दशहरा र पुतली सेलाउने खेल - घण्टेश्वरी जोशी

१. विषयपरिचय
डोटी जिल्ला सुदूरपश्चिम प्रदेशका नौओटा जिल्लामध्येको पाहाडी भूभागमा पर्ने जिल्ला हो । ऐतिहासिक, भौगोलिक, समाजिक तथा सांस्कृतिक रूपमा यस जिल्लाको छुट्टै पहिचान रहिआएको छ । डोटी जिल्लाको भाषा, संस्कृति, रहनसहन, जीवनपद्धति संस्कार र व्यवहार अत्यन्त मौलिक छ । यहाँ वर्षभरि मनाइने विभिन्न स्थानीय चाडपर्वहरूमध्ये आफ्नै विशेष किसिमको मौलिकतासहितको पहिचान बोकेका पर्वहरूमध्ये दसहरा पनि एक हो । यो विशेष गरी गङ्गादसहराको दिन मनाइन्छ भने स्थानीय भाषामा यसलाई दसारा भन्ने गरिएको पाइन्छ । विशेष गरी तिथिअनुसार ज्येष्ठ तथा आषाढ महिनामा पर्ने यो पर्व डोटी जिल्लाका प्रायः सबैजसो ठाउँमा धुमधामका साथ मनाइन्छ । यस पर्वको डोटेली समुदायमा आफ्नै किसिमको विशेषता रहेको छ । सामाजिक, सांस्कृतिक, धार्मिक तथा साहित्यिक विशेषता बोकेको यस पर्वको डोटेली समुदायमा धार्मिक, सामजिक, सांस्कृतिक र साहित्यिक महत्त्व रहेको पाइन्छ । डोटी जिल्लामा विशेष गरी अविवाहित छोरीबेटीहरूले पुतलापुतली बनाई विवाह गर्ने यस पर्वमा सहभागिता भने विवाहित महिला र पुरुषको समेत हुने गर्छ । यसले एकातिर डोटेली समुदायका सांस्कृतिक पक्षलाई उजागर गरेको छ भने अर्कोतिर यसको प्रस्तुतिले साहित्यिक महत्त्वका साथै लोकपरम्परालाई पनि झल्काएको छ । अतः दसहरा पर्व डोटेली लोकपरम्परालाई निर्वाह गर्दैै आएको पर्व हो । यस लेखमा दसहराको अवसरमा प्रस्तुत गरिने पुतलापुतली खेलको सन्दर्भलाई सामाजिक तथा साहित्यिक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
२.पुतली सेलाउने खेलको प्रस्तुति
दसहरापर्वमा मनाइने पुतली सेलाउने खेल विशेष गरी बाह्मण जातिका अविवाहित छोरीबेटीहरूले खेल हो । यो तिथिअनुसार कहिले ज्येष्ठ र कहिले आषाढ महिनामा पर्छ । उक्त दिन डोटीको खप्तडमा पनि विशेष किसिमले पूजाआजाका साथै धार्मिक मेला लाग्छ । डोटी जिल्लाका प्रायः सबैजसो क्षेत्रमा मनाइने यस पर्वमा दसहरा आउनुभन्दा एक हप्ता अगाडि नै पुतलीको घर बनाउन गाउँभरिका छोरीबेटीहरूद्वारा पँधेरामा गई ढुङ्गामाटो बोकी घर बनाउनुका साथै उक्त घरलाई रातोसेतो माटोले लिपपोत गरी चिटिक्क पार्ने काम गरिन्छ । पुतली बनाउनको लागि दमाइको घरबाट कपडाका रङ्गीचङ्गी टुक्रा ल्याएर पुतली बनाउने काम गरिन्छ । त्यसरी बनाएका पुतलीहरू हेर्नमा असाध्यै राम्रा देखिन्छन् । तिनीहरूमध्येबाट एउटा पुतला बनाउने गरिन्छ भने छोरीबेटीहरू आआफ्ना छुट्टाछुट्टै पुतली बनाई दसहराको अघिल्लो राति