गोल्ड मेडलिस्ट सुशील दर्नालको सङ्घर्ष र सफलताको यात्रा

(व्यक्ति, चित्र र चरित्र स्तम्भमा akabarey.com ले बौद्धिक युवा व्यक्तित्व, दलित समुदायका क्रियाशील र जागरुक पत्रकार सुशील दर्नाललाई छनोट गरेको छ l मास कम्युनिकेसन्स एण्ड जर्नालिज्ममा स्नातकोत्तर सुशीलजी गोल्ड मेडलिस्ट हुनुहुन्छ l दलित समुदायबाट सो विषयमा पहिलो गोल्ड मेडल प्राप्त गर्ने व्यक्तिको रूपमा उहाँको नाम दर्ज छ l सुशीलजीको बारेमा यो सामग्री तयार गर्दा उहाँसँग पटकपटक अन्तरक्रिया गरिएको छ l उहाँ बारे अन्यत्र प्रकाशित सामग्रीको पनि अध्ययन गरिएको छ l यहाँ उपयोग गरिएका फोटोहरू सुशीलजीले उपलब्ध गराउनु भएको हो ) l - सम्पादक
सुशील दर्नाल पेशाले पत्रकार हुन् l नेपाली पत्रकारिता जगतमा आफ्नो विशेष क्षमतासहित प्रवेश गरेका सुशील पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ५ का स्थायी वासिन्दा हुन् l उनको गाउँ पाल्पा जिल्ला सदरमुकामबाट लगभग २५ किलोमिटर पूर्वमा अवस्थित छ । जहाँ क्षेत्री समुदायको बाहुल्य रहेको छ l सोही ठाउँमा दलित बस्ती छ l जहाँ गरिबी र चरम जातीय भेदभाव दैनिक वास्तविकता र सुशीलको परिवारको नियति थियो । २०४६ मा सिताराम दमाई र अमृता दमाईको पुत्रको रूपमा जन्मेका सुशील दर्नाल पाँच दाजुभाइ र एक बहिनीमध्ये तेस्रो अर्थात् साहिँलो छोरा हुन् l जहाँ बाँच्नको लागि गर्नु पर्ने सङ्घर्ष नै ठुलो थियो l दुई छाक जुटाउन अनेक कठिनाई भोग्नु पर्थ्यो l थुप्रै कठिनाइ र अप्ठ्याराहरूका बाबजुद, सुशील सानै उमेरदेखि आफ्नो शिक्षालाई अगाडि बढाउन दृढ सङ्कल्पित थिए । जसको परिणाम आज सुशील यहाँसम्म आइपुगेका छन् l यद्दपि तय गर्नुपर्ने बाटो र निर्दिष्ट गन्तव्य पुग्न अझै धेरै पापड बेल्नु नै छ l जिम्मेवारीको भारी बोक्न धेरै बाँकी छ l सुशील सङ्घर्षरत छन् l
बाल्यकाल र शिक्षा
प्रतिभाशाली विद्यार्थी भएको कारण अत्याधिक चुनौतीहरूको सामनागर्दा गर्दै पनि उनले आफ्नो पढाई जारी राखे l कक्षा ४ मा, उनका बुबा आफ्नी दोस्रो श्रीमतीसँग भारत गए, परिवारसँग सम्पर्क टुटयो । बुबाको सहयोग बिना, सुशीलकी आमाले दैनिक ज्यालादारी गरेर आफ्ना छोराछोरीलाई खुवाउन संघर्ष गर्नुपर्यो । तथापि यी असहजताका बाबजुद पनि, सुशीलले शैक्षिक रूपमा उत्कृष्टता हासिल गरिरहे । सुशीलकी आमाले कक्षा ७ पछि उनको शिक्षा खर्च धान्न सकिनन् । यो आर्थिक अवरोधको सामना गर्दै, उनी आफ्नो जेठो दाइ राजेन्द्रसँग पोखरा गए र मालेपाटनको श्री बाराही उच्च माध्यमिक विद्यालयमा भर्ना भए । आफ्नो पढाइ जारी राख्दै, सुशीलले सिलाई सिप सिके, जसले उनलाई आफ्नो पढाइको लागि खर्च धान्न मदत गर्यो । २०६४ मा, उनले दोस्रो श्रेणीमा (एसएलसी) पूरा गरे ।
