दलित महिलाले स्तन काटेर प्रतिरोध गरेको साहसिक तर दुखान्त कथा

जातीय विभेदको ३५ सय वर्ष लामो नारकीय इतिहासमा जातीय विभेद हटाउन विभिन्न कालखण्डमा विभिन्न योद्धाहरूले विद्रोह पनि गरे । राज्यसत्ता तथा शासकहरूले उनीहरूको आवाजलाई सधैँ दबाए । पैतालामुनि राख्ने प्रयास गरे तर एकाधको विद्रोहीका अगाडि भने उनीहरूको पनि केही लागेन । त्यस्तै एकाध इतिहासको समय चक्रलाई नै स्तब्ध बनाउने विद्रोह थियो भारतको केरला राज्यको दुर्गम गाउँ छेरथलाकी दलित समुदायकी महिला नांगेलीको जसको कारण शासकहरू पनि ती विद्रोहीसामु घुँडा टेक्न बाध्य भए ।
राज्यासत्तसामु हार नमानेका विद्रोहीमध्येकी एक हुन्, नांगेली । इतिहास बहुसंख्यकहरूको मात्र लेखिने भएकाले अझ भनौँ इतिहास पीडकहरूको मात्र लेखिने भएकाले नांगेलीको वीरताको कथा इतिहासमा कहीँकतै उल्लेख छैन । दलितको शरीरसँगै विचार र विद्रोहमाथि पनि बन्देज गरिने भएकाले उनको वीरताबारे धेरैलाई थाहा छैन । थाहा हुनेहरूले अरूलाई थाहा दिएनन्, थाहा पाउन दिएनन् । त्यसैले, उनको विद्रोहको गीत कसैले गाएन । उनको योगदानलाई इतिहासको गर्तमा दबाइयो ।
नांगेलीको विद्रोहको कथा जान्न आजभन्दा करिव २२० वर्षअघि पुग्नु पर्छ , भारतको आजको केरेला राज्यको एक अति नै दुर्गम गाउँ ‘छेरथला’ मा, जहाँ उनले विद्रोह गरेकी थिइन् । दलित महिलामाथि गरिने एक निर्मम विभेदबारे उनको विद्रोह थियो l
कुनै समय दलित महिलाले भोगेको यो विभेदबारे सुन्दा विश्वास नलाग्न पनि सक्छ, सुनिसकेपछि आम मान्छेको र विशेषगरी दलित समुदायका मानिसहरूको नशानशामा विद्रोहको ज्वाला सञ्चार पनि हुन सक्छ ।
‘मुलाक्रम’ दलित महिलाले आफ्नो स्तन छोपे वापत तिर्नुपर्ने करको नाम हो । भारतमा, आजको केरेला राज्य भएको क्षेत्रमा त्यो बेला यस्तो कानुन थियो र, यो कानुन सयौँवर्षदेखि चल्दै आएको थियो ।
कथित तल्लो जातका महिलाले आफ्नो स्तन छोप्न पाउँदैनथे । कसैले छोप्यो भने त्यसलाई गैरकानुनी मानिन्थ्यो र सजाय स्वरुप स्तनको आकार र तौल अनुसार कर तिर्नुपथ्र्यो । यो कानुन दलित महिलाका लागि कथित ठूलो जातका गाउँ पञ्च तथा राजाहरूले बनाएका थिए । यो कानुन हिन्दुधर्मका ब्राह्मणहरूले बनाएका थिए ।
दलित महिलाहरूसँग बिहान–बेलुकाको छाक टार्ने पनि पैसा हुँदैन्थ्यो । स्तनको कर तिर्ने पैसा त धेरै परको कुरा थियो उनीहरू आर्थिक अवस्थालाई हेरेर नै यस्तो कानुन बनाइएको थियो । त्यसैले दलित महिलाहरू आफ्नो स्तन देखाएरै हिँड्न अभिशप्त थिए । यो नियमलाई सबैले आफ्नो नियति सम्झेर पालना गरिरहेका हुन्थे l
