पत्रकारहरूसँग प्रस्ताव

ए पत्रकार साथी !
मेरो रोटीको जरासँग गुजुल्टिएका,
समाचारका सबै रौंहरू केस्रा केस्रा केलाइदेऊ ।
जुन कुनाबाट, जुन रङ्गको चस्माले हेरे पनि,
जुन मसी र कागजको रङ्गमा लेखे पनि,
घटनाहरूको एउटै एमआरआई देखाइदेऊ ।
र, कथाहरूको एउटै फरेन्सिक निकालिदेऊ ।
किनकि, समाचारकै जालमा बेरिएर,
म नाङ्गो र भोको भैसकेको छु ।
समाचारकै प्रदूषणमा निस्सास्सिएर,
रक्तचाप, सुगर र अनिन्द्राले गाँजिएको छु ।
म तिम्रो कलममा सास भर्छु,
तिमी मेरा सपनामा स्वर भर,
र, पृथ्वी राजमार्गमा हामीसँगै सँगै हिँडौं ।
प्रस्तावको पृष्ठभूमि
दलीयकरणमा जेलिएको निर्वाचनको विषयलाई लिएर यो वर्षभर नेपाल पत्रकार महासंघमा लामै उतार चढाव आयो । त्यसले दोलखाली पत्रकारहरूको घर पनि हल्लायो । शायद देशैभर हल्लायो । गाउँमा गरिखाने हामी सर्वसाधारण नागरिकलाई भने स्वतन्त्र प्रेसको नारा लगाउँदै समाचारहरू पनि गणतन्त्रसँगै शोषणका मतियार भए कि भन्नेमा धेरैपटक झस्का पसेको छ ।किनकि महिनौंसम्म लगाएर केलाउँदा पनि राजनीतिक समाचारहरूको सत्य तथ्यको कुनै छेउ टुप्पो भेट्न सकिँदैन । के यस्तो सूचनाको बाढीले देशलाई राम्रो सिँचाई गर्छ त ? हामीले कस्तो समाचार सिँचाई चाहेको हो त ? यसैको सेरोफेरोमा रहेर मिडिया र समाचारहरू कसरी नागरिकमैत्री, देशमैत्री बनाउन सकिन्छ भन्ने विषयमा दोलखा जिल्लालाई सन्दर्भमा राखेर आम पत्रकारिताको लागि यो नागरिक अपेक्षा प्रस्तुत गरिएको छ ।
१. दोलखाली पत्रकारिताको सन्दर्भ
दोलखाली पत्रकारिताको आधुनिक इतिहास आधा शताब्दीतिर उक्लिँदैछ । प्रजातन्त्र पुनःस्थापनापछि उक्सिएको पत्रकारिता र पत्रकार महासंघ दोलखाको मूलधारले पनि चाँढै तीन दशक टेक्दैछ । २०८१ पुससम्म आइपुग्दा महासंघमा ११० जनाको हाराहारीसम्म सदस्यता पुगे भने भर्खरैबाट एघारौं समितिको कार्यकाल शुरु भएको छ जसमा ७ जनाले अध्यक्षको नेतृत्व लिइसकेका छन् । यस यात्रामा जिल्ला शाखाले आफ्नै भवन सञ्चालनमा ल्याउन सफल भएको छ । पत्रकारिताबाट नागरिक अभियान, सामाजिक सेवा, सांस्कृतिक सचेतना, पर्यटन प्रवर्धन लगायतमा उल्लेखनीय योगदान पनि पुगेको छ । तर वागमती जस्तै फैलिँदै अघि बढेको यो यात्रालाई मंसीर २०८१ मा सम्पन्न भएको महासंघको केन्द्रीय चुनावले सदस्यता शुद्धिकरणको नाममा जिल्लाको सदस्य संख्यालाई चोभारको वागमती जस्तै खुम्च्यायो । यसको ठक्करबाट उछिट्टिएका केही सदस्यहरू मिलेर भिन्नै पत्रकार समाज गठनको घोषणा गरे भने केही पुराना पत्रकारहरूले महासंघको सदस्यता त्यागेको कुरा सामाजिक सञ्जालमा राखे । यसै घटनाको सेरोफेरोमा पत्रकारहरूलाई नागरिकसँग सहयात्राको प्रस्ताव गरिएको छ ।
२. मुख्य प्रस्ताव
