नेकपा एमालेका अध्यक्ष ओलीलाई प्राप्त ४ अनररी पिएचडीहरू

काठमाडौं, पुस, १७
नेकपा एमालेका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्रीको शैक्षिक योग्यता बारे अनेकन कुरा बाहिर आएका छन् l उनले आफ्नो शैक्षिक योग्यतामा कहिले साक्षर उल्लेख गरेका छन् भने कहिले ‘अनररी पिएचडी’ उल्लेख गरेका थिए । कान्तिपुरमा पुस ११ गते प्रकाशित 'मैले देखेको नेपाल' शीर्षकले ओलीको क्षमता र उनको ज्ञानको गहिराई बारे व्यापक चर्चा र चासो भएको पाइन्छ l
कतिले उनको ज्ञानलाई सतही र अयथार्थको प्रस्तुति र काल्पनिक मतमा आधारित लेख भनेर आलोचना समेत गरेका छन् यसै क्रममा पुस १७ गते कान्तिपुरमा 'प्रश्नको कसीमा ओलीको देश बखान' शीर्षकमा सन्दीप थापाले ओलीको लेखको आलोचना गरेका छन् l उनले आलेखको सुरूमा नै तेहेरो मानार्थ विद्यावारिधि प्राप्त व्यक्ति भन्दै ओलीको औपचारिक शैक्षिक योग्यतातर्फ इङ्गित गरेका छन् l उनले तीन विद्यावारिधि भने पनि akabarey.com ले चार पटक विद्यावारिधिको उपाधि पाएको फेला परेको छ l अत: पाठकहरूको लागि सान्दर्भिक हुने ठानेर हामीले केपी ओलीले प्राप्त ४ विद्यावारिधिको फेहरिस्त प्रस्तुत गरेका छौं l
२०७६ जेठ २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिणी कोरियाली विश्वविद्यालयको 'मानार्थ विद्यावारिधि' उपाधि ग्रहण गर्ने अवसर प्राप्त भएको थियो l मानार्थ विद्यावारिधिको उपाधि डाक्टर केपी शर्मा ओलीको लागि यो पहिलो पटक होइन । यसअघि नै उनले तीनपटक यस्तो उपाधि पाएका छन्।
प्रथम उपाधि
२०६७ असोज ११ मा ओलीले पहिलो पटक मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गरेका थिए l पहिलो उपाधि मध्य अमेरिकाको बेलिजमा रहेको बताइएको र काठमाडौंको शंखमूलमा सम्पर्क कार्यालय रहेको ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले राष्ट्रियसभामा एक समारोह गरी धेरैलाई मानार्थ विद्यावारिधिको उपाधि दिने क्रममा ओलीलाई पनि प्रदान गरेको थियो l
तत्कालीन सभामुख सुवास नेम्वाङ प्रमुख अतिथि रहेको सो समारोहमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र एमालेका प्रभावशाली नेता रहेका ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो । सोही कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पनि विद्यावारिधि उपाधि प्रदान गरिएको थियो ।
दोस्रो उपाधि
दोस्रो पटक प्रधानमन्त्री भएको केही सातामै भारत भ्रमणमा गएका बेला ओलीले दोस्रो मानार्थ विद्यावारिधि उपाधि पाएका लिएका थिए । तीनदिने भारत भ्रमणका बेलामा ओलीलाई २०७४ चैत २५ गते उत्तराखण्डको डा. गोविन्द बल्लभ कृषि तथा प्रविधि विश्व विद्यालयले एक समारोहबीच सो उपाधि प्रदान गरेको थियो l
तेस्रो उपाधि
मध्य अमेरिकी मुलुक कोस्टारिकाको युनिभर्सिटी फर पिसले ओलीलाई २०७५ मा तेस्रो मानार्थ विद्यावारिधि उपाधि दिएको थियो । नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उपाधि दिएको थियो । उपाधि ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताएका थिए ।संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिएर फर्कने बेला ओली कोस्टारिका पनि पुगेका थिए। सोही अवसरमा उनलाई उपाधि दिइएको थियो।
चौथो उपाधि
ओलीले चौथो उपाधि ०७६ जेठ १५ गते पाएका हुन् । दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गरेको हो । नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा ओलीले सो उपाधि पाएका हुन् ।
सन् १९४६ मा स्थापित यो विश्वविद्यालय क्रिस्टियानिटी र मानवताको सिद्धान्तमा आधारित भएर सत्य, स्वतन्त्रता, समभाव र मानव कल्याणमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उक्त विश्वविद्यालयको वेबसाइटमा उल्लेख छ।
काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युनले ओलीलाई उपाधि हस्तान्तरण गरेका हुन्।
स्मरणीय : ०७० सालमा सभासद् (सांसद) निर्वाचित भएपछि उनले संसद सचिवालयलाई बुझाएको आफ्नो वैयक्तिक विवरणमा शैक्षिक योग्यता ‘अनररी पिएचडी’ उल्लेख गरेका थिए ।
अकबरे टिप्पणी : ओलीलाई जति नै कम शैक्षिक योग्यताका नेता भनेर हियाए पनि आजको नेपाली राजनीतिमा त्यो उमेर समूहमा उनी जति सूचना सङ्कलन गर्ने र सङ्कलित सूचनालाई सामान्य मान्छे सम्मले सहजै बुझ्न सक्ने गरी सम्प्रेषण गर्न सक्ने दोस्रो अर्को नेता छैनन् l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...