तर, त्यही गाउँमा बस्ने नांगेलीलाई स्तन खोलेरै हिँड्नु परेकोमा असह्य पीडाबोध हुन्थ्यो । खपिनसक्नु लज्जाबोध हुन्थ्यो आफ्नो स्तनलाई कसैल क्वारक्वार्ती हेरेर र्याल काढिरहेको देख्दा उनलाई मरेतुल्य हुन्थ्यो । त्यसैले उनमा उनमा विद्रोहको भावना उत्पन्न गर्यो l दलित महिला बाहेक अन्यलाई स्तन छोप्ने अधिकार थियो जहाँ मल्लो जातका महिलाहरू बकाइदा स्तन ढाकेर हिंडदथे भने दलित महिलाको हकमा स्तन छोप्ने हो भने कर तिर्नुपर्ने बाध्यता थियो l
एकदिन नांगेलीले आफू अल्पमतमा भए पनि राज्यमा प्रचलित कानुनविपरीत जानेबारे सोचिन् । उनले आफ्नो स्तन नदेखाउने र कसैले किन देखाइनस् भनेर सोध्यो भने विद्रोह गर्ने दृढ मनसाय बनाइन् । उनले आफ्नो अठोट सुरुमा आफ्नी सहेलीलाई सुनाइन् ।
तर, उनकी सहेली उनीसँग सहमत हुँदिनन् । ‘नांगेली तिमीलाई राम्रोसँग थाहा छ, हामीले आवाज उठाए पनि केही हुनेवाला छैन । यिनीहरूले हाम्रो आवाज वर्षौँदेखि दबाउँदै आइरहेका छन् । हामीसँग यसलाई चुपचाप सहनुको विकल्प छैन ।’ सहेलीले भनिन् ।
‘यदि मल्लो जातका महिलाहरूलाई आफ्नो छाती छोप्ने अधिकार छ भने हामीलाई किन छैन ? उनीहरूले आफ्नो छाती छोपेवापत मुलाक्रम तिर्नु पर्दैन भने हामीले मात्रै किन तिर्नुपर्ने? के हामी उनीहरू जस्तै नारी होइनौँ ? उनीहरू जस्तै मान्छे होइनौँ ? हामी पनि मान्छे हौँ । हामीलाई पनि उनीहरू सरह जीउने अधिकार छ ।’ अरूलाई जस्तै लाज र सरम हामीलाई पनि हुन्छ l’
‘जीवन जीउने दुई तरिका हुन्छन् । एक, जे भइरहेको छ त्यही त्यो हुन देऊ, त्यसलाई चुपचाप सहन गर । दोस्रो, जे भइरहेको छ त्यसलाई बदल्ने जिम्मेवारी उठाऊ, त्यसका लागि विद्रोह गर, प्रतिवादको थालनी गर । म दोस्रो तरिकाले जीवन जीउन चाहन्छु ।’
नांगेलीले आफ्नो योजना राति श्रीमान समक्ष पनि राखिन्।
‘उनीहरू मलाई जस्तो नजरले हेर्छन्, त्यो देख्दा मलाई आफैँसँग घृणा लाग्छ । मलाई उनीहरू हरेक दिन आफ्ना आँखाले बलात्कार गरिरहेका छन् ।’ उनका श्रीमान सुरुमा त केही हच्किन्छन्, तर नांगेलीको आँखामा विद्रोहको यति भयंकर ज्वाला देख्छन् कि त्यसकासामु उनी परास्त हुन्छन् । त्यसपछि उनीसँग नांगेलीलाई साथ दिनुको विकल्प रहँदैन । नांगेलीका श्रीमान् भन्छन् :
