नेपालमा अम्बेडकरवादको महत्त्व र औचित्य - कमला हेमचुरी

नेपालको जातीय विभेद विरुद्धको आन्दोलन राजनीतिक परिवर्तनको आन्दोलन सरह नै पुरानो आन्दोलन भनेर चिनिन्छ । जातीय उत्पीडनमा परेका हजारौ व्यक्तिहरूले यस आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका छन् । यो आन्दोलन पनि बलिदानीपूर्ण इतिहास बोकेको आन्दोलन हो । यो आन्दोलनमा जीवन समर्पण गर्नेहरूमध्ये कसैले जीवन उत्सर्ग गरेका छन्,कोही अपाङ्ग भएर जीवन यापन गर्न बाध्य छन् भने कसैको घरबाट नै सकिएको छ । अनेकौ दुःख,कष्ट सहेर आन्दोलनमा होमिएका छन् । राजनैतिक परिवर्तनको आन्दोलनमा पनि उनीहरूले उत्तिकै योगदान दिएका छन् । तथापि,जातीय उत्पीडनमा परेको शिल्पी समुदायले एक्काइसौ सताब्दीको गणतान्त्रिक नेपालमा समेत मान्छे भएर बाच्न पाएका छैनन् । यो समुदायमाथि हिन्दु मनुवादीहरूले गर्ने उत्पीडन र हिंसाको श्रृखला यथावत छ । र यो क्रम बढ्दो छ र घट्दो छैन् । कहिले चुल्हो छोएको निहुमा मारिएका छन् त कहिले अन्तरजातीय विवहा गरेको निहुमा हत्या गरिएका छन् । मन्दिर प्रवेश गरेको भनेर समेत मारिएका छन् ।
महिलामाथि हिंसा र बल्तकारमा सबैभन्दा बढी पर्ने महिलाहरू नै यी समुदायका महिलाहरू हुन् । धारा छोएको निहुँमा ,होटेलमा खाना खाएर भाडा नमाझेको निहुँमा, अथवा ठूला भनौदा जातहरूलाई इज्जत नगरेको निहुँमा वा घरभाडामा बस्दा जात थाह पाएपछि गरिएको हिंसा र अपमान त सामान्य नै भयो । हरेक दिन भोग्ने पीडा जातीय अपमान हत्याको अगाडि सामान्य नै भयो । भरखरमात्र इन्सेकले सार्वजनिक गरेको मानव अधिकार पुस्तक २०२५ अनुसार सन् २०२४को एक वर्षभित्रमा तराइमा ८७९ जना शिल्पी समुुदायका मान्छेहरू विभेद र हिंसामा परेका छन् । यो स्थिति देशै भरि विद्यमान छ । पीडितहरू न्याय माग्न राज्यका विभिन्न निकायमा जाँदा कथित ठूूला जातहरूको पकडमा रहेको निकायहरू न्याय दिन आनाकानी गर्दछन् । सकेसम्म जातीय विभेदका मुद्दाहररू दर्ता नै गरिदैन् ।धेरै जसो पीडकहरूलाई राजनीतिक संरक्षण हुन्छ । जातीय विभेदविरुद्धको आन्दोलनले राजनैतिकरुपमा केही अधिकार शुुनिश्चित नगरेको पनि होइन । कानूनले जातीय विभेदलाई दण्डनीय समेत घोषणा गरिसकेको छ ।
संविधानले जातीय विभेद विरुद्धको हकलाई मौलिक हककोरूपमा स्थापित गरेको छ । यसका बाबजुद उत्पीडनमा खासै कमी आएको छैन् । सरोकारवाला निकायहरूले यस्तो मानवताविरोधी अपराधलाई अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनमा उदासिनता देखाई रहेका छन् । यो भोगाई एक जना वा केही व्यक्तिहरुको होइन सिंगो शिल्पी समुदायको भोगाई र अनुभूति हो । नेपालको वामपन्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनले जातीय विभेदमा आधारित उत्पीडनलाई अन्त्य गर्ने प्रयास नगरेको होइन् । देशमा भएको राजनीतिक परिवर्तनको आन्दोलन जातीय विभेद र हिंसाको अन्त्य गर्ने आन्दोलन पनि हो । वामपन्थी आन्दोलनले यसलाई वर्गीय मुक्ति आन्दोलनससँग जोडेर अगाडि बढाएको थियो र छ । त्यसैले यो समुदाय वामपन्थी आन्दोलनप्रति बढी आकर्षित भएको छ । विभिन्न कालखण्डमा भएको राजनीतिक परिवर्तनको आन्दोलन र जनयुद्धमा समेत गरी हजारौ यो समुदायका व्यक्तिहरुले आहुति दिएका छन् । तथापि,धेरै क्षेत्रको प्रयासको बाबजुद जातमा आधारित विभेद र हिंसाको अन्त्य त परै जाओस् ;न्यूनिकरण समेत हुन सकेको छैन् । दस बर्षे जनयुद्धले पनि यो समस्याको समाधान निकाल्न सकेन ।
