स्वस्थानी व्रतकथा प्रारम्भ

काठमाडौं,२९पुस-हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट प्रारम्भ भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको कारण महिलाहरू स्वस्थानी व्रत बसेर आफ्नो मनोकांक्षा पूरा हुने अपेक्षा राख्दछन् l
आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको थालनी गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
स्वस्थानी कथा र शालीनदी
काठमाडौंको शालीनदीमा आजबाट स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला परम्परागत रूपमा लाग्दै आएको छ l स्वस्थानीको मेला अवधिभर शालीनदीमा दर्शनार्थीको घुइचो लाग्ने गरेको छ l श्री स्वस्थानी व्रत कथा हिन्दू धर्ममा आधारित एक पौराणिक ग्रन्थ हो । जुन महिनाभरि प्रत्येक दिन साँझपख परिवारका सबै सदस्यहरु बसेर श्री स्वस्थानी व्रत कथा सुन्ने गर्दछन् । श्री स्वस्थानी माताले आफनो सबै इच्छा पूरा गरी दिन्छिन् भन्ने विश्वासका साथ प्रत्येक दिन पाठ गरिन्छ ।
स्कन्दपुराणमा वर्णन गरिएको श्री स्वस्थानी व्रत कथा वास्तवमा भगवान शिव, पार्वती, विष्णुको सेरोफेरोमा रहेको कथा हो । हिमालय पुत्री पार्वतीले महादेव पति पाउन विष्णुले दिएको सल्लाह अनुसार एक महिनासम्म श्री स्वस्थानी माताको व्रत बसेको र त्यही व्रतको प्रभावले महादेवलाई पतिका रुपमा प्राप्त गरेको उल्लेख गरिएको छ । पछि पार्वतीले यस कथालाई यसरी दुःख पीर मर्कामा परेकाहरुको उद्दारका लागि गर्न लगाएको व्रतकथा हो । कथामा उल्लेख गरेका धेरैजसो ठाउँहरु जस्तै पशुपती क्षेत्र, श्लेषमान्तक बन, वाग्मती नदि, मृगस्थली, किरातेश्वर, गौरीघाट, गुÞयेश्वरी, विभिन्न शक्तिपीठ, महादेव मन्दिर, शालीनदी आदि सबै नेपालमा नै भएकाले यो महिनामा यी पवित्र ठाउँहरुमा भक्तजनहरुको घुँइचो लाग्छ । अगस्त्य मुनिले पृथ्वीको उत्पत्तिका साथसाथै घटेका विभिन्न घटनाक्रम बारे भगवान श्री महादेव पुत्र कुमारसँग राखेको जिज्ञासालाई कुमारले सविस्तार वर्णन गरेको पाइन्छ । त्यसैले शुरुमा ‘कुमारजी आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनि तिमी एक चित्त भई सुन’बाट कथा प्रारम्भ हुन्छ । जस अनुसार विष्णुले मधुकैटभ नामका दुई दानवहरुको वध गरी उनीहरु कै हाडखोडबाट ब्रÞमाले पृथ्वीको सृष्टि गरेको, दक्ष प्रजापति नाम गरेका राज्य पालकका पुत्री सतीदेवीसँग महादेवको विवाह भएको, दक्षले आयोजना गरेको यज्ञमा आफनो पतिलाई गरेको अपमान सहन नसकि सतीले यज्ञकुण्डमा नै हाम फाली प्राण त्याग गरेको, पछि महादेवका गणहरु आई दक्षको शिरच्छेदन गरेको, सतीको अंग पतनबाट पीठहरूमा शिव लिंगहरू उत्पन्न भएको । सतीदेवी हिमालय पर्वत तथा उनका पत्नी मेनकाको गर्भबाट पार्वतीको रुपमा पुनजन्म भएको । महादेव पार्वतीको विवाह भैसके पछि गणेश र कुमारको जन्म भएको । कुमारद्वारा तारकासुर नामक दैत्यको अन्त भएको । महादेव र जालन्धरको युद्व भएको । विष्णुले छल गरी जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म हरण गरेको, पतिव्रता वृन्दाको श्रापले विष्णु् भगवान तुलसी, कुश, पीपलको रुख र शालिग्राम हुनु परेको कथामा उल्लेख गरिएको छ । यस्तै गरी कथामा श्री स्वस्थानी माताको व्रतको प्रभावले वर्षौदेखि विछोडिएको नाग नागिनीको पुनर्मिलन भएको, श्री गणेशको कृपाले शिवभट् ब्राम्हण र सती ब्राम्हणीले छोरी प्राप्त गरेको कुरा छ l
