पोखराको पहिलो महिला शिक्षिका - दमयन्ती कार्कीको अन्तर्जातीय विवाह र शिक्षण पेशा

सत्तरी वर्ष अघिको दमयन्ती कार्कीको अन्तर्जातीय विवाह र पोखराको पहिलो महिला शिक्षकको इतिहास उल्लेख गरेको सुनिल उलकको संस्करण हामीलाई प्रेरणादायी लागेको छ l यसर्थ उक्त स्मरण सुनिल उलकको फेस बुक पेजबाट जस्ताको त्यस्तै akabarey.comले साभार गरेको छ :
आजभन्दा ७० वर्ष अगाडि देहरादूनको सामाजिक अवस्था कस्तो थियो हामीले जान्ने कुरै भएन । तर पोखराको अवस्था भने पुरै रुढीवादि थियो । यहाँ आफ्नै जातिमा भन्दा अन्यसंग विवाह गरे समाजबाट एक्लिनु पर्ने बाध्यता थियो । यस बाहेक सो परिवारलाई पनि समाजले हेर्ने दृष्टिकोण अलि भिन्न हुने गर्दथ्यो । नेवारले नेवार नै विवाह गर्दा पनि तल्लो जातको नेवार र माथिल्लो जातको नेवार भनेर भिन्न दृष्टिले हेरिने गर्दथ्यो । अन्य जातिमा विवाह गर्दा त अझ डरलाग्दो समस्या झेल्न तैयार हुनुपर्दथ्यो ।
२०१० सालतिर देहरादूनकी दमयन्ती कार्कीले एक नेवार केटासंग विवाह गरे । यो त्यो बेलाको परिवेश अनुसार सामाजिक विद्रोह थियो । एक क्षेत्री कन्याले नेवार विवाह गर्दा सहजै स्विकार गर्ने त्यो बेलाको समाज थिएन । छुट्टिएर बस्न सक्ने दुइको प्रेमिल मनमा थिएन । एउटै बिकल्प थियो, देहरादून छोडेर टाढा कतै जाने । साहस र आँट नहुने जोडी भएको भए आत्महत्याको बाटो रोज्थे । तर हिम्मत र साहस थियो ति दुइ युगलमा त्यसैले करिव ९०० किमी यात्रा तय गरेर पोखरा आइपुगे । हुन त पोखरा आइपुग्नु अगाडि केही समय काठमाडौमा नै रहे । पोखरामा नयाँ स्कुल खुलेको तथा शिक्षकको खाँचो रहेको थाहा पाए पछि पोखरा पुगेका थिए l
बि.सं. २००६ सालको मंसिर २० गते, हुन त त्यो बेला राणाशासन नै थियो देशमा, पोखरामा अंग्रेजी भाषा पनि पढाउने बिद्यालय चाहिएको माग उठ्यो । पोखराका केही जुझारुहरु मिलेर बडाहाकिम धनशम्शेरलाई बिन्तिपत्र हाले । धनशम्शेरको स्विकृति पछि अंग्रेजी भाषा समेत पढाउने गरेर "पोखरा पब्लिक स्कुल" नामबाट पोखराको नदीपुरमा रहेको पौवामा पढाइको शुरुवात भयो । हुन त यस अगाडि नै राणाकालका सुधारवादी तथा शिक्षाप्रेमि श्री ३ देवशम्शेरकै समयमा पोखरामा बि.सं. १९५८ मा नै पहिलो संस्कृत पाठशाला खुलिसकेको थियो । पछि बिन्द्यवासिनी मन्दिर नजिकै रहेको यस पाठशालामा ब्राम्हणका छोराहरु मात्र पढ्न पाउने त्यसमा पनि पराजुली, अधिकारी र रेग्मीका छोराहरुको मात्रै हैकम चल्ने भए पछि केही बिद्रोहीहरु भेला भएर बाटुलेचौरमा बिन्द्यवासिनी कै नामबाटै अर्को पाठशाला २००४ सालमा खोले । त्यसबेला अर्का सुधारवादी श्री ३ पद्मशमशेर प्रधानमन्त्रि थिए । उनले देशैभर आधार शिक्षाका रुपमा बिद्यालय खोल्ने आग्रह गर्दा थुप्रै बिद्यालयहरु खुलेका थिए । यसैबेला पोखराका केही जुझारुहरु मिलेर पोखराको बाटुलेचौरमा "बिन्द्यवासिनी आधार स्कुल" खुलेको थियो ।