देशमा गर्नुपर्ने काम धेरै छन् तर महासंघले संगठन सुदृढीकरणको लागि चोरबाटो हिँडिरहेको छ । जिल्लाका पत्रकारहरू वर्षौंदेखि सादा रिपोर्टिङमा सीमित छन् । ब्रह्मपुत्र जस्तै यात्राको दायरा निकै फराकिलो पारेर देश सिँचाई गर्नुछ । यसका लागि नागरिक अपेक्षाको मेनरोड समाएर नागरिकसँगै मिडिया यात्रा गरौं । हामी घरै बसेर नाङ्गा आँखाले पृथ्वी देख्न नसकौंला, देश बोक्न नसकौंला तर गाउँकै सानो विकासको विरुवा रोप्न सक्छौं । यसको लागि मैले यस लेखमा ‘विकासको जप’ नामको एकमुठी बीउ ल्याएको छु । म बीउ बोक्छु, तिमी टर्च बाल । यो भुकभुके बिहानीमै हामी विकासको रोपाइँतिर लागौं ।
३. विकासको जपः एक सूत्र
समाचार टिप्न जाने हैन समाचार फलाउने विकासको जप (जनसंख्या, पर्यावरण, पैसा, प्रविधि र पहिचान) नामको एक लट्ठी लिएर आएको छु यो टेक्दै हामी यात्रा गर्न सक्छौं ।
३.१ जनसंख्या
विकासको पहिलो उपभोक्ता मानव जनसंख्या भएकोले देशमा मान्छे चाहिने भयो । तर देशको मानव जनसंख्या दिनदिनै रित्तिँदैछ । पहाडका गाउँ, बजार, स्कुल सारा तीब्र गतिमा रित्तिँदैछन् । जन्मदर समेत ऋणात्मकतिर झर्दैछ । यस्तो अवस्थामा जनसंख्यामा आधारित विकास कसरी गर्न सकिन्छ भन्नेबारे तीन सूत्रः
(क) भएको जनसंख्या टिकाउनेः पहाडमा अहिले उमेर ढल्किँदै गएकाहरूको मात्र बाहुल्यता बढ्दैछ । यिनलाई पनि पूर्ण सुरक्षा र सेवा चाहिएको छ । यो जनसंख्यालाई टिकाउने नीति र हात हातमा काम चाहियो । घर घरमा संरक्षण सेवा चाहियो ।
(ख) गएको जनसंख्या झिकाउनेः नेपालीहरू सय देशमाथि पुगिसके । त्यहाँ पुगेर बालुवा मात्र, पानी मात्र, हिउँ मात्र, कतै जंगल मात्र भएका देशहरू पनि धनी बनाइसके । हातमा सीप, दिमागमा बुद्धि, हृदयमा आँट र गोजीमा पैसा पनि केही बटुले । तीमध्ये लाखौंलाई आफ्नै घर फर्केर जीवन बिताउने चाहना पनि छ । तिनले संगठित लगानी, विकसित व्यवसाय गर्न सक्ने नक्सा चाहिएको छ ।
(ग) साँधको जनसंख्या बिकाउनेः विकास गर्न सबै आफ्नै मान्छे चाहिन्छ भन्ने छैन । ग्रीनल्याण्ड, अष्ट्रेलिया जस्ता अत्यन्त कम जनघनत्व भएका देशमा पनि नेपालीहरू पुगेर काम गरिरहेका छन् । नेपाललाई पनि दिमाग र पाखुरा भएका मान्छे चाहियो भने खेताला किन्न र सामल बेच्न भारत र चीन दुई छिमेकी नै काफी छन् । विश्वको आउँदो शताब्दीको लगाम पनि अब यिनकै हाततिर जाँदै गरेको देखिन्छ । अब नेपाल दुई ढुङ्गाको तरुल हैन, दुवै हातमा सुन्तला टिप्न उठ्नुपर्छ ।
अब पत्रकारहरूले यो माइक्रोफोनबाट बोल्नुपर्छ ।
३.२ पर्यावरण
प्रकृतिसँगै बाँच्नेः पहिलो काम त प्रकृति नै चिन्नुछ । नाडी चलाउने नेतीहरू चिन्नुछ । ती सीप र ऊर्जा लिनुछ । मेरा सन्तानहरूले महिनामा कति मिनेट नाङ्गो हात, खुट्टाले माटो छुँदैछन् नाप्नुछ । कति मिनेट बगेको पानी छुँदैछन् जाँच्नुछ । कति मीनेट वर, पीपल, तुलसी, दूबोको छेउमा बसेर सास लिँदैछन् गन्नुछ । प्रकृतिसँग कसरी मिलेर बस्ने हो भन्नुछ । के यो समाचार बन्न सक्दैन ?
