डा.सीके राउतद्वारा ‘अम्बेडकर पार्क’ को शिलान्यास

सिरहा : सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेश फूलबारीसँगैजोडिएका निजी जग्गामा ‘अम्बेडकर पार्क’ बन्ने भएको छ । एक कार्यक्रमका बीच जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले वैशाख, १५ गते ‘अम्बेडकर पार्क’ शिलान्यास गरेका छन् ।
मधेस प्रदेश सरकारको रु ८० लाख लागतमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय सिरहाले आगामी असार १५ भित्र पार्क निर्माण गर्ने गरी काम अगाडि बढाउने भएको छ l
मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकारले योजना अघि बढाएको जानकारी दिएका छन् l
“यो क्षेत्र आफैँमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र हो । यसको आफ्नै महत्व र गरिमा छ । यस क्षेत्रलाई व्यवस्थित बनाइ धार्मिक पर्यटन विकास र छिमेकी भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष महत्व दिएर अम्बेडकर पार्क बनाउन लागिएको हो”, उनले भने, “अम्बेडकर जस्तो विश्वमा प्रतिष्ठित व्यक्तिको नाममा पार्क बनाउँदा यहाँका दलित तथा अन्य समुदायलाई एउटा प्रेरणा मिल्नेछ । यस क्षेत्रको जैविक विविधतालाई ध्यान दिँदै विकास गरिने छ ।”
डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् । धार्मिक वनअन्तर्गत करिब नौ बिघा क्षेत्रफलमा यो क्षेत्र फैलिएको छ । पार्क निर्माणामा थप सहजताका लागि मन्दिरका पुजारी एवं स्थानीय जीतेन्द्रदेव धामी (दनुवार)ले फूलबारीसँगै जोडिएको आफ्नो नामको १० घुर जग्गासमेत दान गरेका छन् ।
प्रत्यक वर्ष वैशाख १ गते फूलबारी मेला लाग्ने गर्दछ, जहाँ सोही दिनमात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न नेपाल तथा भारतबाट हजारौँ भक्तजन आउने गरेका छन् ।
उक्त शिलान्यास कार्यक्रममा वन तथा वातावरण मन्त्री त्रिभुवन साह,जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा.जयकान्त राउत , जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव, प्रदेश सांसद संजय यादव, भाग्यश्री चौधरी, अनिता साहसहित जनमत पार्टीका नेताकार्यकर्ताहरूको उपस्थिति रहेका थियो ।
अम्बेडकर बारे
भीमराव अम्बेडकर भारतीय नागरिक थिए । उनले भारतीय राजनेता, दलित अगुवा, नागरिक तथा मानव अधिकारकर्मी हुँदै जातीय र धार्मिक सामाजिक विभेदविरोधी सङ्घर्षको सफलतापूर्वक नेतृत्व गरेका थिए । सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्ष निर्वाचित भई उहाँले अनुसूचीत जातिलाई गरेको भेदभावविरुद्ध समानताको पक्षमा विशेष संवैधानिक प्रबन्ध गर्न महत्वपूर्ण योगदान गरेका थिए ।
उनलाई बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स, लण्डन युनिभर्सिटीबाट ‘डाक्टर अफ अल साइन्स’मा विद्यावारिधि उपाधि प्राप्त गरेको एकमात्र व्यक्तिका रूपमा समेत चिन्ने गरिएको छ । उनको सालिक लण्डनको म्युजियममा कार्ल मार्क्सको सालिकसँगै राखिएको कार्यक्रममा जानकारी प्रदान गरियो ।
कोलम्बिया विश्वविद्यालयले सन् २००४ मा विश्वभरिका एक सय विद्वान् हरूको नाम सूचीकृत गरेकामा अम्बेडकरको नाम सो सूचीको पहिलो नम्बरमा राखिएको थियो । मानवताका लागि गरेको योगदानको कदर गर्दै उनको सालिक विश्वका विभिन्न ठाउँहरूमा स्थापित गरिएका छन् । भारतीय सामाजिक अभियन्ता ज्योति राव फुलेद्वारा क्वाइन गरिएको 'दलित'शब्दलाई व्यापक रूपमा प्रयोगमा ल्याउने व्यक्तिको परिचय अम्बेडकरको रहेको छ l
स्मरणीय:फोटो शरदसिंह यादवको फेसबुकबाट साभार l
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...
सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाल...