गाउँभरि केराखेती,बजारको अभाव
म्याग्दी, पुस १९ : एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनुभयो । “पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।” खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक रू दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ ।
केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताउनुभयो । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उहाँले बताउनुभयो । प्रति १२ कोसा (दर्जन) रू एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले रू एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताउनुभयो । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जनमात्रै बिक्री भएको उहाँले बताउनुभयो । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।
खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा)ले बताउनुभयो । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उहाँले बताउनुभयो । बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ ।
सोह्र हजारभन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताउनुभयो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइडिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताउनुभयो । - रासस
टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बो...
“थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि मौरी पालनमा युवाहरूको आकर्षण बढ्दै गएको छ ।
किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएक...