प्रा.डा. ताराकान्त पाण्डेयको वार्षिक स्मृति दिवसमा विशेष श्रद्धा अर्पण

मृत्यु जन्मकै दिन करारनामा गरिएको अनिवार्य,आकस्मिक पहिलो तथा अन्तिम सर्तको अदृश्य दस्तावेज हो l मृत्यु रहस्यमय छ र कहिले आउँछ कसरी सामना गर्नुपर्छ त्यो यथार्थबाट सबै अनभिज्ञ छन् l मृत्युको वियोगले नदुख्ने मुटु प्राय भेटिन्न l अवस्यम्भावी,नियमित तर आकस्मिक मृत्यु राप्तीको बगरमा पुस २८, २०८० को राति दुर्घटनाको बहाना गरेर प्राडा ताराकान्त पाण्डेयको भौतिक जीवन समाप्त पार्न आयो l सोही संस्मरणमा गुरूको मृत्यु वियोगको एक वर्षपछि वार्षिक स्मृतिमा श्रद्धाञ्जली व्यक्त गर्दै आजको आलेख समर्पित गर्दैछु l
प्रा.डा.ताराकान्त पाण्डेय नेपाली प्राज्ञिक क्षेत्र,शोध अनुसन्धान, प्राज्ञिक लेखन,पठन र वाम राजनीतिक वृतमा सुपरिचित नाम हो l त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक तथा मानविकी र सामाजिक सङ्कायका पूर्व सहायक डीन डा.पाण्डेय नेपाली समालोचनाका वरिष्ठ स्तम्भ हुन् l बहुआयामिक प्रतिभाका धनी साहित्यकार ताराकान्त शोध विज्ञ,शोध निर्देशक र शोध मर्मज्ञको रूपमा फराकिलो र गहकिलो परिचय बनाएका व्यक्ति थिए l
पाण्डेय जति विद्वान् थिए त्यति नै सरल,सहज र उदार थिए l अनुज पुस्तालाई स्नेह गर्ने र नवीन कार्यका लागि ऊर्जा दिने गर्थे l उनलाई गुरुहरूका गुरु मानेर तर्क गर्नेहरू पनि प्रसस्तै छन् l पाण्डेय गम्भीर अध्येता मात्र होइनन् द्रष्टा व्यक्तित्व समेत हुन् l मार्क्सवादी विचारका रौं चिरा केलाउन सक्ने थोरै विद्वान् मध्येका एक थिए पाण्डेय l
नेपाली साहित्यका मेधावी र आधिकारिक समालोचक वामपन्थी विचारधारालाई संस्थागत स्वरूप दिने र त्यसका सन्दर्भमा नवीनतम सङ्कथन निर्माण गर्ने मामलामा अग्रणी मानिन्छन् l पाण्डेयको कलम सिर्जना र समालोचना दुवैमा चलेको छ l वामपन्थी राजनीतिमा पनि सक्रिय पाण्डेय नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका सल्लाहकार र पार्टी स्कुल विभागका सदस्य समेत थिए l पार्टीमा कमरेड सञ्जय नामले सम्बोधित हुने ताराकान्त सिद्धान्तनिष्ठ, व्यवहारिक, कम्युनिष्ट आचरणमा अभ्यस्त व्यक्तिको रूपमा सबैले आदर सम्मान गर्ने वाम आन्दोलनका एक हस्ती थिए l
पाण्डेय नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्य समेत बनेर प्राध्यापकहरूको अगुवा समेत भएर काम गरेका थिए l प्रगतिवादी साहित्यमा दत्तचित्त भएर समर्पित पाण्डेय 'इच्छुक सांस्कृतिक प्रतिष्ठान'का अध्यक्ष थिए भने अखिल नेपाल जनसांस्कृतिक महासङ्घक केन्द्रीय सचिवालय सदस्य थिए l क्रान्तिकारी कम्युनिष्ट पार्टीको स्कुलिङ् कार्यक्रममा सहभागी भएर फर्कने क्रममा दाङ्स्थिति राप्ती नदीमा बस् खस्दा मारिएका १२ जनामा समालोचक तथा वामपन्थी चिन्तक तारा सर पनि परेका थिए l
