक्दैन । झोले मानसिकता सत्ता बदलिएसँगै अर्को नेताको भक्तिमा जान्छ । त्यसैले हामीले नेतामाथि होइन, सिद्धान्त र नीति–मूल्यमा आधारित राजनीति गर्नु पर्छ त्यस्तो राजनीतिलाई प्रश्रय पुग्ने भाष्य निर्माण गर्नुपर्छ l
जब एक व्यक्ति कुनै नायक वा विचारधारामा पूर्ण विसर्जित हुँदैन र "किन?" भन्ने प्रश्न गर्न थाल्छ, तब उसले झोले मानसिकताबाट बाहिर निस्कन थाल्छ । यसैबेला स्वतन्त्र मस्तिष्कको यात्रा सुरु हुन्छ ।
सारांश
'झोले' प्रवृत्ति यो या त्यो पार्टीमा मात्र छैन l हाम्रो आम माइन्डसेटमा छ l हाम्रो समाजमा विद्यमान संरचनामा छ l हाम्रो मस्तिष्कको संरचना नै झोले मनोविज्ञानमा आधारित छ l हामी आज जुन लोकतन्त्रको कुरा गर्छौं, त्यो केवल मत दिने अधिकार मात्र होइन, मत बनाउने क्षमता पनि हो । झोले हुनु भनेको त्यो क्षमतालाई गुमाउनु हो । त्यसैले यो बेला हामीले सच्चा नागरिक चेतना पुनःस्थापना गर्नुपर्छ l जसले नेताभन्दा माथि संविधान देख्छ, पार्टीभन्दा अगाडि जनता देख्छ, र प्रचारभन्दा पहिले सत्य खोज्छ । झोले प्रवृत्तिको अन्त्य सत्ता परिवर्तन होइन l चेतनाको रूपान्तरण हो । हामीले झोले संस्कृतिको अवसान गरेर उत्तरदायित्व खोज्ने लोकतान्त्रिक समाज निर्माण गर्नुपर्छ ।
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l