गणतन्त्रको घोषणा पछि त झन संविधान र कानूनलाई चुनौति दिदै जातको नाममा कथित ठूला जातहरू मान्छे मार्न समेत उद्धत छन् । तीनै राजनीतिक पार्टीहरू जसले राजनीतिक आन्दोलन जातीय विभेदविरुद्धको आन्दोलन पनि हो भनेर यो समुदायका मान्लाछेहरूलाई सिकाए र त्यसमा लाग्न प्रेरित पनि गरे : तथापि,आज तीनै व्यक्तिहरु सत्तामा पुुगे पछि विभेद र हिंसाको विरुद्ध कानूनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेतर्फ लाग्ने भन्दा पनि उनीहरू नै जातीय विभेद गर्ने अपराधीहरूलाई जोगाउन र संरक्षण गर्न लागि परेका छन् । जनार्दन शर्माले रुकुम घटनामा अपराधीलाई जोगाउन गरेको प्रयास र केही महिना अगाडि वर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाह गरेका जोडीलाई छुुटाउन गरेको प्रयासले नै उनीहरू जातीय विभेद र हिंसालाई अन्त्य गर्न होइन यसलाई संरक्षण र सम्बद्र्धन गर्न उद्धत भएको देखिएको छ । यति हुुँदा पनि पार्टीहरूले नत यिनीहरूलाई कारवाही गर्छन् न त पीडितको पक्षमा नै बोल्छन् । अदालतले समेत रुकुमको नरसंहारलाई जातको नाममा भएको हत्या हो भनेर स्वीकार गरेन ।
यसबाट के पुष्टि हुन्छ भने समाजदेखि राज्यसत्तासम्मले जातको नाममा हुने विभेद,हिंसा र हत्यालाई प्रोत्साहन गरिरहेका छन् । ।राज्यले गर्ने हिंसा र विभेद त झनै उद्धेक लाग्दो छ । संविधानले शुुनिश्चित गरेको हक समेतलाई कार्यान्वय गर्न चाही रहेको छैन् । दिएका अधिकार समेत खोस्न सक्ने संभावना बढेर गएको छ । शिल्पी समुुदायले राजनीतिक परिवर्तनको लागि गरेको योगदान समेत उनीहरूले बिर्सी सकेका छन् । अब यहाँ प्र्र्रश्न उठाउनु पर्ने कुरा के हो भने पटक–पटक भएको राजनीतिक परिवर्तनको संघर्ष,आन्दोलनले,शिल्पीहरूको आफ्नै प्रयासमा भएको संघर्ष र अभियानहरूले, १० वर्षे जन युद्धले किन जातको नाम हुने हत्या,हिंसा,बलत्कार,विभेदको न्यूनिकरण समेत हुन सकेन ? किन २१औ शताब्दीको गणतान्त्रिक नेपालमा समेत कथित अछूूतहरुले मानव भएर आत्मसम्मानपूूर्वक जीउने वातावरण निमार्ण भएन ? किन राज्यले संविधानले मौलिक हककोरूपमा शुनिश्चित वा प्रत्याभूत गरेको अधिकार समेत कार्यान्वयन हुुन सकेन ? छुवाछुतलाई राज्यले कानून मार्फत जघन्य अपराध घोषणा गर्दा समेत समाजमा विभेद र हिंसाले निरन्तरता पाई रहेको छ ? कथित सवर्णहरु राज्यको कानूनभन्दा माथि उठेर किन कथित अछूतको हत्या समेत गर्न तयार छन् ? कथित अछूतहरूले आफूलाई हिन्दु भनेर हिन्दुहरूको सबै रितिरिवाज,परम्परा,चाडपर्व,संस्कार र संस्कृति सबै धानी दिएर बसेका छन् तैपनि हिन्दुहरूले एउटै धर्मसंस्कार संस्कृति मान्ने एउटै धर्म मान्ने समुदायहरूमाथि यति धेरै अत्याचार गरेका छन् ? नेपालको वामपन्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनले यो सवालको सही समाधान किन निकाल्न सकेनन् ? कथित अछूतहरुको आन्दोलन किन आफूूमाथि भएको विभेद,हिंसा र अत्याचारको विरुद्ध प्रतिकार गर्न सक्ने शक्तिशाली आन्दोलनकोरुपमा स्थापित हुुन सकेन ? यी यावत प्रश्नहरूको उत्तर खोज्ने बेला आएको छ ।यी प्रश्नहरुको उत्तर नत नेपालका लोकतान्त्रिक आन्दोलन हस्तिहरूले दिन सक्छन् नत बामपन्थीहरूले नत अहिले क्रियाशील कथित दलित आन्दोलनले दिन सक्छ । किनभने यी आन्दोलनसँग यी प्रश्नहरूको यथार्थपरक जवाफ दिन सक्ने कुनै आधारहरू नै छैनन् । यथार्थमा भन्ने हो भने यी सबै क्षेत्रहरू कुहिरोमा हराएको काग जस्तै भएर अल्मलिएर बसेको अवस्था छ । यी सबै आन्दोलनले उत्पीडनको मूल श्रोत के हो कथित अछूूतहरूको प्रधान दुश्मन को हो भनेर खोजेको अवस्था नै छैन ।
अम्बेडकर विचारलाई किन नेपालको जातीय विभेदविरुद्धको आन्दोलनसँग जोड्ने ?
