बिष्णुमाया परियारलाई विश्वभरका स्कुल, कलेज, विश्वविद्यालयहरूमा लाखौं विद्यार्थीहरूले पढ्दै

नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जातीय छुवाछु विरुद्ध र महिला सशक्तिकरण तथा बालबालिका शिक्षाको साढे दुई दशक लामो जीवन संघर्षको कथा अमेरिकी राज्य मासाचुसेट्सका हाल ४० डिस्ट्रिक्टका १५० विद्यालयका ३० हजार विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।
शिक्षालयहरूमा डाक्टर बिष्णुमाया परियार
नोबेम्वर १५ तारिख अमेरिकी सहर बोस्टनस्थित देधाम मिडल स्कूलका कक्षा ७ का झण्डै २१५ जना विद्यार्थीहरूलाई मासाचुसेट्स राज्यको शिक्षा विभागले राज्यस्तरमा लागू गरेको पाठ्यक्रममा डा. परियारको जीवनसँग सम्बन्धि विषय Taking Action to Reduce Inequality: The Work of Bishnu Pariyar, Unit 7.1; Lesson 16; UN Sustainable Goal 10: Reduced Inequality डा. परियारको उपस्थितिमा परिचर्चा भएको छ ।
यो पाठ्यक्रम सन् २०२२ मा मासाचुसेट्स राज्यको शिक्षा विभागले प्राईमरी सोर्सको सहकार्यमा तयार पारी राज्यस्तरमा लागू गरेको हो । उक्त सामूहिक अध्यापन पछिको भेलामा मासाचुसेट्स राज्यको शिक्षा विभागका रेबुबेन हेनरिकले सो पाठ्यक्रमबारे जानकारी गराउँदै राज्यभर १५० डिस्ट्रिक्ट रहेको र अहिले ४० डिस्ट्रिक्टका १५० विद्यालयका झण्डै ३० हजार विद्यार्थीहरूलाई पढाईन शुरू गरिसकिएको जानकारी गराए । साथै, यो पाठ्यक्रम अमेरिकाको अन्य राज्यहरूका विद्यालयहरूले पनि पढाउन शुरू गरिएको बताइएको छ । सो सामूहिक अध्यापन कक्षामा शिक्षा विभागका हेनरिक, पाठ्यक्रम तयार गर्ने प्राईमरी सोर्सकी जिल स्टिभन, देधाम मिडल स्कूलकी प्रिन्सिपल क्यारेन हिलम्यान, कक्षा ७ कि सोसल साईन्स तथा वर्ल्ड जिओग्राफी शिक्षिका किम्बर्ले राण्डल र अन्य शिक्षक-शिक्षिकाहरू उपस्थित रहेका थिए ।
Nurturing Young Minds Equality नयाँ पुस्तालाई समानताको शिक्षा विभेद रहित समाजको कल्पना गर्नु हाम्रो नियति हो भने भावी पुस्ताको न्युनतम हक हो। संयुक्त राष्ट्र संघले आफ्नो दीगो विकासको लक्ष-१० मा Reduced Inequality (असमानताको न्यूनिकरण) भन्दै सन् २०३० सम्ममा आर्थिक असमानताको साथसाथै जात, जाति, धर्म, लैंगिक, उमेर र असक्तताको आधारमा हुने असमानता घटाउने प्रतिवद्दता गरेकोछ । नेपालकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार जन्मिदै तथाकथित अछुत बनाएको कारण उनले खेप्नु परेको हण्डर र संघर्षको कथा अहिले विश्वभरका कलेज, विश्वविद्यालयहरूमा लाखौं युवा विद्यार्थीहरूले पढिरहेका छन् ।
अमेरिकाको उत्कृष्ट तीनमध्येको शैक्षिक प्रकाशन संस्था म्याकग्र हिलले प्रकाशन गरेको पाठ्यपुस्तक ‘दि राइटर्स माइन्डसेट’ मा उनको जीवनकथा एउटा पाठ बनेको छ। म्याकग्र हिलका लागि लिसा होइफनरले ६९२ पृष्ठको उक्त पुस्तक लेखेकी हुन्। त्यसको पृष्ठ ५९१ देखि ५९४ मा विष्णुमाया समेटिएकी छन् । त्यसको शीर्षक छ, ‘पिस कर्पस् इन्फ्लुअन्स चेन्ज्ड माई लाइफ।’ विश्वको ध्यान खिच्ने नेपाली अछुत भनिएका महिलाका कहानी ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइ हुनुभन्दा ठूलो उपलब्धि अरू के हुनसक्छ ?
