हे ईश्वर ! म पनि ऊ जस्तै र अरू जस्तै मान्छे हुँ - प्रतीक्षा नेपाली

हे ईश्वर ! न मैले हजुरको पूजा गर्ने फुर्सद पाए ? न मैले हजुरको दर्शन गर्न अवसर पाएँ ? हजुरको पूजा गर्दा लगाउनु पर्ने चोखा र सुकिला वस्त्र लगाएर मन्दिरभित्र प्रवेश गर्न र धुप बाल्न सके ? किनकि आफ्ना फाटेका वस्त्र सजाउने फुर्सद पनि मलाई हुन्नथ्यो l
म ठुलाबडाहरूका चोखा र नयाँ अनि फाटेका वस्त्रलाई सजाउनमा व्यस्त हुन्थे, सिलाउनमा तल्लीन रहन्थें l आफू भोकै नाङ्गै बसेर भए पनि मेरो काम नै अरूको लुगा सिउनु तुन्नु र बुन्नु हुन्थ्यो l आफ्नो लागि लुगा सिउने धुने र नयाँ किन्ने अवसर नै कहाँ मिल्थ्यो र ? आफ्नो छाक टार्न, साँझ बिहानको चुल्हो बाल्न तब न पाउँथे जब अरूको काम गर्न मेलापात जान पाउँथे ।
आरनमा घन, आगो र धुवाँ खरानीसँगै खेलेर भोक टार्नु पर्ने मैले हात मुख धुने र नुहाउने फुर्सद कहाँ पाउथे र ? अनि चोखा वस्त्र मेरो कसरी होस् ? मन्दिरको नाममा निर्माण गर्ने भवनदेखि, भवनलाई मन्दिर बनाउने मुर्ति,पाला ,त्रिशूल,घण्टी,कृषकका औजार, सुरक्षाका खन्जर बनाउदा,बनाउदा मेरा बिहान बेलुका गुज्रन्थे तब न चुलो बल्थ्यो । त्यसैले मेरा हात पाउ कहाँ नौनी घसेका जस्ता चिल्ला र सुकुमार हुन्थे र ? हुन्छन् र ? आरनले कालो बनाएको हात, कलको सियोले घोची घोची खस्रा बनाएका औला, गाईवस्तुका भकारो सोहोरेर, मल बोकेर, बारीका डल्ला फुटाएर पट पट फुटेका खालि खुट्टा,पसिना गन्हाएको शरीर कहाँ सफा र सुग्घर हुन्थ्यो र ?
ठुलाबडाहरूको गाईवस्तु हेर्ने भकारो सोहोर्ने, घाँसपात गर्ने, खेत बारी जोत्ने रोप्ने म, मलाई मेरा खेत बारी सिंगार्ने फुर्सद हुने थिएनन ? न खेतबारी नै थिए हाम्रा ? न आफै सिंगारिने फुर्सद मिल्थ्यो । त्यसैले म मैलो धैलो नै छु l मेरा वस्त्र सुकिलो हुने कुरै भएन l मेरा दिनभरिका पसिनासँगै थकानको मीठो निद्रामा पर्ने मसँग नुहाएर चोखो वस्त्र फेर्ने फुर्सदको समय र वस्त्र दुवै थिएनन् ।
उनीहरूले मेरा भागका बाली दिएर मलाई छाक टारीदिन्थे तसर्थ मेरा कर्मको फल दिने उनीहरूलाई मैले भगवान जस्तै मान्थे, किनकि मैले फेर्ने सास मैले खाने गाँस मैले बस्ने बास उनीहरूकै हातमा थियो । त्यसैले त मैले मेरा हातका सिप, कला,कौशल, पौरख, परिश्रम सम्पूर्ण रूपमा उनीहरूलाई नै सुम्पिएको थिएँ ।
मेरा सबै समर्पणले उनीहरूको लाज ढाक्थे, उनीहरूका मन्दिरका मूर्ति, दियो, घण्टी,गजुर त्रिशूल सबै बन्थे मन्दिर मूर्ति र देवता उनीहरूकै हुन्थे, हाम्रा श्रम, पसिना र मेहनतले भिजेको खेतबारीबाट अन्न प्रसस्त उब्जन्थे र उनीहरूका अन्नभण्डार भरिभराउ र टनाटन हुन्थे, तर हामी परिश्रम गर्नेका भाँडा रित्ता रहन्थे l मेरा योगदानले उनीहरू भरिभराउ बने, सुन्दर दर्जा पाए तर तिनै स्थानमा म पुग्न सकिन, किनकि मलाई शूद्र भनियो, अछुत मानियो l
