दलित,मधेशी,महिला र निमुखाको मानव अधिकार खै ?

मानव अधिकार भनेको संसारभर नै अहरणीय अधिकार हो l मानव भएर मर्यादित रूपमा बाँच्न आवश्यक पर्ने सबै प्रकारका अधिकार मानवाधिकार हुन् l मानवअधिकार युद्धमा र अपराध कर्म गरेको बन्दीको हकमा समेत आधारभूत रूपमा सुनिश्चित तवरले प्रत्याभूत गरिएको हुन्छ l मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घको साधारण सभाले प्रस्ताव नं.२१७ क (३)बाट सन् १९४८ डिसेम्बरमा अनुमोदन गरी जारी गरेको हो। जसको पक्ष राष्ट्रको रूपमा नेपालले १९६९ मा नै हस्ताक्षर गरेको थियो l यसर्थ मानवाधिकारको विषय अन्तराष्ट्रियकरण गर्ने विषय पनि हो l हजारौ वर्षदेखि आधारभूत मानवाधिकारबाट वन्चित दलित समुदायको पक्षमा आज पनि नेपालका मानवाधिकारवादीले अन्तराष्ट्रिय फोरममा धक फुकाएर बोल्न नसकिरहेको स्थिति जगजाहेर छ l
नेपालमा दलित, महिला मधेशी र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सामाजिक स्थिति, मानवाधिकार,आत्मसम्मान, स्वाभिमान र मर्यादाको दृष्टिले अन्यको भन्दा फरक छ l दलित समुदाय पशुको भन्दा तल्लो श्रेणीमा राखिएका छन् भने महिलाको सामाजिक स्थिति पनि दयनीय छ l महिला छाउपडी बोक्सी दहेज र लैङ्गिक भेदभावले पीडित छन् l लैङ्गिक कारण महिलाले प्रतिनिधित्वको उपल्लो श्रेणीमा पुग्दा पनि विभेद र निषेध खप्नु पर्छ l अन्तरिम संसद २०६३ मा कांग्रेस नेतृ चित्रलेखा यादवलाई सभामुख बन्न रोकियो l यो उच्च स्तरमा गरिएको लैङ्गिक विभेदको उदाहरण थियो l त्यसैगरी २०७६ माघमा तत्कालीन नेकपा नेतृ उपसभामुख र सभामुखको हकदार डा. शिवमाया तुम्बाहाम्फेलाई बलजफ्ती रोकियो यसले महिलाको स्थिति उच्चपदस्त हुँदा पनि विभेद सहनुपरेको दृष्टान्तको रूपमा लिन सकिन्छ l प्रधानन्यायधीश सुशिला कार्कीमाथि पनि हठात महाअभियोको प्रस्ताव दर्ता गरेर मानहानी गरिएको घटना लैङ्गिक विभेदकै नमुना हो l हालै डा. संगीता मिश्रलाई पन्छाएर अन्यलाई स्वास्थ्य सचिव नियुक्त गरेको विषयमा पनि लैङ्गिक र रङ्गभेदको चर्को गन्ध आम मान्छेले महसुश गरेका छन् l
नारी र पुरुष चरित्रहीन बन्न बराबर भूमिकामा हुन्छन् तर अपजस र चरित्रहीनको उपाधि नारीको भागमा पर्छ र त्यो यस्ती आइमाईको प्रतिमान बनाएर लैङ्गिक हिँसा गरिन्छ l आइमाई भएपछि त्यति त सहनु पर्छ भन्ने भाष्य बनाइन्छ र आइमाई हुनुको नियतिसँग जोडेर अपमानित गरिन्छ l के यो सह्य विषय हो ? चरित्रहीन निर्मितिको कारण नारी मात्र हो ? नारीपुरुष चरित्रहीन हुनुको परिपूरक हुन् l एक्लै नारी चरित्रहीन हुन सक्दैनन् l बरु एक्लो पुरुष बलात्कार गर्ने सामर्थ्य राख्द्छ l एक्लै अपराध गर्न सक्दछ l चरित्रहीन बन्न भने नारी पुरुषको समान सहभागिता अपेक्षित हुन्छ l यसर्थ नारीतिर फर्केर चरित्रहीन भन्दा पुरुष चोखो र पवित्र हुँदैन l
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई आज पनि समाजमा सम्मानित व्यवहार गरिन्न l उनीहरूको फरक लैंगिकता र यौनिक विशेषतालाई खिसी गरिन्छ l अमर्यादा गरिन्छ l दुर्व्यवहार गरिन्छ l के यस्तो गर्न पाइन्छ ? हाम्रो संविधान र विश्वव्यापी मानवअधिकारको सवाल यो होइन ? मानवाधिकार नै पक्षपातसहितको हुन्छ भन्ने अन्य अधिकार कसरी समतामूलक बन्न सक्छ ?