‘तिमीले लड्न अठोट गरेको लडाइँ एकदमै कठिन छ, तर असम्भव छैन। नांगेली, तिमी आवाज उठाऊ । बिस्तारै तिम्रो आवाजमा अरूले पनि आवाज मिलाउनेछन् ।’
पतिको साथ पाएपछि उनको मनोबल ह्वात्तै चुलिन्छ । त्यसको अर्को दिन बिहान उनी स्तन नछोपिकनै आफ्नी सहेलीसँग दाउरा खोज्न निस्किन्छिन् । दाउरा खोजेर घर फर्किँदै गर्दा सेतो बस्त्र धारण गरेका दुई जना ब्राह्मणले उनीहरूको बाटो छेक्छन् र एउटाले नांगेलीलाई सोध्छ, ‘तँलाई थाहा छैन नीच जातको महिलाले स्तन छोप्नु गैरकानुनी हो भनेर ?’ उसले नांगेलीलाई हप्काएर स्तन देखाएरै हिँड्न निर्देशन दिन्छ ।
नांगेली आफ्नो अठोटबाट किञ्चित पनि पछि हट्दिनन् । उनले कपडा लगाउन पाउनु आफ्नो अधिकार हो भन्दै मान्छेसँग प्रतिवाद गर्छिन् । तर, त्यो मान्छेले उसको कुरा सुन्दैन, उनलाई हातपात गर्न खोज्छ । नांगेलीले त्यसको प्रतिकार गर्छिन् । प्रतिकार स्वरुप उनले उसको अनुहारमा थुकिदिन्छिन् र आफ्नो बाटो लाग्छिन् ।
आफ्नो अनुहारमा एउटी नीच जातकी महिला (कथित नीच) ले थुक्दा उसलाई अपमानबोध हुन्छ, उसको अहम् मा चोट पुग्छ । उसलाई रिसले सहिनसक्नु हुन्छ र गाउँको मुखियालाई लिएर त्यही रात नांगेलीको घरमा पुग्छ ।
मुखियाले स्तन छोप्नु गैरकानुनी भएको भन्दै आइन्दा यस्तो नगर्न र गरेको भेटिए मुलाक्रम तिर्नुपर्ने भनेर आफ्नो फैसला सुनाउँछ । नांगेलीलाई मुखियाको निर्णय स्वीकारयोग्य हुँदैन । उनले विद्रोह गर्ने अठोट गर्दा नै स्तन पनि छोप्ने र कर पनि नतिर्ने सोच बनाएकी हुन्छिन् । तर, आफू अल्पसंख्यक भएकाले उनीसँग कर तिर्नुको विकल्प हुँदैन ।
उनी मन नहुँदानहुँदै पनि मुखियासँग एक महिनापछि मुलाक्रम तिर्न सहमत हुन्छिन् । उनले त्यसपछि स्तन छोप्न थाल्छिन्, महिनैपच्छिे कर तिर्ने सहमतिमा । सहमतिको एक महिना बित्छ ।
महिना मरेको अर्को दिन, एकाबिहानै मुखिया कर उठाउन नांगेलीको घरमा आइपुग्छ । त्यसबखत नांगेलीका श्रीमान घरमा हुँदैनन्, घरमा उनी एक्लै हुन्छिन् । मुखियाले करको रकम तय गर्न मुखबाट र्याल काढ्दै उनको स्तन छुन्छ र कर निर्धारण गर्छ ।
त्यसपछि मुखियालाई एकैछिन कुर्न भन्दै नांगेली घरभित्र पस्छिन् । उनले अघिनै देखि आगोमा तताइराखेको हसियाँ हातमा लिन्छिन् र ज्वालाझैँ तातो हसियाँले आफ्ना दुवै स्तन काटेर एउटा पातमा राख्छिन् । अनि बाहिर आएर त्यो पात मुखियातर्फ पसार्दै पीडा मिश्रित आवाजमा भन्छिन् : ‘ल लिनुस् मेरो दुवै स्तन । स्तनै नरहेपछि अब मैले कर तिनु पर्दैन होला नि ?’
