राष्ट्रिय दलित गोलमेच सम्मेलनलाई संयुक्त नागरिक पार्टीका अध्यक्षको शुभकामना !

काठमाडौँ: जेठ, ३०-राष्ट्रिय दलित गोलमेच सम्मेलन २०८२ जेठ ३० गतेदेखि असार १ गतेसम्म पुर्व राजदूत डा. निर्मल विश्वकर्माको नेतृत्वमा सम्पन्न हुन गइरहेको ऐतिहासिक सम्मेलनप्रति संयुक्त नागरिक पार्टीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । यो सम्मेलन दलित शिल्पी समुदायको मुक्तिका लागि एउटा रणनीतिक खाका तयार गर्ने निर्णायक अवसर हो भन्ने विश्वास लिएको छु ।
हामी आशा गर्छौं कि यस सम्मेलनले दलित मुक्ति आन्दोलनलाई दिशाबोध गराउने खाका निर्माण गर्नेछ, जुन खाकालाई हामी संयुक्त नागरिक पार्टी लगायत नेपालका राजनीतिक पार्टी र सामाजिक अभियानले आत्मसात गर्दै राष्ट्रिय सामाजिक राजनीतिक अभियानको मुख्य मुद्दा बनाउन सकुन । हामी जातीय, धार्मिक, भाषिक, भौगोलिक, सांस्कृतिक तथा पहिरन र पहिचानका आधारमा हुने दमन, उत्पीडन, बहिष्करण र विभेदको विरुद्ध निरन्तर संघर्ष गर्दै छौं। हाम्रो पार्टीको अठोट छ जातीय छुवाछूत तथा विभेदमुक्त, समतामूलक, न्याययुक्त र समृद्ध समाज निर्माणमा योगदान पुर्याउन सकौं । सम्मेलनले विशेषगरी हिन्दू वर्ण-व्यवस्थाबाट उत्पीडित दलित शिल्पी समुदायमाथिको संरचनात्मक अन्याय अत्याचारको अन्त्य गर्न, तथा अन्तरजातीय विवाहका कारण अजित मिजार (काभ्रे) र नवराज विक (पश्चिम रुकुम) लगायतका जस्ता अमानवीय घटनाबाट पीडित परिवारलाई न्याय दिलाउने रणनीति निर्माण गर्नेछ भन्ने हामी आशा राख्दछौं ।
नेपालमा दलित समुदाय विशेष गरी शिल्पी वर्ग अझै पनि धार्मिक र जातीय संरचनाबाट गहिरो रूपमा पीडित छन् । यस्तो अवस्थामा राष्ट्रिय दलित गोलमेच सम्मेलन आफैंमा ऐतिहासिक छ। यस सम्मेलनबाट दलित शिल्पी समुदायको मुक्ति अधिकार सुनिश्चित गर्न, संघ, प्रदेश, स्थानीय तहसहित सबै राज्य संरचनामा समान हक र सहभागिता सुनिश्चित गर्ने कार्ययोजना तय होस् भन्ने शुभेच्छा राख्दछौं। संविधानसभा र गणतान्त्रिक व्यवस्थाका प्राप्तिहरू संघीय लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको संरक्षण र कार्यान्वयनमा आजसम्म थुप्रै चुनौती छन् प्रहरी प्रशासन वा अदालती प्रक्रियाले द्वन्द्वकालीन न्यायको समाधान दिन नसक्ने स्पष्ट तथ्य हो । यस्तो अवस्थामा transitional justice प्रक्रिया मार्फत सत्य, न्याय र मेलमिलापको नीति तय गर्न आवश्यक छ, जुन यो सम्मेलनको अर्को प्रमुख मुद्दा बन्न सकोस् । दलित समुदायभित्र विद्यमान आन्तरिक विभाजन, पारस्परिक अविश्वास र सामाजिक अन्तरघुलनको अभाव पनि गम्भीर चुनौतीका विषय हुन् । हामी चाहन्छौं यस सम्मेलनले गैरदलित-दलितबीच र दलित दलित भित्रमा समेत अन्तरघुलनको स्पष्ट नीति तयार गरी सामाजिक रुपान्तरणमा आन्तरिक समानतामा समेत महत्त्वपूर्ण मार्गचित्र तय गरोस् । हामी संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराबरको पहुँच, समान सहभागिता र सम्मानित पहिचान सुनिश्चित हुन्छ हाम्रो पार्टीको दर्शन ‘सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र’ हो, जुन ईश्वरमा आधारित मूल्य–मान्यता, प्रेम, क्षमा, सेवा, सत्य, न्याय र मानवीय प्रतिष्ठाको जगमा उभिएका छौ । हामी जात र धर्मको नाममा हुने सबै विभेद, दण्डनीय बनाइएर धार्मिक सामाजिक न्याय र स्वतन्त्रता सम्बन्धी प्रावधान हरेक व्यक्तिलाई आफ्नो आस्था अनुसार बाँच्ने, प्रचार गर्ने, र शिक्षा दिने स्वतन्त्रता संविधान तथा कानुनले सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ । हामी पूर्ण धार्मिक स्वतन्त्रताको पक्षधर छौं । ख्रिस्टियन, मुस्लिम, बौद्ध, किराँत, जैन, सिखलगायत सबै धार्मिक तथा सांस्कृतिक अल्पसंख्यक समुदायको पहिचान, अस्तित्व र अधिकारको संरक्षण हाम्रो स्पष्ट नीति हो र यस धर्म र आस्था बाट दलित शिल्पी समुदायले केही मुक्तिको महसुस गरेका छन् यसलाई अझै सशक्त र व्यवहारिक रूपमा कार्यनयनमा लैजानु पर्छ भन्ने विश्वास राख्दछौं ।
अन्ततः सामाजिक न्याय, समानता, गरिबी निवारण, बेरोजगारी अन्त्य, अवसरको पहुँच र विभेदमुक्त राष्ट्र निर्माणको यो यात्रा सत्य, इमानदारी, मेलमिलाप र सेवाको भावना बिना सम्भव छैन । राष्ट्रिय दलित गोलमेच सम्मेलनले यिनै मूल्यमा आधारित कार्यदिशा तय गर्दै ऐतिहासिक निर्णय गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । संयुक्त नागरिक पार्टी सधैं न्याय, मुक्ति, सामाजिक समर्पण र समावेशी लोकतन्त्रको पक्षमा उभिएको हुनेछौं र दलित मुक्ति आन्दोलनको हरेक न्यायपूर्ण एजेन्डामा सशक्त साथ र नेतृत्व दिन तत्पर रहनेछौ फेरि पनि राष्ट्रिय दलित गोलमेच सम्मेलन पूर्ण रूपमा भव्य र सभ्य सम्पन्न होस शुभकामना ।
अध्यक्ष,दल मर्दन कामी संयुक्त नागरिक पार्टी
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...
अध्यक्ष देवराज विश्वकर्माले दलित आयोगलाई स्रोत र साधनले सम्पन्न बनाउन सरकार, सरोकारवाला दलहरू,नागरि...