माथि मैले धेरै प्रश्नहरू गरेको छु ।यी प्रश्नहरू नेपालको सन्दर्भमा उत्तर दिन गाह्रो पर्ने जटिल प्रश्नहरू हुुन । किनभने वर्तमान कालखण्डमा हामी जुुन विचारहरुले प्रशिक्षित भएका छौं चाहे त्यो लोकतन्त्रवादीहरुले भने जस्तै समाजवादी विचार होस् या वामपन्थीहरुले भने जस्तो मार्क्सवादी विचार र नेपालका कथित अछूतहरू लगभग सबै यीन विचारबाट प्रशिक्षित भएकाले पनि प्र्रश्नहरूको सही उत्तर खोज्न सकेको देखिदैन् । यी विचारहरूले नेपाल जस्तो जातमा आधारित समाजमा माथि उल्लेखित प्रश्नहरू को उत्तर दिनै सक्दैन । किनभने यी विचारहरु फरक भूगोल र फरक परिवेशमा प्रतिपादन भएका दर्शन र विचारहरू थिए । जसको जात व्यवस्थासँग कुनै किसिमको साइनो छैन् । दक्षिण एशिया खास गरी भारत र नेपालमा वर्ग र लोकतन्त्रको आधार जात हो । किनभने यो क्षेत्र भनेको कथित हिन्दु बाहुल्य क्षेत्र हो । जहाँ व्यक्ति वा समुदायको आर्थिक,सामाजिक,राजनैतिक वा अन्य सबै हैसियत जातले निर्धारण गर्दछ । जसको जातीय हैसियत जतिमाथि छ उसको सबै हैसियत माथि छ । एउटा बाहुन सर्वहारा नै भए पनि उसको हैसियत एउटा कथित अछूत सर्वहारको भन्दा धेरै माथि छ । किनभने ऊ आर्थिक हिसाबले गरीब हुुँदाहुँदै पनि जातको सोपानमा सबैभन्दा माथि भएकाले उसको राजनीतिक,आर्थिक,सामाजिक हैसियतलाई कसैले निषेध गर्न सक्दैन । जुन कुरा एउटा कथित अछूतको सन्दर्भमा भन्ने हो पूर्णरूपमा विपरित हुन्छ ।
दक्षिण एशिया र नेपालको समस्या वामपन्थीहरूले भने जस्तो आर्थिक असमानतामा आधारित वर्गीय समस्या अथवा लोकतन्त्रवादीहरूले भने जस्तो राजनैतिक समस्यामात्र नभै ब्राह्मणवादको जगमा टेकेको जातिगत संरचनामा आधारित राजनीतिक धार्मिक समस्या हो ।
यहाँँका लोकतन्त्रवादीहरू न वामपन्थीहरू यो जटिल समस्यालाई सम्वोधन गर्न सफल भए । अब हामीले यही हो अम्बेडकर विचारको महत्वलाई बुझ्नु पर्ने । अम्बेडकरले भनेका छन् ‘चाहे तपाईहरू कुनै पनि दिशामा हेर्नु होस् ; जात एउटा यस्तो दैत्य हो जुन तपाईहरूको मार्गमा खडा छ । जबसम्म तपाईहरूले यो दैत्यलाई मार्नु हुन्न तपाई न राजनैतिक सुधार गर्न सक्नु हुन्छ न कुनै आर्थिक सुधार ।’
अम्बेडकर नै पहिलो यस्तो विचारक,दार्शनिक हुन जसले जात व्यवस्थाको लामो र गहिरो अध्ययन र विश्लेषण पछि कथित अछूतमाथिको विभेद,हिंसा र अत्याचरको वास्तविक श्रोत के हो भन्नेर निष्कर्ष निकालेका थिए । उनको निष्कर्ष थियो ब्राह्मणवादको जगमा टेकेको कथित हिन्दु धर्म र त्यसको सेरोफेरोमा घुमेको राजनैतिक सत्ता नै कथित अछूतहरूको प्रधान दुश्मन हो । उनले भनेका छन्–‘तर के पनि भन्न सकिदैन भने हिन्दुहरू ले जात प्रथालाई यसकारणले मान्छन् ;किनभने उनीहरू मानवताको दुश्मन हुन् या उनीहरूको दिमाग खराब छ । उनीहरूले जातलाई यसकारण मान्छन् ; किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीहरूलाई दोषी मान्न सकिदैन् । मेरो विचारमा उनीहरूको धर्म नै दोषी हो जसको कारण जातको धारणाको जन्म भयो ।
यस्तो होइन कि हिन्दुहरूलाई पतित मानवताको उत्थानको कर्तव्यको भावना सिकाउन सकिदैन । तर कठिनाई के हो भने कुनै पनि अवस्थामा यिनीहरू जातको रक्षाको बारेमा आफ्नो कर्तव्यलाई भुल्न सक्दैनन् । यस कारण जात नै यस्तो मुख्य स्पष्टिकरण हो ; जसको कारण हिन्दुहरु स्वयं सभ्य हुनाको बाबजुद असभ्य जातिहरूलाई असभ्य नै रहन बाध्य बनाए । र यसमा उनीहरूलाई नत लज्जा हुन्छ नत उनीहरूलाई नराम्रो नै लाग्छ । न उनीहरूलाई कुनै पश्चाताप नै छ ।’
