चाडबाड सम्झेर भावुक हुँदै परदेशीले आमालाई लेखेको चिठी - सञ्जीव कार्की

प्यारी आमा,
शाष्टाङ्ग दण्डवत !
औपचारिकताको लागि सन्चै छु भने पनि हर परदेशवासी शारीरिकरूपमा सन्चो भए पनि मानसिक र भावनात्मक रूपमा कहिल्यै आरामदायी अवस्थामा हुन्नन् l विक्षप्त भएर पनि सङ्क्षिप्तमा सन्चै छु/छौ एउटा मीठो आदत र औपचारिकता बनेको छ,त्यसैले म सन्चै छु आमा l त्यहाँ सपरिवारमा आरामको कामना गर्दछु l हुनत देश यतिबेला दसैँको संघारमा आएको बाढीपहिरोले मर्माहत छ l जति नै दुख भए पनि चाडपर्व आउने र आफ्नो गच्छेअनुसार मनाउने र दुख भुल्ने सामाजिक नियम नै हो l विपदको सामना गर्दै बाँच्नेहरूले सामाजिक दायित्व निर्वाह गर्दै चाडपर्व मनाउन पर्छ नै l देश यतिबेला चाडबाड र दुखको चपेटामा छ l जे पर्छ जस्तो पर्छ सहेर बाँच्नु र बचाउनु हाम्रो नियति हो l नियतिको नियम मान्दिन भन्न सकिन्न त्यसैले दु:खमसुखम जिन्दगी चलाउनु नै पर्यो l
दशैं-तिहार, छठ जस्ता चाडबाडले माटो सम्झाउँछ । कर्तव्य सम्झाउँछ । सत्यको बाटोमा हिंड भन्छ । हाम्रा चाडपर्व मेलापात र उत्सवले सांस्कृतिक, भौतिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक, अध्यात्मिक पक्ष देश जोड्नु पनि हो । नेपालीहरू जो जहाँ रहे पनि पर्व विशेषमा आफ्नो सालनाल गाडेको माटोमा फर्कन र रमाउन चाहन्छन् तर विवशताले देश छोडेका र चाडबाडमा देशमा नहुनुको पीडाले दुखेका घाउहरू बोकेर परदेश हुनुको दुखले द्रवित छु आमा l
तल्लाघरे कान्छा भाइको फेसबुकमा आमालाई ओखरेनीका काइँला काकाले फुक्दै गरेको र महिला स्वास्थ्य स्वयंसेविका कार्यकर्ता (स्वयंसेविका ) सुन्तली भाउजुले डोर्याउँदै स्वास्थ्य केन्द्र लगेको फोटो देखेर मन बेस्सरी भक्कानिंदा यो चिठी लेखेर सम्झिरहेको छु l मेरा यी अक्षर मसीले होइन आँशुले लेखिरहेको छु l आमा विरामी हुँदा संसार अँध्यारो लाग्छ l हरेक दिन गाउँ, देश दुनियाँको दुखद खबर सुन्दा,हेर्दा, मन, मष्तिस्क ठिक ठाउँमा छैनन् l हिजो आज दुखद समाचार सुन्न कुनै न्युज च्यानल खोलीरहनु पर्दैन केवल गाउँले भाइ बैनी र देश देशावारका साथीहरूको सामाजिक सन्जाल हेरे पुग्छ l
आमाको माया देशको बिग्रदो हालत र आफू परदेशी हुनुको विवशताले सँधै- सँधै पिरोलिएका हुन्छौं l तन यता भए पनि मन आफ्नै देशको कुना,कन्दरा, शहर,बजार,पाखा, पखेरा,लेक,बेंसी, हिमाल पहाड,तराई तिर कुदिरहेको हुन्छ l नारायण गोपालले गाएको गीत झैँ ‘म जन्मे जहाँ म हुर्के जहाँ त्यहीँ आँगन प्यारो छ l यो छाती भरि मुरीका मुरी नेपालको माँया छ’ l आफ्नो देश र परिवेश प्रिय छ अविष्मरणीय छ l देशमा चाड,पर्व,उत्सव र मेला हुँदा यहाँ हाम्रो मन खपीनसक्नु गरेर दुख्छ l झन् चुनाव जस्तो महत्वपूर्ण चिज आफ्नो भाग्य र भविष्य रोज्ने व्यवस्थामा सामेल हुन नसक्ने बाध्यताको विकराल पर्खाल सामु कठोर मुटु पारेर सहनुको विकल्प छैन l