आफूले मागेको कुरा नदिएको भनि भेष बदलेर आएका महादेवले गोमालाई श्राप दिएको । सो श्रापको कारण सत्तरी वर्षे शिव शर्मासँग सात वर्षकी गोमाको विवाह भएपछि गोमाले दुःख भोगेको, गोमाबाट छोरा नवराजको जन्म भएको । धन सम्पतिको लागि नवराज पनि परदेश लागेको र सप्तऋषिहरुले सिकाए अनुसार आफ्नो छोरा चाडै फर्कोस् भनी श्री स्वस्थानी माताको व्रत गरेको र यस्को प्रभावले नवराज परदेशबाट फर्केको तथा लावण्य देशको राजा भएको प्रसंग रहेको छ । नवराजकी पत्नी चन्द्रावतीको अहंकारले श्री स्वस्थानी माताको तिरस्कार गरेको कारणले शालीनदीमा अचेत भई वर्षौसम्म मुढा भई दुखः पाई बस्नु परेको प्रसंग पछि श्री स्वस्थानी माताको व्रतको प्रभावले पुनः आफ्नो रुपमा आएको कथा रहेको छ । श्री स्वस्थानी मातालाई कमलको फूल माथि चार हातमा चक्र, त्रिसुल, तरवार तथा कमलको फूल लिएको देखाइएको छ । जसलाई अष्ट मातृका महाकाली, वैष्णवी, ब्राम्ही माहेश्वरी, कौमेश्वरी, बराही, इन्द्रायणी, चामुण्डाद्वारा घेरिएको छ
स्वस्थानी कथाको प्राचीनता
स्वस्थानी व्रत कथा कति पुरानो हो भन्नेमा विद्वानहरूबीच मतैक्यता छैन । यसलाई सत्य कथामा आधारित पुस्तक हो भन्नेमा भने धेरै सहमत छन् । सुरुमा नेवारी भाषामा लेखिएकोमा नेपालीकरण गर्ने बेलामा यसलाई केही अतिरञ्जित पनि गरिएको छ भनेर यसको आलोचना गरिएको पनि पाइन्छ l यसमा समेटिएका अधिकांश कथा काठमाडौं उपत्यका र त्यसमा पनि साँखु क्षेत्रको कथासँग सम्बन्धित रहेको कुरामा धेरै सहमत देखिन्छन् ।
नेवारी समाजमा स्वस्थानी व्रतकथाका छुट्टाछुट्टै पाण्डुलिपिहरु भेटिएका छन् । यसमा गोमा, नवराजको मुख्य कथा छन् । यद्यपि अठारौं शताब्दीमा गोरखाबाट पाइएको अर्काे पाण्डुलिपिमा भने नवराजसँगै महादेव र पार्वतीको कथा पनि जोडिएको कुरा प्राचीन नेपालमा प्रमोद बस्नेतले लेखेको ‘कसरी शुरु भयो स्वस्थानीको कथा’ नामक अनुसन्धानमूलक लेखमा उल्लेख गरिएको छ । खोज कर्ताहरूका अनुसार करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारेको उल्लेख छ l
बस्नेतको अनुसन्धानमूलक लेखका अनुसार हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी भनेको नेपाल संवत् ६९३ (वि.सं. १६२९) को स्वस्थानपरमेश्वर्या व्रतकथा हो । जुन हस्तलिखित पुस्तक हो । यो संस्कृत भाषामा लेखिएको छ । त्यसको ३० वर्षपछि नेवारी भाषामा लेखिएको स्वस्थानी भेटियो । यो अहिले राष्ट्रिय अभिलेखालयमा संग्रहित छ । त्यसको झण्डै ११८ वर्षपछि मैथिली भाषामा लेखिएको स्वस्थानी भेटिएको छ । नेपाली भाषामा भने पहिलो पटक वि.सं. १८६७ मा लेखिएको हस्तलिखित स्वस्थानी भेटिएको छ ।
यिनै प्रमाणको आधारमा स्वस्थानी कथा १७ औं शताब्दीभन्दा पुरानो मान्न सकिन्छ । तर यही नै समयमा सुरू भयो भन्ने तथ्य भने भेट्न सकिएको छैन । तथ्यको एकिन नभए सम्म जुन प्रमाणस्वरूप पाइएको छ त्यो नै त्यसको आरम्भको रूपमा स्वीकार गर्ने गरिन्छ l
फोटो :विकिपिडिया
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...