‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा दिवसको सन्दर्भमा सभामुख र राष्ट्रिय सभा अध्यक्षको शुभकामना

रासस- काठमाडौँ, २१ जेठः सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा सरोकारवाला पक्षहरू एकढिक्का भई लाग्न अत्यावश्यक औँल्याउनुभयो । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना उहाँले जातीय विभेद वा छुवाछूत कुनै वर्ग विशेषको मात्र समस्या नभइ यो सम्पूर्ण समाज, राष्ट्र र मानव सभ्यताको नै साझा चुनौती भएको बताउनुभयो । उहाँलेसबैले आआफ्नो क्षेत्रबाट समानताको पक्षमा आवाज उठाउँदै समतामूलक समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्यायाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । उहाँले भन्नुभएको छ, “नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक न्याय, समावेशी लोकतन्त्र र समतामूलक समाज निर्माणको आधार तय गरे व्यवहारमा अझै छुवाछूत, विभेद, बहिष्कार, हिंसा र अन्यायका रूप उन्मूलन हुन बाँकी छन् ।” राष्ट्रिय दिवसले हामी सबैमा आत्मसमीक्षा, सामाजिक उत्तरदायित्व र संवेदनशीलता बोध गराउँदै सामाजिक न्यायको पक्षमा अग्रसर रहन थप प्रेरणा प्रदान गरोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।
त्यसै गरी राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नेपाली जनताले गरेका थुप्रै ऐतिहासिक जनसङ्घर्ष, जनआन्दोलन, सामाजिक तथा सांस्कृतिक आन्दोलनले जातीय विभेद र छुवाछूत प्रथा उन्मूलनका लागि थुप्रै कानुनी व्यवस्था भएका छन्, तर समाजमा रहेको परम्परागत सोच, अशिक्षा, संस्कार र धर्मका नाममा जातीय भेदभाव र छुवाछूत पूर्णरुपमा उन्मूलन भएको छैन ।” नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने सङ्कल्प राखेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले दिवससँगै सबैलाई जातको आधारमा हुने सबैखाले विभेद अन्त्य गर्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । यो दिवस दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानवअधिकारको प्रवर्द्धन गर्ने अवसर भएको उल्लेख गर्दै जातीय विभेद र छुवाछूत विरुद्ध सङ्घर्ष गर्ने दायित्व केवल दलित समुदायको मात्र होइन, सम्पूर्ण मानव समुदायको साझा दायित्व र जिम्मेवारी हो, त्यसले मात्रै विभेदरहित न्यायपूर्ण, समावेशी र समतामूलक समाज निर्माण सम्भव हुने उहाँको भनाइ छ । “जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सभ्य, उन्नत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।
स्मरणीय : फोटो सार्वजनिक सन्जालबाट
सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाल...
आफ्ना प्रतिद्वन्द्वी प्रकाश पौडेलभन्दा ७ मत बढी प्राप्त गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्...