गाँजाखेती खुलाउने कानुन एक महिनामै बन्ने
आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ प्रतिबद्धता गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान कानुनको गृहकार्य थालेको छ l
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले गाँजाखेतीलाई कार्यान्वयनमा लैजान अनुरोध गरिन् । ‘गाँजाखेतीका विविध पक्ष हेर्नुपर्छ । यो अगाडि बढोस् । हाम्रो जीवनकालमै गाँजाखेतीको विकास, व्यावसायिकता देख्न पाऊँ,’ उनले भनिन् । सभापति राणाले भदौसम्ममा नियमावली कार्यान्वयनमा ल्याउन निर्देशन दिइन् । सो अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए उपसमिति गठन गरेर समिति अगाडि बढ्ने जानकारी उनले सरकारलाई गराएकी छन् ।
सरकारले गाँजाखेती खुलाउने कानुन एक महिनाभित्रै ल्याउने गरी गृहकार्य थालेको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मन्त्रीहरूले कानुन निर्माणका लागि गृहकार्य भइरहेको बताएका छन् ।
आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ प्रतिबद्धता गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान कानुनको गृहकार्य थालेको हो । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजाखेतीमा सरकारी गृहकार्य बुझ्न शुक्रबार छलफल गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन तथा कृषि, शिक्षा, स्वास्थ्य, कानुन, उद्योग मन्त्रालयका सचिवहरू बोलाइएको बैठकमा गृहमन्त्री लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजाखेती खुलाउने गरी एक महिनाभित्र नियमावली जारी हुने प्रतिबद्धता जनाए ।
‘औषधीय र विभिन्न सामग्री उत्पादन गर्ने प्रयोजनका लागि गृह मन्त्रालयले धेरै नै छिटो, लगभग महिना दिनभित्र नै नियमावली बनाउँदै छ,’ उनले भने, गाँजाको व्यावसायिक खेती र औषधिजन्य उत्पादन सरकारको नीतिमा छ । अब वैधानिक नियमनका साथ खुला गरेर अगाडि बढ्छौँ ।’
लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (१) ले ‘नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैँ उम्रने जंगली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन गर्न, त्यस्तो चरेस संग्रह गर्न, राख्न र खरिद–बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्न सक्नेछ र सोअनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा यस दफाअन्तर्गत अपराध गरेको मानिनेछैन’ भन्ने व्यवस्था छ ।
यसमै टेकेर गृहले तत्कालका लागि अध्ययन–अनुसन्धानका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर नियमावली बनाउन लागेको मन्त्री लामिछानेले समितिलाई जानकारी गराए । ‘यही नियमावलीमा टेकेर रिसर्चको काम तत्काल सुरुवात हुन्छ । यसको औषधिजन्य प्रयोजनका लागि गर्नुपर्ने अनुसन्धानका लागि गृहले नियम बनाएर, नियमावली बनाएर अगाडि बढ्न कुनै बाधा गर्नेछैन । यसका लागि मैले यहाँहरूसँग एक महिनाको समय मागेँ । कारणवश तलमाथि भएबाहेक अकारण त्यसलाई लम्ब्याउने मनसाय छैन । अध्ययन गर्ने हेतुले नियमावली बनाएर मन्त्रालय अगाडि बढ्छ ।’
गाँजाको प्रयोगका सन्दर्भमा छलफल तथा कानुन संशोधन गर्दा अनुसन्धान रोकिन नहुने पक्षमा सरकार रहेको उनको भनाइ थियो । ‘अध्ययन–अनुसन्धान रोकिँदैन । पछाडि प्रयोगका सन्दर्भमा कानुन बनाउने कुरामा हामी सबै जिम्मेवार भएर सामाजिक परिवेश, नियमन, नियन्त्रण गर्नुपर्ने हाम्रा आवश्यकताहरू, सबै कुरालाई मध्यनजर गर्दै अगाडि बढ्नेछौँ,’ उनले भने ।
अर्थमन्त्री पुनले कानुनी व्यवस्था गरेर गाँजालाई व्यावसायिक रूपमा विकास गर्नुपर्ने बताए । ‘गाँजाखेती हाम्रो स्वास्थ्य र समाजका लागि हानि छैन । हाम्रो समाज, भावी पुस्तालाई मध्यनजर गरी कानुनी व्यवस्थासहित स्टेपबाइ जानुपर्छ,’ उनले भने । गाँजाखेतीपश्चात् औषधि उत्पादनलाई स्पष्ट परिभाषित गर्न जरुरी रहेको उनको भनाइ थियो । मन्त्री पुनले गाँजालाई पर्यटकीय क्षेत्रमा प्रयोग गर्न सकिने बताए । ‘विदेशी पर्यटक आउने क्यासिनोहरूमा यसको प्रयोग हुन सक्छ,’ उनले भने ।