अम्बेडकरले धर्म र राजनीतिको सम्बन्धलाई लिएर जे जति पनि आफ्ना विचार दिएका छन् । त्यो अहिले पनि त्यतिकै सान्दर्भिक छ । नेपालमा पनि यो कुरा हुबहु लागु भएको छ । हामीले चाहे लोकतन्त्रवादी,गणतन्त्रवादी या वामपन्थी जसलाई हेरे पनि उनीहरूको मानसिकताबाट जातको अवधारणा हटेको छैन् । उनीहरूले अहिले पनि कम्युनिष्ट र कांग्रेसको खोल ओडेर ब्राह्मणवादको अभ्यास गरी रहेका छन् भन्दा अतियुक्ति नहोला । उनीहरूले जस्तो सुकै प्रगतिशील विचार बोकेता पनि उनीहरूको मन र मस्तिष्क ब्राह्मणवादको पश्च्यगामी चिन्तनले भोरिएको छ । जुन अहिले पनि हामीले व्यवहारमा देखि रहेका छौं ।
यसको साथै नेपालको कथित अछूतहरूको आन्दोलन पनि ब्राह्मणवादी चेतना र चिन्तनबाट निर्देशित भएको र आफ्नो वैचारिक धरातल नभएकोले आफ्नो प्रधान शत्रु को हो भनेर नचिन्दा आन्दोलनले गति लिन सकेको छैन् । कथित अछूत स्वयं हिन्दु वर्ण व्यवस्थाको दलदलबाट बाहिर निस्कन नसक्दा आफ्नो अस्तित्व र पहिचान स्थापित गरेर शिक्षित,सचेत,संठीत हुँदै आत्मसम्मानको संर्घषमा एकिकृत भएर लाग्न सकेका छैनन् । जतिसुकै ब्राह्मणवादी राज्य व्यवस्थाले थिचे पनि त्यसका विरुद्धमा आवाज बुुलन्द गर्न सकेका छैनन । गुलामीका सिकार भएका छन् । दासत्वको जंजिरलाई तोडेर बाहिर आउन सकेका छैनन् । अम्बेडकरले भनेका छन् ‘मस्तिष्क र मनको मुक्ति जनताको राजनैतिक बिस्तारको लागि पहिलो आवश्यकता हो ।’ जातिवाद(ब्राह्मणवाद)को जंजिरलाई तोडेर जबसम्म कथित अछूत समुदाय बाहिर आउन सक्दैन तबसम्म वास्तविक मुक्तिको मार्ग तिर यो समुदायको आन्दोलन निर्देशित हुन सक्दैन भन्ने अम्बेडकरको निष्कर्ष हो ।
अम्बेडकरले किन बौद्ध धर्म ग्रहण गरे
हुनत अम्बेडकरले भन्छन् मैले हिन्दु धर्म त्यागेको होइन् केही समय म बाटोमा अल्मलिएको थिए र अहिलेबाटो पहिल्याए र घर फर्किए । अर्थात उनको भनाई अनुसार बौद्ध धर्म ग्रहण उनको घर वापसी थियो । किनभने हिन्दुहरूले कथित अछूत र सिंगो शूद्र भनिएका समुदाय दक्षिण एशियाका मूल निवासीहरूलाई कहिले पनि कथित हिन्दु भनेर मानेन । त्यसैले उनीहरूले शूद्र र अछूतहरूमाथि धर्मको नाममा अत्याचार गरे । हिन्दुहरूका जति पनि धर्मशास्त्रहरू छन् ती सबै यहाँका मूलबासीहरू माथिको अत्याचारका गाथाहरूले भरिएका छन् । कथित अछूतहरूलाई पूर्णरूपमा आर्थिक,सामाजिक,राजनैतिकरूपमा अधिकारबाट बन्चित गर्ने माध्यम नै धर्म व्यवस्था थियो । यतिसम्म कि एउटा अछूतले बाटोमा हिड्दा घाँटीमा हाँडी र कम्मरमा कूचो झुण्डयार हिड्न बाध्य पारिएको थियो । महिलालाई स्तन ढाक्न समेत बन्चित गरिएको थियो । बाहुुनले जस्तो सुकै अपराध गर्दा पनि सजायबाट उन्मुक्ति दिइएको थियो । यस्तो असमानतामा आधारित धर्मको नाउमा बनाइएको कानूलाई भारतमा व्रिटिश आएपछि मात्र खारेज गरिएको थियो । कथित शुद्रहरू र अछूतलाई स्वतन्त्र रूपमा आर्थिक उपार्जन गर्न र ज्ञान आर्जन गर्न पूर्णरूपमा निषेध गरिएको थियो । त्यो अधिकार पनि बृटिश आए पछि मात्र प्राप्त भएको थियो । सायद भारतमा व्रिटिश उपनिवेश बनाई शासन नगरेको भए यहाँका कथित शुद्रहरू अझै लामो समयसम्म कथित हिन्दुहरूको आन्तरिक उपनिवेश र दासत्वबाट मुक्ति पाउने मार्ग तय हुदैन थियो ।
