जातीय नरसंहारको घटनालाई जातीय विभेदको कसुर बदर,दोषीलाई जन्मकैदको फैसला सदर

काठमाडौं,१६ वैशाख:उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको रुकुमको सोती घटनाका २३ जना प्रतिवादीहरूलाई जन्मकैदको सजाय सदर गरेको छ ।
उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले मंगलबार घटनाका प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । इजलासले जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ । जातीय कारण घटना भएको हो भन्ने कुरालाई इन्कार गरेको छ l
उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक सदर गरेको जानकारी दिए । ‘जातीय छुवाछुतबाट सबै प्रतिवादीलाई सफाइ र केही उल्टी फैसला भएको छ । पूर्णपाठ आउन बाँकी छ,’ थापाले भने ।
गत १९ मंसिर २०८० मा जिल्ला अदालत रुकुमपश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको छ,’ उपरजिस्ट्रार थापाले भने ।
जिल्ला अदालतको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन गरेका थिए ।
९ वैशाख ०८२ मा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासमा सुनुवाइ भएको हो । यसअघि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
गत १० जेठ २०७७ मा सोती गाउँका स्थानीयको आक्रमणमा भेरी नगरपालिका–४ का नवराज विक, १७ वर्षीय गणेश बुढामगर, २१ वर्षीय सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, १७ वर्षीय गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो ।
घटनामा जिल्ला अदालतले रुकुम चौरजहारी नगरपालिका–८ वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ‘५४ रुकुम पश्चिम ३६’ ९१० र दाजु ‘५४ रुकुम पश्चिम ३६’ ९३० लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
उक्त फैसला जातीय कारणले भएको हो l तर फैसलामा जातीय कारण उल्लेख नगरी सफाइ दिएको विरूद्ध दलितका लागि दलित नेपालका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा उच्च अदालत अगाडि धर्ना विरोध र फैसलागर्ने न्यायाधीशको विपक्षमा चर्का नाराबाजी भैरहेको छ l धर्नामा नवराज विकका बुबा आमा र अन्य मृतकका परिवार पनि सहभागी रहेका छन् l अभियन्ता खगेन्द्र सुनार भन्छन् : 'यो जातीय कारण भएको नरसंहार हो, तर अदालतले मूल विषयलाई नजर अन्दाज गरेर फैसला गर्यो l जातीय भेदभावको विषयमा आएको इन्कारी विरूद्ध हामी सङ्घर्ष गर्छौ, मर्न तयार छौ गलत फैसला मान्दैनौ l'
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...