सबै छोरीबेटीहरू गाउँको परम्परागत आगनमा जम्मा हुने गरिन्छ । परम्परादेखि यसरी नै यो पर्व मनाइदै आएको पाइन्छ । यो पर्व मनाउन दसहराको अगिल्लो दिन रातिको खाना खाएर गाउँका अरु महिलाहरू समेत पुतलापुतलीको विवाहको रमाइलो हेर्न सोही आँगनमा आउँने गर्छन् । छोरीबेटीहरूले शुभलग्नमा पूजासामग्री तयार पारेर परम्परादेखि चलिआएको चलन र विधिविधानका साथ पूजाआजा गर्छन् । केटीहरूबाटै बेहुला बेहुली बनाउने अनि बेहुलाले पुतलो र बेहुलीले पुतली समातेर विवाहमण्डपमा बस्ने गरिन्छ । यसमा छोरीबेटीहरू माइती र पोइली गरी दुई पक्षमा विभाजन हुन्छन् । यसपछि विवाहको आरम्भ हुन्छ । यस क्रममा मंगल्यारीले मङ्गल गीत गाउने गर्छन् । माइतीहरूले कन्यादान गर्छन् । विवाह सकिएपछि छोरी, बुहारी र आमाहरू मिलेर डेउडा खेल्ने, नाचगान गर्ने फाग (माङ्गल)गाउने र राति अबेरसम्म रमाइलो गर्ने गर्छन् । भोलिपल्ट बिहानभरी आफ्नो घरको काम गर्ने, दिउसो लाउन(पुरी) पकाउने काम गर्छन् । साथै आँप, आरुबखडामा तिल भङिरो(सिलाम) भुटेर अचार बनाउने र पोको पारेर लगी विवाह गरेको आगनमा जम्मा हुने गर्छन् । त्यसपछि पुतला पुतलीका लागि डोली तयार पारेपछि बाजा बजाउँछन् ।गाउँका सबै केटाकेटी, बुढापाका, छोरीबुहारीलगायत सबै सहभागी जन्तीलाई टीका लगाउने र बिहे अन्माउने तयारी गर्छन् । यस क्रममा महिलाहरूले माङ्गल (सगुन) गाउनुका साथै दमाइले बाजा बजाउने केटाहरूले डोली बोक्ने काम गर्छन् । डोलीमा विवाह गरेका पुतलीका जोडी राखिएको हुन्छ । त्यसपछि पकाएका कोसेली (परिकार), पूजासामग्रीसहित जन्तीहरू परम्पराअनुसार पँधेरामा जान्छन् । पँधेरामा पुतलीका लागि अगाडि नै घर तयार पारिएको हुन्छ । जन्ती जानेक्रममा सबै जन्तीहरू बाजाबजाउदै कीर्तन, भजन र माङ्गल गाउँदै रमाइलो गर्दै पँधेरामा पुग्छन् । त्यसपछि डोली भुइँमा राखेर हातमुख धुने अनि पुतलीका लागि बनाएको पुतलीघरको पूजा गरी माङ्गल गाउँदै पुतलापुतली भित्र्याउँछन् ।
३.सामाजिक महत्त्व
दसहराको अवसरमा गाउँका छोरीबेटीहरू मिली पुतली सेलाउने यस खेलको छुट्टै सामाजिक महत्त्व रहेको छ । यस खेलको आयोजनाबाट गाउँभरिका मानिसहरू एक ठाउँमा जम्मा भई आफ्ना सुखदुःखका भावहरू डेउडामार्फत आदानप्रदानका साथै मनोरञ्जन गर्ने गर्छन् । बुहारीहरू घरको कामबाट केही समयका लागि विश्राम लिई आफ्नो शारीरिक र मानसिक थकान मेटाउन हाँसोठट्टाका साथै खेलमा सहभागी भई आनन्द प्राप्त गर्छन् । पुतलापुतलीको विवाहका लागि सामुहिक रूपमा विवाहको तयारी गरिने भएकाले सामाजिक सद्भाव र सहभागिता पनि देखिने गर्छ । डोटेली समुदायमा मनाइने यस खेलले परम्पराको निर्वाह गर्दै मानिसलाई सामाजिक कार्यमा तत्पर रहने प्रेरणा दिएको छ ।