अम्बेडकरले धेरै लामो समयसम्म कथित हिन्दु धर्ममा सुधार गरी कथित अछूतहरूको हैसियत उठाउन प्रयास नगरेका पनि होइनन् । उनले धेरै आन्दोलन र संघर्ष गरे । मन्दिर प्रवेश देखि तलाउको पानी उगाउसम्मको आन्दोलन गरे । तथापि, ब्राह्मणवादको जगमा टेकेको जात व्यवस्था यति कठोर,क्रुर र निक्रिष्ठ थियो त्यसले अम्बेडकरको परिवर्तन र सुधारको प्रयासलाई स्वीकार्नै सकेन । एक्काइसौ सताब्दीको लोकतान्त्रिक देश भारत र नेपालमा अहिले त जातको नाम हुने विभेद,हिंसा र अत्याचार यथावत छ भने त्यतिबेला कथित अछूतहरूको अवस्था कस्तो थियो होला हामीले अनुमान लगाउन सक्छौ । र साथै धर्मको जगमा टेकेको राजनैतिक सत्ता देशमा विद्यमान थियो । उनले हिन्दु कोड बिल मार्फत समेत हिन्दु समाजमा महिला र कथित अछूतहरूलाई न्याय दिलाउन प्रयास गरे । तथापि यो उपाय समेतले कुनै काम गरेन । किनभने राजनीतिक सत्ता पनि तिनै व्यक्तिहरुको हातमा थियो जसले हिन्दुहरुको धार्मिक सत्तालाई चलाएका थिए । र उनीहरू समाज परिवर्तन गर्न चाहदैन थिए ।
अम्बेडकरले आफूले गरेको विश्वभरीको सभ्यता,संस्कृति,इतिहास,राजनीति,समाजशास्त्र,दर्शनशास्त्रको गहिरो अध्ययन र विश्लेषणले उनलाई के कुराको ज्ञान भई सकेको थियो भने मानव सभ्यताको विकासको क्रममा निमार्ण भएको राजनीतिक सत्ताको दीगोपनमा धार्मिक सत्ताको महत्वपूर्ण भूमिका छ । राज्य सत्ताको लोकतान्त्रिकरण नहुदासम्म राज्यले धर्मलाई राज्य संचालनको मूल नीति र संहिताकोरूपमा लिएको थियो । त्यसैले राज्य संचालनको प्रकृयामा धर्मको अहम भूमिकालाई उनले बुझी सकेको र भारतमा पनि यो प्रकृया अभ्यासमा रहेकोले यसलाई नबदलिकन राज्यको चरित्र र संरचनालाई बदल्न सकिन्न भने बुुझे पछि उनले धार्मिक सत्तालाई केन्द्रमा राखेर आन्दोलनलाई अगाडि बढाए । हिन्दुु धर्ममा मानवता,समानता,स्वतन्त्रता,बन्धुत्व भाइचारा जस्ता मूूल्यमान्यता शुन्य रहेको र यसले जातको नाममा भारतका मूलबासीहरूलाई विभाजनमात्र गरेको थिएन उनीहरुलाई मानसिकरुपमा र भौतिकरुपमा समेत दास बनाएर राखेकोले ती मूूलबासीहरुलाई जबसम्म हिन्दुहरूको मानसिक र भौतिक गुलामीबाट बाहिर ल्याउन सकिदैन तबसम्म उनीहरू =मा चेतना,ज्ञान,सामुहिकता,सहकार्य,बन्धुतत्व भावनाको विकास हुन सक्दैन भन्ने महसुस गरेर धर्म परिवर्तनको आन्दोलनलाई अगाडि बढाए । उनले सन् १९३५मा घोषणा गरी सकेका थिए । र उनले भनेका थिए ‘म हिन्दु भएर जन्मनु मेरो बसमा थिएन । तर म हिन्दु भएर मर्न चाहदिन त्यो मेरो बसको कुरा हो ।’
उनले आफूू धर्म परिवर्तनको घोषणा गरी सके पछि लहडमा आएर कुनै फरक धर्मलाई सहज तरिकाले अंगालेका थिएनन् । उनले बौद्ध धर्म ग्रहण गर्नु भन्दा अगाडि सबै धर्मको गहिरो अध्ययन र विश्लेषण गरेका थिए । उनले आफू एक्लै धर्म परिवर्तन नगरी लाखौको संख्यामा आफ्ना अनुयायीहरू सहित हिन्दु धर्म त्याग्ने घोषणा गरेकाले सबै जसो धार्मिक समुदायहरू अम्बेडकर सहित लाखौ मानिसहरूलाई आफ्नो धर्ममा आकर्षित गर्न चाहन्थे । तथापि,अम्बेडकर कुनै पनि धार्मिक समुदायको प्रभावमा परेनन् । उनले आफ्नो गहिरो अध्ययन,विश्लेषण र विवेकलाई प्रयोग गरेर धर्मको चयन गरेका थिए । अन्तत उनले बौद्ध धर्मलाई चयन गरे र आफ्नो पाचलाख अनुयायीहरु सहित सन् १९५६मा बौद्ध धर्म ग्रहण गरे । अम्बेडकरले बौद्ध धर्मलाई ग्रहण गर्नुको कारण केवल आध्यात्मिक र आत्मिक शान्तिको लागिमात्र थिएन । उनले एउटा धार्मिक,सामाजिक र राजनीतिक क्रान्तिको नया अध्याय कोर्न चाहन्थे । उनकोलागि धार्मिकता प्रधान पक्ष थिएन । उनी धर्मको माध्यमबाट सामाजिक धार्मिक क्रान्ति सहितको राजनीतिक परिवर्तनको क्रान्तिलाई बलियो बनाउन चाहन्थे । अम्बेडकरले बौद्ध धर्म ग्रहण गर्नुको पछाडिका केही कारणहरू