शास्त्रीय मार्क्सवादी चिन्तक झैँ लाग्ने पाण्डेय सर प्रतिभाशाली कम्युनिष्ट नेता हुन् l आफ्नो प्राज्ञिक उचाई र शिक्षण संस्थामा गरिने अराजनीतिबाट टाढै रहन रूचाउने तारा सर प्राज्ञिक स्थल अराजनीति र बाहुबलको थलो नभएर विशुद्द ज्ञान राजनीति, अध्ययन अनुसन्धान र सिर्जनात्मक भूमिको रूपमा रहनुपर्छ भन्ने र सो मुताबिक आचरण गर्थे l सिर्जनात्मक पहलमानी गर्ने सिद्धान्त उत्पादन गर्ने र उत्पादित सिद्धान्तबारे व्यापक विमर्श गर्ने पवित्र थलोको रूपम विश्वविद्यालय रहनुपर्छ भन्ने मान्यता राख्थे l आफ्नो कार्यकक्ष र कक्षाकोठालाई पार्टी राजनीतिको थलो बनाउन इन्कार गर्ने र प्राज्ञिक र प्रशासनिक काममा मात्र आफूलाई दुरुस्त राख्ने पाण्डेय सरको स्वभाव थियो भन्छन् उहाँलाई त्रिविमा प्राध्यापक र सहायक डिन हुँदा भेट्ने विद्यार्थी र नजिकबाट चिन्नेजान्नेहरू l
विश्वविद्यालय, शोधार्थी र राजनीति
शोध निर्देशक र शोधार्थीहरू बिच कस्तो सम्बन्ध हुनुपर्छ l शोधमा शोधार्थीको मात्र होइन शोध निर्देशको पनि गहन दायित्व र नैतिकता रहेको कुरा गर्थे र शोधार्थीलाई परेको अलमलमा शोध निर्देशकले सहयोग गर्नु पर्ने राय राख्थे र भरपूर सहयोग गर्थे त्यसैले शोधार्थीको विशेष रोजाईका निर्देशक थिए तारा सर पनि l
विद्यार्थीको असहजता बुझेर जहाँ जहिल्यै आफ्नो विषयसम्बद्द जिज्ञासा प्रश्न र समस्याको उत्तर खोज्न सघाउने, सिकाउने निर्देशन गर्ने र सुझाव दिने कार्य गर्थे l विधार्थीका अतिशोयुक्तिपूर्ण प्रश्न, व्यङ्ग्य मिश्रित भनाई,आलोचनायुक्त प्रश्नको पनि यथासम्भव मुसुक्क हाँसेर जबाफ दिने र आलोचनात्मक प्रश्नलाई विद्यार्थीको गुण सम्झने प्रोफेसर साब विशेष गुणले युक्त थिए,त्यसैले आफ्ना समकालीन, अग्रज, अनुज,विद्यार्थी र पार्टी पङ्क्तिमा सर्वाधिक प्रिय र निर्दाग व्यक्तिको रूपमा पाण्डे सर सबैमाझ आदरणीय र उदाहरणीय थिए क्रान्तिकारीहरू आदर्शच्युत भएको, उपभोक्तावादबाट प्रभावित बनेको, नैतिक र सामाजिक मूल्य क्षयमा पुगेको र विचारको स्खलनप्रति पाण्डेय हरदम चिन्ता गर्दथे l सामाजिक रूपान्तरणको आन्दोलन र सुन्दर समाज निर्माण गर्ने अभियानमा पाण्डेय सदैव निष्ठा र यत्न साथ लागिरहे l सामाजिक रूपान्तरणको आन्दोलन,पार्टीको अनुशिक्षणमा भाग लिएर फर्कने क्रममा नै पाण्डेय सरको देहान्त भयो l यसर्थ पाण्डेय सरको सक्रियता जीवनपर्यन्त रह्यो l
को हुन् प्रा.डा. ताराकान्त पाण्डेय ?
