पुरुषमा हुने क्यान्सरका लक्षण र रोकथामका उपायहरू

काठमाडौं- मुख, फोक्सो, प्रोस्टेट, पेट, आन्द्रा र छालाको क्यान्सर प्रायःजसो पुरुषमा हुने क्यान्सरहरू हुन् ।
मुखको ल्युकोप्लाकिया हुनु एउटा क्यान्सर हुनुभन्दा अगाडिको अवस्था हो। यो क्यान्सरको जोखिम बढ्दो उमेरसँगै बढ्दछ ।
क्यान्सर हुने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन गर्नु हो। फोक्सोको क्यान्सर प्रायःजसो धुम्रपान गर्नेहरूलाई हुने गर्दछ । त्यस्तै गरी स्वरयन्त्र, खानेनली, मिर्गौला, मूत्रथैली र पेटको क्यान्सर हुने जोखिम पनि धुम्रपान सेवनसँगै बढ्छ ।
सूर्तिजन्य पदार्थ चपाउनु पनि उत्तिकै हानिकारक हुन्छ । यो मुखको क्यान्सर निम्त्याउने प्रमुख कारक तत्व हो। त्यसैगरी वातावरणीय र आन्तरिक वायु प्रदूषण, कलकारखानाबाट हुने प्रदूषण र अरुले गरेको धुम्रपानको धुवाँले पनि क्यान्सर हुन सक्ने जोखिमलाई बढाउँछ ।
अस्वस्थकर खानपिन गर्ने बानी जस्तै बोसोयुक्त खाना खाने बानी आदिले विभिन्न किसिमको क्यान्सर हुने जोखिमलाई बढाउँछ ।
क्यान्सरका लक्षणहरू
मुखमा कुनै घाउ हुनु वा सुन्निनु
घाँटीमा ग्लान आउनु
खोक्दा रगत आउनु
दिसा गर्ने बानीमा परिवर्तन आउनु
खान मन नलाग्नु र तौल घट्नु
समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मद्दत गर्दछ ।
क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी गर्ने ?
सूर्तिजन्य पदार्थको सेवन तथा धूम्रपान नगर्ने। यसो गर्नाले तपाईंलाई क्यान्सर मात्र नभई अन्य विभिन्न रोग लाग्ने जोखिम पनि कम हुन्छ ।
सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।
प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने ।
तन्दुरुस्त रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने ।
स्वस्थकर जीवनशैली अपनाएमा माथिका कारक तत्त्वहरूलाई पन्छाउन सकिन्छ र यसले तपाईंलाई क्यान्सर मात्र नभई अन्य रोगहरू जस्तै स् मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घश्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावनालाई पनि घटाउँछ ।
यदि शंकास्पद लक्षण देखिएमा वा साथै तपाईंको परिवारमा कोहीलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस् ।
यदि तपाईं आफ्नो कामको सिलसिलामा विकिरण वा औद्योगिक विषाक्त पदार्थहरूको जोखिममा पर्नु हुन्छ भने उपयुक्त सुरक्षाका उपायहरू अपनाउनुहोस् ।
ल्युकोप्लाकियाको जाँचको लागि आवधिक रूपमा मुखको परीक्षण गराउनुहोस् ।
चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस बीको खोप लगाउनुहोस् ।
स्मरणीय : प्रस्तुत सामग्री स्वास्थ्यसमबन्धी विभिन्न पत्रपत्रिका र न्युज एजेन्सीहरूको मदतमा सङ्कलन गरिएको हो l
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।