‘आज पनि मान्छेहरू आधारभूत स्वास्थ्य उपचारको हकबाट सुदुर गाउँका कुनामा वन्चित छन् भने सहरमा भएका अस्पतालमा पनि अत्यावश्यक उपकरण र दक्ष जनशक्तिको अभाव छ l यस्तो विषम परिस्थतिमा अरबौ खर्चेर भ्युटावरलाई प्राथामीकिकरण गर्नु जनताको मानवाधिकार विरुद्धको कार्य हो कि होइन ? यसतर्फ पनि बहस र विमर्श हुनु जरुरी छ l शासकको सनकम जे मन लाग्यो त्यो गर्ने छुट लोकतान्त्रिक गणतन्त्रमा वर्जित गरिने कुरा हो l छानो नभएको स्कुलमा पढ्नु पर्ने विद्यार्थीको बाध्यता, पुल नहुँदा,तुइन र डोरीमा झुन्डेर नदी वारपार गर्नुपर्ने छ, यस्तो अवस्थामा ढुकुटी अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च गरिन्छ भने त्यहाँ मानवाधिकारको विषय आकर्षित हुनुपर्छ कि पर्दैन ? हाम्रा शासकका आँखाको बोसो कहिले झिकिन्छ ? (कार्की, कान्तिपुर, फागुन १५, २०८१) l’
कसैलाई अनाहकमा थुन्नु दुख दिनु आक्षेप लगाउनु मान मर्दन गर्नु र अन्तिममा निर्दोष भनेर छोड्दा मान्छे आत्मसम्मान र सामाजिक नैतिक आर्थिकलगायत अन्य क्षतिको भरणपोषण नदिने र समाजमा मर्यादित तवरले पुनर्स्थापना नगर्ने, क्षमा नमाग्ने सरकारसँग कसरी भरोसा \ गर्ने ? जस्तो कि २०८० साउन २५ गते ‘अप्रेशन फ्रोक्स्ट्रोट’ नामक कारबाहीमा नक्कली डाक्टर भनेर पक्रिएका डा. रञ्जितकुमार यादवपछि सक्कली डा. भएको कारण साउन २९ गते रिहा गरिए l उनलाई नक्कली डा.को बिल्ला सार्वजनिक रूपमा भिराउनु अघि नै यथेष्ट अनुसन्धान किन गरिएन ? सरकारले हरण गरिदिएको आत्मसम्मान, लाइदिएको नक्कली डाक्टरको बिल्ला, खोसेको समाजिक मर्यादा र दिएको मानसिक चोटको क्षतिपूर्ति कसरी र कहिले पाउँछन् यादवले ? यसरी एउटा साधारण व्यक्तिलाई राज्यले आफै हुँदै नभएको अपराधको भारी बोकाउन पाउँछ ?
नागरिक आफ्नो मेहनत र परिश्रमले पढेर डाक्टर बनेको छ, उसको सामाजिक प्रतिष्ठा धुलिसात बनाइदिने राज्यप्रति नागरिकको आस्था र विश्वास रहन्छ कतिन्जेल ? राज्य हरणकर्ता हो कि भरणकर्ता ? रक्षक राज्य कि भक्षक राज्य ? निर्दोषलाई दोषी करार गरिएर हानेको मुक्का सहन्छ कसरी ? निर्दोष कसैगरी पनि नफसोस भन्ने कानुनी सिद्धान्त बिर्सन मिल्छ ? डाक्टर रन्जितकुमारलाई उचित क्षतिपूर्ति सहित राज्यले खोसेको सामाजिक र नैतिक साख पुनर्स्थापित गर्न सरकारले क्षमा याचनासहित सामाजिक पुनर्स्थापना गर्ने कार्यक्रमको प्रबन्ध किन गरेन ? । यसतर्फ कुनै मानवधिकारवादी,अभियन्ता र आत्मसम्मानको लडाई लड़नेको ध्यान किन गएन ?
चोट लाग्दा दुख्ने संवेदना हात्ती र कमिलामा आकारको कारण फरक पक्कै हुँदैन ? गरिब निमुखा र पहुँचविहीनको चै आधाराभूत मानवाधिकार हिरासत या जेलमा पुग्दा नहुने हो र ? किन यस्तो असमान व्यवहार गर्छ समाज ? मानवअधिकार आयोग एकपक्षीय असन्तुलित असमावेशी र अल्छी बन्दा प्रश्न कसले उठाउने ? आम मान्छेको संवैधानिक हक उपेक्षित हुँदा मानवअधिकारको मूल सरोकार किन बन्दैन ?
दलित समुदाय हरेक दिन जसो अपमानित हुँदा, जातीय छुवाछुत र भेदभावको सिकार बन्दा र मारिँदा किन कुनै धार्मिक समुदायका पूजारी, पण्डित, महन्त मौलाना, लामा,भिक्षु,रिम्पुछे,सनत बाबा, मणि/ मुनि,फादर पास्टर एक ढिक्का र एक मुख भएर मानवीय मर्यादाको लागि आवाज उठाउँदैनन् ? मानव मर्यादाको विषय सबै धर्मको एकै होइन र ? छाउ नछुने पिरियड महिलाको प्राकृतिक मासिक धर्म हो त्यसलाई लिएर किन अछुत र अमर्यादा गरिन्छ ? दाइजोको कारण किन महिला मारिन्छन् ? यसको कारण र निदान कहिले र कसले खोज्ने ?