आमाको स्वास्थ्य कस्तो भयो ? कतै झारफुकको भर मात्रै पर्नु भएको त छैन ? काकीले स्वास्थ्य चौकीतिर डोर्याएको फोटोले पक्कै आमाले औषधि पनि खाएर ठिक हुनु भयो होला भन्ने आशामा छु l औसधि खानु विज्ञान हो भने झारफूक मात्रै चैं मनोविज्ञान हो तसर्थ पहिलो प्राथमिकता औषधिलाई दिनुहोला l त्यसपछि मात्रै हाम्रो चलनको मनोविज्ञानलाई ? तसर्थ म झारफुक गर्दै नगर्नुस भन्दिन यो अन्धविश्वास नै हो तर पनि हाम्रो सामाजिक मनोविज्ञान पनि भएकोले यसलाई पूर्णतया अहिल्यै निषेध गर्न हुन्न l तर अनावश्यक खर्च गरेर फुकफाकमा मात्रै भर परियो भने ज्यान जान सक्छ ? सामान्य फुकफाक अन्ध विश्वाससँग हुर्केको मनोविज्ञान पनि हो त्यसैले आजको औषधि विज्ञानले मनोविज्ञानलाई पनि नजर अन्दाज गर्नु हुँदैन भन्छ l
अन्धविश्वाशको नाममा गरिने अनावश्यक खर्च ढ्यांग्रो धामी झाँक्री बलिलगायतका कुरा छोडेर सामान्य फुकफाक आपत्तिको विषय होइन l अन्धविश्वासको कारण धेरै नेपालीले ज्यान गुमाएको, धामी झाँक्रीको भर परेर बेहाल भएको l झाँक्री र धामीले तातो हतियारले डामेर मृत्यु भएको मृत्यु भएको तीन दिनसम्म पनि उपचार भनेर लास कुहिने अवस्थासम्म ज्यादती गरेको कुरा चै वर्जित नै हुनुपर्छ l बोक्सीको नाममा अनेक यातना दिएको र मान्छे समेत मारिएको घटना प्राय र बारम्बार सुनिरहेका छौं त्यसैले यसमा होसियारी भने अपनाउनु पर्छ l जानेबुझेकाले सम्झाउनु पर्छ l छाउ, नछुनी,बोक्सी, दहेज ,जातीय छुवाछुत जस्ता कतिपय अत्यन्तै आपत्तिजनक कुप्रथा र परम्परा हाम्रो समाजमा छन् तिनका बारे रहेका अनावश्यक भ्रम, अन्धविश्वास र खराव मनोविज्ञानलाई हटाउनुपर्ने दायित्व हाम्रो पनि हो l
प्यारी आमा,
बुबाको सिगरेट खाने बानी पहिले जस्तो नै छ कि ? कमि गर्नु भो या छोड्नु भयो ? विर्ख बाजेको मदिरा लत उस्तै छ कि छोड्नु भयो ? बुबा अलि अलि काम पनि सघाउनु हुन्छ कि बृद्द भत्ताको धाक दिएर बस्नु हुन्छ ? जलबिरे काकाले तास खेल्न पक्कै छोड्नु भयो होला ? गरिब र भएर पनि विपन्न भए पनि सामाजिक काम गर्ने अमर विश्वकर्मा दाइको योगदान गाउँलेको लागि उदाहरणीय l धन भएका मन नभएकाहरूको दाँजोमा मन भएकी तर धन नभएकी उजेली काकीको मर्दा पर्दा दिलो ज्यानले सघाउने बानीले आज पनि काकी सबैको प्रिय हुनुहुन्छ l गाउँका सबै आफन्त इष्टमित्रलाई साइनो अनुसार सेवा ढोग सम्झना र आशिर्वाद सुनाइ दिनु होला है आमा l