४.साहित्यिक महत्त्व
दसहराको अवसर पारेर पुतली सेलाउने यस खेलको साहित्यिक महत्त्व निकै रहेको छ । पुतली सेलाउने बाल अभिनयमा आधारित खेल हो तर यसमा मोरञ्जनका लागि प्रस्तुत गरिने मागल फाग तथा डेउडाको प्रस्तुतिले साहित्यिक विशेषता झल्काएको पाइन्छ । छोरीबेटीहरू पुतलापुतलीको विवाह आरम्भ गर्दा र पुतली भित्र्याउँदा यसरी मङ्गलगान गाउँछन् ः
सगुन देनिका भला यिभला भला सगुन भला
सरस्वती सगुन दिन्नी वृहस्पति लगन दिन्ना
अैहात्तीले मङगल गायो,
यी भला सगुन भला
बुढो ढिँडो बैस्यानर
उपरी छत्रभुज छाता
सुवालक्ष्मी नबोलन्ती
ऐसासुवा मङगल यिनैघरी ।
पुतलीको विवाहपश्चात् गृहप्रवेश भइसकेपछि सहभागी छोरीहरूले पुतलीलाई सान्त्वना दिन यसरी गीत गाउँछन् :
रनपुतलाउ भोग लागे लाउन खाया रनपुतलाउ,
रनपुतलाउ तिस लागे पानी खाया रनपुतलाउ
रनपुतलाउ पन्याराकी पाटीमथि बसिरया रनपुतलाउ ।
रनपुतलाउ घाम भए सेल बस्या रनपुतलाउ
रनपुतलाउ जाडी भए घाम बस्या रनपुतलाउ
रनपुतलाउ स्वराइ लागे माइत आया रनपुतलाउ ,
रनपुतलाउ पिठिको भयलु लाउँला रनपुतलाउ
बोलाउनाकि कठै ! मेरी रनपुतलाउ ।
प्रस्तुत अंशलाई मागल गीतको भाकामा गाउँदै मनोरञ्जन गरिन्छ । यहाँ पुतली विवाहपश्चात् आफ्नो माइतीघर छाडेर जान नमान्दा पुतलीको विवाह गरी पठाउन लागेको अभिनय गर्ने आमाहरू गीतमार्फत् सम्झाउँछन् । यस क्रममा भोक लागेमा सेलपुरी खानु, तिर्खा लागे पानी खानु, पधेँराको पाटीमा बस्नु, गर्मी भएमा रुखको छहारीमा बस्नु, माइतीघरको सम्झना आएमा माइत आउनु, तिमीलाई बोलाउन तिम्रै भाइलाई पठाउँला भन्दै सम्झाइबुझाइ गर्छन् । यसरी गीतलाई महिलाहरूले मिठो भाकामा गाउँदा साच्चिकै छोरी बिदाइ गर्दाको अनुभूति हुने गर्छ । साहित्यिक सन्दर्भबाट हेर्दा गीतलाई लयबद्ध रूपमा गाउँदा आफ्नै छोरी बिदाइ गर्दाको आभास हुन्छ । यसरी पुतलीलाई आँगनबाट विवाह अन्माएर पँधेरामा लगिन्छ र विसर्जन गरिन्छ । त्यसपछि सबै जना बसेर जन्ती जाँदा लगेको सगुन कोसेली पहिले पुतलीलाई दिने र त्यसपछि बाजा बजाउँनेलाई दिने गरिन्छ । अन्तिममा सबैले मिलेर बाँडेर खाने गरिन्छ । पुनः त्यही पँधेराबाट फर्किने बेला त्यसै डोलीमा बेहुली बनाएर एउटा केटीलाई घर ल्याउने गरिन्छ । बेहुली बनेकी केटीलाई ठुलो स्वरमा भाका मिलाई रोएको अभिनय गराउँदै घर ल्याउँने गर्छन् । यस क्रममा बेहुलीले यसरी गीतका माध्यमबाट रोएको अभिनय गर्छिन् :