अछुत र दलित बनेर उनले भोग्नु परेको पीडा र त्यसबाट उन्मुक्तिको बाटो पहिल्याउन उनी र उनको संस्था एडवानले विगत २७ वर्षदेखि गर्दै आएको सत्प्रयासको दृष्टान्तलाई यतिखेर अमेरिकाको मासाचुसेट्स राज्यको शिक्षा विभागले राज्यस्तरको कक्षा-७ को पाठ्यक्रममा “Lession-12: Untouchability and SDG 10” (पाठ-१२:अछुतपना र दीगो विकास १०) शीर्षक अन्तर्गत आठ पेजको लामो पाठ्य सामाग्री अनुमोदन गरी राज्यस्तरमा पढाई शुरू गरेको छ ।
यो पाठ्यक्रम शैक्षिक पाठ्य सामग्री निर्माण गर्ने मुनाफारहित संस्था प्राईमरी सोर्सले तयार गरेको हो। नेपाल सरकारको शिक्षा मन्त्रालय या शिक्षा विभागले जातको आधारमा अछुत/छुवाछुत विभेद न्यूनीकरण गर्ने सम्बन्धी पाठ्यक्रम कतै निर्माण गराएको छैन । नेपालको संविधान र कानूनले छुवाछुत र जातीय विभेद बर्जित गरेको छ, तर तथाकथित अछुत भएकै कारण हेपिनु पर्ने र मारिनेक्रम रोकिएको छैन ।अमेरिकाको मासाचुसेट्स राज्यको यो शैक्षिक चेतना नयाँ पुस्तामा अंकुरण गर्ने पहल सराहनीय छ।
बिष्णुको सामाजिक क्रियाशीलता
सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो । सोही जर्सी सिटी नगरले दोस्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा सन् २०२१ को सेप्टेम्वर २० तारिख नेपालको झण्डा फराएको थियो ।
अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको थियो ।
अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो। जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. विष्णुमाया परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि नेपालमा गएको महाभूकम्पले उनीहरूको नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पुर्याउन टिपिएस (TPS) सुविधा दिलाउने सम्बन्धी काउन्सिल रिजोलुसन पारित गरिएको थियो।
टिपिएस रिजोलुसन सन् २०१५ र २०१८ मा पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । अमेरिकाको न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) मा नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियारसहित २८ जना व्यक्तित्वहरू मनोनित गरिएकोछ । कमिसनर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन् । गभर्नर मर्फीले सन् २०२१ को नोवेम्बरमा एएपिआई कमिसनको स्थापना गरेका थिए भने मे महिना एएपिआई सम्पदा महिनाकोरूपमा मनाईने अवसर पारेर उक्त नियुक्ति गरेका हुन् ।
गभर्नर मर्फीले एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्यू जर्सी राज्यमा अमेरिकाभरमा तेस्रो ठूलो संख्या रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएकाछन्। उक्त एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हक हितको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।
गभर्नर मर्फीले न्यू जर्सी राज्यको K-12 विद्यालयहरूमा सन् २०२२-२३ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरबारे पठनपाठन गरिने कानून पारित गरेका थिए। एएपिआई समुदायबारे पाठ्यक्रममा पढाई अनिवार्य गर्ने राज्यहरूमा ईलिनोई राज्यपछि न्यू जर्सी राज्य दोश्रो अमेरिकी राज्य बनेकोछ। जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको विविधता र समावेशी वोर्डकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम कमिटीको सदस्य रहेकी छन् ।