देश छोडेर आउँदा नै हामी अभागीहरूले मुटु कठोर बनाउने अभ्यास गरेर आएका हुन्छौ l कठोर मुटु नहुँदो हो त ? एक गाँस खान र एक आङ ढाक्न अनि श्रीमती छोराछोरीको भविष्य बनाउन सकिन्छ कि भनेर यो मरुभूमिमा पसिना बगाउन कसरी आइपुगीन्थ्यो होला र ? आफ्नै देशमा आय आर्जन र रोजगारी मिल्थ्यो भने यति टाढा बसेर आफ्नो भाग्यलाई धिक्कार्दै यहाँ बस्नु पर्दैनथ्यो l आँटोपिठो आफ्नै बुढाबुढी,बाउआमा, छोराछोरी र जीवन संगिनीसँग बसेर खाइन्थ्यो l घरका जहान परिवार विरामी हुँदा सहज उपचार,छोराछोरी पढाउन सर्वसुलभ शिक्षा र भैपरी आउँदा केही खर्च जोहो गर्ने पैसा कमाउने स्थिति आफ्नै गाउँ घरमा हुन्थ्यो भने यो विरानो ठाउँमा रगत पसिना बगाएर घोटिनु पर्दैनथ्यो l मुटु फुट्ने गरी काम गर्नु पर्दैनथ्यो l बाबु आमाको अन्तिम समयसम्म सँगै रहने अवसरबाट टाढा हुने स्थिति हुँदैनथ्यो l हामी रहरले खुशी खोज्न आएका होइनौ l खुशी आफ्नै ठाउँमा छोडेर रहर र सपना देखेर मात्र यो विरानो मुलुकमा दश नङ्ग्रा खियाउन आएका हौँ l
आजभोलि दिनदिन कुनै न कुनै घटना र दुर्घटनामा नेपालीले ज्यान गुमाएको खबर पाइन्छ अनि रातो बाकसमा आफ्नै सहकर्मी, छिमेकी र नेपालीको लास देश फर्काउन अनेक ठाउँमा हारगुहार गर्दा, दुतावास धाउँदा आफ्नै पनि कुन दिन यस्तै नियति हुने हो भनेर मन अतासिन्छ, मुटु काँप्छ, भक्कानिन्छ छाती, झर्छ आँशु, वैरागिन्छ मन अनि फतक्क गल्छ शरीर र लोलाउँछ नयन l आफ्ना लालाबालाको कहालीलाग्दो भविष्य सम्झेर कता कता पुग्छ मन ? झट्ट यो विरानो मुलुक छोडेर आफ्नै आमाको काख जाउँ जाउँ पनि लाग्छ तर गाउँ फर्केर पनि के गर्ने कसो गर्ने उचित अवसर र वातावरण छैन l अर्काको देशमा श्रम,पसिना, आँशु र रगतले सिँचन गरेर मलिलो बनाउन, बालुवामा फसल फलाउन लाग्नुभन्दा एक थोपा पसिना भए पनि आफ्नै देशमा पोख्न मन नलाग्ने त होइन ? तर मरुभूमिमा सुन फलाएको श्रम र सिप देशको मुहार फेर्न लगाउन सकिएको छैन l यसैमा खेद छ l
हुनत प्रवासमा बसेर पनि देश थेग्ने रेमिटेन्स हाम्रै पाखुरीको आर्जन हो l महँगो संघीयता चलाउन चाहिने खर्च हाम्रै रगत पसिनाको आर्जनलाई नेताहरूले आफ्नै माइती, मावली, ससुरालीको पेवा पात दाइजो र दान झैँ खर्च गर्न सकेका छन् l उपचार गर्न विदेश पुगेका छन् l एक अर्थमा त गर्व पनि छ l आफू र आफ्ना जहान परिवार छोराछोरीलाई भोकै नाङ्गै राखेर सिटामोल र जीवन जल खुवाउन नसके पनि नेताहरू पाल्ने हैसियत र विश्वका महङ्गा र उच्चस्तरीय अस्पतालमा उपचार गरेर चोला फेर्ने अवस्था हामी विदेशिनुको कारण सम्भव भएको छ l स्थानीय निकायदेखि प्रदेश र संघीय सरकारका कर्मचारी, मन्त्रीहरू हाम्रा आर्जनमा सेवा र सुविधाको नाममा देशमा ब्रम्हलुट मच्चाउन सफल छन् l परदेश भूमिमा मरौपरौ हुन्छ, आपद विपद पर्छ l भवितव्य हुन्छ l अनाहकमा साथीभाइ जेल पर्छन, चेलीबेटी बिचल्ली र बलात्कारको शिकार बन्छन् त्यो बेला उद्दार गर्न हाम्रो प्रयत्न र जोड हमेशा रहन्छ त्यो बेला गरिने सहयोग कुन नेपालीको समाजसेवा भन्दा घटी हुन्छ र ? तसर्थ हाम्रो सामाजिक योगदान र सेवामा देश बाहिर बस्दा पनि कटौती भएको छैन l