मेरा कला कौशलले मन्दिर सजिए जुन मैले टाढाबाट हेरिरहेको थिए । मैले बनाएका चोखा वस्त्र पहिरिएर हवन गरिन्थ्यो, मैले बनाएका ध्वजा पताकाले यज्ञ मण्डप सजिंथ्यो, मैले गाईगोठ गरेका गाईको दूध मात्र हैन गोबर र मुत्र पनि अमृत मानियो चोखो र पवित्र ठानियो तर म मान्छे भने अपवित्र, अपसगुन र अमर्यादित बनिरहें l पशुको मलमुत्र चोखो भयो तर म मान्छे जहिल्यै बिटुलो र अछुत बनिरहें l गाईको पिसाब चल्यो तर मैले छोएको पानी चलेन l खन,जोत गरेर, रोपेर, गोडेर मल पानी गरेर उब्जाएका अन्नबाली भण्डारमा भित्र्याएपछि हवनमा पनि चल्ने तर त्यही हवन गरिएको फल प्रसाद र टीका मेरो लागि नचल्ने भयो l किनकि म उनीहरूको दृष्टिमा अछुत थिएँ l
पौरखी, परिश्रमी म उनिहरूको साइतमा बाटो काट्ने भुल गरे दण्डित हुन्थें । मेरा शब्द फुट्न गए दुई हात जोड्नु पर्ने मलाई प्यास लाग्दा भोक लाग्दा मैले बाहिरिएरै भोक तिर्खा मेट्नु पर्ने l के यस्तो प्रथा र व्यवस्था मानवोचित हो ? म आज प्रश्न गर्छु ? पशुको भन्दा तल मान्छेलाई राख्ने मान्छे अछुत हो कि आफ्ना दश नङ्ग्रा खियाएर तपाईहरूको भण्डार भरिदिने म अछुत ? सधैँ काम गरेर आधा पेट खाने म अछुत कि कहिल्यै परिश्रम नगरी हैकम र दलन गरेर खाने तपाई अछुत ? अछुत हुन्छ नै भने पनि मलाई यसको परिभाषा फेर्न मन छ ? काम गरेर भोकै बस्नु पर्ने अछुत कि काम लगाएर भोकै राख्ने या आधा पेट मात्रै खान दिने अछुत ? कहिल्यै परिश्रम नगर्ने अछुत कि सधैँ परिश्रम गरेर हाड घोटेर बाँच्नेहरू अछुत ? शोषित अछुत कि शोषक अछुत ? मानवता भएको मान्छे अछुत कि हृदयहीन मान्छे अछुत ?
थुप्रै दमन,अत्याचार,जलन,अपमान र पीडाको घाउ बोकेर अनेकानेंक तगारा नाघेर र पर्खाल भत्काएर मैले थोरै भए पनि पढन सकें l मैले आफ्नो ज्ञानको क्षेत्र अलिकति भए पनि बढाउन सकें l त्यसैले शिक्षाको ज्योति परेपछि म भित्र दिव्य उज्यालो आयो र जान्न थाले कि मैले दमन सहेर दलित बनाइएको रहेछु l म माथि र मेरा पूर्खा माथि हजारौ वर्षदेखि दमनको जाँतो घुमेको रहेछ त्यसैले म अछुत बनाइएको रहेछु l
मान्छे आफ्नो कर्मको आधारमा सानो ठुलो हुन्छ l मान्छेको काम असल र खराव हुन्छ तर कुनै कुलको जन्म विशेष हुने, कुनै कुलको जन्म खराब हुनै सक्दैन l यो सरासर अन्याय हो l न्याय अन्याय छुट्याउन पनि शिक्षा र चेतनाको खाँचो पर्दोरहेछ l यही शिक्षा र चेतनाबाट वन्चित गर्न नै शिक्षामा भुइँ मान्छेको पहुँचलाई निषेध गरिएको रहेछ l मलाई बल्ल थाहा भयो म दमनमा रहेछु त्यसैले म आज दमनको विरोधमा छु l अछुत भनेर गरिने जातीय भेदभावको विरोधमा छु l महिला भनेर गरिने दुर्व्यवहारको विपक्षमा छु l म केवल मानवता र मर्यादाको पक्षमा छु l
म मन्दिरको ढोकासम्म सधैँ पुगे तर भित्र छिर्न पाइन l अब आज म सोध्दै छु मलाई भित्र छिर्न नदिने को हो ? के भगवान पनि पक्षपाती हुन्छन् र ? पक्कै भगवान पक्षपाती र हृदयहीन हुँदैनन् l हृदयहीन ती मान्छेहरू हुन् जसले मन्दिरको ढोका बन्द गरे l जानेर लगाएका नजानेर लगाइएका मन्दिरका ढोकाहरू, मानवताका बन्द झ्याल ढोका अब खोल्नु जरुरी छ l मान्छेको मूल्य बुझ्न आवश्यक छ l मन्दिर सबैको साझा सम्पति हो l साझा आस्था र विश्वास हो l ईश्वर र मन्दिरलाई एकाधिकार बनाएर राख्ने परिपाटी अहिल्यै र हाम्रै पालामा अन्त्य हुनुपर्छ l म पनि कर्मले,जन्मले र मानवताले तिमी जस्तै मान्छे हुँ l हामीबीच भिन्नताको बार लगाउनु किन ?