सुशील २०६५ मा काठमाडौं आए जहाँ उनी पत्रकारिता पढ्न रातोपुलको मदन मेमोरियल कलेजमा भर्ना भए । त्यही समयमा, उनले सिलाईको काम गरे र गुजारा चलाउन साँझ दोहोरी साँझमा काम गर्न गए l तर पनि आर्थिक चुनौतीहरू कम भएनन् l जब उनी कक्षा १२ को परीक्षाको लागि ७,००० रुपैयाँ शुल्क तिर्न असमर्थ थिए, कलेजले सुरुमा उनलाई प्रवेश पत्र दिन अस्वीकार गर्यो । अरू कुनै विकल्प नभएकोले, सुशीलले पछि बक्यौता तिर्न वाचा गर्दै परीक्षामा समाले गरापाउँ भनेर अनुरोध गर्दै पत्र बुझाए । परीक्षाको बिहान, उनलाई परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघि, बिहान ७:०० बजे प्रवेश पत्र दिइएको थियो ।
तयारी गर्न थोरै समय भएकोले, उनी परीक्षा हलमा हतारिए र दुई घण्टाको लागि मात्र साढे दुई घण्टाको परीक्षामा उपस्थित हुन सकेका थिए। "ती समयहरू सम्झँदा मेरो मनमा गहिरो पीडा हुन्छ," उनले पछि भने । मन बेस्सरी बेचैन हुन्छ l प्लस टु अध्ययन २०६६ मा पूरा गरेपछि, सुशील दर्नाल २०६६ साल माघ १८ गते आफ्ना फुपाजु (भिनाजु) विनोद पहाडीमार्फत सरकारी समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) मा स्ट्रीन्जर समाचारदाताको हैसियतमा प्रवेश गरे l त्यहाँ उनले एउटा समाचार लेखे वापत १०० रुपैयाँ पाउथे । तलब प्रति रिपोर्ट रु १०० मात्र थियो र काठमाडौँमा उनको जीवनयापन खर्च धान्न अपर्याप्त थियो । राससमा आवद्ध भएपछि उनले दोहोरी साँझको काम पनि गरि नै रहे l आर्थिक अभाव र दु:खका बिच पनि, सुशीलले आफ्नो शिक्षा जारी राखे र स्नातक डिग्रीको लागि रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए । जहाँबाट उनले पत्रकारिता र समाजशास्त्र विषयमा स्नातकतह कम्प्लिट गरे l
आफ्नो पढाई र उदेश्यप्रतिको समर्पणले उनलाई बबरमहलको पोलिगन कलेजमा पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर कार्यक्रममा भर्ना गरायो । त्यहाँ उनले शैक्षिक रूपमा उत्कृष्ट मात्र भएनन् तर आफ्नो ब्याचमा शीर्ष स्थानमा रहेकोमा प्रतिष्ठित "ओम प्रकाश गोयल स्वर्ण पदक" प्राप्त गरे । मास कम्युनिकेसन्स एन्ड जर्नालिज्ममा दलित समुदायबाट सुशील दर्नालले गोल्ड मेडलिस्टको रूपमा आफ्नो नाम २०७७ मा दर्ज गरेका छन् l ‘यो उनको उनको शैक्षिक सफलता थियो, आफ्नो शैक्षिक यात्राको एउटा अंश मात्र । राससमा आफ्नो कामको माध्यमबाट, सुशीलले सीमान्तकृत समुदायहरू, विशेष गरी दलितहरूलाई असर गर्ने मुद्दाहरूमा ध्यान केन्द्रित गरे । यी मुद्दाहरूलाई मुख्यधारामा ल्याउने उनको प्रयासले उनलाई धेरै प्रशंसा प्राप्त भयो l
संस्थागत नेतृत्वमा सुशील
१. अध्यक्ष – राष्ट्रिय दलित समुदायका पत्रकारहरूको संघ, नेपाल, बागमती प्रदेश (स्थापना:सन् २०१९)
७० जिल्लामा शाखा, करिब १५,००० सदस्य, दलित पत्रकारको अधिकार संरक्षण, तालिम, र मिडियामा समावेशी प्रतिनिधित्वका लागि क्रियाशील।