छातीबाट रगतको धारो बगाउँदै आलो घाउ लिएर निस्किएकी नांगेलीलाई देखेर मुखिया र ब्राह्मण डराउँदै भाग्छन् । यता नांगेली भने स्तन काटिएको पीडा सहन नसकेर र अत्याधिक रक्तश्रावको कारण प्राण त्याग गर्छिन् ।
काम सकेर बेलुका घर फर्किँदा नांगेलीलाई रगताम्मे भएर ढलेको देख्दा उनका श्रीमान् को होस् हवास् उड्छ । नांगेलीले यस्तो गर्लिन् भनेर उनले कल्पानासमेत गरेका हुँदैनन् । उनी त जसरी हुन्छ करका लागि पैसा कमाउन लागिपरेका हुन्छन् । किनकि एक महिना अघि नै कर वापत पैसा तिर्ने सहमति गरिएको थियो l अचानक पत्नीको यस्तो अवस्था देखेर
उनी पत्नी शोकले विक्षिप्त हुन्छन् । नांगेलीसँग आफूले गरेको बाचा उनको आँखै अगाडि झल्झली आउँछ । श्रीमतीका अठोटहरू र त्यसमा आफूले साथ दिन्छु भनरे गरेका वाचाहरू सम्झेर उनी झन्झन् दुखी हुँदै जान्छन् ।
उनले छरछिमेकसँग मिलेर नांगेलीको शवलाई घाटमा लैजान्छन् । नांगेलीको शवमा दागबत्ती दिन्छन् । नांगेलीलाई आँखै अगाडि जलेको देख्दा उनलाई सहनै नसक्ने पीडा हुन्छ,सँगै बिताएका सम्झनाहरू तछाडमछाड गर्दै आउन थाल्छन् । सबैभन्दा धेरै नांगेलीलाई साथ दिन्छु भनी गरेको बाचा याद आउँछ ।
उनमा अब बाँच्नुको कुनै अर्थ छैन भन्ने वैराग पलाउँछ । उनलाई बाँच्नै मन लाग्दैन । उनी आफूलाई त्यही आगोमा होम्छन् । नांगेलीले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता स्वरुप उनले पनि आफ्नो ज्यानको आहुति दिन्छन् ।
भनिन्छ, आफ्नी श्रीमतीको मृत्युमा सती जाने उनी पहिला पुरुष हुन् रे ।
नांगेली र उनका श्रीमानले सल्काएको विद्रोहको त्यो आगो बिस्तारै डढेलो बन्यो र सबैतिर फैलिँदै गयो । आन्दोलनले सम्पूर्ण दलित समुदायको साथ पाउँदै गयो । मुलाक्रमलाई लिएर सम्पूर्ण दलित समूदाय जागेर श्रृंखलाबद्ध रूपमै आन्दोलन गर्न थालेपछि केरेला प्रदेशका राजालाई ठूलै दबाब पर्यो र अन्ततः सन् १८५९ मा यो नियम खारेज गरियो ।
यसरी अन्याय र असमानताविरुद्ध ज्यानको बाजि लगाएकी नांगेलीको कारुणिक यथार्थ आधुनिक इतिहासमा भने गुमनाम छ । धेरै दलित योद्धाको जस्तै उनको नाम पनि इतिहासमा अटाएको छैन । नांगेलीहरूलाई कथित उपल्लो जातका शासक तथा मानिसहरूले इतिहासको गर्तमा दबाएका छन् ।
आफ्नो प्राणकै आहुति दिएर आफ्नो अधिकारका लागि उनले जुटाएको सहास आफैँमा उदाहरणीय छ ।
यसका लागि योद्धा नांगेलीलाई सलाम ! स्त्री जातिको लाजको रक्षाको लागि र दलित समुदायमाथिको अत्याचार अन्त्यको लागि नांगेलीले उठाएको कदम इतिहासले उच्च मूल्याङ्कन गर्ने वीरता र साहसको कथा हो l हर विद्रोही र मुक्तिकामीको लागि उनको विद्रोहको कथा विशेष र उल्लेखनीय हुन्छ l जसले सङ्घर्षको लागि प्रेरणा प्रदान गर्दछ l
स्मरणीय : यो इतिहास भारतको भएको हुँदा यहाँ सम्बद्ध सामग्री भारतीय मिडियाहरू र नेपाली मिडियामामा प्रकाशित सामग्रीको आधारमा तयार गरिएको हो l - सम्पादक
इजलासले जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ । जातीय कारण घटना भएको हो भन्ने कुरालाई इन्...
दलित समुदायको उत्थान, समानता र सामाजिक न्यायका लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त...
दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।