रङ्ग (वर्ण) को आधारमा किन कोही असल र खराब लाग्छ ? रङ्गको आधारमा जातको आधारमा किन सौन्दर्य चिन्तन गरिन्छ र पक्षपात गरिन्छ ? कुनै रङ्ग आफैमा खराब र असल होइन रङ्ग फरक प्रकार मात्र हो तर त्यही फरक प्रकार किन अमर्यादा र हेप्ने चेप्ने कारण बन्छ ? रङ्गको आधारमा मधेशी भनेर गरिने र होच्याइने व्यवहार निन्दनीय छ l नेकपा एमालेका एक जना नेता प्रतिनिधि सभाका सांसद दयालबहादुर शाही प्राय: आफ्ना अन्तर्वार्तामा बालेन शाहको विरोध गर्दा बालेन शाह तेली भनेर शाह पछि तेली जोडेर हियाएर बोल्छन् के कुनै व्यक्तिको विरोध उसको जात उसको रङ्ग र उसको भूगोलको आधारमा गर्ने कि उसले सम्पादन गर्ने कार्यको आधारमा ?
नागरिकको आत्मसम्मानको ग्यारेन्टी राज्यको पहिलो सर्त हो । वर्षौ जेल बसेपछि अदालतले निर्दोष ठहर गरेका नागरिकको लागि उचित क्षतिपूर्ति नदिने, क्षमा नमाग्ने र सामाजिक पुनर्स्थापना नगर्ने सरकार पनि मानवाधिकारको दृष्टिमा अपराधी र दण्डलायक हुनुपर्छ l ठुला भनिएकाहरूको आक्रोशमा मानवअधिकार छिटो आकर्शित हुने तर भुइँ मान्छेको रोदन र आँसु केवल नुनिला पानीका ढिक्का मात्रै हुन त ?
दमकको भ्युटावर जनताको बाँच्न पाउने अधिकार खोसिएर निर्माण गरिएको शासकीय स्वरुपको कुरुप हृदयहीन अनुहारको चित्र हो । अस्पताल बनाउने पैसा यस्ता अनावश्यक ठाँउमा खन्याएर सरकारले मान्छेको बाँच्न पाउने अधिकारलाई वन्चित गरेको छ । २०७६ पछि पूर्वान्चल वरिपरि जति मान्छे अस्पताल जान नपाएर, अस्पतालको पैसा तिर्न नसकेर जति मारिए र मारिँदैछन् तिनको अत्यावश्यक र आधारभूत सम्वैधानिक हक अनावश्यक क्षेत्रमा खर्च गरेर जनताको स्वास्थ्य सेवा पाउने हकबाट विमुख गरिनु सरासर अपराध र अन्याय हो l
दमकलगायतको भ्युटावर मानवअधिकार उलंघन गरेका ओली युगका जीउँदा दस्तावेजहरू हुन् । जसलाई मानवाधिकार विरोधी सूचकको रूपमा इतिहासले दर्ज गर्ने कि नगर्ने ?
दोधारा चाँदनीको योगा समितिले योग अभ्यासको नाममा केही दलित महिलालाई पवित्र धार्मिक स्थल हरिद्वार निमन्त्रणा गरेर लगेका थिए, तर त्यहाँ उनीहरूमाथि खान, बस्न, सुत्न र हिँड्न समेत छुवाछुत गर्दै दुर्व्यवहार गरिएको र यस्तो अमानवीय व्यवहार सहन नसकेर ती महिला रुँदैरुँदै घर फर्किएको खबर बाहिर आएको छ । के यो आधुनिक मानव समाजको लागि सह्य विषय हो ? किन यी र यस्ता विषय मानवअधिकारको वकालत गर्ने भिआइपीहरूको नजरमा परेर विषय बन्दैनन् ? के मानवाधिकार निमुखा नागरिकको र भिआइपी अनि कथित उच्च जातको फरक हुन्छ ?
दलित महिला मधेशी, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र निमुखा मान्छेको मानवअधिकारको प्रश्नमा समाज जति संवेदनशील छैन त्यति नै मानव अधिकारवादी र सत्ता सयर गर्नेहरू असंवेदनशील छन् l देशका वरिष्ठदेखि कनिष्ट मानवाधिकारवादी यतातर्फ ध्यान केन्द्रित गरेर आफ्नो गतिविधि गरून् l मानवाधिकारको विषय कथित भिआइपीको मात्र होइन महाशय ! निमुखा र दीनहीनको ज्यादा हो l आम मान्छेको मर्यादा आत्मसम्मान र स्वाभिमान जबसम्म बराबरी हुँदैन तबसम्म देशमा बेथितिको चक्र कम हुने छैन l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”