राजा त्रिभुवनको शव र काट्टो खाने चलन- सुनिल उलक

२०११ सालको चैत्र ४ गते दिउँसो १२ बजेर २५ मिनेट भएको थियो । गौचरमा भारतीय वायु सेवाको जहाज आइपुग्यो । चारैतिर रुवावासी र कोलाहलको आवाज सुनिन थाल्यो । जहाजको इञ्जिनको आवाज बन्द पनि भइसकेको थिएन । सेनाको ४० तोपको सलामीको पहिलो तोप पड्कियो । जहाजको ठूलो ढोका खुल्नासाथ चाँदीको ठूलो पालकीमा राजाको शव बाहिर निकालियो । यो पालकी त्यही थियो, जसमा यिनै राजा बालकमा राजा हुँदा शुभराज्याभिषेकमा बसेका थिए l
मानिसहरू को रुवाइ टाढा टाढासम्म सुनिन्थ्यो । महिलाहरूपनि हाय जुजु गर्दै रोइरहेका थिए । गौचरणदेखि पशुपतिसम्म हजारौ महिला पुरुष प्रिय राजाको अन्तिम पटक दर्शन गर्न लामबद्द लालायित थिए । यो दुखद घडीमा उपत्यकाका बिसौ हजार जनता यहाँ आइपुगेका थिए । राजालाई विष्णुको अवतार मान्ने देशमा आफ्नो जीवनको बाजी थापेर देशमा राणाहरुको एकतन्त्रिय शासन समाप्त पार्न सफल हुनुभएको हुँदा पनि यी राजा अझ बढी प्यारो भएका थिए ।
सबै नेपाली शोकमा डुबेका थिए । कतिपयले आफ्नो कपाल मुण्डन गरेका थिए । आफ्नो अविभावकको मृत्युको शोकमा सबैको आँखामा आँसु थियो । छालाको जुत्ता कसैले पनि लगाएनन् । कतिपयले सेतो वस्त्र नै लगाएर बसे । तेह्र दिनसम्म नुन बारे । राजाप्रति सबैको गहन आस्था यही समय देखिएको थियो । यता युवराज महेन्द्र कालो चश्मामा चुपचाप देखिन्थे । उनको आँखामा आँसु कसैले पनि देखेनन् । केही समयमा नै उनलाई नयाँ राजा बनाइयो । उनी पारिवारिक कर्तव्यभन्दा पनि देशको कर्तव्यको लागि शोकमा डुब्न सक्दैनथे ।
शव पशुपतिनाथ मन्दिर नजिकको बागमतीको आर्यघाटमा पुर्याइयो । बागमती किनारको सबै सिँढी फूलका मालाले ढाकिएका थिए । बिस्तारै शवलाई बागमती किनारमा राखिएको साँपको आकृती कुँडिएको ब्रम्हनालमा सुताइयो । खुट्टालाई बागमतीमा छुवाइयो, ताकी मृत आत्मा स्वर्ग पुगोस । यसपछि ब्राम्हणले नाभी निरको सानो टुक्रा मासु काटेर निकाल्यो । यहि तौल बरावरको सुनको सिक्का तौलिएर मासुको टुक्रालाई बागमतीको बिचमा रहेको सानो ढिस्कोमा गाडियो । त्यसमाथि दियो बालियो यसर्थ कि मृत आत्माले हेर्न सकुन ।
त्यसपछि निधारको हड्डीको सानो टुक्रा निकालियो । यसलाई सुनको भाँडामा राखियो । यसरी निकालिएको हड्डीको टुक्रा दुई भाग बनाईयो । एकटुक्रा दरवार लगियो । अर्को टुक्रा बोकेर एक ब्राम्हण त्यहाँबाट रिडी जान हिड्यो । ८ दिनको पैदल यात्रा हिडेर कालीगण्डकी नदीको बिचमा यो हड्डीलाई गाड्न पठाइयो । यसपछि यता ब्राम्हणबाट शव जलाउने कर्मकाण्ड गर्न थालियो ।
