आज पशुपतिनाथलाई तातोपानीले नुहाइने दिन

काठमाडौं, पुस २३- सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ ।
पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।
परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनले बताए । उनका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने गरेको धार्मिक विश्वाससमेत रहेको छ ।
यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । रासस
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...