घरदेश परदेश जहाँ रहे पनि नेपाली मन उस्तै हो, कोमल छ, सहयोगी छ l सेवाभावामा सदैव तत्पर र क्रियाशील रहन्छ l आखिर नेपाली रगत न हो सहयोग सेवा, सत्कार र मानवीय धर्म, हाम्रो पहिचान,कर्तव्य र अमूल्य निधि बनेको छ l नेपालीहरूको सेवा भाव सहयोग गर्ने बानी परिश्रम, जोखिम मोलेर काम फत्ते गराई छोड्ने आँटप्रति विदेशी रोजगारदाताहरू पनि यदाकदा प्रशंसा गर्छन् त्यतिबेला संसार नै जितेको अनुभूति हुन्छ l तर विदेश भनेको परदेश नै हो उनीहरू ज्याला दिए पछि यन्त्रवत काममा जोत्छन् l पुच्छर निमोठी रहन्छन् l ज्यानको सुख सुविस्ता सन्चो विरामको ख्याल राख्दैनन् l ज्यानलाई सन्चो नभए पनि पेलान सहेर घर परिवारको दुख सम्झेर काममा खटिन पर्छ l नाइँ नास्ती गर्न मिल्दैन बिरामी भएको छुट मिल्दैन l मानवीय अर्थ र महत्व भुलेर काम, काम र फगत कामको लागि जोडबल गर्छन धम्काउँछन् साहु मालिक र तिनका मतियार l त्यस्तो बेला भने मरेतुल्य लाग्छ l देश छोडेर आउनुको पीडाले नमज्जाले सताउँछ l आफ्नो देशमा यति दुख गरियो भने के असम्भव छ र जस्तो लाग्छ तर फेरि आफ्नै सुदूर अतीतले दुखाउँछ पोल्छ भत्भती उसै गाउँ छोडिएको थिएन ?
प्यारी आमा,
गाउँमै केही गर्छु भनेर ऋण खोज्न जाँदा साहुको दैलो सैयौं चोटी चाहार्दा ऋण नपत्याएका साहु विदेश जाने हल्ला सुनेर घरमै ऋण दिन आएको संस्मरण ताजै छ l म त सामान्य मान्छे मेरो हकमा मलाई गाउँले साहुले खेती गर्छुभन्दा ऋण नपत्याउनु स्वाभाविकै हो l मलाई चित्त बुझाउने ठाउँ छ l तर मास्टर डिग्री सकेर पनि गाउँमा केही गर्छु रोजगारी सिर्जना गर्छु भनेर कृषि प्रोजेक्ट सम्बन्धी अवधारणा लिएर रकमको जोहो गर्न साहुहरूको ढोका चाहर्दै हिंड्ने भीमसेन दाइको कथा व्यथा कम दुखद छैन l सस्तो र सहुलियत दरमा ऋण दिने, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी प्रतिवद्दता र बैंकहरूको रवैया काम गरेर खाने र उद्योग धन्दा संचालन गर्नेको हितमा छैन l आफ्नो आय वृद्दि गर्नु मात्रै बैंकको उदेश्य हो ऊ ग्राहक मैत्री छैन l केवल व्याज मैत्री मात्रै हो l बैक आफू धनी हुने ऋणी गरिब बनाउने लक्ष्यमा छ l गाडी किन्न सहज लोन दिने बैंक तरकारी फलफूल पशु पालन लगायत कृषि जन्य उत्पादनलाई हतोत्साहित गर्छ l लोन पत्याउँदैन l उत्पादनशील कर्मको लागि ऋण नदिने बैक अनुत्पादक चिज विलासी गाडी घर घडेरीको लागि सजिलै लोन दिन्छ l आत्मनिर्भर र रोजगारीको बाटोमा लाग्न खोज्नेलाई बैंक रित्तो हात फर्काउँछ l मैले नबुझेको हो कि सरकारको नीति निर्माण तहमा बस्नेले नबुझेका हुन् ? बैक कृषकलाई पत्याउदैन कृषिलाई उधमको दर्जा दिंदैन, कृषकलाई उधमी मान्दैन यस्तो नीति रहेसम्म देशमा युवा फर्कने उद्यम गर्ने र गाउँ बनाउने र कृषिमा आत्मनिर्भर बन्ने वातावरण कसरी बन्छ ?
