प्रेमविवाहको विवादमा झडप हुँदा एकको मृत्यु, प्रहरीसहित २० घाइते
नयाँ पत्रिका दैनिकबाट -प्रेमविवाहलाई लिएर नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका– ३ बेलासपुरमा मंगलबार भएको झडपमा एकजनाको ज्यान गएको छ । झडपमा प्रहरीसहित २० जना घाइते भएका छन् । प्रहरीको बा.१झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको छ र केटी पक्षका पसल पनि जलाइएको छ ।
पाल्हीनन्दन कुस्माका धोबी थरका युवकले मुस्लिम समुदायकी युवतीलाई दुई महिनाअघि भगाएर विवाह गरेपछि पटक–पटक हुँदै आएको विवादले उग्र रूप लिँदा मंगलबार ज्यान लिनेसम्मको घटना भएको हो । मंगलबार बिहान केटा पक्ष केटीका बुबाको बेलासपुरस्थित घर पुगेपछि दुवै पक्षबिच भएको झडपमा ३५ वर्षीय विजय धवलको ज्यान गएको छ ।
प्रहरीको गाडी जलाइयो, पाँच राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा, पाँचजना पक्राउ
कुटपिटसँगै गाडीले किच्दा गम्भीर घाइते भएका धवललाई भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा ज्यान गएको हो । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताका अनुसार ज्यान गुमाउने धवल केटाका दाइ हुन् ।
झडपमा गम्भीर घाइते स्थानीय बैजनाथ लोहनिया र मोहरम सबरियाको सिटी अस्पतालमा र अन्यको पृथ्वीचन्द अस्पताल परासीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले बताए । लोहनिया केटा पक्षका र सबरिया केटी पक्षका हुन् ।
सोमबार मात्र केटी पक्षले ‘छोरी कहाँ बेपत्ता पारेको’ भन्दै केटाका भाइलाई निर्घात कुटपिट गरेका थिए । उनको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक थापाले फरक–फरक समुदायका केटाकेटीबिचको प्रेमसम्बन्धलाई लिएर दुई समूहबिच भएको विवादले घटना भएको बताए । घटनालाई सामान्य अवस्थामा लैजान दुवै पक्षका सरोकारवालासँग छलफल भएको र बुधबार पनि हुने उनले बताए ।
मंगलबार बिहान पौने १० बजेदेखि सुरु भएको झडपलाई दुई घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी निरीक्षक थापाले बताए ।
स्थानीय प्रशासनले १५० नेपाल प्रहरी र सयजना सशस्त्र प्रहरी गाउँमा परिचालन गरेको छ । आगजनीमा संलग्न रहेको आरोपमा पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार कुस्माका ती युवायुवतीले दुई महिनाअघि प्रेमविवाह गरेका थिए । तर, केटी पक्षले आफ्नी छोरीलाई घर लगेका थिए । त्यसपछि युवायुवतीले गाउँ छाडे ।
प्रहरी निरीक्षक नारायण थापाका अनुसार आफ्नी छोरी केटा पक्षले गायब पारेको भन्दै प्रहरीमा मौखिम उजुरी पनि दिएका थिए । वेलावेला दुवै पक्षबिच झगडा भइरहन्थ्यो ।
पाल्हीनन्दन– ३ का वडाध्यक्ष गोधनप्रसाद हरिजनका अनुसार केटी पक्षले डेढ महिनाअघि केटाका बुबालाई समेत कुटेका थिए । ‘सोमबार फेरि केटाका भाइलाई पनि कुटेछन् । त्यसपछि केटा पक्ष मंगलबार केटी पक्षको घर गएको थियो । त्यहाँ झगडा भएछ । ठूलै घटना भयो,’ वडाध्यक्ष हरिजनले बताए । केटी पक्षले छोरीको उमेर १७ वर्ष मात्र रहेको प्रहरीलाई बताएको छ ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...