धामीझाँक्री परम्परा विश्वास कि विज्ञान ?- डा. भक्त राई

आम मान्छेले के सोच्दछन् भने धामीझाँक्री परम्परा भनेको सिर्फ अन्धविश्वास हो र यो प्रथा केवल नेपालमा मात्र छ । विकसित र शक्तिशाली देशमा यसको प्रचलन छैन । नेपालमा पनि धामीझाँक्री परम्परा केवल आदिवासी जनजातिहरूमा मात्र छ भन्ने भ्रम पाइन्छ । तर यो अत्यन्त ठुलो भ्रम र अज्ञानता हो ।
धामीझाँक्री परम्परा विश्वभर पाइन्छन् । कतिपय विकसित राष्ट्रमा त झाँक्री पार्क, बोक्सीपार्क र यी बारे अनुसन्धान केन्द्र, उपचार केन्द्रहरूसमेत निर्माण गरिएका पाइन्छ । नेपालमा पनि सबै जातिमा, सबै क्षेत्रमा धामीझाँक्री र तन्त्रमन्त्र परम्परा पाइन्छ । यसरी नेपालका सबै क्षेत्र र जातिमा धामीझाँक्री परम्परा पाइए तापनि उनीहरूको नाम भने आआफ्नो जाति अनुसार फरकफरक हुने गर्दछ ।
क्षेत्रीहरूको धामीलाई मस्टो धामी वा मष्टा धामी भनिन्छ । अरू बेला खासै आवश्यक नभए पनि हरेक वर्ष गरिने मष्टोपुजन, देवालीपुजन वा कुलायन पूजामा भने अनिवार्य रूपमा मष्टोधामी हुनै पर्दछ । यसरी हेर्दा के देखिन्छ भने धामी नभएमा खस क्षेत्रीको संस्कृति जीवित रहनै सक्दैन ।
बाहुनको पनि कुलधामी वा देवालीधामी अनिवार्य हुन्छ । कुलधामी वा देवाली धामीले नै बाहुन जातिको हरेक साल कुलकुलायन पूजाअनुष्ठान गर्ने गर्दछन् । यसरी नै मगरले झाँक्री भन्ने गर्दछन् भने दुरा, दरैले गुरौ, थारुले गुर्वा, धिमालले ओझा भन्दछन् । तामाङले ताम्बा, लिम्बूले यवा, शाम्बा, फेदाङ्बा भन्दछन् भने राईले माङ्पा, नाक्छोङ, दोबा, कुबी आदि भन्दछन् । यसरी नै सन्थालले गुडित भन्दछन् भने रोङ/ लाप्चाले बुङ्थिङ भन्दछन् । राजवंशीले गुरुवा भन्दछन् भने जिरेलले फम्बो भन्दछन । यसरी हेर्दा के देखिन्छ भने नेपालका सबै जातिमा धामीझाँक्री परम्परा पाइन्छ ।
यसरी विश्वभरी धामीझाँक्री परम्परा पाइए तापनि विश्वभर नै धामीझाँक्रीबारे अन्योल र आशङकाहरू पाइन्छन् । धामीझाँक्री के हो ?, यसको प्रारम्भ कसरी र किन भयो ?, यसको वास्तविकता के हो ?, यो अन्धविश्वास हो कि यथार्थ हो ?, यो ज्ञान हो कि विज्ञान हो ?, यो मिथ्या हो कि सत्य हो भन्ने प्रश्न र जिज्ञासा विश्वभर पाइन्छ । वर्तमान समय वैज्ञानिक युगमा प्रवेश गरिसक्दा समेत धामीझाँक्री र यसका रहस्य अनि वास्तविकताबारे विश्वभर अज्ञानता छ ।
धामीझाँक्रीबारे विश्वभर विभिन्न व्यक्ति, संस्था वा निकायले विभिन्न समयमा विभिन्न प्रकारको खोज, अनुसन्धान गरेका छन् , गरिरहेका छन् । नेपालमा पनि कैयौं स्वदेशी तथा विदेशीहरूले धामीझाँक्री सम्बन्धमा विभिन्न खोज, अन्वेषण गरेका छन् । तर ती विभिन्न खोज, अन्वेषणहरूले पनि न त धामीझाँक्री परम्परालाई मनोरोग, वंशानुरोग, अन्धविश्वास, ढोँग वा मिथ्या हो भन्न सकेका छन् न त यसको वास्तविकतालाई वैज्ञानिक ढङ्गले खोज अन्वेषण गरेर प्रष्टसङग खोल्न, बोल्न र नियाल्न सकेका छन् ।