राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ पुष १६ गते स्वदेश फिर्ता हुँदा बीपी कोइरालाद्वारा जारी व्यक्तव्य
२०३३ पुष १६ गते (सन १९७६ डिसेम्बर ३०) मा बीपीले स्वदेश फिर्ती हुँदा नेपाली कांग्रेस सभापतिको नाताले जारी गरेको वक्तव्य जस्ताको त्यस्तै :
आदरणीय दिदीबहिनी, दाजुभाइहरू,
लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदैछौँ । यस अवसरमा एक दुई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्छु । हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किंदै गएको कुरा सबैले महसुस गरेकै हो ।
यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन् । महाराजाधिराजलगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कंदैछौँ ।
हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् ।
राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।
कोरा नाराले मात्र हुने भए वितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्न भिन्न भएर यस सोचनीय स्थितिमा देशले पुग्नुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ ।
यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ ।
आज यसमा एउटा नयाँ आयम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने । हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौं ।
भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ती र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेको हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तीमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदन रहँदैन । त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ ।
त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यौं भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौं । र अधिनायकवादको पक्षधर हुन पुग्छौं । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशवासीमा पैदा गर्न सक्दैन ।
त्यसो हुनाले हामीले यो कुरा पनि बुझनुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ ।
तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् । नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ । २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन ।
त्यसपछि आम चुनावलाई सदाका लागि स्थागित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो । त्यस आन्दोलनमा धेरै अन्य दलहरूको सहयोग पनि हामीलाई प्राप्त भएको थियो ।
२०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा सङ्घर्ष गर्यो । आज देशका उपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं, जुन निर्णय नेपाली कांग्रेसको परम्पराको अनुरूप छ ।
प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।
हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रको अस्तित्व खतराकोसामु नगन्य भन्ठानेर नै यो एतिहासक निर्णय हामीले लिएका हौँ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।
यस राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।
मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु । यस वक्तव्यद्वारा म नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपील गर्न चाहन्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी सबै एकमत भएर लागौं ।
मैले अवसर पाएको खण्डमा महाराजधिराजका समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो ।
जय नेपाल
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'