२. अध्यक्ष – इक्वालिटी इनिसिएटिभ फाउन्डेसन (स्थापना: सन् २०२४)
दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणमा मिडिया प्रयोगद्वारा योगदान पुर्याउने उद्देश्य ।
पत्रकारिताको अतिरिक्त सुशीलले पुस्तकहरू पनि प्रकाशन गराएका छन् l
(१) दलित प्रतिनिधित्व र विषयवस्तु राष्ट्रिय समाचार समिति (RSS) (प्रकाशन: सन् २०२०) l अनुसन्धानमा आधारित यस पुस्तकले राससमा दलितहरूको प्रतिनिधित्व, दलितसम्बन्धी समाचारको प्रकाशन, र दलितसम्बन्धी सम्पादकीय तथा नियामक नीतिहरूको समीक्षा गरेको छ ।
(२) माया पनि बिटुलो (प्रकाशन: सन् २०२४) यस पुस्तकले दलित समुदायको इतिहास र उत्पत्ति, परम्परागत पेशा, निरन्तर रहँदै आएको जातीय विभेद, आर्थिक–राजनीतिक चुनौती, र अन्तरजातीय विवाह तथा प्रेमसम्बन्धका जटिलताहरूलाई उजागर गरेको छ । यसका साथसाथै सुशीलले थुप्रै अनुसन्धानमा आधारित लेखहरू प्रकाशन गराएका छन् । दलित समुदायको राजनीतिक सहभागिता (सत्तासंघर्षको इतिहास) सन् २०२३र समानता र सशक्तिकरणको २५ वर्षको यात्रा सन्२०२३ को सम्पादन गरेका छन् l
संचार माध्यममा सुशील
सामाजिक न्याय र समानताका लागि विगत १६ वर्षदेखि निरन्तर कलम चलाउँदै आएका सुशील दर्नाल सीमान्तकृत समुदायिभित्र पनि विशेष गरी दलित समुदायको बारेमा विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा लेख्ने गर्छन । खासगरी उनका लेखहरू कान्तिपुर दैनिक, दी काठमाडौं पोष्ट दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, दी अन्नपूर्ण एक्सप्रेस, गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, रिपब्लीका दैनिक, नागरिक दैनिक र विभिन्न अनलाईन सञ्चार माध्यमबाट प्रकाशित छन् ।
पत्रकार दर्नालको सानैदेखि गाउँमा रेडियो सुन्ने बानी थियो । विद्यालय अध्ययन गर्दै गर्दा उनलाई लागेको थियो कि गाउँमा धारामा पानी लिन जाँदा छोइछिटो गरेको कुरा रेडियोमा बोलियो भने सबैले सुन्छन र त्यसबाट समाज परिवर्तन गर्न सकिन्छ । रेडियोबाट पनि समानता ल्याउन सकिन्छ सचेतता, जगाउन सकिन्छ भन्ने लागेकोले नै काठमाडौं आएपछि सुशीलले पत्रकारिता नै अध्ययन गर्ने निधो गरेका थिए । उनको सानैदेखि पत्रपत्रिका अध्ययनमा रुचि थियो । २०६० सालतिर गाउँमा देउराली नामक मासिक पत्रिका पुग्थ्यो । उनी त्यो पत्रिकाको नियमित पाठक थिए । विषयवस्तु उठानको निम्ति आमसञ्चार माध्यममा दलित समुदायको भौतिक सहभागिता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राख्ने दर्नाल अहिले दलित समुदायबाट पत्रकार उत्पादनको निम्ति पत्रकारिता तालिम दिने काममा खटिन्छन् l
राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार
राष्ट्रिय पुरस्कार