कोही कोही आधुनिक मानव हुँ, वैज्ञानिक र विद्धत हुँ भन्नेहरूले धामीझाँक्री परम्परालाई अन्धविश्वास, अवैज्ञानिक र अन्धपरम्परा, ढोंग आदि भन्ने गरेको समेत पाइन्छ तर यो उनीहरूको भ्रम र अज्ञानता हो । संसारमा प्रत्यक्ष रूपमा देखेको, भोगेको, साक्षत गरेको कुरा मात्र सत्य हुँदैन । हावा देखिदैन, मन, भावना, आत्म, चेतना, चिन्तन, चैतन्य, देखिदैन तर यो सत्य हो । "सपना" विपनामा वा चेतन अवस्थामा देखिदैन तर त्यो वास्तविकता हो । खुसी, उल्लास, उमङ्ग, आनन्द, परमानन्द, सन्तुष्टि, संवेग, जोस, जाँगर आदि भाव देखिदैन तर त्यो सत्य हो । पिर, व्यथा, छट्पटी, आर्तनाद, पीडा, वेदना, तनाव, चिन्ता, भय, त्रास आदि भाव पनि देखिदैन तर यो पनि सत्य हो । त्यसैले तन्त्रमन्त्र र धामीझाँक्री परम्परा पनि अन्धविश्वास, ढोँग, ठगिधन्दा वा अन्धपरम्परा होइन ।
धामीझाँक्री परम्परा हजारौं वर्षदेखि निरन्तर रूपमा चल्दै आएको प्राचीन संस्कृति हो । यसमा सत्यता नहुँदो हो त हजारौं वर्षदेखि हजारौं पुस्ताले यसलाई निरन्तरता दिने थिएन । असत्य, अवास्तविक र भ्रमलाई यसरी हजारौं वर्षसम्म निरन्तरता प्रदान गर्न वा संरक्षण गर्न सम्भव हुदैन । फेरि धामीझाँक्री रहरले, लहडले र बाध्यताले हुने पनि होइन । त्यसो भए धामीझाँक्री परम्परा हो चाहिँ के त ? भन्ने सवाल उठ्न सक्छ । छोटकरीमा भन्ने हो भने धामीझाँक्री परम्परा वास्तवमा आनुवंशिक ज्ञान हो । यो वंशानुगत रूपमा हस्तान्तरण हुँदै आएका हुन्छन् । त्यसैले कुनै पनि व्यक्ति धामीझाँक्री छ भने उसको कुनै न कुनै अघिल्लो पुस्ता पुर्खा धामीझाँक्री भएकै हुन्छ । यसरी नै कुनै पनि धामीझाँक्रीको ज्ञान वंशानुगत रूपमा पछिल्लो पुस्तामा अनिवार्य रूपमा सरेकै हुन्छ । यो वास्तविकता सयौं वर्षदेखि देखिदै, भोगिदै आएको यथार्थ हो ।
धामीझाँक्री परम्परा आनुवंशिक ज्ञान हो त्यसैले धामीझाँक्रीहरूले हजारौं वर्ष पहिलेको घटनाको बारेमा बताउने गर्दछन् । कतिपय मष्टोधामीले हजारौं वर्ष अघिको घटनाबारे बताउने गरेको र उक्त स्थानमा खोजी गर्दा धामीको विवरण अनुसारको सामग्री प्राप्त गरेको कयौं घटनाहरू पाइन्छन् । यता पूर्वका किराती माङ्पा, नाक्छोङ, यवा, शाम्बा, थेवा, फेदाङ्पाले पनि हजारौं वर्ष अघिको वास्तविक ऐतिहासिक विवरणहरुको कैरन ल्याउने गरेको देखिन्छ । आनुवंशिक तान्त्रिक धामीझाँक्रीहरूले मृतकका आत्मासङ्ग साक्षतकार समेत गर्न सक्दछन् । झट्ट सुन्दा अनौठो र अपत्यारिलो लागे पनि यो वास्तविक हो । यसको वैज्ञानिक पुष्टि हुने नै छ ।
तत्कालीन समयको पुर्खाहरूको ज्ञान नै वंशानुगत रूपमा हस्तान्तरण हुँदै आएका हुनाले धामीझाँक्रीहरूको कैरन सत्यतामा आधारित हुन्छन् । जसरी मानिसमा आनुवंशिक रोग हुने गर्दछ त्यसरी नै तान्त्रिक परम्परा पनि आनुवंशिक गुण हो, ज्ञान हो । डाइबिटिज, रक्तचाप, दम, खोकी, क्षयरोग, छालामा चाउरी पर्ने, चिलाउने, केस झर्ने, कुप्रो पर्ने आदि रोगहरूदेखि भकभकाउने, छिटोछिटो बोल्ने, छिटो रिसाउने, छिटो खाने, ढिलो खाने, झगडा गर्ने, चकचक गर्ने, जस्तो पुर्खा त्यस्तै सन्तान हुने आदि जन्मजात स्वभाव समेत वंशानुगत हुने गर्दछ । धामीझाँक्रीहरूले प्रयोग गर्ने तन्त्रमन्त्र आफैमा विज्ञान हो । त्यसैले तन्त्रमन्त्रलाई तन्त्रविज्ञान, मन्त्रविज्ञान भनिन्छ ।
तन्त्रविज्ञान तनसङ्ग अर्थात् शरीरसङ्ग सम्बन्धित विज्ञान हो भने मन्त्रविज्ञान मनसङ्ग सम्बन्धित विज्ञान हो । तन्त्रमन्त्रलाई जादु, टुनामुना, मोहनी र झारफुकको रूपमा मात्र हेरिनु ठुलो भ्रम हो । धामीझाँक्रीहरू विभिन्न प्रकारका हुन्छन् । जसरी आधुनिक शिक्षा पद्धतिमा साहित्य , संस्कृति, भाषाविज्ञान, दर्शनशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, इतिहास, भूगोल आदि अलगलग विषय र सोही अनुसारका विज्ञ हुन्छन् ठिक त्यसरी नै धामीझाँक्रीहरुको पनि आआफ्नो विधा र सोही अनुसारको तान्त्रिक ज्ञान हुन्छन् ।