त्रिवि नेपाली विभागमा प्रोफेसरको रूपमा कार्यरत डा.ताराकान्त पाण्डेयले २०७५ मा अवकाश लिएका थिए l अवकाशपछि पनि नेपाली भाषा, साहित्य, समालोचना,साहित्यको समाजशास्त्र, सांस्कृतिक अध्ययन आदि विषयमा दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थीहरूलाई शिक्षण शोध र अनुसन्धानको निर्देशक सहित अन्य प्राज्ञिक कार्यको लागि सल्लाह सुझाव सहयोग गरीनै रहेका थिए l २०१७ असोज १८ गते रुपन्देहीको दुधराक्षमा माता नन्दा देवी र पिता लोकनाथ पाण्डेयको पुत्रको रूपमा जन्म लिएर २०३६ देखि नेपाली साहित्य सिर्जनामा आफ्नो कलम चोबेर सिद्धहस्त प्राज्ञिक व्यक्तित्व बनेका थिए l ५० जना भन्दा बढीको विद्यावारिधिका शोध निर्देशक र सह निर्देशक रहेका पाण्डेयले सयौं जनालाई दर्शनाचार्य तहमा शोधको निर्देशन गरीसकेका थिए l
तारा सर अब कीर्तिशेष
भौतिक रूपमा तार सर २०८० पुस २८ गते राति नै अस्ताए, तर आत्मिक भावनात्मक र लोककृतिका रूपमा तारा सर जीवन्त छन् l आफ्ना विद्यार्थीको प्रिय स्मरणमा अनि पार्टीका सहयोद्दाहरूको स्मृतिमा तारा सरको भौतिक शरीरले मात्र अवसान लिएको हो l यादहरूमा तारा सर कहिल्यै विलाउँदैनन् l तारा सरले बोकेको भएको विचार प्रस्तुत गरेको व्यवहारिक दृष्टान्त, कोरेको सैद्धान्तिक खाका, पेश गरेको कम्युनिष्ट आचरणको उदाहरण,राजनीतिक रूपमा दिएको योगदान, सामाजिक रूपमा निर्वाह गरेको भूमिका, नेतृत्वमा बसेर गरेको मूल्याङ्कन कतै कृतिका रूपमा कतै उदेश्यका रूपमा कतै आचरण र व्यवहारका रूपमा कतै राजनीतिका रूपमा कतै ज्ञान र शिक्षणको रूपमा स्थापित भएर नै रहेका छन् l
तारा सरले छाडेका अमूल्य दस्ताबेजहरू : कला साहित्य भूमिका र मूल्याङ्कन(२०५३),प्रगतिवाद र कविता (२०५६),देवकोटाको व्यङ्ग्य कवित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६४) समकालीन कविताको संरचना (२०६४ ), अर्थको आनन्द (२०६८),समय र सिर्जना संवाद (२०६८). मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र (२०७३) आदि कालजयी कृतिहरू प्रकाशित छन् l पाण्डेयले ‘आलोचना’ ‘कलम’ ‘प्रवर्तक’ ‘योजना साप्ताहिक’ र ‘प्रतिनिधि नेपाली समालोचना’ जस्ता पत्रपत्रिकाको सम्पादन समेत गरेका थिए यसका अलवा शोधसम्बद्द विषयका सयौं फुटकर रचना, दर्जनौ कार्यपत्रहरू र सोधसामग्रीहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् l उत्तर आधुनिक नेपाली कविताको संरचना, नर्सिङ्ग अवतार काव्य बिम्ब विधानमा २०५०/०५६ लघु अनुसन्धान पनि गरेका थिए l
अध्ययन, शिक्षण,पुरस्कार सम्मान
स्कुल परीक्षा बोर्ड बिहारबाट २०३४ मा एसएल सी पास गरेका पाण्डेयले शिक्षा सङ्कायबाट २०३८, प्रविणता प्रमाणपत्र तह २०४२ स्नातक र २०४४ मा त्रिविबाट स्नातकोतर र २०५५ मा ‘प्रगतिवादी नेपाली कवितामा अभिव्यञ्जित यथार्थ'शीर्षकमा विद्यावारिधि गरेका थिए l
२०४५ बाट एसिस्टेन्ट लेक्चरर हुँदै २०४७ मा स्थायी सेवा प्रवेश गर्दै प्राध्यापक बनेका पाण्डेय मानविकी र सामाजिक सङ्कायका सहायक डीन समेत बनेका थिए l २०७५ साउनमा सेवा निवृत भए देखि औपचारिक जागिरे जीवनबाट फुक्का भएर इच्छुक सांस्कृतिक प्रतिष्ठान, पार्टीको कार्यक्रम र वौद्धिक कर्ममा समर्पित थिए l २०४५ मा महेन्द्र विद्याभुषण र मकबुल अहमद लारी (२०४५)ले विभूषित पाण्डेयलाई (२०५७) मा ‘पारिजात सिर्जन पुरस्कार’बाट सम्मानित गरिएको थियो l त्रिवि विशिष्ट सेवा पुरस्कार (२०६८),सैनध्वज, नन्दकुमारी विद्द्वत वृत्ती सम्मान र सूर्य विक्रम ज्ञवाली तन्नेरी समालोचना पुरस्कार २०७३ प्राप्त भएको थियो त्यसैगरी विश्व राधा नेत्रा साहित्य पुरस्कार २०७६ बाट पनि पाण्डेय सम्मानित थिए l