३.३ पैसा
(क) वित्त (वित्तीय अर्थतन्त्र)
१. हामीले हाम्रै ढुङ्गा, माटो, पत्कर, पानी, पहाड पेलेर पैसाको घिऊ निकाल्न पाउनुपर्छ । विप्रेसन आयलाई यी काममा लगाउनुपर्छ ।
२. सामुदायिक अर्थतन्त्र बलियो बनाउनुपर्छ । यसले नै समाजवाद-उन्मुख बाटोमा अघि बढाउँछ ।
३. नेपाली मुद्राको मूल्य बढाउनुपर्छ ।
(ख) वस्तु (उत्पादन विशेषता)
१. देशको अधिकांश भूभाग पहाड र हिमालले ढाकेको छ । थोरै मात्रामा मधेश भए पनि कृषि विकासको अवस्था कमजोर छ । दोलखाको संरचना पनि पहाड र र हिमाल हो । यसकारण विश्व बजारमा पहिचान स्थापित गर्ने हो भने नेपालले क्वान्टिटीमा भन्दा हिमालयन क्वालिटीमा जोड दिँदा देशको जित हुनसक्छ । न्यून परिमाण, उच्च मूल्य, जैविक र रैथाने वस्तुहरू (low volume, high price, organic and local) हाम्रा लागि पहिचान र पैसा दुवै हुनसक्छ ।
(ग) व्यवहार (सांस्कृतिक अर्थतन्त्र)
अहिलेकै दरमा जनसंख्याको वैदेशिक गमन आउँदो एक दशकसम्म कायम रहे निकट भविष्यमा महँगो दरमा मलामी किन्नुपर्ने दिन आउँछ । अस्पतालमा हेर्न आउनेहरू मात्र हैन फेसबुकमा गेटवेल सुन लेख्नेहरू पनि त्यति लेखेको नाफा-नोक्सान हिसाब गरेर मात्र लेख्ने समय आउँछ । मान्छे र मानवीयताको अभावमा पैसा एक्लैले रोगी, विरामी, वृद्ध र गरीबहरूलाई बचाउन सक्दैन । यसकारण स्वस्थ र दिर्घायु अर्थतन्त्र निर्माणको लागि सामाजिक सहयोगको गैरवित्तीय संस्कृतिलाई पनि उत्तिकै बलियो बनाउनुपर्छ । के यो विषय,विशेष विशिष्ट र निरन्तर समाचार बन्न सक्दैन ?
३.४ प्रविधि
(क) सूचना प्रविधिहरूलाई दास बनाउने
सूचना प्रविधिलाई मान्छेको दास बनाउनुपर्छ । मान्छेको आवश्यक्ताअनुसार काम लगाउन सक्नुपर्छ । आजकल मान्छेहरू तीब्र गतिमा सूचना प्रविधिको दास बन्दैछन् । पहाडको सन्दर्भमा अनुत्पादक काममा हरेक दिन लाखौं पैसा डाटा प्याकबाट बाहिरिइरहेको छ ।
(ख) नयाँ प्रविधिहरु सिर्जना गर्ने
हामी आफैं पनि नयाँ प्रविधिहरूको सिर्जनामा लाग्नुपर्छ र लगाउनुपर्छ । जस्तो कि एउटा दक्ष किसानलाई गोजीमा अट्ने शास्त्र मापन मेसिन (SAASTRA – Slope, Altitude, Aspect, Soil, Temperature, Rainfall, Air) दिन सकियो भने त्यसले अर्थतन्त्र, संस्कृति, पर्यावरणलगायतका धेरै आयामहरूमा योगदान गर्नसक्छ । के यो विषय समाचार बन्न सक्दैन ?