(१) ‘युवा पत्रकारिता पुरस्कार सन् २०२५’ - नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, ११ जुलाई २०२५
(२) ‘प्रेस काउन्सिल समावेशी पत्रकार पुरस्कार सन् २०१६’ - नेपाल प्रेस काउन्सिल, २२ सेप्टेम्बर २०१६
(३) ‘बालमैत्री राष्ट्रिय पत्रकार पुरस्कार सन् २०१७’ - नेपाल पत्रकार महासंघ र केन्द्रीय बाल कल्याण समिति
(४) ‘सर्वोत्तम युवा पत्रकारिता पुरस्कार सन् २०१८’ - रिपोर्टर्स क्लब नेपाल
(५) 'मानव बेचबिखन विरुद्धको योगदानका लागि सम्मान' - नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,सन् २०१९
(६) 'शहीद प्रतीक स्मृति केन्द्र, नेपालद्वारा सम्मान सन् २०१२'
अन्तर्राष्ट्रिय पुरस्कार
‘लीडरशिप अवार्ड सन् २०१९’ — ग्लोबल ल’ थिङ्कर्स सोसाइटी (GLTS), बंगलादेश
वैदेशिक भ्रमण
कम्बोडिया (२०१८), लाओस (२०१८), थाइल्याण्ड (२०१७), बंगलादेश (२०१६), भारत (२०२०)
अनुभव
संवाददाता - राष्ट्रिय समाचार समिति (RSS), माघ १८, २०६६ देखि हालसम्म (स्थायी)
अध्यक्ष - राष्ट्रिय दलित समुदायका पत्रकारहरूको संघ, नेपाल, बागमती प्रदेश
मिडिया तथा सञ्चार सल्लाहकार - ADWAN (USAID Local Works) – १० अप्रिल २०२३ देखि ९ अप्रिल २०२४
कार्यकारी सदस्य - नेपाल पत्रकार महासंघ, बागमती प्रदेश
स्नातकोत्तर तहमा अध्यापन - पोलिगन कलेज, बाबरमहल, काठमाडौं (३ जनवरी २०२२ – ९ अगस्ट २०२२)
जातीय छुवाछुत र भेदभाव बारे
बाल्यकालदेखि नै चरम जातीय भेदभाव तथा छुवाछुतको समस्या भोग्दै आएका सुशील आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट भेदभाव अन्त्यको निम्ति पैरवी गर्ने योजनामा छन् ।
सामाजिक न्यायमा आधारित समतापूलक समाज निर्माणमा पत्रकाकारिताको माध्यमबाट वकालत गर्दै दलित समुदाय, आवाज विहिन समुदायको पक्षमा आफ्नो बुताले भ्याएसम्म काम गरिरहने र जातीय भेद छुवाछुत आफ्नै समयमा अन्त्य गरेर भावि सन्ततिको लागि समतामूलक, मर्यादित र स्वच्छ समाज सुम्पने मनसुवा सुशील दर्नालको रहेको छ l
चरम छुवाछुतको समस्या भोग्दै आएको दलित समुदायको राज्यका नीति निमाण तहमा अत्यन्त न्यून सहभागिता छ उनीहरूलाई राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिताको निम्ति पत्रकारिताबाट झक्झकाउनु गर्नुपने छ l दलित समुदायले भोग्दै आएको समस्या सञ्चार माध्यम मार्फत राज्यलाई सुनाउनुपर्ने छ, र समाधनको लागि पहल गर्नुपर्ने छ l सुशीलको बुझाईमा दलित समुदाय अहिले पनि आर्थिक, सामाजिक र राजनीतिक रुपमा पिंधमा छन् । यो समुदायलाई राज्यको मूल प्रवाहमा समेट्ने विशेष र आवधिक सकारत्मक विभेदको नीति मार्फत राज्यले काम गर्नुपर्ने सुशीलको सुझाव छ l ‘समता मर्यादा र स्वाभिमान उँचो र सबैको बराबर भएको समाजको मात्र उन्नति सम्भव छ l मर्यादित समाज र सभ्य आचरणले मात्र मानसिक विकास र भौतिक विकासलाई सँगै लैजाने क्षमता