तारा सर त्रिभुवन विश्वविद्यालयमा समकालीन साथीभाइका लागि भद्र र इमानदार साथी थिए l मार्क्सवादी सौन्दर्य चिन्तकको परिचय बनाएका पाण्डेय वामपन्थी खेमाका लागि सहृदयी र सिद्धान्तनिष्ठ कमरेड थिए l पाण्डेयको निधनप्रति उनका सहपाठी,सहकर्मी प्राडा रमेशप्रसाद भट्टराईले यस्तो लेखेका थिए : ‘पाण्डेयको निधनले नेपाली बौद्धिक जगतको विचारधारात्मक निर्मितिको लागि अनि समालोचनाको क्षेत्रमा अपुरणीय क्षति भएको छ l’
धेरै प्राज्ञ,बौद्दिक व्यक्तित्व र साहित्यकारहरू, प्रगतिवादी, लोकतन्त्रवादी सबै तह र तप्काबाट प्राडा पाण्डेयको निधनमा व्यक्त श्रद्द्न्जली र शोकबाट पनि उनको उचाई र प्राज्ञिक स्तरको मापन गर्न सकिन्छ l पाण्डेय सर शारीरिकरूपमा मध्यम कदको भए पनि वौद्धिक, प्राज्ञिक, र राजनीतिकरूपमा भीमकाय थिए l
मार्क्सवादी सौन्दर्य चिन्तनका गहन व्याख्यता र अध्येता, नेपाली भाषासाहित्य, दर्शन, सांस्कृतिक अध्ययन, साहित्यको समाजशास्त्रीय अध्यनमा पाण्डेयको लोभलाग्दो व्याख्यान, निस्कर्षण, वैशिट्य र निर्दिष्ट दिशाबोध पाइन्थ्यो l यो पङ्क्तिकार पनि पाण्डेयको एमफिल/पीएचडी तहको शोधार्थी रहेको कारण उनको कक्षा प्रस्तुतिमा विशेष आकर्षण र प्राज्ञिक अनुष्ठान सम्झेर त्रिविका कक्षा कोठामा उपस्थित हुन्थ्यो l कुनै पनि विषयलाई पाण्डेले तार्किक प्रस्तुति, उचित दृष्टान्त र सुरुचिपूर्ण भाषा शैलीमा प्राज्ञिक संवाद र विमर्श गर्दथे l शोधार्थीले ज्ञानको उत्पादन गरेर निकालेको निस्कर्षलाई अस्वीकार गरिहाल्नु हुँदैन l पश्चिमाले उत्पादन गरेको ज्ञान र उनीहरूको निस्कर्ष मात्र मान्नु पर्छ भन्ने छैन पूर्वीय ज्ञान र प्राज्ञले निकालेको अनुसन्धानको निस्कर्ष पनि उपयोग गर्नु पर्ने र आधिकारिक मान्दै अगाडि जाने बाटोतय गर्नु पर्ने तर्क पाण्डेयको थियो l उत्पादित ज्ञान तार्किक व्याख्या र विश्वसनीय भने हुनपर्छ l प्राध्यापक र प्राधिकार भनिएकाहरूमात्र नभएर नव शोधार्थीको अनुसन्धानको निस्कर्ष र ज्ञानको उत्पादन पनि अस्वीकार्य विषय होइन,पाण्डेय भन्थे l अनुसन्धानको निस्कर्ष सामान्य शोधार्थीको पनि गहन र अध्ययन विश्लेषणको लागि आधार बन्न सक्छ l कुनै पनि अनुसन्धान आदि र अन्त्य नभएको हुँदा नव प्रतिभाको विश्वसनीय अनुसन्धान पनि सिद्धान्तको रूपमा उपयोग गरेर जानु वुद्दिमानी हुने विचार प्रकट गर्थे l
मृदुभाषी सरल र सविनय तारा सर अब हाम्रा बिचमा भौतिक रूपमा छैनन् l अब उनी कुनै अमुक दल, राजनीतिक वाद र सिद्धान्तको परिधिमा सङ्कुचित छैनन् l एउटा वौद्दिक सर्जक, प्राध्यापक राजनीतिककर्मी खासमा देशको सम्पदाका रूपमा प्रा.डा. ताराकान्त पाण्डेय ने सदा जीवन्त रहने छन् l उनै पाण्डे आदरणीय गुरुको महाप्रस्थानको वार्षिकीमा हार्दिक हार्दिक श्रद्धा सुमन ! एउटा विद्यार्थीको तर्फबाट आदरणीय सरको स्मृतिमा यति नै लेख्न सकें l हार्दिक श्रद्धाञ्जली तारा सर !
प्रा.डा. पाण्डेयको तस्बिर सार्वजनिक संजालबाट साभार l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”