हुन त धामीझाँक्रीको नाममा अनेकौं ठगीधन्दाहरू पनि हुने गरेको देखिन्छ । धामीझाँक्री परम्पराकै बदनाम हुनेगरी यस्ता नक्कली धामीझाँक्रीहरुको बिगबिगीलाई रोक्न र छेक्न अवश्यक छ ।
धामीझाँक्री र तन्त्रमन्त्र वृहत् एवम् विराट विषय हो । यो छोटो वैचारिक लेखमा त के वृहत्तर ग्रन्थमा समेत धामीझाँक्री र तन्त्रमन्त्रबारे अटाउन गारो छ । यस बारेको मेरो अनुसन्धात्मक ग्रन्थ आउने नै छ । यसबारेको गहन अध्ययन आवश्यक छ, किनभने धामीझाँक्री परम्परा नेपाली संस्कृतिको जरा हो, आधार र प्राण हो । धामीझाँक्री परम्परा झिकिदिने हो भने नेपाली संस्कृति शून्य हुन्छ ।
आधुनिकताको नाममा, बाहनामा धामीझाँक्री परम्परा हरायो भने मुन्दुम/ मुन्धुम हराउँछ, वेद हराउँछ, मष्टो र देवाली हराउँछ अनि बज्रयान र महायान हराउँछ । प्रकृतिपूजा र कुलपूजा हराउँछ, पित्रीपूजा र समग्र धर्म हराउँछ । वास्तवमा भन्ने हो भने सम्पूर्ण नेपाली संस्कृति धामीझाँक्री र तन्त्रमन्त्र परम्पराकै जगमा उभिएको छ ।
हामीले विश्वभरका धामीझाँक्रीहरूको अध्ययन अनुसन्धान गर्ने र नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले झापामा जन्म भई हाल इटालीको रोममा बसोबास गर्नुहुने नेपालको एक मात्र अन्तर्राष्ट्रिय धामीझाँक्री अध्येता तथा पर्यटनविद् भोला वास्तोलाज्यूको पहल र अगुवाइमा १२५ राष्ट्रको धामीझाँक्री नेपालमा ल्याएर मेरै संस्था "नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र" को आयोजनामा "हिमाली अन्तर्राष्ट्रिय धामीझाँक्री सम्मेलन" गर्नका लागि लगभग तयारी समेत गरिसकेका थियौं । अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि ठमेल क्षेत्रका लगभग ४०/४५ वटा होटेलसङ्ग आवश्यक सम्झौता समेत गरिसकेका थियौं । तर दुर्भाग्य कोभिड महामारीको कारण उक्त धामीझाँक्री शिखर सम्मेलन स्थगित गर्न विवश भयौं ।
कोभिड महामारीको कारण हामीले नेपालमा विश्वस्तरीय अन्तर्राष्ट्रिय धामीझाँक्री सम्मेलन गर्न नसके पनि एक नम्बर प्रदेशमा भने अन्तर्राष्ट्रिय धामीझाँक्री अध्येता भोला वास्तोलाज्यूकै अगुवाइमा २०७६ सालतिर नेपाल ऋषि पूर्वउपकुलपति, विशिष्ट विद्वान् जगमान गुरुङज्यू, तन्त्र विधामा विधावारिधि गर्नुहुने विद्वान् डा.माधव लामिछानेज्यू र मलगायत भएर झापा विर्तामोडमा ३७० भन्दा बढी धामीझाँक्रीहरूको उपस्थितिमा नेपालमा प्रथम पटक राष्ट्रिय धामीझाँक्री सम्मेलन गर्न सफल भयौं । उक्त सम्मेलनमा भाग लिएका विभिन्न विधाका धामीझाँक्रीहरूको विचार, लेख, धामीझाँक्रीहरूको विधागत जानकारी, धामीझाँक्रीको शक्ति, स्वरुप, तन्त्रमन्त्र परिचय र धामीझाँक्री बारेका लेखहरूलाई समेटेर एउटा ग्रन्थ समेत प्रकाशित भएको छ । यस प्रकारको राष्ट्रिय धामीझाँक्री सम्मेलन सबै प्रदेशमा गर्ने भन्ने हाम्रो सोच र प्रयास जारी छ । हामी पुनः यस अभियानमा लाग्नेछौं ।
फोटो स्रोत : डाक्टर भक्त राई
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...