तमू ल्होसारको अवसरमा तमूहरूले लगाउने पहिरन- सुनिल उलक

तमू पोशाक
गुरुङ भाषामा एउटा भनाइ छ, "पे म्ह्स्या छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु" अर्थात शास्त्र हराए, संस्कृती हराउँछ, संस्कृति हराए, परम्परा हराउँछ, परम्परा हराए, मान्छे नै हराउँछ । तसर्थ हरेक जातिले यो कथनलाई स्विकार्नु पर्छ । केवल तमूहरूको लागि मात्र यो सत्य होइन अन्य जातिको लागि पनि यो सत्य भनाइ हो । यसर्थ तमूहरुको पहिरनको विषयमा विभिन्न श्रोतहरूबाट प्राप्त तथ्यलाई यहाँ राखेको छु । कतै गल्ती भएमा उल्लेख गरिदिनुहोला ।
तमु पुरुषहरूको पहिरन
तमू पुरुषहरुको पहिरनमा शुरुमा कछाड जसलाई गुरुङ भाषामा "कास" भनिन्छ, कमरमा बेरेर दक्षि (किनारा)ले घुँडासम्म छोपिने गरि बाँधिन्छ । त्यसपछि म्हेन्दु (पटुकी)ले कसिन्छ । अचेल लाहुरे प्रभावले गर्दा सिंगापुरे पेटीले कस्ने गरिन्छ । यहि म्हेन्दुमा पछाडि तर्फ हो भने काेरे (आसी वा खुर्पेटो) अगाडि तर्फ भने क्होच (खुकुरी) भिर्ने चलन छ । तर दुबै (खुकुरी र खुर्पेटो) एकसाथ भिर्ने भने गरिदैन । शरिरको माथिल्लो भागमा भने आधा बाहुला भएको पाँलु (भोटो) लगाउने गरिन्छ । पाँलुको माथिबाट आस्कोट लगाइन्छ । आस्कोटको माथि र्हेङ्गा (भाङ्ग्रा) लगाउने गरिन्छ । भाङ्ग्रा कपडालाई दुइ गाँठो बाँधेर बनाइन्छ । यसरी बनाइएको दुइ गाँठोमा दाहिने गाँठो माथि पार्नुपर्दछ । बाँया गाँठोलाई तल पार्नुपर्दछ । यस पछि टाउकोमा क्रेगी (फेटा) वा पुले / मल्खु (टोपी) लगाउने गरिन्छ । साथै जाडोमा ओढ्न र ओछ्याउन मिल्ने प्हङ्ली (धुमराडी) पनि हातमा बोक्ने गरिन्छ ।
कानमा लगाउने डलम्हार (कुण्डली)को प्रचलन हराइसकेको छ । उहिले खुट्टामा केही लगाउने गरिदैनथ्यो । तर अचेल आधुनिकतासंगै मोजा र कप्स्या (जुत्ता) लगाउने गरिन्छ । यसरी पुरुषको पहिरन पुरा हुने गर्दछ ।
महिलाको पहिरन
पुरुषको तुलनामा महिलाको पहिरन बढि आकर्षक हुने गर्दछ । साथै महिलाको पहिरनमा धेरै किसिमका सामग्री हुने गर्दछ । महिलाहरु कमर भन्दा तल ङ्योए (गुन्युँ)लाई अगाडि मुजा पारेर बाँधिन्छ । गुन्युँ माथिबाट तमला (टिकिस) बाँधिन्छ । टिकिस बाँध्दा त्रिभुज आकारमा पछाडी तल तिर चुच्चो बनाएर अगाडि कमर मुनि पर्ने गरि तर्फ बाँधिन्छ । शरिरको माथिल्लो भागमा पाँलु (आधा बाहुले चोली) लगाइन्छ । यसरी चोलो लगाइ सकेपछि चोलो र टिकिसलाई समेत बाँधिने गरि म्हिन्दु फगी (पटुका)ले कसिन्छ । शिरलाई क्रमु (मजेत्रो)ले छोप्ने गरिन्छ । साथै पाँलुलाई प्रोओ (घलेक) तथा खुट्टामा कप्स्या (जुत्ता) लगाउने गरिन्छ ।
गहनाको विषयमा भने शिर, गला, हात, नाक तथा कानमा गहना लगाउने गरिन्छ । शिरमा सबैभन्दा माथि माराट (शिरफूल), निधारमा झेका (शिरबन्दी) , कानमा ढुँरी (ढुङ्ग्री), नाकमा फुली वा बुलाकी, योका (चुरा), औलामा माराच्या (सुनको औठी) लगाउने गरिन्छ । घाँटीमा भने माला धेरै किसिमको लगाउने गरिन्छ । मारारुङ (सुनको जन्तर), पिरुकूर (मुगाको माला), काँज्यू मारा (पोतेको माला), आसे (तिलहरी), असर्फी, नौगेडी आदीको माला पनि लगाउने गरिन्छ ।
यि पहिरनमा कतिपय पहिरन अब नामको मात्र रहेको छ । विदेशबाट आयात गरिएको कपडाबाट बनाइएको हुन्छ । पहिले पहिले महिलाहरुले आफ्नै हातले निकै सिपसँग बनाइएका पुरुषका पोशाकहरू सोल्टीले उपहार पाउँदा भावनात्मक रुपले निकै निकट हुने गर्दथ्यो । ति पोशाक लगाउँदा सोल्टीनीको सम्पूर्ण माया पाएको अनुभूति हुने गर्दथ्यो । सोल्टीनीहरु पनि आफ्नो मन परेको सोल्टीको लागि बिशेष बुट्टाहरू राखेर मेहनतका साथ भाङ्ग्रा बनाएर उपहारमा दिने गर्दथे । भाङ्ग्रामा लामो धागो प्रयोग गरेर धागो जतिकै लामो आयु रहोस भन्ने कामना गरिन्थ्यो । निरोगी रहोस भनेर भाङ्ग्रा ओढाइदिइन्थ्यो । तर अचेल कसले बनाउने भाङ्ग्रा । तैयारी भाङ्ग्रा किनेर ल्यायो लगायो ।
त्यस्तै सोल्टीनीहरूलाई पनि मजेत्रो उपहार दिइन्थ्यो । जसमा भावनात्मक सम्बन्ध गाँसिएको हुन्थ्यो । त्यसैले मजेत्रोलाई सधैँ शिरमा राखेर माया तथा प्रेम पनि शिरमा नै रहेको जनाइन्थ्यो । तर अचेल तमू महिलाहरूको पोशाक भने अन्य जातीले पनि माया र सद्भावका साथ लगाउने गरेको देखिन्छ । यसर्थ आफ्नो संस्कार र संस्कृती जोगाउन तमूका नयाँ युवायुवतीहरू पनि उतिकै अगाडि रहने आशा राख्न सकिन्छ ।
स्मरणीय : सुनिल उलकद्वारा लिखित विभिन्न जानकारीमूलक र इतिहाससम्बद्ध विषय akabarey.comले प्रकाशित गर्दै आएको छ l यो सामग्री र फोटो पनि उलकको फेसबुक वालबाट साभार गरिएको छ l सम्पादक
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...
यस संस्थाले राष्ट्रगुरु योगी नरहरिनाथको योगदानलाई जीवन्त राख्ने प्रमुख उदेश्य राखेको छ ।