फेरि उनीसँग ... - पुष्कर शाह

'ओए चाँठा कुसुन्डा तो ता उस्तै रछा ता l'
परमिलासँग झन्डै २० बर्षपछि आकस्मिक भेट भयो ।
उसको खिरिलो अनुहार, सानो थेप्चे नाक, भावपूर्ण चिम्सो आँखा उस्तै थियो, जस्तो पहिले l सर्लक्क परेको कालो कपाल अझै उस्तै आकर्षक थियो । अनि 'चाँठा' बोल्ने थुतुनो उस्तै थियो l उसको मातृलवजले कलेजमा कम्ता रमाइलो हुन्थेन । म उसलाई 'चिम्सी भोटिनी' भन्थेँ । ऊ मलाई 'चाँठा कुसुन्डा' भन्थी । चाँठा र कुसुन्डा सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l
हामीले कलेजका पुराना दिनका उन्मत्त बैंसहरू सम्झियौं l फिट्टान बात मार्यौं । कलेजका दिन काठमाडौँका गल्लीरूमा हामीले म:म नखाएको कुनै पसल थिएन । भैँसीको म:म, मेरी आम्मोई नि ! क्या दामी लाग्थ्यो । समयले हाम्रो आफ्नोआफ्नो गोरेटो कता कता डोर्यायो । "सन्चै छौ ?" बाहेक परमिलाले जीवनको गोरेटो कुन देउरालीको आधार शिविरमा पुर्याई मैले सोधिनँ । गाउँबाट मास्टर बन्ने सपना बोकेर काठमाडौँको खाल्डोमा छिरेको म । मास्टर चाँठासँग त के ब्या गर्नु भन्थी परमिला । समयले बाँकटे हान्यो । म मास्टर बनिनँ । लोकसेवा पास गरेर सरकारी अधिकृत बनें ।
काठमाडौँका गल्लीमा भैँसीको म:म खाएर हुर्केको हाम्रो बैंस, म अझै त्यही स्वादमा लिप्त छु ।
परमिलाले जीवन र जिब्रोको स्वाद फेरी सकिछ । क्या सुन्दर स्वाद ! आम नेपालीको भन्दा एउटा अलग्गै भेगान स्वाद !
"जीवन कसरी चल्दैछ ?" पुराना हाम्रा स्मरणहरूको कथा सकिएपछि उसले मलाई मेरो जीवन जान्न र उधिन्न खोजी । खुसी लाग्यो,
मैले भनें-बिहे गरें, दुइटा नानीहरू छन्,
सानो पुग्दो सरकारी जागिर छ ।
बिहान खाजा खाए, खुवाएर नानीहरूलाई स्कुल पुर्याउँछु ।
घर आएर सिरिमती र म मिठोमसिनो खाना सँगै खान्छौं ।
घरमा खाना प्राय मै बनाउछु ।
सिरिमतीलाई मैले बनाएको खाना असाध्यै मनपर्छ ।
उनी बेला बेलामा साथीहरूलाई घरमा निम्ता गरिरहन्छिन्, उनका साथीहरू पनि मेरो पाककलाको पारखी छन् ।
सिरिमतीजीको टिकटकमा चर्चित एउटा पेज छ :
'के खाउँ के लाउँ '
रिनतिन गरेर एउटा सानो विद्युतीय कार किनेको छु ।
मैनाको एक पटक सपरिवार प्राय नयाँ ठाउँ घुम्न जान्छौं ।
नेपालका प्राय सबै ठाउँहरू हामी पुगी सक्यौं ।
इलामको चियाबारी र मुगुको राराताल मेरो मनपर्ने ठाउँ हो, तीन पटक पुगी सकें ।
पोहोर र परार हामी सिंगापुर र बाली पनि गयौं ।
बिहे गरेपछि मलाई रक्सी फापेन l अफिसमा विदेशतिरबाट साथीभाइले ल्याइदेका व्हिस्की सिरिमतीज्यूहरू मस्त उपयोग गर्नुहुन्छ । खैनी,चुरोट त मैले जिन्दगी छोइनँ ।
अफिसबाट फर्किंदा नानीहरूलाई स्कुलबाट लिएर घर आउँछु ।
साँझतिर उनीहरूसँगै बागमती किनारतिर ८-१० किलोमिटर साइक्लिङ गर्छु ।
फर्किंदा बाटोमा तरकारी किनेर फर्किन्छु । जीवनको साँझ बिहान मसँग खुसी छन् ।
परमिलाले एकटकसँग मेरो कुरा सुनी रही ।
फिस्स हाँसी 'थुक्क चाँठा कुसुन्डा मोइले तोलाई त्यै बेला हुन्चा भोन्नु पोर्ने रछा ।'
(स्मरणीय: यहाँ प्रयुक्त शब्द स्थानीय र आम जनजीवनका स्वभाविक लवज भएको कारण कसैको मर्यादा र कुनै समुदाय लक्षित अपमान नबुझ्न नबुझाउन अनुरोध छ - सम्पादक )
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।