३.५ पहिचान
(क) आफैंलाई चिन्नेः म के हुँ र ऊ के हो, थाहा पाउँ । यति थाहा पाउँदा हाम्रा पहिचानवादले उमारेका कैयौं काउसोहरू आफैं उडेर जानेछन् ।
(ख) अरूलाई चिन्नेः आफ्नो वरिपरिको भूगोल र संस्कृति चिनौं । यो संस्कृतिका सदस्यहरू चिनौं । तिनको सहअस्तित्वको नाल चिनौं । पहिचानको पिपल निकै फराकिलो बन्नेछ ।
(ग) अरूले चिन्ने:हामी आफ्नै जरा तन्काएर तामाकोसी, सुनकोसी तरौं । आफ्नै टुप्पाहरू तन्काएर गौरीशंकरको शीर चुमौं । संसारले हामीलाई उसको आवश्यकताका लागि चिन्नेछ । के हामीले आफूलाई कसैले नचिन्ने पहिचान खोजेको हो र ?
के यी विषयमा खोज पत्रकारिता हुन सक्दैन ?
४. आँखा र पाइलाका मोहडाहरू -दृष्टि-दिशा-
विकासको बीउ बोकेर अघि बढिरहेका हाम्रा आँखा र पाइलाहरु यसरी पूर्वतिर फर्किनु पर्छः
(क)संघीय गणतन्त्रको राजनीतिक रोडम्याप अब आर्थिक, सांस्कृतिक रूपान्तरणतिर लम्किनुपर्छ ।
ख) समाचारको लम्बाई टुप्पोदेखि जरासम्म पुग्नुपर्छ ।
(ग) सादा रिपोर्टिङहरू विशिष्टता बीउसम्म पुग्नुपर्छ ।
(घ) समाचारहरू दलीयताको दाम्लोभन्दा फराकिलो चउरसम्म पुग्नुपर्छ ।
(ङ) पत्रकारिता वाच डगको खोरबाट निस्किएर सिर्जनाको अण्डा पार्ने सुनपङ्खी पनि बन्नुपर्छ ।
के अबको पत्रकारिताले यता फर्किनु पर्दैन ? फर्किन सकिँदैन र ?
(५ ) लेख्न सकिने केही हेडलाइनहरू
५.१ क्षेत्रगत विकास
१. जलस्रोतः हिमालको टाउको फुटाएर जलविद्युतको मह काढ्ने महाअभियान अघि बढिरहेको छ, यसको एक्स रे र बायोप्सी गरी उपचारको नयाँ सुई पत्ता लगाउनुछ ।
२. शिक्षाः पन्ध्र वर्ष पढेर सर्टिफिकेट थन्क्याउँदै चार महिनाको भाषा पढेर विदेशिने क्रम बढ्दो छ । स्कुलहरू हरेक वर्ष बन्द भइरहेका छन् । यसको उपचार खोज्नुछ ।
३. स्वास्थ्यः नसर्ने रोग झन् महामारी भएर सरिरहेको छ । यसलाई सीमाना बाँध्नुछ ।
४. पर्यटनः प्रकृति र संस्कृतिको अनन्त वैभवमा उभिएर हामी गरीबी चिच्याइरहेका छौं । प्रकृतिको टाउकामा भैरव नृत्य गर्दै समृद्धिको मन्त्र फलाकिरहेका छौं । यो ध्वंशलाई रोक्नुछ ।
५. रोजगारः हाम्रो जस्तो माटो, पानी, जंगल, हिमाल, जनशक्ति सबै भएको सदाबहार भूमि आज बञ्जर बन्दैछ । यसमा जैविक मल छर्नुछ ।
६. अर्थतन्त्रः पहाडी अर्थतन्त्रको लहरो डढुवाले खुम्चिएको छ । यसको जैविक औषधि बनाउनुछ ।
७. सामाजिक-सांस्कृतिक सम्पदाः धार्मिकता, आध्यात्मिकता, सेवा, उर्जाशील साहित्य, मनमोहक कला र संगीत आदि सम्पदाहरू माटोमा पुरिँदैछन् । यिनको उत्खनन् गर्नुछ ।
८. विज्ञान तथा प्रविधिः सडक छेउमा झुण्ड्याइएका र गाडिएका प्रविधिका तार र पाइपहरू जस्तै हाम्रो सिर्जनात्मकता प्रविधिका कवाडीहरूले छोपिएका छन् । हामीले पनि विश्वलाई हाम्रा रैथाने ज्ञान प्रविधि र आविष्कारहरू बेच्नुछ ।
के मेरा पत्रकार सहयात्रीहरू विषयगत दार्शनिक र वैज्ञानिक बन्न सक्दैनन् र ?