शव दाहन पछि मुख्य ब्राम्हणको रूपमा काशीबाट ल्याइएका श्रीकृष्ण भट्ट नै प्रमुख ब्राम्हणको रूपमा थिए । विगत एघार दिनदेखि उनको विशेष सत्कार दरवारमा गरिएको थियो । राजाको पलङमा सुत्ने राजाको कपडा लगाउने राजालाई मनपर्ने खाना भान्सामा विशेष रूपले पाक्थ्यो । यो सबै श्रीकृष्ण ब्राम्हणको अहोभाग्य झै लाग्थ्यो । तर कमैलाई थाहा हुन्थ्यो । उनको भोजनमा स्वर्गारोहण भएका राजाको जल्दै गरेको शवको निधारबाट निकालिएको सानो हड्डीको टुक्रालाई पिसेर उनको खानामा मिसाइन्थ्यो ।
यो कर्म राजाको स्वर्गारोहणपछि किन गर्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख गरेको भेटिदैन । तर काट्टो खाने नाममा राजाको शवबाट निकालिएको हड्डीको थोरै धुलोलाई खानामा मिसाएर खुलाउने गर्दा मृत आत्माले दरवारमा दुख दिदैन भन्ने विश्वास थियो । यसरी मृत राजाले झै दरवारमा रहदा मृतात्मा ब्राम्हणमा सर्ने र पुण्य प्राप्त हुने मान्यता थियो ।
तेह्र दिन बितेपछि काट्टो खाने ब्राम्हणलाई यथाशक्य खुशी बनाएर २०००० नगद तथा २ लाखको जिन्सी, दुईटा हात्ती र एक सजाइएको घोडा उपहार दिएर बिदा गरियो । अन्तिम दिन ब्राम्हण राजाको पोशाक लगाएर हात्तीमा चढेर थानकोट कटाइएको थियो । यसरी राजाको काट्टो खाने ब्राम्हणलाई राज्यबाट र जातबाट निकालिने गरिन्थ्यो । यस्ता ब्राम्हणले पछि कर्मकाण्ड गर्न पाउदैनथे ।
हात्तीमा चढेर थानकोट जाने क्रममा बाटो भरि केटाकेटीहरू गिज्याउथे । काट्टो खाने ब्राम्हण भनेर गिज्याएका थिए । साथै नेवार बच्चाहरू ढुङ्गाले हान्दै थिए । बिदेशी पत्रकारहरू पनि यो अनौठो प्रक्रिया हेरेर बसेका थिए ।
राजाको काट्टो खाने प्रचलन कहिलेबाट भयो भन्ने कुनै जानकारी नभए पनि पृथ्वीनारायण शाहको काट्टो भने खनाल थरका नेपाली ब्राम्हणले खाएका थिए भन्ने लिखौट भेटिएको छ । तर पछि कुन समय देखि काशीका भट्टलाई ल्याइयो कुनै उल्लेख भेटिदैन । तर राजा त्रिभुवनको काट्टो भने काशीबाट ल्याइएका श्रीकृष्ण भट्टलाई खुलाइयो । त्यसपछि राजा महेन्द्रको समयमा पनि काट्टो खाने ब्राम्हण काशीबाट नै ल्याइयो । राजा महेन्द्रको काट्टो श्री गणेश भट्टलाई खुलाइएको थियो । तर राजा वीरेन्द्रको समयमा भने काठमाडौ गौशाला बस्ने दुर्गाप्रसाद सापकोटालाई र दीपेन्द्रको समय देवीप्रसाद आचार्यलाई काट्टो खुलाइयो । तर अब ब्राम्हणले कहिल्यै राजाको काट्टो खानुपर्ने छैन । किनभने अब राजा इतिहासको विषय बनिसके र देशमा गणतन्त्र बहाल छ l
तस्बिर : लेखक सुनिल उलक; सुनिल उलक विभिन्न ऐतिहासिक विषयवस्तु पस्किने र दुर्लभ फोटोहरू सङ्ग्रह गर्ने व्यक्ति हुनुहुन्छ l हामीले उहाँका सामग्रीहरू पहिलेदेखि नै akabarey.com मा प्रकाशित गर्दै आएका छौं l - सम्पादक
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।