इजुकालालेक कालाधुरा म एकली कसेरी जाउँलो, इःजु
साथकी सङिनी छाडी म एकली कसेरी जाऊँ, इःजु
पिठीको भयलु साथ लाउँला दमाइको चेलो साथ लाउँला
पिठीको भयलु फर्की रे आलो इःजु
दमाइको चेलो फर्की रे आलो इःजु
म एकली कसेरी जाऊँ इजु कालालेक कालाधुरा, इःजु
साथकी सङिनी साथ लाउँलो, इःजु
साथकी सङिनी आधाइ बाटा फर्की आउन्नि
म एकली नैजानो, इःजु
अल्यबठी इःजु जिउको कोखेलो छुट्यो
भाइबैनाको झगडा छुट्यो इःजु
सङिनीको साथ छुट्या,े इःजु
अल्यबठी मेरी इःजु गइली निन सिया इःजु
अल्यबठी मेरी इःजु हलुकी भया ।
प्रस्तुत खेलमा बेहुली रुँदै डोलीमा लगेर जान्छन् । घरमा पुर्याउने परम्परा रहेको छ । अन्तमा राति डेउडा खेल्ने ,नाच्ने गाउने रमाइलो गरेर कार्यक्रम समापन गर्ने प्रचलन रहेको छ ।
५ निष्कर्ष
डोटी क्षेत्रमा वर्षभरी मनाइने विभिन्न चाडपर्वको विशेष महत्त्व रहेको छ । ती पर्वहरूमध्येको सामाजिक, सांस्कृतिक, धार्मिक तथा साहित्यिक महत्त्व राख्ने विशेष पर्वका रूपमा दसहरा पर्वमा प्रस्तुत गरिने पुतली सेलाउने (पुतली विसर्जन) खेललाई लिइन्छ । यो महिलाप्रधान खेल हो । यसमा दर्शका रूपमा पुरुषको पनि सहभागिता रहने भए पनि यस खेलमा महिलाकै सक्रियता बढी रहने गर्छ । दसहरा आउनु पूर्व नै गाउँका अविवाहित कन्याहरू पुतली विसर्जनका लागि सबै जना मिलेर धुमधामसँग तयारी गर्छन् । रङ्गीन कपडाका टुक्राहरू बटुली पुतली बनाउँछन् र आकर्षक ढङ्गले सजाउँछन् । सबैजा मिली पुतलीको घर बनाउँछन् । बनाएको घरलाई रातो र कमेरो माटोले लिपपोत गरी आकर्षक बनाउँछन् । दसहराको दिन स्थानीय मागल फाग गाउँदै विवाह सम्पन्न गरी विवाहित पुतलीलाई पँधेरामा लगी विसर्जन गर्छन् । स्थानीय भाषामा यस कार्यर्ला पुतली सेलाउने भनिन्छ त्। त्यसपछि विवाहमा जन्ती बनेर गएकाहरू आफूले घरबाटै पकाएर लगेका मिठा परिकार बाँडीचुडी खाने गर्छन् । जसले डोटेली समुदायमा रहेको सामाजिक प्रेम तथा सद्भावको चित्रण गरेको छ । साथै विवाहका लागि गरिने पूर्वतयारी, सामाजिक रूमा हुने महिलाको सक्रियता, विवाह सम्पन्न गर्दाका विधिविधानले सांस्कृतिक सन्दर्भलाई प्रस्तुत गरेको छ भने विवाह आरम्भ गर्दा गाइने मागल, गीत तथा विवाहपश्चात् गरिने डेउडाको प्रस्तुतिले सांस्कृतिक तथा साहित्यिक सन्दर्भलाई प्रस्तुत गरेको छ । यसरी डोटी जिल्लामा दसहरा पर्वको अवसरमा प्रस्तुत गरिने पुतली सेलाउने (पुतली विसर्जन) खेलले डोटेली लोकपरम्परालाई प्रस्तुत गरको छ ।
घण्टेश्वरी जोशी
(शिक्षक)
तेडी माध्यमिक विद्यालय कलेना, डोटी
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...