जर्सी सिटी सहरको महिला आयोगको गठन सन् २०२२ को जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा गठन भएको हो । डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिककि वरिष्ठ प्रोग्राम डाईरेक्टरको रूपमा कार्यरत छन् । हड्सन स्पिक न्यू जर्सी राज्यको हड्सन काउण्टीमा साढे छ लाख जनसंख्यालाई यौन हिंशा विरूद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो ।
नयाँ पुस्तालाई समानताको शिक्षा डा. विष्णुमाया परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ। विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशकम्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ (The Writer’s Mindset) पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएको छ ।
यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो । उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो। विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको १००+ (सय बढी) मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को डाटा अनुसार हाल यो पब्लिकेसनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्रोफेसरहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन् ।
राष्ट्रिय र अन्तराष्ट्रिय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयरग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई "डा. विष्णुमाया परियार डे" घोषणा गरिएको छ । जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशी भूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।
दलित महिला उत्थान सङ्घमार्फत समाज सेवा
एड्वानले स्थापना काल सन् १९९८ देखि हालसम्म २५ हजार बढी बालबालिकाहरू र डेढ लाखभन्दा बढी दलित र सिमान्तकृत तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दीगो कृषि, सामाजिक जागरण, संचेतना, कानूनी प्रशिक्षणलगायतका विविध क्षेत्रहरूमा योगदान पुर्याउँदै आएकोछ । नौवटा जिल्लामा अहिले नेपालमा एक सय एघारवटा महिलाको समूह छ । ६० हजारभन्दा बढी महिला संलग्न भएर एड्वानका गतिविधिमार्फत सहयोग पाएका छन् । उद्यमी बनेका छन् । नेतृत्व क्षमता विकास गरेका छन् । घिरेलु हिंसा, महिला बेचबिखन, जातीय छुवाछूत, सामाजिक विकृतिविरुद्ध महिलाहरू जागृत छन् । २५ सयभन्दा बढी बालबालिकालाई स्कुल, कलेज र विश्व विद्यालय पढ्न छात्रवृत्ति सहयोग प्राप्त गरेका छन् । २०७२ को भूकम्प पीडित गोरखाका मान्छेलाई चार सय घर निर्माण गर्न सहयोग जुटाइदिने काम पनि विष्णुमायाको टिमले गरेको छ एड्वानकी संस्थापक अध्यक्ष डा. परियार हुन् ।
डाक्टर परियारले यसै वर्ष अगष्ट २३, २०२३ मा बिष्णुमाया परियार फाउन्डेसन विधिवत घोषणा गरी मर्यादा सम्मानका साथ रू पचास हजार राशीको पुरस्कारले (Dignity Award ) दुई जना सामाजिक व्यक्तित्वलाई पुरस्कृत पनि गरेकी छन् l
बिष्णुमाया फाउन्डेसनद्वारा पुरस्कृत दुई व्यक्तित्वहरू
सञ्जीव कार्की
पहिलो आत्मसम्मान Dignity Award पुरस्कार २०२३ द्वारा सम्मानित सञ्जीव कार्कीले नेपालमा छुवाछुत र जातीय विभेदका बिरुद्द सशक्त कलम चलाउँदै आएका छन् । कार्की दलित चेतना निर्माण, सामाजिक विकृतिका विषय र स्वास्थ्य शिक्षाको आन्दोलनमा एक दशकभन्दा अघिदेखि सक्रिय छन् l कार्की हाल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका एम.फिल- पिएच.डी. अनुसन्धाता हुन ।