राख्छ l प्राकृतिक स्रोत साधन, वरदानको रूपमा पाएको देश अनि सिप कला साधना मेहनतमा नामी दलित समुदाय रहेको हाम्रो देश जातीय छुवाछुत जस्तो विकृत अभ्यासको कारण पछि परेको हो l’ सुशील समग्र देश पछाडि पर्नुको कारण र निस्कर्ष सुनाउँछन् l सबैभन्दा कर्मशील सिप प्रविधि र आविष्कारका जननीलाई अपमान गरेर देश विकास हुन् कसरी सक्छ ? सुशील आक्रोश मिश्रित स्वरमा यथार्थको चित्रण गर्छन् l आधुनिक ज्ञान, सिप र दक्षता प्राप्त गर्ने अवसर शिक्षामा दलितलाई निषेध गरेर आज समतामूलक संविधान भनेर दलितलाई न्याय हुँदैन l
विगतदेखि आजपर्यन्त पाएको अमर्यादा, यातना, वञ्चिती, निषेध र बहिष्करणको उचित क्षतिपूर्ति बिना दलित समुदायको लागि उचित न्यायको कल्पना गर्न सकिन्न l समतामूलक समाज निर्माणमा विभेदको क्षतिपूर्ति अनिवार्य सर्त हो l
दलित समुद्रायलाई जतिअधिकार प्राप्त भएको छ, त्यो प्रयाप्त छैन l दलित समुदायबारे संविधानमा केही विषय समावेश छन्, तर, संविधान बनेको १० वर्ष हुँदा पनि कानुन बन्न सकेको छैन, दलित समुदायबारे बनेका ऐन, कानुनको कार्यान्वयन र नयाँ कानुन निर्माणमा पत्रकारिता मार्फत पैरवी गर्ने मेरो योजना छ ।
दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरेर मात्रै उनीहरूको मुक्ति नहुने उनको तर्क छ । दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक समस्यालाई एकमुस्ट रूपमा समाधान गर्नुपर्छ l आर्थिक रूपमा दलित समुदाय अत्यन्त कमजोर छन् l दलित समुदायको बस्ने बास पनि छैन, राज्यले उनीहरूको लागि जमिनको व्यवस्था गर्नुपर्छ, रोजारीको व्यवस्था गर्नुपर्छ, अर्को राजनीतिक रूपमा दलित समुदायको सहभागिता अत्यन्त न्यून छ, त्यसैले राज्यका हरेक संरचनाको नेतृत्वदायी भूमिकामा दलितको जनसङ्ख्याको आधारमा कानुनी रूपमा सुनिश्चित गर्नुपर्छ । दलितहरू सामाजिक रूपमा सदियौंदेखि बहिष्करणमा पारिएको कारण समुदायको चौतर्फी उन्नयनमा बाधा पुगेको ऐतिहासिक नजिरहरू छन् । दलित समुदायले भोग्दै आएको छुवाछुतको समस्यालाई कडा कानून बनाएर व्यवहारिक रूपमा कार्यान्वयन गर्दै राज्यले नै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । यी सबै कुरा प्राप्तिको लागि गैरदलित समुदायसहित दलित समुदायले सडक, सदन र पार्टीभित्र कडा रूपमा सङ्घर्ष गर्नुपर्ने छ अन्यथा गाह्रो हुन्छ l मुक्तिको अभियानले लामो समय लिन्छ l
स्मरणीय: समुदायबाट २०२७ मा एसएलसी बोर्ड फर्स्ट द्रोण रसाइली भएका थिए l दलित समुदायमा मास्टर्स लेवल (एलएलएम) मा टेक ताम्राकार पहिलो स्वर्ण पदक" विजेता हुन् l
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो l
सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिव...
मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थ...