१.बुद्ध यही धर्तीका धर्तीपुत्र र मूलबासी थिए ।
२.हिन्दु वर्ण व्यवस्था भित्र शूद्र र कथित अछूतहरू पनि यो धर्तीका मूलबासी र धर्तीपूत्र थिए ।
३.बुद्धले शान्तिपूूर्ण सामाजिक र राजनीतिक क्रान्ति गरेका थिए ।
४.ब्राह्मणवादलाई उनी चुुनौतिकोरूपमा स्थापित भएका थिए ।
५.इसाको दोस्रो सताब्दीसम्म बौद्ध धर्मको कारणले गर्दा कथित हिन्दु धर्म वा ब्राह्मण धर्मको लगभग पतन भई सकेको अवस्था थियो ।
६.राजनैतिक रूपमा ब्राह्मणहरूको उदयपछि बौद्ध धर्मको विनाश गरियो । र त्यसको पूनर्जागरण आवश्यक थियो ।
७.बौद्ध दर्शनले आत्मिक मुक्ति भन्दा पनि मानवलाई दुःखबाट मुक्त गराउन सक्ने धारणालाई केन्द्रमा राखेको छ ।
८.यसमा काल्पनिक ईश्वर र आलौकिक शक्तिको परिकल्पना गरिएको छैन् ।
९.कर्मको सिद्धान्तलाई केन्द्रमा राखेर व्यक्तिलाई दुःखबाट मुक्त गराउन सकिने अवधारणा रहेको छ ।
१०.शील समाधी र प्रज्ञा यसको आधार स्तम्भ हो ।
११.यस धर्ममा कर्मकाण्डको कुनैै स्थान छैन् ।
१२.मैत्री,करुणा,उपेक्षा,मुदिता,समानता,स्वतन्त्रता भातृत्व,नैतिकता,इमान्दारिता,मानवता यसको प्रमुख मूल्यमान्यताहरु हो । र सामूहिकता,सहकार्य,संघको अवधार प्रवलरुपमा विद्यमान रहेको छ ।
१३.हिन्दु धर्मले धर्मको नाउमा विभेद र हिंसालाई संस्थागत गरेको छ जुन वास्तविक धर्मको परिभाषा भित्र पर्दैन ।
१४. हिन्दु धर्म अन्य धर्म जस्तो एउटा महान व्यक्तित्व वा मनिषिबाट प्रतिपादित विचार,दर्शन र सिद्धान्तमा आधारित धर्म होइन । यो धर्मको अन्य धर्ममा जस्तो कुुनै एउटा निश्चित धर्म ग्रन्थ छैन् । धर्म ग्रन्थहरू नै विभेद र हिंसाका मूल श्रोतहरू हुुन ।
१५.तर्क र विचारको यहाँ कुनै महत्व र स्थान छैन् । धर्म ग्रन्थमा उल्लेखित कुुरालाई ईश्वरको आदेशकोरूपमा पालन गर्नु उनीहरूको कर्तव्य हो ।
१६.वर्ण व्यवस्थाको संरचना निमार्ण गरी मानिसहरुलाई विभिन्न जात र उपजातमा विभाजन गरी सामूहिकता सहकार्य,सहभागिताको भावनालाई पूर्णरूपमा ध्वस्त पारिएको थियो ।
१७.जातको मनोविज्ञान प्रवलरुपमा विद्यमान रहेकोले उत्पीडितहरू समेत एक जुट हुन सक्ने अवस्था थिएन् ।
१८.शिक्षा,सम्पत्ति र धर्मको अभ्यास गर्नबाट महिला र शूद्रलाई पूर्णरुपमा निषेध गरिएको थियो ।
१९.मानसिक र भौतिकरुपमा ब्राह्मणवादको गुलाम बनेका बहुंख्यक मानिसहरूलाई धार्मिक दासत्वबाट बाहिर ल्याउन जरुरी थियो ।
२०.भाग्यवादी चेतना जीवन जीउन बाध्य पारिएकाहरुलाई उनीहरूको सोच,विचार आचरण,रहनसहन र खानपानमा परिवर्तन नल्याई सामाजिक,धार्मिक र राजनीतिकरूपमा संगठीत गर्न सक्ने अवस्था थिएन ।
२१.कथित अछूतहरूको आफ्नो भन्ने केही नभएको र हिन्दु वर्ण व्यवस्थाको चपेटामा परेकाले आफै पनि संगठित हुन सक्ने र राष्ट्र्रिय अन्तराष्ट्रिरूपमा सम्बन्ध स्थापित गर्न सक्ने अवस्था थिएन । त्यसैले उनीहरू सधैभरी ब्राह्मणवादी संरचनाको सधै सिकार बन्न बाध्य भएका थिए ।
२२.कथित अछूतहरूको चेतनास्तर यति न्यून थियो कि उनीहरु भाग्यवादी चेतनाबाट बाहिर आएर नास्तिक भएर ज्यून सक्ने अवस्था थिएन । उनीहरू बरु हिन्दुहरुको गुलामी स्वीकार्न तयार थिए तर त्यहाँबाट विद्रोह गरेर स्वतन्त्र मानव भएर जिउन सक्ने अवस्था थिएन ।
माथि उल्लेखित धेरै कारणहरूले गर्दा अम्बेडकरले बौद्ध धर्म ग्रहण गरे । उनले त्यतिबेला चालेको साहसिक कदमले भारतका ब्राहमणवादीहरुमा ठूलो हल्लीखल्ली मच्चिएको थियो । त्यही कारणले गर्दा अम्बेडकरको मृत्यु पश्चाल ब्राह्मणवादी राज्य सत्ता हिन्दु कोड बिल पारित गर्न बाध्य भयो । जुन बेला अम्बेडकर जिउदा थिए उनी केवल कथित अछूतहरुको मात्र मुक्तिदाता थिए । तथापि उनले निर्देशित गरेको दिशा तर्फ लाखौ जनता अग्रसर भए । कथित अछूतहरुले बौद्ध धर्म ग्रहण गरे पछि यो प्रक्रिया केवल पाच सात लाखमा मात्र सिमित भएन । निरन्तर चली रह्यो । वर्तमानमा यसको संख्यामा हेर्ने हो यो करोडौ पुगी सकेको छ । अम्बेडकरले केवल अछूूतहरु मात्र बौद्धमार्गी बनाएनन् भारतमा विलोपको अवस्थामा पुगेको बौद्ध धर्मलाई पुुनर्जीवित समेत गराए । वर्तमान काल खण्डमा हेर्ने हो अहिले अम्बेडकर आन्दोलन कथिछ अछूतहरूको मात्र होइन मूलबासी आन्दोलनमा रुपान्तरण भई सकेको छ ।
बौद्ध धर्मको जग भनेको शील,समाधी र प्रज्ञा भएकोले जे जति पनि कथित अछूतहरू बौद्धमार्गी भएका छन् उनीहरूको जीवनस्तर अन्य अछूूतहरूको भन्दा धेरै माथि छ । अम्बेडकरले संविधानको मार्फत आरक्षणको व्यवस्था गरेकोले समग्रमा कथित अछूूतहरुको आर्थिक,सामाजिक,राजनैतिक हैसियत पनि माथि पुगेको छ । तथापि बौद्धहरुको जीवन स्तर र हैसियत त्यो भन्दा माथि छ । उनीहरुको शिक्षाको स्तर भारतको राष्ट्र्रिय औसत भन्दा माथि छ । यो अनुसन्धानले निकालेको निष्कर्ष हो । आर्थिक रूपमा व्यवसायिक र औद्योगिकरण तर्फ उनीहरु उन्मुख छन् । सामाजिकरूपमा जात व्यवस्थाको मनोविज्ञानबाट उनीहरु बाहिर आएका छन् । उनीहरु सामाजिक र राजनीतिकरूपमा संगठित भएकाले हिन्दुुहरूको लागि चुनौतिकोरूपमा स्थापित भएका छन् । राज्य हिन्दुहरूको नियन्त्रणमा भएता पनि अम्बेडकरवादीहरूले प्रतिपक्षमा रहेर खेलेको भूूमिकाले गर्दा सरकार,सदन,न्यायलय लगायत सबै राज्यको संरचनामा कथित अछूतहरूको उपस्थिति शशक्त रूपमा रहेको छ । भाजपा सरकार भारतलाई हिन्दु राष्ट्र बनाउन पर्छ भनेर ठूलो कसरत गरी रहेको छ । तथापि त्यहाँँ धर्मनिरपेक्षतावादीहरू,अम्बेडकरवादीहरूको शशक्त प्रतिकारको कारणले गर्दा यो मुद्दालाई व्यवहारमा कार्यान्वयन गर्न सकिरहेको छैन् ।
निष्कर्ष
धर्म र राजनीतिको सम्बन्ध कति बलियो छ भन्ने सत्यलाई बुझ्न हामीले भारतको वर्तमान अवस्थालाई हेरे हुुन्छ । हामी इतिहासमा जानुु पर्दैन । भारतीय जनता पार्टीले धर्म कै जगमा टेकेर राजनीति गर्दै छ । उसको शक्तिको श्रोत भनेको नै हिन्दु धर्म हो । त्यसैले जसरी हुन्छ हिन्दु धर्मलाई शक्तिशाली बनाउन पर्छ भनेर उ लागि परेको छ । भारतमा उसले हिन्दु राष्ट्रको मुद्दालाई सम्बोधन गर्न नसके पछि उसका आखा नेपालतिर तेर्सिएको छ । नेपालका अतिवादी हिन्दुहरु भारतीय जनता पार्टीको जातिवादी हिन्दु राष्ट्रको मुद्दालाई साकार पार्न अनेक तिकडमहरू गरी रहेका छन् । वर्तमान समयमा सत्तामा रहेका र कथित लोकतन्त्रवादी,गणतन्त्रवादीहरू समेत यो मुद्दालाई परोक्ष रूपमा सघाइ रहेका छन् । हिन्दु अतिवादीहरूको तर्क के हो भने नेपालमा ८० प्रतिशत शुद्ध हिन्दु छन् । अन्य दस प्रतिशतमा बौद्ध,सिख,जैन,किरात सबै ओमकार समुदाय भित्र पर्छन् । नेपाल ९० प्रतिशत हिन्दुहरूको देश हो भनेर उनीहरुले तर्क गरी रहेका छन् । किनभने उनीहरू शक्तिशाली छन् । सत्तामा छन् । राज्यको श्रोत,साधन र शक्तिको दोहन गर्न सक्ने र दुरुपयोग गर्न सक्ने अवस्थामा उनीहरू छन् । तथापि सत्य यो होइन । नत नेपालका कथित अछूत बनाईएका आदिम मूूलबासीहरू हिन्दु हुन न किरात,आदिबासी जनजातिहरू हिन्दु हुन न खसहरू जसलाई अहिले राणाकालमा जनै दिएर क्षेत्री बनाएका खसहरू हिन्दु हुन । यी सबै प्रकृतिपूूजक समुुदायहरू हुुन । जुन बुद्धको दर्शनसँग धेरै नजिक छ । यी सबै समुदायहरूलाई भारतबाट प्रवेश गरेका हिन्दुु शासकहरूले जबरजस्ती कथित हिन्दु बनाइएका समुदायहरू हुन । वास्तविक हिन्दुहरू केवल १२ प्रतिशत बाहुन र खसको प्रतिशत हटाएर भारतबाट आएका क्षेत्रीहरूमात्र हिन्दु हुन् ।