रामकुमारी दास
पहिलो आत्मसम्मान Dignity Award पुरस्कार २०२३ द्वारा सम्मानित सिराहा जिल्लाको लाहान नगरपालिका वडा-१५ सदस्य एवं सामाजिक अभियन्ता राम कुमारी दास जातीय तथा लैंगिक विभेद बिरुद्ध संघर्षरत नारी नेतृ हुन् । उनी आफै बालबिबाह गर्न बाध्य पारिएकी, घरेलु हिंशाबाट पीडित एक महिला र दलित समुदायकी सदस्य भएर भोग्नु परेको जातीय विभेद र अन्यायको बिरुद्ध अन्य दलित, बालबालिका र महिलाहरुले भोग्नु नपरोस भनेर संघर्षरत एक सामाजिक अभियन्ता हुन् l
डाक्टर बिष्णु माया परियारको जन्मभूमि नेपालमा, नेपाल सरकारले उनको काम र योगदानको (स्वदेश- विदेश) संसारभर चर्चा र प्रशंसा भइ रहँदा पनि कुनै सम्मान र अन्तराष्ट्रिय रूपमा कुनै भूमिका निर्वाह गर्ने वातावरण सिर्जना गर्न नसकेको परिस्थिति छ l यद्दपि बिष्णुमायालाई विश्वले सम्मानपूर्वक पढिरहँदा नेपालको स्कुल कलेज र विश्वविद्यालयहरूमा पनि उनीजस्ता सङ्घर्षशील समाजसेवी र सीमान्तकृत दलित समुदायका व्यक्तित्वहरू बारे पढाइनु पर्ने अनुसन्धान र शोधको विषय बनाइनु पर्ने बारेमा चर्चा हुने गरेको छ l दलित विषय र व्यक्तित्व बारे सरकारी निकाय र शैक्षिक संस्थानहरूमा दवाव दिने क्रम बढ्दो छ l
Akabarey.com टिप्पणी :
हार्डवर्ड, क्लार्क, पाइन म्यानर, बोस्टनलगायत अमेरिकी विश्वविद्यालयमा गेस्ट लेक्चरर दिने विष्णुमायाको अनुभव, ज्ञान र क्षमता नेपाल र नेपालीले कहिले भरपूर उपयोग गर्न पाउँछन् ? सरकार विष्णुमायालाई चिन्न र चिनाउन कुनै तयारी गर्दै छ कि बेखबर छ ? विष्णुको सफलता र खुसीलाई राष्ट्रको खुसीमा परिणत गर्ने कहिले ?
विश्वका प्रतिष्ठित पाठ्यपुस्तक र पाठ्यक्रममा पढाइने विष्णुको प्रेरणादायी जीवनी नेपालमा किन नपढाउने ? उनको जीवनी राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा किन अपरिहार्य छ ? बहस बौद्धिक र तार्किक कोणबाट उठ्नु जरुरी छ । मान्छेको योगदानको कदर जीवित हुँदा नै गर्ने राष्ट्रिय आदत विकास गर्न पनि विष्णुमाया बारे पढ्नु, पढाइनु खोज अनुसन्धान गरिनु आवश्यक छ ।
बिष्णुले पढेको गोरखाको स्कुल, पदम कन्या कलेज र त्रिभुवन विश्वविद्यालयले विशेष चासो राखेर खोज्नुपर्छ । अमेरिकाको चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कसँगै विष्णुको जीवनी पढाइँदा के हाम्रो छाती गर्वले फुल्दैन ? हाम्रा सन्ततिले पनि स्कुल, कलेज र विश्वविद्यालयमा विष्णुमाया परियारलाई पढ्ने, उनको बारेमा शोध गर्ने दिन कहिले आउँछ ? साधारण व्यक्ति निर्मित असाधारण जीवनलाई प्रेरणा र ऊर्जामा रूपान्तरण गरेर सामाजिक कलङ्कको रूपमा हजारौ वर्षदेखि जरा गाडेको विभेदको जरा चुँडाल्न अबेर किन ? हजारौँ वर्षदेखि पाखा पारिएको किनारमा धकेलिएको मान्छे उठेर यहाँसम्मको यात्रा तय गरेर अन्तर्राष्ट्रिय व्यक्तित्व बनाइसक्दा पनि राज्यलाई बेखबर बस्न सुहाउन्न ।
विष्णुमाया परियारको जीवनी सङ्घर्ष व्यक्तित्व र सामाजिक कामले लिएको उचाइ आम नेपालीको उचाइ आत्मसम्मान र मर्यादा हो । नवीन इतिहासको निर्मिति हो ।
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...