म संस्कारमा सधैं पहिला नै छु किनकि मैले सधैं मानवताको हितका कार्य नै गर्दै आएको छु l परिश्रम नै मेरो धर्म र कर्तव्य भएको छ l मेरा भित्री ज्ञानलाई दरिद्रताले बन्द गराईको थियो । मेरा लागि मेरो भोक मेटाउनु मात्र जीवन हो भन्ने पाठ पढाइएको थियो तर त्यो ज्ञान होइन, त्यो भ्रम रहेछ l गलत ज्ञान रहेछ l गलत ज्ञान पस्केर दमन गर्नेहरू पापी हुन् l भ्रमको पर्दा भित्र हालेर आजसम्म ज्यादती गरिएको रहेछ l मेरा लागि ईश्वर उनै थिए । भन्थे ईश्वर र दरिद्रताको मेल हुदैन । तर यो छल नबुझेको मैले शिक्षाको कमी र गलत ज्ञानको कारण रहेछ भन्ने छर्लङ्ग बुझ्ने मौका पाए । त्यसैले अब पनि अछुत भएर दलन र अपमान सहेर बस्न सक्दिन ।
ईश्वर जस्तो पवित्र शब्दलाई आफ्नो खुशीमा प्रयोग गरेर मलाई तुच्छ पारी डर र त्रासमा हिंसा गरेर मेरा श्रमको बलि लिएकाहरूले फेरि अर्को मोडबाट अल्मलाएर मलाई शुद्र र पानी नचल्ने अचल अछुत भनी सम्बोधन गरेको म खप्न सक्दिन l हजारौ वर्षदेखि खपेको जलन र पीडा अब पनि खपेर बस्न सकिन्न l मलाई म अरू जस्तै मान्छे भएको बोध छ l अरू ठुला भनिएकाहरू जसरी यो धर्तीमा आए म पनि मेरो समुदाय पनि त्यसरी नै आएको हो ?
हामी पनि प्रकृतिसिद्ध मान्छे हौँ l यहाँ जात,धर्म, वर्ण, भूगोल र लिङ्गको आधारमा कोही तुच्छ र कोही नीच छैन र हुनु हुँदैन l विगतमा भोगेको हेलाहोचो.तिरस्कार, अपमान र बहिस्करण अब कहिल्यै कसैले भोग्नु नपरोस् l म तीतो विगत भुल्न चाहन्छु,हाम्रो समुदाय भुल्न चाहन्छ l समता, मानवता, मर्यादा र स्वतन्त्रता कसैको, कहिल्यै र कसैगरी कुण्ठित गर्न पाइन्न l
मैले जुन ज्ञान शिक्षाको माध्यमबाट पाएँ त्यो सबैले पाउनु पर्छ र आफूमाथि भएको अत्याचार बारे थाहा पाउनुपर्छ l अब अत्याचार सहेर बस्न सकिन्न l अत्याचार गर्न दिइन्न भन्ने ज्ञान शिक्षाको माध्यमबाट पाएको छु l त्यसैले म भन्छु शिक्षा ज्ञानको ज्योति हो l यसबाट वन्चित गर्ने र गराउनेहरू अपराधी र पापी हुन् l शिक्षाको हक सबैको लागि बराबरी हो l जान अन्जानमा भएका गल्ती र कमजोरीलाई भुलेर अब नयाँ समाज निर्माण गर्ने हाम्रो अठोट छ l
कसैले अत्याचार पनि नगरोस् l कसैलाई अत्याचारमा बस्नु पनि नपरोस् l मानवताभन्दा ठुलो धर्म अर्को छैन l मैले बनाएको ईश्वरमा मेरो पनि त्यत्तिकै हक छ जति अरूको छ l म आज यति भन्ने र जान्ने भएकी छु l हे ईश्वर ! म पनि ऊ जस्तै र अरू जस्तै मान्छे हुँ l
प्रतीक्षा नेपाली, पोखरा
हिन्दुहरूले जात प्रथालाई यसकारणले मान्छन् किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीह...
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...