नत अम्बेडकरले न बुद्धले कसैले पनि मैले देखाएको बाटोमा हिंड वा धर्म परिवर्तन गर भनेर भनेका छन् । उनीहरूले त पहिला हरेक विषयवस्तुहरूको अध्ययन गर । विश्लेषण गर र यी सबै कुराहरू विवेकसम्मत छ कि छैन् त्यसलाई आफ्नो विवेक प्रयोग गर छुट्याउ । अथवा विवेकको कसीमा जाँच । त्यस पछिमात्र आफूले जान चाहेको बाटो रोज । अम्बेडकरले त केवल धर्म र राजनीतिक सत्ताबीचको सम्बन्ध बारे आफ्नो विश्लेषण दिएका छन् । अम्बेडकरले धर्मलाई शक्तिको रूपमा हेरेका छन् र दासत्व र भाग्य चेतनामा बाचेका मानिसहरूलाई कुन धर्मले तिम्रो नोक्सान गरी रहेको छ र कुन धर्मले तिमीलाई मान्छे भएर जिउन सिकाउछ त्यो बाटो खोज भनेर भनेका छन् । कुन बाटो रोज्ने त्यो आफ्नो विवेकमा भर पर्ने कुरा हो । हरेक कुराहरुको अध्ययन र विश्लेषण विना कसैले केही गर्छ भने त्यो मूर्खहरुको मात्र काम हो । र भारतमा अम्बेडकरले गरेर सबै जात व्यवस्था समाप्त भयो त भन्ने तर्कहरु पनि आउने गर्छन् । हामीले यहाँ बुुझ्न पर्ने कुरा के हो भने हरेक कुरालाई सापेक्षेतामा हेर्न जान्नु पर्दछ र तुलनात्मक अध्ययन गर्ने हो । हामीले तुलना भारतमा जो हिन्दु धर्म संस्कृतिलाई अङ्गालेर बसेका छन् र जो बौद्ध,इसाई,मुस्लिम वा शिख भएर बसेका छन् तिनको चेतना,जीवनस्तर र उनीहरूको राजनीतिक आर्थिक सामाजिक अवस्थालाई तुलना गर्ने हो । नक कि सत प्रतिशत सबै कुरा ठीक वा सत प्रतिशत सबै कुरा गलत भन्ने हो । जात व्यवस्थाको अन्त्य त्यतिबेलासम्म संभव छैन् जवसम्म हिन्दु वर्ण व्यवस्था यस धर्तीमा रही रहन्छ । हामीले गर्ने के हो भने हामी यसको विरुद्धमा चुुनौतिको रूपमा,शक्तिकोरुपमा स्थापित गर्ने हो । र हामीले चाहेर पनि यो जात व्यवस्थाको अन्त्य गर्न सक्दैनौ । किनभने हामी यसको प्रतिपादक होइनौ र यो संरचनालाई निरन्तरता दिन चाहने शक्ति हिन्दु वर्ण व्यवस्थाका ठेकेदारहरुसँग छ ।
नेपालका कथित अछूतहरू जसले यो यथार्थलाई बुझ्न सकेर आफ्नो आन्दोलनलाई मोड्न सक्ने आँट र हिम्मत गरे भने केही वर्षमै यो आन्दोलन एउटा शक्तिशाली आन्दोलनको रूपमा विकसित हुनेछ र यो आन्दोलनले कथित अछूतहरूको आर्थिक,सामाजिक र राजनैतिक हैसियत समेत माथि उठाउन मद्दत गर्ने छ । अन्यथा समय परिस्थिति वर्तमान अवस्था भन्दा माथि उठ्न सक्ने छैन । सधै विभेद,हिंसा,हत्या,बलत्कार र अत्याचर सहनुको विकल्प छैन् । केवल अत्याचार भयो भनेर चिच्याएर मात्र केही हुदै । परिस्थिति कसरी निमार्ण भयो भनेर प्रश्न गर्न सक्नु पर्छ ? र यसको निराकरणको उपाय के हो भनेर खोज्न सक्यो भनेमात्र हामी आत्मसम्मानपूर्वक जीउन सक्ने वातावरण तयार हुन्छ ।
अबको विकल्प भनेको कि अम्बेडकर विचार सहितको शान्तिपूर्ण क्रान्ति हो कि हिंसा सहितको हतियारको क्रान्ति ? बाटो आफ्नो विवेक प्रयोग गरेर आफूले रोज्ने हो ।
स्मरणीय : अभियन्ता कमला हेमचुरीद्वारा राष्ट्रिय दलित गोलमेच सम्मेलन २०८२ असार ३ मा प्रस्तुत गर्नु भएको कार्यपत्र akabarey.comले प्रकाशित गरेको छ l akabarey.com को मञ्च स्वतन्त्रपूर्वक विचार प्रवाह गर्न खुला छ l हामी कुनै पनि विचारको मर्यादित प्रस्तुतिलाई निषेध गर्दैनौ ) - सम्पादक
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”