५.२ पार्टी राजनीति
पार्टी राजनीतिमा चासो राख्ने मेरा पत्रकार साथीहरूले अन्तर पार्टी सम्बन्धको एमआरआई गर्न सक्छन्, पार्टी र सरकार सम्बन्धको सीटी क्यान गर्न सक्छन् र अन्तरराष्ट्रिय सम्बन्धको इन्डोस्कोपी गर्न सक्छन् । निश्चित दलमा आस्था र आवद्धता राख्नेहरूले यी विषयमा पत्रकारिता गरेर पनि पार्टीलाई ब्युटीफाई गर्न सक्छनः
१. एमाले र समाजवादीको ‘जबज’ को बीउबाट नेपाली राष्ट्रवादको उन्नत नश्ल कसरी निकाल्ने ?
२. कांग्रेसको ‘प्रजातान्त्रिक समाजवाद’ को बोटबाट कसरी सग्ला घोगाहरू फलाउने ?
३. माओवादीको ‘नेपाली मौलिकताको समाजवाद’ मा हिमाली सभ्यताको आत्मा कसरी हाल्ने ?
४. ‘वैज्ञानिक समाजवाद’ का बच्चाहरूको भात ख्वाईमा नाग र न्वागी पूजा कसरी गर्ने ?
५. नेपाली कम्युनिष्टहरूको मेनिफेष्टोमा ‘पर्यावरणीय समाजवाद’ को पिल्लर कसरी उठाउने ?
६. रास्वपाको ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ मा कृष्ण र सुदामाले कसरी मीत लाउने ?
७. राप्रपाको ‘हिन्दू राज्य’ मा सबै धर्मावलम्बीहरूले कसरी इक्विटी शेयर हाल्ने ?
८. नेपाल समाजवादी पार्टीको ‘समावेशी समाजवाद’ मा सप्तकोशी र सगरमाथाको खलो र कुन्यु कसरी उठाउने ?
९. जनमतको ‘सामुदायिक स्वराज’ मा किसानले खुर्सानीको भाउ कसरी आफैं तोक्न सक्ने ?
१०. नागरिक उन्मुक्तिको ‘पहिचानसहितको संघीयता’ मा सबैले सबैलाई कसरी चिन्ने ?
११. जसपाको ‘समावेशी संसद’ मा अति विपन्न सूचीमा नाम दर्ता पनि गर्न नसकेकाहरू कसरी समावेश हुने ?
१२. अन्तमा, दलहरूलाई कसरी दक्ष, सफा,स्वस्थ र सभ्य शिष्ट बनाउने ?
के यी विषयमा राजनीतिक समाचार बनाउन सकिँदैन ?
६ . शुभ साइत
सहयात्रा अपेक्षी मित्रहरू !
यस्तो सहयात्राका लागि मनमा ईच्छाको लहर उठेकाहरू एकछिन सन्सारी डाँडामा उक्लिनुस् अनि सँगै देउरालीलाई पाती चढाऔं । सिर्जनाको लट्ठी काटौं र विकासका पाइलाहरू अघि बढाऔं ।
स्मरणीय : लेखक बिर्ख क्षेत्री आफ्नो फेसबुक Intro.मा I am the Master of FAILURE ! लेख्छन् l सम्पादक
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”