नेपाली समाजमा भाङको रूपमा चिनिने गाँजा अचार, बजेटको झोला, रेसाबाट जुत्ता र कोटका रूपमा बहुआयामिक प्रयोग भइरहेको र करोडौँको व्यापार पनि भइरहेको भन्दै मन्त्री पुनले गाउँमा गाँजासँग खाद्यान्न साट्ने परम्परासँग पनि जोडिएको उल्लेख गरे । ‘यसको प्रयोग लागुऔषधको रूपमा हुँदा कडाइ गरिएको छ । अन्य प्रयोगका हिसाबले अब वैधानिकता दिनुपर्छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न सक्यौँ भने निर्यात पनि हुन सक्छ ।’
पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले किसानलाई खेती गर्न दिने गरी नियमावली बनाउनुपर्ने बताए । गाँजाखेतीका सन्दर्भमा आफूले विगतमा संसद्मा गैरसरकारी विधेयक नै दर्ता गराएको उल्लेख गर्दै तामाङले गाउँमा बाँझो भइरहेको जमिनमा गाँजाखेती गर्दा बिदेसिने युवाहरूले गाउँमै ४०–५० हजार कमाउने स्थिति बन्ने बताए ।
रोजगारीका साथै राजस्वको हिसाबले पनि प्रभावकारी नियमनसहित व्यवसायीकरण गर्नु जरुरी भएको उनको भनाइ थियो । ‘जमिनबाट खेती गर्ने किसानलाई दिऊँ, कुनै व्यक्तिविशेषलाई नदिऊँ । कुनै कम्पनीलाई जिम्मा दिएर सिन्डिकेट नगरौँ, सबै किसानलाई दिऊँ । नियमनका लागि तीनै तहमा बोर्ड बनाऊँ,’ उनले भने, ‘बरु उत्पादन भइसकेपछि कम्पनीहरूलाई विभिन्न प्रयोजनमा दिन सकिन्छ । यो नेपालको अर्थतन्त्रको खुड्किलोको रूपमा रहन सक्छ ।’
गृहसचिव एकनारायण अर्यालले गाँजाखेतीका क्षेत्रहरूबारे अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी गराए । ‘यसको औद्योगिक प्रयोजन, कति मात्रामा के प्रयोजन भनेर फ्रेमवर्क बनाउने र बजार तथा सामाजिक परिवेशलाई ख्याल गर्ने गरी अध्ययन भइरहेको छ । रिपोर्ट आइसकेपछि थप गृहकार्य गर्छौँ,’ उनले भने । गाँजाको व्यावसायिक प्रयोजनका लागि लागुऔषध नियन्त्रण ऐनमा संशोधन गर्नुपर्ने उनले औँल्याए ।
समिति सभापति आरजु राणा देउवाले गाँजाखेतीलाई कार्यान्वयनमा लैजान अनुरोध गरिन् । ‘यसका विविध पक्ष हेर्नुपर्छ । यो अगाडि बढोस् । हाम्रो जीवनकालमै गाँजाखेतीको विकास, व्यावसायिकता देख्न पाऊँ,’ उनले भनिन् । सभापति राणाले भदौसम्ममा नियमावली कार्यान्वयनमा ल्याउन समयावधि उपलब्ध गराइन् । सो अवसरमा उक्त अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए उपसमिति गठन गरेर समिति अगाडि बढ्ने जानकारी सरकारलाई गराइएको थियो ।
लगभग महिना दिनभित्र नै नियमावली बनाउँछौँ : रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री
औषधीय र विभिन्न सामग्री उत्पादन गर्ने प्रयोजनका लागि गृह मन्त्रालयले धेरै नै छिटो, लगभग महिना दिनभित्र नै नियमावली बनाउँदै छ । गाँजाको औषधिजन्य प्रयोजनका लागि गर्नुपर्ने अनुसन्धानमा गृहले नियम बनाएर, नियमावली बनाएर अगाडि बढ्न कुनै बाधा गर्नेछैन । अध्ययन गर्ने हेतुले नियमावली बनाएर मन्त्रालय अगाडि बढ्छ । अध्ययन–अनुसन्धान रोकिँदैन । हामी सबै जिम्मेवार भएर सामाजिक परिवेश, नियमन, नियन्त्रण गर्नुपर्ने हाम्रा आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्नेछौँ ।
व्यवस्थित गर्न सक्यौँ भने निर्यात पनि हुन सक्छ : वर्षमान पुन, अर्थमन्त्री
गाँजाखेती हाम्रो स्वास्थ्य र समाजका लागि हानी छैन । हाम्रो समाज, भावी पुस्तालाई मध्यनजर गरी कानुनी व्यवस्थासहित स्टेपबाइ जानुपर्छ । गाँजाखेतीपश्चात् औषधि उत्पादनलाई स्पष्ट परिभाषित गर्न जरुरी छ । यसको प्रयोग लागुऔषधको रूपमा हुँदा कडाइ गरिएको छ । अन्य प्रयोगका हिसाबले अब वैधानिकता दिनुपर्छ । यसलाई व्यवस्थित गर्न सक्यौँ भने निर्यात पनि हुन सक्छ ।
स्मरणीय : पत्र पत्रिका स्तम्भ अन्तर्गत नयाँ पत्रिका दैनिकबाट akabarey.com ले यो सामग्री साभार गरेको छ l सामग्रीको लागि सम्बद्ध पक्षलाई धन्यवाद !
किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएक...
सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्तामाझ स्थापित भइसकेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।