सत्येन्द्र र नेहाले मानव अधिकार आयोग पुगेर भने– प्रहरीबाटै असुरक्षित भयौँ

अन्तरजातीय विवाह गरेकै कारण पटक–पटक पक्राउ परेका सर्लाहीको बरहथवा नगरपालिका– १० का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारले मानव अधिकार आयोगमा पुगेर प्रहरीबाटै असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन् । असुरक्षाकै कारण मंगलबार आयोगमा जान नसकेका उनीहरू बुधबार कानुन व्यवसायीको सहयोगमा उपस्थित भएर आफूहरूको सुरक्षाका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
आफूहरूलाई छुटाउन प्रहरीले तीनपटक पक्राउ गरेर यातनासमेत दिएको भन्दै सत्येन्द्रले गत २१ पुसमा आयोगमा प्रहरीविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीमा अनुसन्धानका लागि आयोगले दुवैजनालाई मंगलबार नै छलफलमा बोलाएको थियो । तर, मंगलबार असुरक्षाका कारण उपस्थित हुन नसकेका उनीहरू बुधबार कानुन व्यवसायी अधिवक्ता शैलेन्द्र अम्बेडकरको साथ लागेर अदालत पुगेका हुन् ।
सत्येन्द्र र नेहाले आफूहरूमाथि राज्यबाट भएको अत्याचारबारे आयोगमा विस्तृत खुलाएका छन् । सत्येन्द्रले प्रहरीबाटै भएको असुरक्षाका कारण आफूहरूविरुद्धको मुद्दामा तारेख बुझ्न अदालतसमेत जान नसकेको गुनासो गरे । उनीहरूविरुद्ध जिल्ला अदालत सर्लाहीमा बालविवाहको मुद्दा छ । ३ पुसमै कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका उनीहरूविरुद्ध ९ पुसमा बालविवाहको मुद्दा दर्ता भएको थियो ।
‘माघ १४ गते जिल्ला अदालत सर्लाहीमा मेरो तारेख थियो, तर असुरक्षाका कारण जान सकिनँ,’ सत्येन्द्रले आयोगसमक्ष भने । त्यस्तै, नेहाले १६ पुसमा प्रहरीले पक्राउ गर्दा आफूमाथि दुव्र्यवहार गरेको आयोगलाई बताएकी छिन् । उनीहरूले मुद्दा–मामला र असुरक्षाका कारण अध्ययनलाई समेत निरन्तरता दिन नसकेको दुःखेसो पोखेका छन् । सत्येन्द्रले साइन्स र नेहाले म्यानेजमेन्ट विषयमा १२ कक्षासम्मको पढाइ पूरा गरे पनि स्नातक तह पढ्न पाएका छैनन् । डरधम्कीका कारण लुकी–लुकी बस्नुपरेको उनीहरूको गुनासो छ ।
अधिवक्ता अम्बेडकरका अनुसार नेहाका बुबा सुरेन्द्रले प्रहरी शक्तिको दुरुपयोग गरी बारम्बार थुनाउने गरेकाले उनीहरूले अझै असुरक्षित महसुस गरेका छन् । ‘प्रहरीले धम्क्याउने र पक्राउ गर्ने मात्र होइन, यातनासमेत दिने गरेको छ,’ उनले भने, ‘यस्ता घटनाका पीडितलाई प्रहरीले संरक्षण गर्नुपर्नेमा उल्टो यातना दिएपछि उनीहरू मानव अधिकार आयोगमा उपस्थित हुनसमेत डराएको अवस्था छ ।’
अन्तरजातीय विवाह गरेकै कारण प्रहरीबाटै सत्येन्द्र र नेहाले खेपेको अत्याचारका विषयमा आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका दुई प्रहरीलाई झिकाएर बयानसमेत लिइसकेको छ । थप प्रहरीलाई पनि बोलाउने तयारी भइरहेको आयोग स्रोतले बतायो । उनीहरूलाई दुईपटक पक्राउ गर्ने कार्यालयका सहायक हवल्दार इन्द्र पोखरेलले माथिल्लो तहकै निर्देशन पालना गरेको आयोगसमक्ष बताएका छन् । नेहाका बुबा सुरेन्द्रकै खर्चमा