कविताको खोजी - अदीप्त प्रकाश

कविताको खोजी
सहरका नामी कविहरूको जमघटमा
रित्तो गोजी र मगज लिएर पुग्दैछु
थाह छैन के सुनाउनेछु त्यहाँ पुगेर ।
अद्भुत सपना देख्दै थिएँ
कतिखेर उज्यालो बिहान बनेर
फुत्त भागिसकेछ शैशव कविता ।
खेत जोत्दा जोत्दै सुलुलु सुक्खा माटाका डल्लामा
पसिना बनेर बगिसकेछ कविता
भान्सामा चिसो चुल्हो र थाल कचौराहरूसँग
सन्तानका रित्ता पेटहरू द्वन्द्व गर्दै थियो
बढ्दै गएको भोक बनेर कविता ।
मान्छेको जुलुसभित्र केही कविता
कुर्लिरहेका थिए
विरोधको नारा बनेर l
केही कविता भिखारीको टिठलाग्दो याचना बनेर
मैतिर दृष्टि फैलाइरहेका थिए
आधारात सुतेर हिँडिरहेको ज्यापूदाइको
काँधको खर्पनमा क्रमशः
सन्तानको भविष्य र वर्तमान बनेर
कविता हाँसिरहेका थिए l
कहिले बेरोजगार घाम बनेर कविता -
बगरमा लडिरहेको भेटियो
कहिले नयाँ पुस्ताको सपना बनेर कविता -
आकाशमा उडिरहेको देखियो
बटुवाको सुसाइमा कविता गम्दै थियो
वसन्तको हसाइमा ऊ रम्दै थियो ।
सबै सबैतिर असरल्ल थियो
केवल मेरो साथमा आउन मानिरहेको थिएन -
एक लजालु जूनजस्तो कविता ।
त्यसैले,
रित्तो गोजी र मगजमा पुगेको छु l
सहरका नामी कविहरूको जमघटमा -
मेरो कविताको शीर्षक छ .......।
- अदीप्त प्रकाश २१ मार्च २०२४
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।