त्यत्रो पढे,लेखेका देश विदेश घुमेका, प्रविधि र ज्ञान, सिप भएका, भीमसेन दाइको योजना, कार्यकर्म, र उदेश्यलाई बैंकले सघाएन l अनेक बहाना गरेर थालेको कामलाई पनि सहयोग गरेन l कुनै साहु महाजनले पनि ऋण दिएर गाउँ बस्ने वातावरण बनाउन सहयोग गरेनन् l उनको उदेश्य थियो गाउँमै रमाउने कमाउने र गाउँ जमाउने, कृषिलाई उद्यम बनाउने, किसानलाई उद्यमी भनाउने, र अरूहरूलाई पनि गाउँ आऊ आऊ बनाउने, गाउँ मै बस्ने स्थिति सिर्जना गर्ने,गाउँ केन्द्रित विकास निर्माण गर्ने l युवा पुस्तालाई स्वरोजगार बन्न अभिप्रेरित गर्ने, अर्ग्यानिक खेती गर्ने, हरियाली वृद्दि गर्ने, वनजंगल जोगाउने, सुख्खा जमिनमा हरियाली बनाउने, व्यवसायिक पढाई गर्ने, प्राकृतिक उपचारको लागि आरोग्यता केन्द्र खोल्ने औषधालय निर्माण गर्ने जडिबुटी खेती गर्ने, प्रशोधन गर्ने र निर्यात गर्ने, पशु,पंक्षी पालन गर्नेलगायत यावत योजना उदेश्य र रहरहरू थिए ती सबैको लागि न सरकारले फ्यासिलेटेड गर्यो न बैंकले लोन पत्यायो l शैक्षिक प्रमाण पत्र धितो राखेर दिने लोनको घोषणा समेत गाउँको हकमा लागू भएन l थुप्रै झन्झटिलो शर्त, अप्ठ्यारा र अनेकन व्यवधानले काम गर्न अवरोध सिर्जना भयो l लोन लिनुभन्दा बरू काम नै नगरी बस्नुको स्थितिमा पुर्यायो l पढेलेखेको मान्छेले कृषिमा काम गर्छुभन्दा गाउँले समेत पत्याउने स्थितिमा रहेनन् l
गाउँमा राजनीति गर्ने दलका कार्यकर्ताले उनको यो विचारलाई समर्थन गर्नुको बदला उनलाई गाउँ छोडाउन वातावरण निर्माण गरे l काम गर्ने मान्छेको जोश जाँगर र इच्छा मार्ने प्रपन्च गर्दै हतोत्साहित गरेर हेप्ने उडाउने गर्न लागे l समग्रमा असहयोगको नीति लिए l ऊर्जा दिनु पर्नेले उडाउन लागें l आखिर एउटा मान्छेको रहरमा देश समाज र देशेले अवलम्बन गरेको नीतिनै विपक्षमा भएपछि कसरी टिक्छ मान्छे ? अन्ततः भीमसेनदाइलेसमेत पलायन रोजे l आफै मालिक र आफै नोकर बनेर काम गर्ने सपना छोडेर अर्काकै लागि काम गर्न विदेश जानुपर्ने र पढेलेखेका मान्छेको हकमा समेत गाउँ ठाउँ अनुकूल नभए पछि सामान्य मान्छेको हालत के हुन्छ ? भीमसेन दाइ जस्ताको आफै कमाउछु उद्योग गर्छु रोजगारी सिर्जना गर्छु गाउँको लागि केही गर्छु भन्नेको रहरमा तुषारापात भएपछि सामान्य मान्छेको आँट कसरी पुगोस ? त्यसैले हाम्रा गाउँहरू युवाविहीन भएका हुन् l तव देश कसरी बन्छ हामी जस्ता ,मान्छे कसरी देशमै बस्न सकिन्छ भनेर फर्कनु ? जहाँ बसे पनि देशको माया छ l आँखाभरी देश बनाउने सपना छ तर देशले हामी जस्ता युवा स्वदेशमै राख्ने नीति बनाएको छैन त्यसैले विदेश आउनुपर्ने बाध्यता छ l