उनीहरूलाई पक्राउ गर्न मुम्बई गएको पनि उनले स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार गृहमन्त्री रमेश लेखककै निर्देशनमा गत २१ मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डिएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली मुम्बई पुगेर सत्येन्द्र र नेहालाई पक्राउ गरेको थियो । टोलीले उनीहरूलाई मुम्बईबाट दिल्लीसम्म ल्याएको थियो । तर, दिल्लीबाट नेपाल ल्याउने क्रममा टिकटमा नाम नमिलेपछि तथा सत्येन्द्र र नेहाले त्यहाँको सुरक्षाकर्मीसमक्ष समेत गुनासो गरेपछि प्रहरी टोली त्यसै नेपाल फर्किएको थियो ।
अन्तरजातीय जोडीलाई न्यायिक लडाइँमा सघाउँदै आएका अधिवक्ता अम्बेडकर भन्छन्– युवक दलित भएकै आधारमा जबर्जस्ती मुद्दा चलाइएको छ
युवा–युवतीले उमेर पुगेर राजीखुसीले विवाह गरेको अवस्थामा समेत बालविवाहको मुद्दा चलाउनु मानव अधिकारको गम्भीर उल्लंघन हो । यो घटनामा प्रहरीले शक्तिको चरम दुरुपयोग गरेको छ । गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई मुम्बईबाट पक्राउ गरिएको भन्ने विभिन्न निकायबाट सुनेका छौँ । घुम्न गएका केटाकेटीलाई पक्राउ गर्न मुम्बईसम्म प्रहरी टोली पठाउनुको उद्देश्य के हो ? यो कुनै हाइप्रोफाइल केस हो र ? केटा दलित भएकै कारण सम्बन्ध छुटाउनका लागि पक्राउ गरेर प्रहरीले यातना दिएको छ । सर्वोच्च अदालतमा समेत पुगेर यो मुद्दा टुंगिसकेको छ । १६ पुसमा प्रहरीले पक्राउ गरी नेहालाई परिवारको जिम्मा लगाएपछि नेहाको तर्फबाट सत्येन्द्रले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा २० माघमा सुनुवाइ गर्दै सर्वोच्चले दुवैको उमेर पुगेर विवाह गरेकाले नेहालाई सत्येन्द्रकै जिम्मा लगाइसकेको छ । १६ पुसमा पक्राउपछि आफूलाई बन्धक बनाएर यातना दिएको र विवाह बदरको मुद्दासमेत दायर गर्न लगाएको बयान नेहाले सर्वोच्चको बन्द इजलासमा दिएकी थिइन् ।
समाचारमा प्रहरीको आपत्ति
अन्तरजातीय विवाह गरेका जोडीमाथि प्रहरीबाट भएको धरपकडको घटनाको प्रहरीले पनि बचाउ गरेको छ । बालविवाहको कसुरमा पक्राउ गरिएको भन्दै जातीय विभेदको घटनाको अनुसन्धानबाट पन्छिने प्रयास गरेको छ । सत्येन्द्र र नेहालाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेको थियो । घुम्न मुम्बई गएका वेला डिएसपीको टोली उहीँ पुगेर पक्राउ गरेको थियो । त्यस्तै, उनीहरूले अदालतमा ‘कोर्ट म्यारिज’ गरिसकेपछि अदालतमा बालविवाहको मुद्दा दायर गरियो । यो विषयमा नयाँ पत्रिकाले विवरण बाहिर ल्याएपछि प्रहरीले विज्ञप्ति जारी गरी खण्डन गरेको छ । प्रहरी प्रधान कार्यालयले सत्येन्द्रविरुद्ध बालविवाह मुद्दाका प्रतिवादी भएकाले पक्राउ गरिएको उल्लेख गरेको छ । तर, उनीहरूलाई पक्राउ गर्न मुम्बईसम्म टोली पठाइएकोदेखि जातकै आधारमा विभेद गरी शक्तिको आडमा बालविवाह मुद्दामा फसाइएको विषयमा विज्ञप्ति मौन छ ।
नयाँ पत्रिका दैनिकमा आज यस्तो समाचार आएको छ l
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।