२००६ सालमा खुलेको "पोखरा पब्लिक स्कुल" दुइ वर्षमा नै "पोखरा पब्लिक मिडिल स्कुल" बन्यो । यस स्कुलमा नेपाली, गणित, अंग्रेजी, भूगोल, विज्ञान तथा इतिहास विषय पनि पढाउन थालिएको थियो । तर यस स्कुलको समस्या भनेको पढेको शिक्षक नपाउनु नै थियो । तत्कालिन समयमा काठमाडौबाट मृगरत्न स्थापित, कृष्ण बहादुर श्रेष्ठ, नन्दलाल पाण्डे र जगन्नाथ प्रसाद उलकलाई बोलाएर पढाउन थालिएको थियो । पछि भैरवबहादुर भट्टराई तथा श्यामप्रसाद पन्त पनि आए । हुन त पोखरेली शिक्षकहरु पनि पर्याप्त थिए । पोखराकै बिरेन्द्र कुमार बाटाजू, रामचन्द्र राणा, यदुनाथ अधिकारी, प्रदिपशंकर पालिखे आदी पनि यस स्कुलमा आबद्ध थिए ।
२०१० सालको अन्ततिर पोखरामा अचानक एक जोडी आइपुगे । शिक्षक शिक्षिकाका रुपमा यो जोडी "पोखरा पब्लिक स्कुल"मा पढाउन आएका थिए । श्रीमान शिवहरी सिंह प्रधानलाई भूगोल पढाउने जिम्मा दिइयो भने श्रीमती दमयन्ती कार्कीलाई अंग्रेजी पढाउने जिम्मा दिइयो । शिवहरी सिंह हल्का कालो वर्णको झट्ट हेर्दा त्यो बेलाको फिल्मी हिरो दिलिपकुमार जस्ता थिए । भने दमयन्ती कार्की त्यसबेलाका चर्चित हिरोइन मीनाकुमारी जस्ती थिइन् ।
पोखरामा दमयन्ती म्याडमको पढाइको भन्दा रुपको चर्चा बढि हुने गरेको थियो । दोश्रो उनको चर्चा उनको बिद्रोहको हुने गर्दथ्यो । पोखरामा पढाउने शिक्षक नै मुश्किलले खोज्नुपर्ने समयमा महिला शिक्षक आउनु निकै आश्चर्यजनक थियो । त्यो पनि करिव ९०० किमी टाढाबाट ।
शिवहरी सिंह प्रधानको उपनाम भने पागल थियो । नाम अनुसार केही भिन्न स्वभाव थियो शिवहरी सिंह सरको । तर पनि वहाँ साच्चैको पागल जस्ता थिएनन् । पोखरामा वहाँहरु दुबै लामो समय रहन सकेनन् । केही वर्ष पछि काठमाडौ तर्फ फर्किए । बिस्तारै पोखरेलीहरुले पनि दमयन्ती म्याडम र शिवहरी सिंह सरलाई बिर्सन थाले ।
लामो समय काठमाडौमा नै बिताउनु भएका म्याडम र सरमा शिवहरीसिंह सरको केही वर्ष अगाडि देहान्त भएको थियो भने म्याडम अझै काठमाडौमा नै कतै हुनुहुन्छ भन्ने सुनेको थिएँ । कतै वहाँसंगको सम्पर्क हुन सक्छ कि भनेर सोधखोज निकै गरे तर भेट्न सकिन ।
वहाँहरु पोखराबाट काठमाडौ तर्फ लाग्नु भएको केही वर्ष पछि यसरी नै अर्को जोडी पनि भागेर विवाह गरे पछि पोखरा आइपुगेको थियो । भारतको गढवाल तिरबाट आएको त्यो जोडीमा गढवाली (चामुल गाउँका) नेगी परिवारका बलवीर सिंह नेगी थिए भने ब्राम्हण भण्डारी परिवारकी कृष्णा भण्डारी थिइन् । पोखरामा खुलेको सोल्डर्स वोर्ड स्कुलमा शिक्षक शिक्षिकाका रुपमा रहन शुरु गर्नुभएको थियो । नेगी सरको पोखरा आगमन भन्दा अगाडि इलाममा हेडमास्टरका रुपमा रहेका थिए । त्यहाँबाट सोल्डर्स वोर्डको हेडमास्टर बन्न पोखरा हान्निएका थिए । नेगी सर र कृष्णा म्याम भने पोखराबाट फर्कनु भएन । वहाँहरु पोखरेली नै हुनुभयो । नेगी सर र म्यामको केही वर्ष अगाडि देहान्त भएको थियो l
akabarey. com परीक्षण प्रसारणमा छ l
विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रय...
सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न...
म अभिभावक हुँ, विद्यार्थीहरू लाई मर्का पर्यो । शिक्षकहरूलाई विद्यालय फर्कनुस् भन्न आएको हो l