विदेशीभुमिबाट हेर्दा हामी गरिब छैनौ हामी निर्धन होइनौ l हामी यसरी गरिवी र विपन्न नै बाँच्न पर्ने होइन l हामी धन चिन्न नसकेर र यसको सदुपयोग गर्न नजानेर नसकेर गरिब भएका हौ l हाम्रो ठुलो धन हाम्रो मेहनत गर्ने स्वभाव पनि हो तर त्यो स्वभाव र त्यो शक्ति विदेशी भूमिको लागि भएको छ l हामीसँग धेरै थोक छ l यता विदेशमा गर्ने कर्म स्वदेशमा गर्न नलजाउने हो भने मात्रै पनि हामी नेपालमा नै असहजताका बाबजुद अलि धेरै गर्न सक्छौ l यहाँ हामी जे पनि काम गर्न सक्छौ/गर्छौ तर नेपालमा कामलाई सानो र ठूलो भनेर तुलना गरिने हुनाले सानो जस्तो लाग्ने काम गर्दैनौ l यता गरिने जति काम त्यता नगर्दा नहुने र नपाउने चिज केही छैन l नेपालमा बस्दा उत्पादनमुखी काम नगर्ने र काम गर्दा आर्जित रकम फुर्मासी गर्ने बानीले हामीलाई अभावमा बाँच्न अभिशप्त गराएको हो l पाएको काम सानो भन्ने र काम गरे बापदको रकम जोगाउन नजान्ने प्रवृतिले हामीलाई विपन्न बन्न सघाएको तथ्य घाम जत्तिकै छर्लंग छ l
सरकारले आफ्नो मलिलो जग्गा बाँझो र सुख्खा राखेर बालुवामा तेल निकाल्न युवा निर्यात गर्ने नीति अख्तियार गरेको देख्दा दिक्क लाग्छ l हाम्रो श्रम,शक्ति र ऊर्जा देशले सदुपयोग गरे हामी हाम्रा कलिला नानी बाबुको तोते बोली र आमा बाको न्यानो काख र जीवन संगीनिको तातो अंगालोबाट विमुख हुनु पर्दैनथ्यो l जन्ती मलामीको सामाजिक दायित्व पीडा सबैसँग बसेर बाँडिन्थ्यो l हरिकृष्ण बाजे बिहान ११ बजे स्वर्गे हुँदा पनि मलामी नजुटेपछि तीनदिन घरमा राखेर सव यात्रा चलाएको सुन्दा कति नमीठो लाग्यो र गाउँ युवा विहीन बन्दाको अवस्थाले बेस्सरी दुखायो l हुनत संसारमा सबैलाई दुख छ l दुखका आफ्नै प्रकार र तरिका छन् l तर पनि परदेश बसेर स्वदेशको दुखमा सहभागी बन्न नपाउँदा हुने पीडा र खिन्नता कहिनसक्नु छ,सही नसक्नु छ l
आमा,
परदेशमा धेरै थोक छ l तर देश छैन, आमा तिमी छैनौ l बुबाको अभिभावकीय हप्की छैन l काकाको मित्रता सहितको स्नेह छैन l वनमा कराउने कोइलीको कुहु कुहु छैन घाँस दाउरा र गोठालो जाँदा साइँली दिदीले ल्याइदिने चुत्रो छैन l एसेलु र काफल खल्तीमा बोकेर ल्याई दिने मायालु चम्पा छैन l केवल यहाँ छ साहु र उसका चम्चाहरूको निर्दयी आदेश निर्देश र कठोर कर्कश आवज l यहाँ हामी मान्छे भएर बसेका छैनौ यन्त्र मानव भएका छौ l ४०, ४५ डिग्रीको गर्मीमा खलखली पसिना बगाएर काममा जोतिनु र शुन्य डिग्रीभन्दा तल रगत जम्ने चिसोमा काम गरेर बस्नु हामी नेपालीको कुनै सुख र रहर होइन बाध्यता हो आमा l देश सम्झदा आँखाबाट आँशु होइन रगत चुहिन्छ आमा रगत ! लामो गन्थन लेखे यो मेरो व्यक्तिगत गन्थन मात्रै होइन बाध्यताले प्रवाशमा बसेका आम नेपालीको हो l हामी विश्वका जुनुसुकै कुनामा बसे पनि यतिबेला देश सम्झेर पिरोलिएका छौं l
म जस्तै सबै नेपालीले सम्झिएका छन् l आफ्ना आमाबाबु र माटो l आमाको आशिर्वाद र शुभेच्छा सधैँ शिरोपर गर्दै आजलाई बिदा हुन्छु l
नोट : यहाँ उल्लेखित आमा सम्बोधन देशरूपी आमा र जन्म दिने दुवै आमा भएको बुझ्न अनुरोध छ )
उही तपाईको
परदेशी छोरो/ छोरी
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।